१७ हजार बिरामीले पाए निःशुल्क उपचार, मिर्गौला, मुटु, क्यान्सरको उपचार लिनेको संख्या तेब्बर बढे

काठमाडौँ । सरकारले १ वर्षमा १७ हजार विरामीको निःशुल्क उपचार गरेको छ । मिर्गौला, मुटु, क्यान्सर, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, पार्किन्सन्स र सिकलसेल एनिमिया लगायत विभिन्न ८ प्रकारको रोगबाट पीडित १६ हजार ८६० विरामीले निःशुल्क उपचार गरेको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागकाअनुसार यो वर्ष मात्रै ५ हजार ८८८ जनाले मिर्गौला रोगको निःशुल्क उपचार पाएका छन् । वीर अस्पतालबाट मात्रै २ हजार ६४६ जनाले उपचार पाएका हुन् । मोरङको नेपाल स्वास्थ्य विकास एण्ड रिर्सच सहकारीबाट ४ जनाले मिर्गौलाको उपचार गराएका छन् । यसैगरी ५ हजार ८२१ जनाले क्यान्सरको उपचार गराएका छन । ३ हजार ५७७ जनाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराएका छन् । हेड इन्जुरीतर्फ जम्मा ८२ जनाले निःशुल्क उपचार पाएका छन्, सिकलसेल एनिमियो १३० जना, पार्किन्सन्सको १६, अल्जाइमर जम्मा ११ जनाले उपचार पाएका छन् । अघिलो आर्थिक वर्ष २०७३÷७४ मा सरकाले विभिन्न ६ वटा रोगका ६ हजार १८० जनाले निशुल्क उपचार पाएका थिए । उपचार खर्च अभावमा कुनै पनि नागरिकले मृत्युवरण गर्न नपरोस् भन्ने उद्धेश्यले निःशुल्क उपचारका लागि व्यवस्था मिलाइएको विभागले जनाएको छ । क्यान्सर रोगको उपचारका लागि क्यान्सर केयर अस्पताल जावलाखेल, भक्तपुर क्यान्सर अस्पताल, भरतपुर क्यान्सर अस्पताल चितवन, कान्ति बाल अस्पताल, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, पाटन अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, सिभिल अस्पताल नयाँबानेश्वर र महिलालाई हुने क्यान्सर रोगको उपचारका लागि प्रसूति गृह थापाथली लगाएतका अस्पतालहरु तोकिएको छ । यस्तै मिर्गौला रोगको उपचारका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज र पाटन अस्पताल लगाएतलाई तोकिएको छ । मुटु रोगको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरान, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, पाटन अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी र मनमोहन कार्डियाक अस्पताल काठमाडौं लगाएतका अस्पतालहरु तोकिएको छ । सिकलसेल रोगको उपचार गर्न नवलपरासी जिल्ला अस्पताल, बुटवल अञ्चल अस्पताल, कपिलबस्तु अञ्चल अस्पताल, घोराही उपक्षेत्रीय अस्पताल दाङ, भेरी अञ्चल अस्पताल बाँके, धनगढी अञ्चल अस्पताल, गुलरिया जिल्ला अस्पताल र महाकाली अञ्चल अस्पताल महेन्द्रनगर लगाएतका अस्पतालहरु तोकिएको छ । हेड इन्जुरी, स्पाइनल इन्जुरी (टाउको र मेरुदण्डको समस्याको निःशुल्क उपचारका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, महाराजगञ्जको शिक्षण अस्पताल र पाटन अस्पताल लगाएतका अस्पतालहरु तोकिएको छ । यस्तै पार्किन्सन्स, अल्जाइमरको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरान, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज र पाटन अस्पताल लगाएतका अस्पतालहरु तोकिएको छ । पायक पर्ने अस्पतालमा शैया नपाएमा वा विभिन्न कारणवस त्यहाँ भर्ना हुन नपाएमा स्वास्थ्य सेवा विभागमार्फत अर्को उपचार सुविधा भएको अस्पतालमा सिफारिस गराउन सकिने व्यवस्था गरिएको छ । सरकारले आठ प्रकारका ठुला र बढी खर्च लाग्ने रोगलाई निःशुल्क भनेको छ । तर, उपचारका क्रममा लाग्ने सबै खर्च भने सरकारले व्यहोर्दैन । यसरी सिफारिस गरिएका अस्पतालमा विरामीले उपचार लिए वापत सो अस्पतालले विभागमा माग सोध भर्ना गरी उपचारमा खर्च भएको रकम प्राप्त गर्नेछ । त्यस्ता अस्पतालले प्रत्येक महिना अस्पतालमा भर्ना भएका वा उपचार लिएका विरामीको संख्याका आधारमा विभागसँग रकम लिँदै आएको छ । त्यसका लागि विभागले अर्थ, गृह र स्वास्थ्य सचिव, विभागका निर्देशक, लगायतका पदाधकारीसहितको बैठक बसी रकम निर्धारण गरेर अस्पताललाई रकम दिँदै आएको छ ।

सरकारी कम्पनीको सिटामोल बजारमा, पहिलो दिन बिरअस्पतालले किन्यो ३० हजार ट्याब्लेट

काठमाडौं । सरकारी स्वामित्वको कम्पनी नेपाल औषधी लिमिटेडले सात वर्षपछि उत्पादन गरेको सिटामोल शुक्रबारबाट बजारमा ल्याएको छ । करिब डेढ महिनाअघिदेखि कम्पनीले सिटामोलको उत्पादन सुरु गरेको थियो । कम्पनीले ५ लाख ट्याब्लेट तयार गरेपश्चात मात्रै बजारमा बिक्रीको लागि सार्वजनिक गरेको कम्पनीका महाप्रबन्धक डा.रोभस कुसम सुवेदीले बताए । ‘बजारमा सरकारी सिटामोलको माग अत्यधिक रहेको कारणले ५ लाख ट्याब्लेट उत्पादन गरिसकेपछि मात्र बिक्री शुरु गरेका छौं,’ उनले भने ‘अर्को ५ लाख ट्याब्लेट तयारी हुने अबस्थामा छ ।’ शुक्रबार बिर अस्पताललाई औषधी बिक्री गरेता पनि मुलकभर आइतबारदेखि मात्रै बिक्रीको लागि लैजाने उनको भनाइ छ । उनले मुलकभर रहेका औषधी स्टकीसहरुसँग बिक्री सम्बन्धमा कुरा भइरहेको जानकारी दिए । प्रतिट्याब्लेट सिटामोलको बजार मुल्य कम्पनीले तोके अनुरुपको १ रुपैयाँमा रहेको छ । पहिलो चरणमा सिटामोल उत्पादन गरेको कम्पनीले आगामी दिनहरुमा आइरन चक्की, भिटामिन, कोडिन, खोकी, पिसाब लगायतका ८ भन्दाबढी थरी औषधी ट्याब्लेट उत्पदान गर्ने कम्पनीको योजना छ । पछिल्लो समय कम्पनीले दैनिक ३ लाख २० हजार ट्याब्लेट सिटामोल उत्पादन गर्न सक्ने क्षमताको उपकरण जडान गरेको छ । उक्त उपकरण जडान गरेसँगै सिटामोल उत्पादन शुरु गरेको हो । २०२९ सालमा स्थापना भएको कम्पनी २०६६ सालमा पूर्ण रुपमा बन्द भएको थियो । यसै वर्ष वैशाख २४ गते तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीको पहलमा कम्पनीले जीवन जलको उत्पादन सुरु गर्दै पुनःसञ्चालनमा आएको हो ।

पाँचतारा साकोसको आयोजनामा रक्तदान

काठमाडौं । पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ६१ औं राष्ट्रिय सहकारी दिवस तथा संस्थाको दशौं वार्षिकोत्सवको अवसर पारेर मंगलबार रक्तदान कार्यक्रम आयोजना गरेको हो । व्लड डोनर्स एशोसिएसन केन्द्रिय समितिका सचिव सूर्यलाल महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा ब्लोदान पूर्वी भेगिय कार्यसमिति सहयोगी संस्थाको रुपमा रहेको थियो । त्यस्तै नेपाल रेडक्रस सोसाइटी भक्तपुरको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा ११५ भन्दा बढीले रक्तदान गरेको संस्थाले जनाएको छ । संस्थाले सामाजिक उत्तरदायित्व बहनगर्ने क्रममा विगत ९ वर्षदेखि हरेक साल चैत्र २० गते नियमित रुपमा रक्तदानकार्यक्रम गर्दै आएको जनाएको छ ।