१६ वटा गुणस्तरहीन औषधीको बिक्री तत्काल रोकौंः औषधी व्यवस्था विभाग(सूचीसहित)
काठमाडौं। औषधी ब्यवस्था विभागले सुचना जारी गर्दै बजारमा बिक्री भईरहेको १६ वटा औषधीको बिक्री वितरण तथा प्रयोग रोक्न आग्रह गरेको छ। बजार अनुगनको क्रममा संकलन गरिएको औषधीहरुको नमुना परिक्षण गर्दा तल उल्लेखित ब्याचको औषधीको गुणस्तर न्युन देखिएको हो। औषधी एनको दफा १४ को बमोजिम उक्त ब्याचको औषधीहरुको बिक्री वितरण रोक्का गरी बजारबाट तत्काल फिर्ता गर्न र सोको विवरण विभागमा पेश गर्न भनिएको छ।
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन उत्पादन
काठमाडौं । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लामा अक्सिजन उत्पादन शुरु भएको छ । पहिलोपटक जुम्लामै अक्सिजन प्लान्ट उपकरण जडान गरेर उत्पादन शुरु गरिएको हो । अक्सिजन उत्पादन शुरु भएसँगै जतिसुकै जटिल प्रकारका बिरामीको शल्यक्रिया गर्न सहज हुने भएको छ । पहिले अक्सिजन नेपालगञ्जदेखि भरेर ल्याउनु पर्ने बाध्यता रहेको थियो । अस्पतालका निर्देशक धर्मराज गोसाईं भन्छन, नेपालगञ्जबाट ल्याउँदा अस्पतालमा अक्सिजनको चरम अभाव हुने स्थिति आउन सक्थ्यो तर अब बिरामीलाई अक्सिजन अभाव नहुने भएको छ । कर्णाली राजमार्गमा आइरहने बाढीपहिरो तथा अन्य अवरोधका कारण समयमै अक्सिजन आपूर्तिमा समस्या थियो, अब त्यो समस्या टरेको छ । आवश्यक परेको बेला अक्सिजन उत्पादन गरेर दिन सकिने अवस्थाको सिर्जना भइसकेको छ । दैनिक ५० सिलिण्डरसम्म अस्पतालमा अक्सिजन आपूर्ति गर्नुका साथै आठदेखि १० सिलिण्डर भर्न सकिने प्लान्ट अस्पतालमा जोडिएको छ । उपकरण जोड्न भारतको कानपुरदेखि आएका सञ्जीव कुमारका अनुसार प्लान्टबाट उत्पादित अक्सिजन नजिकैको जिल्लामा रहेका अस्पतालसम्म पठाउन सकिन्छ । उपकरण बिग्रेको र बिजुली नियमित आपूर्ति नभएको खण्डमा बाहेक अरु बेला नियमित अक्सिजन उत्पादन गर्न सकिने बताए । अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ८० वटा अक्सिजनका सिलिण्डर छन् । रासस
उदयपुरमा सरकारी मेडिकल कलेज स्थापनाका लागि स्थलगत अध्ययन शुरु
गाईघाट। उदयपुरमा सरकारी मेडिकल कलेज स्थापनाका लागि स्थलगत अध्ययन र प्रतिवेदन तयारी गर्ने कार्य शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्राविधिक मन्त्रालयको मेडिकल कलेज स्थापना अध्ययन समितिका संयोजक तथा प्राध्यापक मधुसुदन सुवेदीको नेतृत्वमा आएको टोलीले आइतबार र सोमबार यहाँ स्थलगत अध्ययन गरेको हो । टोलीले त्रियुगा नगरपालिका क्षेत्रको भातीखर्क, चाँप, विषणपुर र गाईघाटको ढिम्कीस्थित पिकनिक स्पोर्टलगायत सम्भावित क्षेत्रको स्थलगत अध्ययन गरेको त्रियुगा नगरपालिकाकी उपप्रमुख देवी चौधरीले जानकारी दिए। स्थलगत अध्ययन गरिएका स्थानमध्ये चाँप क्षेत्रको बीस बिघा जग्गा क्षेत्र सबैभन्दा उपयुक्त भएको अध्ययन टोलीले बताएको पनि उनले जानकारी दिए। त्रियुगा नगरपालिका गाईघाटले मेडिकल कलेज खोल्न जग्गा उपलब्ध गराउने भएपछि टोलीले यसका लागि सम्भावित क्षेत्रको स्थलगत अध्ययन शुरु गरेको जिल्ला समन्वय समिति उदयपुरका अध्यक्ष खड्ग परियारले बताए। प्रदेश नं १ को उदयपुर, खोटाङ, ओखलढुङ्गा, सोलु, भोजपुर, सङ्खुवासभा, प्रदेश नं २ को सप्तरी, सिरहा, धनुषा तथा प्रदेश नं ३ को सिन्धुली र रामेछाप जिल्लालाई केन्द्रीकृत गरेर सरकारले उदयपुरमा मेडिकल कलेज स्थापना गर्ने लक्ष्य लिएको टोलीका सदस्य तथा शिक्षा मन्त्रालयका उपसचिव विष्णुप्रसाद मिश्रले बताए। अध्ययन टोलीमा संलग्न जिल्ला अस्पताल उदयपुरका प्रमुख डा विष्णुबहादुर बस्नेतका अनुसार उदयपुर त्रियुगा नगरक्षेत्र मेडिकल कलेज स्थापनका लागि उपयुक्त भएको बताउँदै यसले जिल्ला अस्पतालको समेत क्षमता वृद्धि हुने धारणा व्यक्त गरे। अध्ययन टोलीका संयोजक तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक मधुसुदन सुवेदीका अनुसार टोलीले अध्ययन प्रतिवेदन सरकारलाई बुझाएपछि यसको सबै कार्य अगाडि बढ्ने विश्वास व्यक्त गरे। डा गोविन्द केसीको मागअनुसार नै अब सरकारी क्षेत्रबाट मेडिकल कलेज स्थापना गर्न सरकारले देशको तीनवटा स्थानमा तत्काल तीन मेडिकल कलेज स्थानमा गर्न अध्ययन शुरु गरेको अध्ययन टोलीले जनाएको छ । उदयपुर, पाँचथर वा इलाम तथा डडेल्धुरा वा डोटीमध्ये एक स्थानमा एक एक मेडिकल कलेज स्थापना हुने लक्ष्य सरकारले लिएको पनि टोलीले जनाएको छ । सो टोलीमा प्रा मधुसुदन सुवेदी, शिक्षा मन्त्रालयका उपसचिव विष्णुप्रसाद मिश्र, विश्वविद्यालय अनुदान आयोगका योजना अधिकृत विनोद भट्टराई, जिल्ला अस्पताल उदयपुरका प्रमूख डा विष्णुबहादुर बस्नेतसहित त्रियुगा नगरपालिका र जिल्ला समन्वय समिति उदयपुरको पदाधिकारीको सहभागिता रहेको छ । रासस