घरघरको व्यथा नसर्ने रोग, यसका कारण मृत्यु हुने बढि
काठमाडौं। घरघरको व्यथाका रुपमा नसर्ने रोग देखापरेको भन्दै विज्ञले समयमै यसको प्रभावकारी रोकथाममा ध्यान दिन आग्रह गरेका छन्। मुटु, मिर्गाैला, दम, मधुमेह, रक्तचाप, मानसिक स्वास्थ्य, श्वासप्रश्वासजस्ता समस्या पछिल्लो समय घरघरको रोगका रुपमा देखा परेको छ । ती नसर्ने रोगका रोगी कति छन् कुनै अध्ययनसमेत भएको छैन । सरुवा रोगले भन्दा नसर्ने रोगका कारण हुने मृत्यु पनि बढिरहेको बताइन्छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) र नेपाल एनसिडी एलायन्सद्वारा संयुक्तरुपमा सरुवा रोगसम्बन्धी हालै आयोजना गरेको एक कार्यक्रमका सहभागीले नसर्ने रोग रोकथाम गर्न नयाँ नीति ल्याउनुपर्ने सुझावसमेत दिएका थिए। पछिल्लो समय मन्त्रालयले आफ्नो बजेट विनियोजन गर्दा ८५ प्रतिशत रोग उपचार र १५ प्रतिशत रोग रोकथामका लागि खर्च गर्ने गर्दछ । रोकथामका लागि कम रकम विनियोजन गर्दा रोग लागेपछि मात्र उपचार गर्न स्वास्थ्य संस्थामा बिरामीको सङ्ख्या बढिरहेको जनस्वास्थ्य विज्ञको भनाइ रहेको छ । कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य विज्ञ डा बाबुराम मरासिनीले धेरैजसो तयारी खाद्य वस्तु खाने प्रवृत्तिले नसर्ने रोगी बढिरहेको चर्चा गर्दै खानपान, रहनसहन र शारीरिक क्रियाकलापमा ध्यान दिन आग्रह गरे। पछिल्लो समय सरकारले विशेष गरी नसर्ने रोग (मुटु, मिर्गाैला, क्यान्सर) को उपचारका लागि रु एक लाख आर्थिक सहयोग प्रदान गर्दै आएको छ । साथै धुवाँमुक्त चुल्हो निर्माणमा रु ४० हजार अनुदान समेत दिँदै आएको छ । अर्काेतर्फ धुलो, धुवाँजस्ता प्रदूषणका कारणले पनि नसर्ने रोग बढिरेहको बताइएको छ । उहाँले भन्नुभयो, “नसर्ने रोग हुन नदिन सूर्तीसेवन एवं मदिरापान सेवन छोड्नुपर्छ । स्वस्थकर, पोसिलो खाना र शारीरिक व्यायाममा ध्यान दिनुपर्छ ।” स्वास्थ्य मन्त्रालय, नसर्ने तथा मानसिक रोग नियन्त्रण शाखाका प्रमुख फणिन्द्रप्रसाद बरालले पछिल्लो समय नसर्ने रोग घरघरको स्वास्थ्य समस्याका रुपमा देखा परेको चर्चा गर्दै नसर्ने रोगका बारेमा सबै जिल्लामा कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए। जनस्वास्थ्य विज्ञ डा केदार बरालले नसर्ने रोग नियन्त्रणका लागि नयाँ नीतिको आवश्यकता औँल्याउँदै त्यस्तो रोगका बारेमा जनचेतना जगाउन आवश्यक रहेको छ भने। मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले नसर्ने रोगमध्ये मुटुको रोगीको सङ्ख्या बढिरहेको बताए। उनले एक सर्वेक्षणले ९५ प्रतिशत जनतालाई मुटुरोगबारे थाहा नभएको देखाएको जानकारी दिए। । मधुमेह रोग विशेषज्ञ डा प्रदीपकृष्ण श्रेष्ठले पछिल्लो समय पेटमा सेतो बोसोको मात्रा बढेका कारण मधुमेहका रोगी बढिरहेको पाइएको बताए। बिपी मेमोरियल क्यान्सर अस्पताल भरतपुरका जनस्वास्थ्यविद् किशोर प्रधानाङ्गले महिला क्यान्सर रोगीको सङ्ख्या बढिरहेको छ भन्नुभयो । उहाँले क्यान्सर रोगीलाई दिइने सहयोग रु पाँच लाख पु¥याउनुपर्ने सुझाव दिए। आयुर्वेद चिकित्सक सरिता श्रेष्ठले आयुर्वेदको नियमलाई पालना गर्न सके नसर्ने रोगको जोखिम कम हुने बताउनुभयो । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले सूर्तीजन्य पदार्थ र मदिरापान नियन्त्रणमा ध्यान दिन सुझाव दिनुभयो । प्रा डा शरद वन्तले सरुवा रोग घटेर नसर्ने रोग बढेको नभई नसर्ने रोगको सङ्ख्या बढेको जानकारी दिए । रासस
नर्भिक हस्पिटलले मनायो जनचेतनामूलक कार्यक्रम, समयमै उपचार गर्दा वाथरोगीको आयु बढ्न सक्ने
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले यस वर्षको विश्व बाथरोग दिवस विविध जनचेतनामूलक कार्यक्रम तथा मोटरसाइकल र्याली कार्यक्रम गरेर मनाएको छ । साथै, नर्भिकको बाथरोग विभागले एक विशेष मोटरसाइकल र्याली कार्यक्रम आयोजना गरी जनचेतना अबिृद्धि गर्ने कार्य गरेको हो । बाथरोग सम्बन्धी प्रवचन र यसरोग बारे जनचेतनाको अभिवृद्धि गराउने अभिप्रायले उक्त प्रभातफेरि कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रम नर्भिक प्राङ्गणबाट शुरु भई थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्यूरोड गेट, कमलपोखरी, कालोपूल, (सिफल), जयवागेश्वरी, गौशाला, पुरानो वानेश्वर, बबरमहल हुँदै नर्भिकको प्राङ्गणमा आएर समापन भएको थियो । उक्त कार्यक्रममा बाथरोगीहरूका अलावा सर्वसाधारण, चिकित्सकसहित करिब १५० जनाको टोली संलग्न रहेकोे थियो । नेपालीहरूको जीवनशैलीमा आएको परिवर्तनका साथसाथै बाथरोगले अन्य रोगको दाँजोमा दिनानुदिन बढी भन्दा बढी व्यक्तिहरूलाई ग्रसित पार्दै आएको छ । वास्तवमा सबै उमेर समूहका मानिसहरू तिनका जीवनको कुनै समयमा कुनै न कुनै बाथरोगबाट ग्रसित हुँदै आएका छन् । पुरुषका दाँजोमा महिलाहरू अझ बढी रोगको शिकार हुने गरेका तथ्याङ्कले देखाएको छ । अझै डरलाग्दो पक्ष त के छ भने बाथरोग समयमै नियन्त्रणमा नलिने हो भने त्यसले रोगीको आयु नै घटाउने गरेको तथ्य समेत पाइएको छ । धुम्रपान, बढी तौल तथा अनावश्यक मोटोपना, वंशानुगत कारण, केही त्यस्ता पेशा जसले जोर्नीहरूमा चोट पुर्याउन सक्छन् वा जोर्नीहरूको अत्यधिक प्रयोग गर्छन् र बढ्दो उमेरका कारण मानिसहरूमा बाथरोग लाग्ने जोखिम बढ्ने गर्छ । यस कार्यक्रमले रोगप्रतिको जनचेतना बढाउने मात्रै नभएर रोग रोकथाम तथा उपचारमा शारीरिक व्यायामको महत्वबारे समेत प्रकाश पार्ने नर्भिकका बाथरोग विशेषज्ञ डा. अरुण गुप्ताले बताए । सोही अवसरमा नर्भिकका नायब महाप्रबन्धक, संस्थागत सञ्चार आर.पी. मैनालीले प्रत्येक तीन नेपाली मध्ये एकलाई जीवनको कुनै न कुनै क्षणमा कुनै न कुनै प्रकारको बाथरोगले दुःख दिने गरेको बताए । बाथरोग सम्बन्धी यस खाले जनचेतनामूलक कार्यक्रमको आयोजना गर्नुको मुख्य उद्देश्य कुनै प्रकारका बाथरोग वा मांशपेशी र अस्थीपञ्जरसम्बन्धी रोग लागिसकेका वा लाग्नसक्ने जोखिममा रहेका व्यक्तिहरूलाई उपचारतर्फ उन्मुख गराई सजग गराउनु, रोग रोकथाम तथा नियन्त्रणतर्फ उन्मुख गराउनु रहेको नर्भिकका बाथरोग विशेषज्ञ डा. अरुणकुमार गुप्ता बताउँछन् । यस वर्षको विश्व बाथरोग दिवसको नारा “विलम्ब नगरौं, आजै गरौं सम्पर्क” राखिएको छ । यसले बाथरोगीहरू वा बाथरोगका जोखिममा रहेका व्यक्तिहरूका लागि समयमै गरिने चिकित्सकीय परामर्श एवम् उपचारको महत्वबारे प्रकाश पार्ने गुप्ताले जनाएका छन् ।
मर्निङ वाकमा जाँदै हुनुहुन्छ? यि कुरामा ध्यान दिनुहोस्
काठमाडौं। नियमित हिँड्नु स्वस्थ जीवनशैलीको महत्वपूर्ण पाटो हो । बिहानको हिँडाइले स्वास्थ्यलाई कैयौँ फाइदा पुर्याइरहेको हुन्छ । बिहान हिँड्दा दिनभर शरीर फुर्तिलो हुने मात्र नभई मोटोपन, मुटुरोगजस्ता कैयौँ समस्याबाट पनि बच्न सकिन्छ । विश्वमा भएका विभिन्न अनुसन्धानले देखाएको छ कि नियमित हिँड्ने बानीले मानिसको आयुसमेत बढ्छ । यस्तो क्रियाकलापले शरीरको तौललाई पनि सन्तुलित गर्ने काम गर्छ । शहरी क्षेत्रका धेरै मानिस हिँड्न मन गर्दैनन् । यस्तो बानीले शरीरलाई वेफाइदा मात्र पुर्याउने नभई कालान्तरमा विभिन्न खालका रोगको सिकार पनि बन्नुपर्ने हुन्छ । यदि दिनको समयमा व्यस्त रहे तापनि बिहानको समयमा हिँड्दा राम्रो हुन्छ । यस्ता छन्, बिहानमा हिँड्नुका फाइदा १. दैनिक रूपमा हिँड्ने बानीले तनाव पनि मुक्त गर्ने काम गर्छ । नियमित हिँड्ने बानीले सकारात्मक सोचको पनि विकास गर्दै लैजान्छ । २. दैनिक रूपमा हिँड्दा शरीरका हड्डी, खुट्टा, पेट तथा पाखुराका मांसपेशी मजबुत बन्दै जान्छन् । त्यस्तै, ढाड, जिउ दुख्नेजस्ता समस्या पनि बिस्तारै कम हुँदै जान्छ । ३. विश्वमा भएका विभिन्न अनुसन्धानले देखाएको छ कि नियमित हिँड्ने बानीले मानिसको आयुसमेत बढ्छ । यस्तो क्रियाकलापले शरीरको तौललाई पनि सन्तुलित गर्ने काम गर्छ । ४. कतिपयमा रातमा निद्रा नलाग्ने समस्या हुन्छ । यस्तो समस्याबाट छुटकारा पाउनका लागि उनीहरू विभिन्न अस्पताल पनि धाइरहेका हुन्छन् । तर, बिहानको समयमा दैनिक १ घण्टा हिँड्ने बानीले अनिद्राको समस्यालाई पनि दूर गर्दै लैजान्छ । ५. यति मात्र होइन, बिहान हिँड्नुका अरू पनि थुप्रै फाइदा छन् । बिहानको हिँडाइले श्वासप्रश्वास प्रणालीमा सुधार ल्याउने काम गर्छ । हिँड्दा श्वासप्रश्वासको गति बढ्छ र शरीरका नसाहरूमा राम्रोसँग अक्सिजन पुग्ने गर्छ । यसो हुँदा शरीरमा रहेका विकार तत्व सजिलै हट्नुका साथै शक्तिसमेत वृद्धि हुँदै जान्छ । ६. मानिसलाई विश्वास नलाग्न सक्छ, तर मर्निङ वाकले स्मरण शक्तिको पनि विकास गर्छ । मर्निङ वाकमा जाँदा निम्न कुरामा ध्यान दिनुपर्छ १. सबेरै उठ्ने: बिहानको साढे ४ देखि ८ बजेभित्र मर्निङ वाक गरिसक्दा राम्रो मानिन्छ। सुरुसुरुमा बिहान सबेरै उठ्नका लागि अलार्म वा मोबाइलको प्रयोग गर्न सकिन्छ। कम्तिमा आधा घन्टा हिँड्नुपर्छ। सुरुका दिनमा लागातार ३० मिनेट हिँड्न सकिएन भने एकैछिन बिसाएर फेरि हिँड्न सुरु गर्दा पनि हुन्छ। सुरुमा बिहान सबेरै उठ्न गाह्रो भए पनि बिस्तारै बानी परेपछि सहज हुँदै जान्छ। २. हिँड्ने तरिका : मर्निङ वाक भन्दैमा बिहान उठेर सिधै दौडने वा सरासर हिँड्ने होइन। सुरुमा बिस्तारै पाइला अगाडि बढाउने हात पनि बिस्तारै अगाडि पछाडि लैजाने। त्यसपछि छिटो-छिटो हिँड्ने र हात पनि छिटोछिटो चलाउने। हिँड्दा निउरेर, कुप्रो परेर होइन छाति फुलाएर ढाड सिधा पारेर हिँड्नु पर्छ । देब्रे खुट्टा अगाडि हुँदा दाहिने हात पछाडि, दाहिने खुट्टा अगाडि हुँदा देब्रे हात पछाडि हुनुपर्छ। हिँडाइको गति छिटोछिटो हुन थालेपछि बिस्तारै दौडिन सुरु गर्दा हुन्छ। कहिल्यै पनि सुरुमै छिटो हिँड्ने वा डौडिने गर्नु हुँदैन। ३. कपडाको छनौट : मर्निङ वाक जाँदा मौसम अनुसार सजिलो, हलुका तर लामा बाउला भएको कपडा लगाउनु उपयुक्त हुन्छ। प्रायः मर्निङ वाक खोलाको किनार, एकान्त ठाउँ, घाँसे मैदान जस्ता ठाउँमा गरिन्छ। जहाँ किरा, फट्यांग्रा, जुका, लामखुट्टे, सर्प आदिले टोक्ने वा चिल्ने खतरा हुन सक्छ। त्यसैले, लामो बाउला भएको कपडा लगाउनुपर्छ। ‘ग्रिप’ भएको नचिप्लिने जुत्ता अनिवार्य मानिन्छ। छोटा लुगा लगाएर हिँड्नु सुरक्षाको दृष्टिले राम्रो होइन। ४. गीतसंगीत : मर्निङ वाकमा गीत-संगीतले पनि महत्वपूर्ण भूमिका खेल्छ। सकेसम्म आध्यात्मिक गीत र ‘इन्स्ट्रुमेन्टल’ धुन सुन्नु राम्रो हो। यस्तो संगीतले मर्निङ वाक गर्दा ध्यान एकाग्र हुनुका साथै हिँड्नमा ऊर्जा थपिन्छ। ५. इयरफोन कानमा नराख्ने : मर्निङ वाक गर्दा हेड सेट वा इयर फोन कानमा हाल्नु हुँदैन। सधैँ इयर फोन राखेर हिँड्दा कानमा असार पुग्न सक्छ। मोबाइलको स्पिकर लाउड मोडमा राखेर गीत-संगीत सुन्नु राम्रो हो। बरु प्राकृतिक संगीत जस्तै, चराको चिरबिर, खोलाको कलकल आवाज सुन्दै हिँड्नु उपयुक्त हुन्छ। ६. गफ गरेर नहिँड्ने : मर्निङ वाक गर्दा साथीसँग जिस्केर, गफ्फिएर हिँड्नु राम्रो होइन। साथी सँगै भए पनि गफ नगरी आफ्नै धुनमा हिँड्नु राम्रो हो। गफको तालमा गरिने मर्निङ वाकको उद्देश्य पूरा हुँदैन। वास्तवमा मर्निङ वाक भनेको गफ गर्ने समय नै होइन। ७. एकान्तमा नहिँड्ने : मर्निङ वाकमा जाँदा मान्छेहरु नहुने एकान्त ठाउँमा हिँड्नु हुँदैन। रक्तचाप बढ्ने, मुटु दुखेर थला पर्ने जस्ता आकस्मिक दुर्घटना भयो भने तुरुन्त उद्धार हुन सक्ने ठाउँमा हिँड्नुपर्छ। मुटुरोग, मधुमेह, रक्तचाप जस्ता रोगका बिरामीले त एक्लै एकान्त ठाउँमा हिँड्नै हुँदैन। ८. समाचार नसुन्ने : मर्निङ वाक गर्दा धेरैले रेडियोमा समाचार सुन्दै हिँडेको पाइन्छ। तर, मर्निङ वाकमा यसलाई राम्रो मानिँदैन। समाचारमा लडाइँ, आतंक, तनाव जस्ता नकारात्मक कुरा प्रमुख विषय बनेका हुन्छन्। मर्निङ वाकमा नकारात्मक कुराहरु कानमा पर्दा तपाईंको दिन कसरी सकारात्मक होला? त्यस्ता समाचारले मनको एकाग्रता भंग गरिदिन्छन् । बरु मर्निङ वाकबाट फर्केपछि पत्रपत्रिका पढ्ने वा समाचारका लागि रेडियो-टिभी सुन्ने हेर्ने गर्नु उपयुक्त हुन्छ। किनकि बिहानको हिँडाइमा अनेक कुरा सुनेर मन विचलित बनाउनु हुँदैन। ९. धूमपान-मद्यपान नगर्ने : मर्निङ वाकमा कहिले पनि धूमपान गर्नु हुँदैन। यसै पनि धूमपानले आफूलाई मात्रै होइन अरुलाई समेत हानी पुग्छ। मद्यपानले शरीर र मनलाई एकाग्र बन्न दिँदैन। वरिपरि हिँड्नेले पनि धूमपान गरेको देख्दा वा मद्यपान गरेको थाहा पाउँदा नराम्रो दृष्टिले हेर्छन्। १०. कुकुरलाई साथै लिई नहिँडौं : मर्निङ वाकमा जाँदा कुकुर पनि सँगै लिएर हिँड्नेहरु धेरै भेटिन्छन्। एक त कुकुरसँगै हिँड्नुपरेपछि मर्निङ वाकको आनन्द लिने कि कुकुरको गोठालो लाग्ने? त्यसमाथि कुकुरलाई मान्छे हिँड्ने बाटोमा दिसा गराइरहेकाहरु पनि धेरै हुन्छ। कुकुरलाई दिसा-पिसाब गराई बाटो फोहोर पार्न मर्निङ वाक जाने हो कि आफ्नो स्वास्थ्यका लागि हिँड्न जाने हो? त्यो विचार पुर्याउनुपर्छ। ११. खानपानमा ध्यान : मर्निङ वाक सुरु गरेपछि खानपानमा पनि ध्यान दिनु जरुरी हुन्छ। सागपात र पोषिलो खानेकुरामा बढी जोड दिनुपर्छ। फ्रेस जुस पिउँदा हुन्छ। राति अबेरसम्म नबसी ठीक समयमा सुत्नुपर्छ। खानामा सबै प्रकारको खनिज तत्व पाइने खालका खानेकुरा छान्नुपर्छ। हिँडेर फर्केपछि दुई गिलास पानी पिउनु राम्रो हुन्छ। १२. नुहाउने तरिका : मर्निङ वाक गरिसकेपछि नुहाउनु अनिवार्य मानिन्छ। पसिनाको गन्धलाई हाटाउन र शरीरमा स्फूर्ति ल्याउन पनि नुहाउनु जरुरी छ। मर्निङ वाकबाट फर्किनासाथ सीधै ‘सावर’ लिनु हुँदैन। केहीबेर बसेर पसिना ओभाइसकेपछि मात्र नुहाउनुपर्छ। तपतप पसिना चुहिएको अवस्थामा नुहाउँदा शरीरमा हानि पुग्न सक्छ। बिहान उठ्ने बित्तिकै यस्ता कहिल्यै नगर्नुहोस् १. हत्तपत्त उठेर काममा नलाग्नु दिनको आरम्भ बिस्तारै-बिस्तारै शान्तपूर्वक गर्नुपर्छ । आँखा खुलेपछि थोरै समय ओछ्यानमै आरम गर्नुपर्छ । केहिछिन पछि दाँयातर्फ फर्केर उठ्नुपर्छ । यसरी उठ्दा सुप्त अवस्थामा शिथिल रहेको उर्जा शरीरमा राम्ररी संचार हुनपुग्छ । यसले शरीरमा उर्जाको संचारलाई सन्तुलित गर्छ । आरमसाथ उठेर लामो एवं गहिरो सास लिने, मनतातो पानी पिउने । २. स्ट्रेचिङ नगर्नु सुतेको समयमा हाम्रो शरीरको मांशपेसी, खासगरी मेरुदण्डको हड्डी कठोर भएको हुन्छ, जसलाई सामन्य अवस्थामा फर्काउनका लागि शरीरलाई स्ट्रेच गर्नुपर्छ । तीनचार पटक शरीर स्ट्रेच गर्ने र बाँया फैलिएर सकारात्मक उर्जालाई स्वंम महसुष गर्ने । यसले दिनभर शरीर चुस्त र फूर्तिलो बन्छ । ३. ब्रेकफास्ट नगर्नु बिहान उठेर ब्रेकफास्ट नगर्नु भनेको मधुमेह, मोटापनलाई निमन्त्रणा गर्नु हो । यस किसिमको बानीले रोगप्रतिरोधात्मक क्षमतामा पनि ह्रास आउँछ । विहान उठेर ब्रेकफास्ट नलिदा हाम्रो शरीरमा अतिरिक्त तनाव पर्छ । रातीको खाना र बिहानको खानाबीच लामो ग्याप हुन्छ, जसले ब्लड सुगर लेभल कम हुन्छ । यदि सुतेर उठेको एक घण्टामा हामीले केहि खाएनौ भने, ब्लड सुगर लेभल अझ घट्छ । ब्रेकफास्ट हेल्दी र ताजा हुनुपर्छ । चिया, बिस्कुट जस्ता खानेकुराभन्दा भिजाएको बदाम, रोटी, फल सेवन गर्नुपर्छ । ४. आँखा खोल्नसाथ मोबाइल चेक नगर्नु बिहान निन्द्रा खुल्नसाथ धेरै मानिसले मोबाइल खोज्छन् । आँखा माड्दै फोनमा इमेल, म्यासेज चेक गर्न थाल्छ । यसले तपाईलाई उठ्नुअघि नै तनाव पैदा गरिदिन्छ । त्यसैले उठ्नसाथ मोबाइल चेक गर्नु हुँदैन । ५. मुस्कुराउनमा कन्जुस्याँई तपाईको मुश्कानले तपाईको स्वास्थ्यलाई निकै फाइदा गरिरहेको हुन्छ । त्यसैले बिहान उठेर मुस्कुराउने अभ्यास गर्नुपर्छ । यसले इम्युन सिस्टमलाई मजबुद बनाउँछ । मुटुको चाललाई सन्तुलित राख्छ र उच्च रक्तचाप नियन्त्रण गर्छ । ६. एक्सरसाइज नगर्नु धेरैजसो मानिस बिहान उठ्नसाथ काममा लाग्छन् । त्यसअघि हल्का व्यायम गर्नैपर्छ । शारीरिक काम गर्नु र व्यायम गर्नुमा फरक छ । काम गर्दा शरीरको एक भागलाई मात्र असर परिरहेको हुन्छ । मानसिक तनाव हुन्छ । तर, प्रफुल्ला मुद्रामा गरिने व्यवस्थित व्यायमले शरीरको समग्र भागलाई लाभान्वित तुल्याउँछ । ७. उठ्नसाथ मलमुत्र त्याग नगर्नु कतिपय उठेर शौचालय जान अल्छी मान्छन् वा जाने अभ्यास गर्दैनन् । तर, बिहान उठेर मनतातो पानी पिइसकेपछि मलमुत्र त्याग गर्नुपर्छ । किनभने यसो नगर्दा शरीरमा बिकार फैलन्छ । त्यसैले बिहान उठेपछि आरामपूर्वक मलमुत्र त्याग गर्नैपर्छ ।