तारकेश्वर नगरपालिकामा ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार
काठमाडौं । तारकेश्वर नगरपालिकाले ८० वर्षमाथिका नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार सेवा प्रवाह गर्ने भएको छ । ज्येष्ठ नागरिकमा उमेरसँगै रोगले पनि चाप्ने र टाढा रहेका स्वास्थ्य संस्थासम्म उपचारका लागि जान नसक्ने भएकाले घरैमा पुगेर निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको नगर स्वास्थ्य शाखा प्रमुख अरुणकुमार गिरीले बताए । सो कार्यक्रमका लागि स्वास्थ्यचौकी प्रमुखको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली बनाइएको छ । हरेक वडामा स्वास्थ्य जाँचका लागि आवश्यक उपकरण र औषधिको थप व्यवस्थापन गरिएको प्रमुख गिरीले बताए । नगरपालिकाले स्वास्थ्य सुविधालाई नागरिकको पहुँचसम्म पुर्याउन चार शहरी स्वास्थ्य केन्द्र र प्रत्येक वडामा एक एक स्वास्थ्यचौकी सञ्चालन गरेको छ । स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउन यस वर्ष नगरपालिकाले ५० लाख रुपैयाँ छुट्याएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा स्वास्थ्यका १२ कार्यक्रम स्वीकृत गरेको छ । रासस
ज्योति विकास बैंक र ग्राण्डि हस्पिटलबीच सेवा तथा सुविधा सम्बन्धि सम्झौता
काठमाडौं । ज्योति विकास बैंक र ग्राण्डि इन्टरनेसनल हस्पिटल धापासी, काठमाण्डौं बीच सहकार्य सम्झौता भएको छ । बैंकका तर्फबाट बैंकका सहायक महा प्रबन्धक रामहरि आचार्य र अस्पतालका तर्फबाट प्रमुख संचालन अधिकृत अम्रित खन्नाले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । हाल बैंकले ८२ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा उपलव्ध रहेको छ । आर्थिक वर्ष भित्र थप ८ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १८.८० अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो विकाश बैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अरब १० करोड पुग्नेछ । यस बैंकका ग्राहकहरुले बैंकको एटिएम कार्ड र बैंकका कर्मचारीहरुले बैंकको आइडेन्टी कार्ड देखाइ सुविधाको प्राप्त गर्न सकिनेछ ।
८ घण्टा भन्दा बढी सुत्नु हुन्छ ? होशियार ! चाँडै मृत्युको मुखमा पुगिएला
काठमाडौं। बयस्क उमेर समुहलाई ६-८ घण्टा सुत्न उपयुक्त मानिन्छ। युरोपेली हार्ट जर्नलमा बुधवार प्रकाशित एक विश्वव्यापी अध्ययनको अनुसार ६-८ घण्टा भन्दा बढि सुत्ने मानिसमा मृत्यु र हृदय रोगको जोखिम बढी हुने गर्दछ। अनुसन्धान टोलीले २१ वटा देशहरूको तथ्यांक अध्ययन गरे अनुसार उपयुक्त समय भन्दा बढी सुत्दा व्यक्तिहरूले हृदयघात जस्तै स्ट्रोक वा हृदय विफलता हुने खतराका साथै मृत्यु हुने सम्भावना ४१ प्रतिसतले बढेर जान्छ। अझै दिउँसो सुत्ने मानिसहरुमा यसको खतरा बढी देखिएको छ। धेरै सुत्ने बानीलाई कसरी हटाउने ? ‘बानी’ भनेको हामीले चाहेअनुसार परिवर्तन गर्न सकिने कुरा हो। यदि तपाईँको धेरै सुत्ने बानी छ भने त्यसलाई हटाउने एउटै उपाय भनेको ‘कम सुत्ने’ नै हो। तर कसरी? एकैदिनमा यो सम्भव छैन, समय लाग्न सक्छ। तर तपाईँको मुटु अनि शरीरको स्वास्थ्यको कुरा छ, जति समय लागेपनि त्यो बानीलाई हटाइहाल्नु उचित हुन्छ। तपाईँलाई आवश्यक पर्ने निन्द्राको समयको मूल्याङ्कन गर्नुहोस्। तर ८ घण्टा भन्दा बढि नहोस्। उठ्ने समयलाई निर्धारण गर्नुहोस्। कार्यालयको समय अथवा परिवारको चाहनाअनुसार आफ्नो उठ्ने समयलाई निर्धारण गर्न सकिन्छ। हरेक दिन त्यहि समयमा उठ्ने बानी गर्नुहोस्। बिदाको दिन होस् या कामको दिन, त्यहि समयमा उठ्नुहोस्। कोठाभरी नै आलरम घडी राख्नुहोस्। जब आलरम बज्छ, उठिहाल्नुहोस्। स्नुज गर्ने काम नगर्नुहोस्। सकेसम्म घडीलाई सुतेको ठाउँबाट टाढै राख्नुहोस्। हरेक रात एउटै समयमा सुत्ने गर्नुहोस्। यहि तालिकालाई दृढ भएर कम्तीमा पनि २ हप्ता पालना गर्नुहोस्। अनि आफैले फरक पाउन सक्नुहुन्छ। सिएनएनको सहयोगमा