महालक्ष्मी विकास बैंकद्वारा शुक्रराज ट्रपिकल अस्पतालमा क्यु म्यानेजमेन्ट उपकरण जडान

काठमाडाैं । महालक्ष्मी विकास बैंकको कालिमाटी शाखाले शुक्रबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्यु म्यानेजमेन्ट उपकरण जडान गरेको छ । उक्त उपकरण अस्पतालको ८६औं वार्षिकोत्सव समारोहका बिच समारोहका प्रमुख अतिथी स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावलले उद्घाटन गरेका हुन् । अस्पतालमा उपचारका लागि आउने बिरामी तथा बिरामी कुरुवाहरुलाई सरुवा रोगहरु सर्न सक्ने उच्च सम्भावना देखिएको हुँदा उक्त सम्भावना न्युनीकरण गर्ने उद्देश्य सहित बैंकले क्यु म्यानेजमेन्ट उपकरण जडान गरेको हो । देशका १०२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनहरुमा शुक्रराज अस्पतालसँग समन्वय गरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

सिसडोल ल्यान्डफिल्ड साइटकाे प्रभाव प्रतिवेदन बुझायो नास्टले, आसपासका १० स्थान अति प्रभावित

काठमाडाैं ।  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ल्यान्डफिल्ड साइटको वातारणीय प्रभाव मूल्याङ्कनका बारेमा गरेको अध्ययन प्रतिवेदन काठमाडौँ महानगरपालिकालाई बुझाएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई मङ्गलबार नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत डा. भोजराज पन्तले अध्ययन प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनअनुसार विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल्डमा व्यवस्थापन हुँदै आएको थियो । प्रतिवेदनले साइट आसपासका १० स्थान अति प्रभावित, १० ठाउँलाई प्रभावित र ४ स्थान कम प्रभावित भएको देखाएको छ । मापनका आधारमा नुवाकोट जिल्लाको ककनी गाउँपालिकास्थित तल्लो सिउँडिनी (तलेटार, ल्यान्डफिल्ड साइटको माथिल्लो भाग), सोति बालुवा, मङ्गटा टोल १ र २, पाँचमुरी टोल गरी पाँचवटा स्थान अति प्रभावित क्षेत्रमा परेका छन् । त्यस्तै धादिङ जिल्लाको धुनिबेँसी नगरपालिकाअन्तर्गत सिंखडा गाउँ, तिलखोरिया, कोल्पु खोला १ र २ गरी चार ठाउँ र काठमाडौँको तारकेश्वर नगरपालिकाअन्तर्गत खिलबुटा एक गरी जम्मा १० स्थानलाई अतिप्रभावित क्षेत्रमा राखिएको छ । यसैगरी ककनीका आठ वटा र धुनिबेँसीका दुई ठाउँ गरी १० ठाउँ प्रभावित क्षेत्र परेका छन् । तिनमा ककनी गाउँपालिकाअन्तर्गतका भण्डारथुम्का, ढोका भञ्ज्याङ, चाउथी ए र बी, कागती गाउँ, शिवालय माध्यमिक विद्यालय, तल्लो सिउँडिनी १ र २ तथा धुनिबेँसी नगरपालिकाअन्तर्गत पाठक गाउँ, डिगाउँ गरी दुई वटा ठाउँ छन् । ककनी गाउँपालिकाकाको कागती गाउँ हेल्थ पोष्ट र सिउँडिनी ट्याङ्की डाँडा गरी दुई ठाउँ कम प्रभावित क्षेत्रमा परेका छन् । त्यस्तै धादिङको धुनिबेँसी नगरतर्फ स्वना गाउँ र कटुञ्जे गाउँ गरी दुई वटा ठाउँ कम प्रभावित ठाउँमा परेका छन् । वैज्ञानिक डा पन्तका अनुसार साइटको गन्ध, सतह तथा भूमिगत पानी, लिचेड निष्कासन र व्यवस्थापन, माटोमा फोहोरमैला व्यवस्थापन गर्दा परेको प्रभावसँग पशुपक्षी तथा मानव बसोबासमा परेको प्रभावजस्ता विषयलाई अध्ययनका क्रममा हेरिएको छ । “स्थलगत रूपमा गरिएको नमूना सङ्कलनलाई प्रयोगशालामा गरिएको परीक्षण तथा स्थानीय अवस्था र स्थानीयवासीको धारणाका आधारमा अति प्रभावित, प्रभावित र कम प्रभावित गरी क्षेत्र निर्धारण गरिएको हो”, डा. पन्तको भनाइ छ । अध्ययन गएको असोज र कात्तिक महिनामा गरिएको हो । अध्ययनमा सतह र भूमिगत पानीको अवस्था, लिचेड र यसले पानी तथा जमिनमा पुर्याएको असर, ल्यान्डफिल्ड साइट आसपास क्षेत्रमा गन्धको प्रभाव, ल्यान्डफिल्ड साइटबाट निष्कासन भएको ग्यासको अवस्था, साइटबाट उत्पन्न हुने घुलनशील धुलोको कणको अवस्था र यिनीहरूले वातावरण तथा स्थानीय जनजीवनमा पारेको असर जस्ता विषय समेटिएका थिए । यसका लागि लिचेड निष्कासन हुने एक ठाउँबाट लिचेडको, कोल्पु खोला एक ठाउँबाट भूमिगत र चार ठाउँबाट सतही पानीको नमूना सङ्कलन गरिएको थियो । त्यस्तै ल्यान्डफिल्ड साइटको तीन ठाउँबाट माटो, सिसडोलको दुई वटा ठाउँबाट ग्यास, ककनी गाउँपालिका वडा १ र २ का एकएक ठाउँबाट घुलनशील धुलोका कणका नमूना सङ्कलन गरिएको थियो । त्यस्तै २४ ठाउँबाट गन्ध मापन गरिएको थियो । अध्ययनका लागि नास्टका सचिव डा. महेशकुमार अधिकारीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको थियो । नास्टकै वरिष्ठ वैज्ञानिक अधिकृत डा. पन्त सदस्य–सचिव रहनुभएको समितिको सदस्यमा नाष्टका वैज्ञानिक डा. दीपाश्री रावल र जयश्री सिजापति थिए भने वातावरणविज्ञ इञ्जिनीयर सूर्यमान शाक्य र महानगरका इञ्जिनीयर सरकारदीप श्रेष्ठ सदस्य रहेका  थिए ।

कोरोना भाइरसका कारण चीनमा १०६ को मृत्यु, चार हजारभन्दा बढी सङ्क्रमित

बेइजिङ । चीनमा नोबल कोरोना भाइरसका कारण सोमाबार रातीसम्म मृत्यु हुनेको सङ्ख्या १सय ६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । चीनको करिब ३० ओटा प्रान्तमा झण्डै चार हजार ५ सय १५ जना सङ्क्रमित भएका चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ । सङ्क्रमितमध्ये ९ सय ७६ जनाको अवस्था गम्भीर रहेको आयोगले जनाएको छ । गत २४ घण्टा यता ७ सय ६९ जना नागरिकमा यो भाइरसको सङ्क्रमण देखिएको छ । त्यसैगरी तीन हजार ८ सय ६ जनालाई पनि यसको सङ्क्रमणको आशङ्का गरिएको आयोगले जनाएको छ । सोमबार मात्र १ हजार ७७१ मा सो भाइरस भएको पुष्टि भएको र अरु २ हजार ७७ जना नयाँ संदिग्ध घटना पाइएको समाचारमा जनाइएको छ । सोमबार मात्र करिब ६० जना कोरोना भाइरसबाट निको भएर अस्पतालबाट घर फर्किएका पनि उक्त समाचारमा जनाइएको छ । यसअघि पनि यस रोगबाट निको भएका १ हजार भन्दा बढी घर फर्किएका थिए । यी सबैलाई विशेष निगरानीमा राखिएको छ । उक्त सङ्क्रमणको उत्पत्ति भएको उहान क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । सङ्क्रमणको प्रकोप चीनका कम्तीमा ३० प्रान्तमा फैलिएको छ भने कम्तीमा १८ शहरमा निकै डरलाग्दो तरिकाले फैलिएकाले ती सहरहरूमा यातायातका साधन सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ । ती क्षेत्रमा विभिन्न किसिमले सतर्कता अपनाइएको चीन सरकारले जनाएको छ । सरकारले देशभर हुने उडान, रेल सेवा र अन्य सवारीका साधनहरूको आवतजावतमा निगरानी बढाएको र उच्च सतर्कताका अपनाउन आह्वान गरेको छ । मानिसको बढी आवतजावत हुने विमानस्थल, बसपार्क, रेल स्टेशनलगायतमा स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको छ भने जङ्गली जनावर र पशु ओसारपसार तथा उपभोगमा कडाई गर्न निर्देशन दिइएको छ । सङ्क्रमणले अमेरिका, जापान, दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा छोइसकेको बताइन्छ । कोरोना भाइरस युरोपमा पनि फैलिन थालेको छ । फ्रान्समा तीन जनामा कोरोना भाइरस देखिएको पुष्टि भएको छ । यस सङ्क्रमणबाट मृत्युको घटना चीनमा मात्रै भएको छ भने त्रास सङ्क्रमित हुनेहरू अन्य देशमा पनि भएकाले विश्वभरी नै त्रास फैलिएको छ । चिनियाँ अधिकारीले कोरोना भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि गरिसकेका छन् । यो भाइरस सङ्क्रमण भएपछि खासगरी श्वासप्रश्वाससम्बन्धी समस्या देखिने चिकित्सकहरूको भनाई छ । उनीहरूका अनुसार ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने यस सङ्क्रमणपछिका लक्षण हुन् । यस भाइरसको सङ्क्रमणपछि शरीरमा अक्सिजनको मात्रा कम हुँदै जाने पनि अर्काे एक समस्या हो । यसैबीच, संयुक्तराज्य अमेरिकाले मध्यचीनमा घातक भाइरसको केन्द्रमा फसेका अमेरिकी कर्मचारी र नागरिकलाई उद्धार गर्न विशेष विमान सेवा शुरु गर्न लागेको जनाएको छ । रासस