सरकारले ३ सय शैय्याको राष्ट्रिय सरुवा रोग अस्पताल निर्माण गर्ने
काठमाडौं । सरकारले सरुवा रोगको नियन्त्रणका लागि छुट्टै अस्पताल बनाउने निर्णय गरेको छ। माघ २० गते बसेको मन्त्रिपरिषद्को बैठकले सङ्घीय सरकारको मातहत रहने गरी ३०० शैय्याको राष्ट्रिय सरुवा रोग अस्पताल निर्माण गर्ने निर्णय गरेको हो। बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले अस्पताल निर्माणका लागि सैद्धान्तिक सहमति दिएको जानकारी दिए। नेपालमा सरुवा रोगको प्रकोप फैलिएमा उपचार गर्ने छुट्टै अस्पताल छैन। सरकारले तत्कालका लागि टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमार्फत गम्भीर प्रकारका सङ्क्रामक रोगको उपचार गर्दै आएको छ। टेकु अस्पताल जम्मा ६० शैय्याको छ। छिमेकी चीनको वुहान क्षेत्रबाट विश्वव्यापीरूपमा फैलिएको नोभेल कोरोना भाइरसको बढ्दो रूपप्रति नेपाल सरकार संवेदनशील रहेको बाँस्कोटाले बताए। प्रवक्ता बाँस्कोटाले प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकको स्वास्थ्यवस्थाबारे सरकार अत्यन्त संवेदनशील रहेको उल्लेख गरे। प्रभावित क्षेत्रमा रहेका नेपालीका सम्बन्धमा चीन सरकार स्वयं अत्यन्त सजग रहेको उल्लेख गर्दै उनले आफ्ना देशका नागरिकसरह नेपाली नागरिकको पनि स्वास्थ्यप्रति चीनले गम्भीर चासो देखाएको बताए। ‘नेपाली नागरिकको सुरक्षाका निम्ति चिनियाँ नागरिकसरह गम्भीर बनेका छौँ भनेर उनीहरुले भनेका छन्’, चिनियाँ अधिकारीको भनाइ उद्धृत गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहनुभएका प्रवक्ता बाँस्कोटाले बताए। चीनमा रहेका नेपाली विद्यार्थीको स्वास्थ्यलाई लिएर अभिभावकबाट चिन्ता व्यक्त हुनु स्वभाविक भएको उल्लेख गर्दै उनले सरकारले पनि अभिभावकका रूपमा प्रभावित क्षेत्रमा डर र त्रासका बीच रहेका नागरिकलाई उद्धार गर्ने प्रक्रिया अगाडि बढाएको प्रष्ट पारे। ‘हामीले उद्धारका लागि तयारी तीव्र पारेका छौँ, प्रभावित क्षेत्रबाट ल्याइएका नागरिकलाई १४ दिन ‘क्वारेन्टाइन’मा राख्नुपर्ने हुन्छ, उनीहरुलाई राख्ने स्थानको व्यवस्था गर्दैछौँ”, उनले भने, ‘जहाजको कुनै समस्या छैन, विमानस्थलदेखि ‘क्वारेन्टाइन’ सम्म जाने ठाउँको व्यवस्था गर्नुपर्नेछ। चिकित्सक, अलग्गै वार्ड, स्वास्थ्य परीक्षणलगायतको प्रबन्ध गर्नुपर्ने छ, त्यो व्यवस्था हुँदैछ।’ वुहानमा रहेका नेपालीको अवस्थाबारे चीन सरकारसँग निरन्तर संवाद भइरहेको जानकारी दिँदै उनले यसमा नआत्तिन अभिभावकलाई आग्रह गरे। कोरोना भाइरसको बढ्दो सङ्क्रमणलाई रोक्न राष्ट्रिय तथा अन्तरराष्ट्रियरुपमा उच्च मनोबल बनाउनुपर्ने अवस्था आएको उनको भनाइ थियो। पछिल्लो समय कोरोना भाइरसबाट प्रभावित भएका व्यक्तिको स्वास्थ्यमा सुधार हुने क्रम बढ्दै गएको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेको उनले जानकारी दिए।
त्रिभुवन विमानस्थलमा जडान गरिएको थर्मल स्क्यानर १० दिनमै बिग्रियो
काठमाडौं । कोरोना भाइरसको न्यूनिकरणका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राखिएकाे थर्मल मेसिन बिग्रिएको छ । मेसिन राखिएको १० दिनमै एउटा थर्मल स्क्यानर बिग्रिएको हो । विमानस्थलमा राखिएका दुईटा मेसिन मध्ये एक मेसिन बिग्रिएकाे छ । एउटा थर्मल स्क्यानर बिग्रिएपछि यात्रुहरुलाई एउटै स्क्यानरले नै जाँच भईरहेको विमानस्थल स्रोतले बताएको छ । स्क्यानर साेमबार नै बिग्रिएको हाे । काेराेना भाइरस प्रति सर्तकता अपनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एयरपाेर्टमा हेल्थ डेस्क खडा गरेकाे छ । हेल्थ डेस्कमा हाल ७ जना डाक्टर, ३ जना नर्स, र ३ जना प्यारामेडिक्स कार्यरत छन् । यस्तै केही एम्वुलेन्स तयारी अवस्थामा राखिएको छ ।
तयारी पुरा नभई चीनबाट नागरिक ल्याउँदा ३ करोड जनता खतरामा: मन्त्री बास्कोटा
काठमाडौं । तयारी पुरा नभई चीनमा भएका नेपाली नागरिक ल्याउँदा ३ करोड जनताकाे स्वास्थ्यमा खतरा रहने सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले बताएका छन् । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै उनले साे कुरा बताएका हुन् । अहिले नेपाल सररकाले १८० नेपालीलाइ चीनबाट ल्याउन तयारी गरिरहेको छ । यद्यपी सरकारकाे तयारी अझै पुरा गर्न सकेको छैन । मन्त्री बास्कोटाले चीनमा रहेका नेपालीहरु सुरक्षित रहेको र तयारी हुने बित्तिकै उनीहरुलाई ल्याईहाल्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बिहिबार बसेको बैठकले भने फर्काईने नागरिकहरुलाई ४ ठाउँमा निर्णय गरेको छ । बैंठकबाट शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटी गरी चार स्थानमा क्वारेन्टाइन स्थल छनोट गरिएको छ । चीनमा फैलिएको कोरोना भाईरसको कारण बिहिबारसम्म ५ सय ६३ जनाको मृत्यु भएको छ भने २८ हजार भन्दा बढि संक्रमित भएका छन् ।