एनआईसी एशिया बैंक र नारायणी वयोधा हस्पिटलबीच सेवा सम्बन्धि सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नारायणी वयोधा हस्पिटल, वीरगञ्ज, पर्साबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक सेवा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रादेशिक कार्यालयका प्रमुख प्रकाशचन्द्र अधिकारी र नारायणी वयोधा हस्पिटलको तर्फबाट हस्पिटलका सुविधा सञ्चालक डा. रजनिश भारतीले हस्ताक्षर गरेका हुन् । नारायणी वयोधा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट तथा अन्तरंग बिरामीहरुको लागि १५ दिनसम्मको क्यासलेस वा क्रेडिट सुविधा प्रदान गर्ने सम्झौता भएको छ । मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ ईकाई मार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ । करिब १६ लाख ग्राहक रहेको साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

डेडो आँखाको समयमै उपचार नगरे आँखाको ज्योति गुम्ने: डा. सुजता भण्डारी

नेपाल आँखा अस्पतालमा बच्चाको आँखा जाँच्दै डा. सुजता भण्डारी काठमाडौं। आँखा हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण अंग हो। संवेदनशील भएको कारण यसमा सानो चोटपटक लाग्दापनि धेरै समस्या आउने गर्दछ, त्यसैले यसको राम्रोसँग हेरचाह गर्नुपर्छ । ठूलाहरुले त आँफैले आफ्नो हेरचाह गर्न सक्छन्, तर बालबालिकाहरुलाई भने कतिपय समयमा आफ्नो आँखामा समस्या छ वा छैन भन्ने कुरामा अलमल हुन्छ, त्यसैले अभिभावकहरुले बच्चाको आँखामा आउने समस्याहरुमा ध्यान दिन जरुरी छ। बच्चाहरुमा विभिन्न कारणले आँखामा समस्या आउने गर्दछ । खेल्दा लडेर बच्चाहरुले आँखा गुमाउने, धुलो धुवाको कारण आँखाको एलर्जी हुने, लामो समय कम्प्युटर तथा मोबाइलको स्क्रिनमा हेरेको कारण आँखा कमजोर हुदै जाने डा. सुजता भण्डारी बताउँछिन्। यससंगै बच्चाहरुमा जन्मजात पनि आँखामा समस्या आउने गर्दछ । बच्चाहरुमा सबैभन्दा बढी देखिने आँखाको समस्या चस्मा लगाउनु पर्ने समस्या, डेडो आँखा, अल्छि आँखा, जन्मजात मोतिविन्दु र जन्मजात जलविन्दु रहेको भण्डारीले बताईन् । आँखामा आउने एलर्जी, आँखा पाक्ने समस्या बच्चाको आँखामा देखिने सामान्य समस्यामा पर्दछन् भने जटिल समस्यामा डेडो आँखा, मोती बिन्दु, जल बिन्दु, अल्छि आँखा र आँखाको क्यान्सर पर्दछन्। मोतिविन्दु बच्चाहरुमा जन्मजात देखिन्छ भने डेढो आँखा जन्मने बित्तिकै र जन्मिएको केही महिनामा देखिने गर्दछ । बच्चाले नदेखेको कारण आँखा डेडो हुने गर्दछन्, जसलाई अभिभावकले गलत बुझ्छन् । समयमा यसको उपचार नगरेको खण्डमा बच्चाले पछि गएर आफ्नो ज्योति नै गुमाउन सक्छन् । बच्चाहरुले चस्मा किन लगाउनु पर्छ ? – आँखाको आकार फरक-फरक भएको कारणले बच्चाहरुले चस्मा लगाउनु पर्ने हुन्छ । कसैको आँखाको नानी फ्ल्याट, स्टिफ हुन्छ, जसकारण उनिहरुको आँखाको फरक फरक पावर हुने गर्दछ । समयमै यसको समस्या पत्ता लगाएर चस्माको प्रयोग गर्ने हो भने आँखाको समस्या निर्मुल भएर जान्छ, तर नगरेको खण्डमा आँखा अल्छि हुँदै गएर समस्या निम्ताउँछ । बच्चालाई हामीले ८ बर्षको उमेर सम्ममा अल्छि आँखाबाट बचाउन सक्छौं । अल्छि आँखामा बच्चाले आँखाको आकार सबै ठीक हुँदाहुँदै पनि आँखा देख्न नसक्ने भएर जान्छ । जन्मजात आँखाको समस्या परिवारमा कसैलाई पहिलै आँखामा समस्या भएको धेरै जस्तो अवस्थामा जन्मजात आँखामा समस्या देखिने गर्दछ । यसका साथै आमाले गर्भवती अवस्थामा केही कारण औषधी खाएको अथवा मधुमेह छ भने जन्मिने बच्चामा मोतिविन्दु हुने खतरा हुन्छ ।  त्यस्तै एउटा बच्चा मोतिविन्दु भएको जन्मियो भने अर्को बच्चामा पनि मोतिविन्दु देखिने गर्दछ । गर्भवती अवस्थामा महिलालाई कुनै संक्रमण, रुवेला भएमा पनि बच्चाको आँखामा असर पर्न सक्छ। स्क्रिनमा धेरै समय बिताउँदा मोबाईल तथा ल्यापटममा लामो समय बिताउँदा बच्चाहरुको आँखा सुख्खा हुन्छ। आँखा सुख्खा हुँदा अन्य समस्याहरु निम्तिनुको साथै चस्मा लाउनु पर्ने अवस्था पनि सिर्जना हुन्छ । आँखाको क्यान्सर आँखामा क्यान्सर बिशेष गरेर १-३ बर्षको बच्चामा देखिने गर्दछ र त्यो भन्दा पछी पनि देखिन सक्छ । यसको कारण भने अझैपनि खुल्न सकेको छैन । यो भएको समयमा आँखामा सेतो जस्तो देखिने, आँखा टल्किने, बिरालो जस्तो आँखा हुने, आँखा डेढो हुने र जटिल अवस्थामा आँखाको भाग नै बाहिर निस्कने गर्दछ। यसको उपचार यो कुन अवस्थामा छ भन्ने कुरा हेरेर हुन्छ। ( डा. सुजता भण्डारीसँगको कुराकानीमा आधारित, डा. भण्डारी हाल नेपाल आँखा अस्पतालमा पेडाट्रिसियन अन्कोलोजिस्टको रुपमा कार्यरत हुनुहुन्छ। )

चन्द्रागिरीमा २५ शैयाको सामुदायिक अस्पताल बन्दै, लगानी ७ करोड, २ वर्षमा सञ्चालन

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा ७ करोडको लगानीमा २५ शैयाको सामुदायिक अस्पताल बन्ने भएको छ । चन्द्रागिरी  नगरपालिका वडा नं ८ बौथली चोकमा मातातीर्थ सामुदायिक अस्पताल बनाउन लागिएको हो । प्रदेश सरकार, चन्द्रागिरि नगरपालिका र जिल्ला समन्वय समितिको सहकार्यमा अस्पताल निर्माण हुन लागेको हो । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर ८ का अध्यक्ष सन्तोस खड्काका अनुसार अस्पतालबाट सबै किसिमको सेवा सुविधा प्रदान हुनेछ । सामुदायिक अस्पताल ५ रोपनी क्षेत्रफलमा अस्पताल बन्ने उनले बताए । अस्पताल निर्माणका लागि राष्ट्रिय निर्माण कम्पनीले ठेक्का पाएको र २ वर्षमा अस्पताल निर्माण भई सञ्चालनमा आउने छ । चन्द्रागिरि नगरपालिका स्थित बौथलीचोकमा रहेको हेल्थपोस्टलाई अस्पतालका रुपमा बिस्तार गर्न लागिएको हो । चन्द्रागिरि नगरपालिकामा कुनैपनि समुदायिक र सरकारी अस्पताल नभएकाले स्थानीय स्तरमा नै राम्रो सेवा प्रदान गर्नेको लागि अस्पताल निर्माण हुन लागेको हो । हस्पिटल बनेपछि वडा नं १ खेदि १५ सम्मका सबैले सेवाग्राहीहरुले सजिलै सेवा पाउने वडाध्यक्ष खड्काले विश्वास व्यक्त गरे । चारै नाकामा प्रसुति हस्पिटलको शाखा खुल्दै यता, काठमाडौं उपत्यकाबाट बाहिर निस्कने तथा भित्र छिर्ने ४ वटै मुख्य नाकाहरुमा हस्पिटल बन्ने भएको छ । काठमाडौको पूर्वतर्फ भक्तपुरको साँगा, पश्चिमतर्फ थानकोट, उत्तरतर्फ नागार्जुन र दक्षिणतर्फ दक्षिणकाली क्षेत्रमा हस्पिटल बन्ने भएको हो । प्रसुति गृहको शाखाका रुपमा पहिलो चरणमा चन्द्रागिरि नगरपालिका अन्तर्गत रहेको थानकोट क्षेत्रमा हस्पिटल बनाइने बताइएको छ । उक्त हस्पिटलका लागि प्रसुति गृहका प्रमुख जागेश्वर गौतमको नेतृत्वमा गएको जर्मन विज्ञ टोलीले सम्भाव्यता अध्ययन समेत गरेको चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले बताए । उक्त हस्पिटलका लागि नगरपालिकाले प्रसुति गृह अस्पताल र शहरी विकास केन्द्रसँग समन्वय गरी निर्माण कार्य अघि बढाउने जिम्मेवारी पाएको छ । उक्त हस्पिटलमा प्रारम्भमा प्रसुति सेवा मात्र उपलब्ध हुने भएपनि बिस्तारै जनरल ओपिडी, आँखा, दाँत, क्षयरोग लगायतका सेवा समेत उपलब्ध गराइने छ ।