कोलोरेक्टल क्यान्सरबारे नर्भिक हस्पिटलले गर्यो जनचेतनामूलक कार्यक्रम
काठमाडौं । रोटरी क्लब चन्द्रागिरीसँगको सहकार्यमा नर्भिक इन्टरनेशनल हस्पिटलले कोलोरेक्टल क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । मार्च महिनालाई कोलोरेक्टल अर्थात् ठूलो आन्द्रा र मलासयको अर्बुदरोग(क्यान्सर)बारे जनचेतना अभिवृद्धि गर्ने÷गराउने महिनाका रुपमा लिइन्छ । सोही अवसरमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको अस्पतालले जनाएको छ । ठूलो आन्द्रा र मलाशयको अर्बुदरोग मानिसलाई हुने अर्बुदरोगहरु मध्ये तेस्रो ठूलो र भयानक रोगमा पर्दछ । विश्व तथ्यांकलाई हेर्ने हो भने हरेक वर्ष यस रोगका १८ लाख नयाँ विरामीहरू देखापर्ने गर्छन् भने तिनीहरु मध्ये झण्डै ५० प्रतिशत अर्थात् नौ लाख जतिले ज्यान गुमाउने गर्दछन् । हालैका वर्षहरूमा नेपालमा समेत यस रोगका रोगीहरू प्रशस्तै भेटिन थालेका छन् । नर्भिक हस्पिटलका कोलोरेक्टल तथा जनरल सर्जन डा. सत्यदीप भट्टाचार्यका अनुसार ठूलो आन्द्रा तथा मलाशय (कोलन र रेक्टम)को क्यान्सरबारे आवश्यक जनचेचना सबैमा हुने हो भने, नियमित जाँच/परीक्षण गराउने हो भने, स्वस्थकर भोजनका साथ स्वस्थकर आहार–व्यवहार अपनाउँदै नियमित शारीरिक व्यायाम गर्ने हो भने यस रोगलाई सजिलै रोकथाम गर्न सकिन्छ । हस्पिटलले गरेको कार्यक्रममा नर्भिकका पेटरोग विशेषज्ञ डा. वरुण शाहले ठूलो आन्द्रा र मलाशयका तमाम रोगहरुको निदानमा कोलोनोस्कोपीको महत्वबारे प्रकाश पारेका थिए । रोग समयमै पत्ता लागेमा ठूलो आन्द्रा र मलाशयका सबै खाले क्यान्सर रोगको शल्यक्रियात्मक उपचार सहज हुन सक्ने चिकित्सकहरु बताउँछन् । शल्यक्रियाका साथसाथै रेडियसन थेरापी तथा किमोथेरापी पनि साथसाथै चलाउनुपर्ने हुन्छ । रोग समयमै पत्ता नलागी ढिलो हुँदा सफल उपचार हुने दर ५० प्रतिशत मात्रै वा सोभन्दा पनि कम हुने बताइएको छ । कुनैपनि व्यक्तिमा ठूलो आन्द्रा/मलाशयको अर्वुदरोग (क्यान्सर) हुने जोखिम उमेरसँगै बढ्दै जान्छ । सबै महिला तथा पुरुष जो ४५ वर्ष कटिसकेका छन्, तिनलाई ठूलो आन्द्रा र मलाशयको अर्वुदरोग हुनसक्ने जोखिम समान रुपमा बढेर जान्छ । तसर्थ उमेर पुगेका हरेक महिला तथा पुरुषले नियमित रुपमा रोग परीक्षण/जाँच गराउनु अत्यावश्यक हुने नर्भिक हस्पिटलले जनाएको छ ।
बन्द हुने अवस्थामा कान्ति बाल अस्पताल: ६ आइसियूसहित ४६ बेड कटौती
काठमाडौँ । देशकै एक मात्र केन्द्रीय बाल अस्पताल स्वास्थ्यकर्मी र बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । तीन सय १५ बेडको कान्ति बाल अस्पतालले पछिल्लो एक महिनामा ४६ बेड कटौती गरेको छ । कान्तिले आइसियू ६, इन्टरमिडियट (आइसियूमा लैजानुपूर्व बिरामी भर्ना गरिने बेड) १० र एक्स्ट्रा ३० गरी ४६ बेड कटौती गरेको हो । यसअघि ५२ बेडको केन्द्रीय आइसियूको अवधारणा भए पनि ३७ वटा आइसियू बेड सञ्चालनमा थिए । इन्टरमिडियट बेडको संख्या २० थियो । पुस ०७३ सम्म कान्तिको आइसियूमा १८ बेड थिए । बिरामीको चाप बढेपछि तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले २२ पुस ०७३ देखि आइसियूमा ३४ बेड थप गरेका थिए । यद्यपि अस्पतालले ५२ वटा आइसियू बेड सञ्चालन गर्न सकेन । जम्मा ३७ बेड मात्र सञ्चालित थियो । अस्पताल निर्देशक गणेश राईले डाक्टर, नर्स र बजेटको अभावले सेवा प्रवाहमा गम्भीर समस्या आएको बताए । ‘मेडिकल अफिसर र आइसियूमा नर्सको चरम अभाव छ । बेडसंख्या थप गर्नुपर्ने समयमा घटाउनुपरेको छ । यसै साता ६ वटा आईसियू बेड घटाएर ३१ मा झारिएको छ’ निर्देशक राईले भने, ‘हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पटकपटक सहयोगको अपिल गरेका छौं । तर सहयोग मिलेको छैन । यही अवस्था रहे अस्पतालका सबै सेवा चाँडै बन्द हुन्छ ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
खेर जान्छन् निःशुल्क औषधि, जनचेतना नहुँदा यस्तो हुन्छ
काठमाडौँ । महानगरपालिकाअन्तर्गतका सहरी स्वास्थ्य केन्द्रबारे जनचेतना नहुँदा निःशुल्क पाइने औषधि खेर जाने गरेका छन् । काठमाडौं महानगरपालिकाभित्र हाल २७ वटा सहरी स्वास्थ्य केन्द्र छन् जहाँ कम्तीमा ४४ र बढीमा १ सय थरि निःशुल्क औषधि र आधारभूत स्वास्थ्य उपचार सेवा पाइन्छ । निःशुल्क स्वास्थ्य सेवा पाइने यस्ता केन्द्रमा न्यून रूपमा मात्रै बिरामी छिर्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् । ४४ थरी औषधि निःशुल्क औषधि उपलब्ध नयाँ बानेश्वरस्थित सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा मुस्लिकले दैनिक १२ बिरामी आउँछन् । क्लिनिकका जनस्वास्थ्य अधिकृत गौतमराज बज्राचार्यका अनुसार यहाँ क्षयरोगको नियमित औषधि सेवन गर्ने बिरामी मात्रै बढी आउँछन् । सिटामोल, एन्टिबायोटिक, परिवार नियोजनका सामग्रीबाहेक अन्य औषधि कम मात्रामा मात्रै उपयोग हुन्छ । उनी भन्छन्, ‘अहिले त प्रेसर सुगरका औषधि पनि निःशुल्क औषधिमा समेटिएका छन् । घरैपिच्छे यो रोगका बिरामी छन् भन्छन् । बाहिर महँगो तिरेर खान्छन्,यहाँ निःशुल्क पाइने औषधि ‘डेट एक्सपायर’ भएर खेर जान्छ ।’ गर्भवती जाँच, खोप, झाडापखाला र निमोनियालगायत आठ थरी स्वास्थ्य सेवा पाइने यस केन्द्रबारे जनचेतनाको कमी हुँदा प्रभावकारी हुन नसकेको महानगरको सहरी स्वास्थ्य तथा खाद्यपदार्थ महाशाखाका निर्देशक नरेन्द्र बज्राचार्यले बताए । उनले भने, ‘विशेषगरी मजदुर, सुकुम्बासी र गरिब मात्रै यहाँको सेवा दिन आउँछन्, तीमध्ये पनि धेरैलाई यसबारे थाहा छैन ।’ निजी अस्पतालमा महँगो पर्ने खोप पनि यहाँ निःशुल्क पाइने उनले बताए । २५ वर्षदेखि सञ्चालनमा आएका सहरी स्वास्थ्य केन्द्रप्रति सर्वसाधारणको आकर्षण बढ्न सकेको छैन । स्वास्थ्य नियमावली अनुसार १३७ थरी औषधि निःशुल्क पाइने भनिए तापनि सबै औषधि केन्द्रमा उपलब्ध छैनन् । भौतिक पूर्वाधारको कमीका कारण यस्ता केन्द्र वडा, कार्यालय, स्थानीय तहका सामुदायिक भवन र क्लबका साँघुरा कोठाबाट सञ्चालन हुँदै आइरहेका छन् । थोरै स्वास्थ्य केन्द्रमा मात्रै बेडसहितको सेवा छ । सबै केन्द्रमा आवश्यक अनमी, अहेब, जनस्वास्थ्य अधिकृतजस्ता कर्मचारी पनि पुग्दो मात्रामा छैनन् । वार्षिक ६ करोड ९० लाख बजेट छुट्याइने यस्ता स्वास्थ्य केन्द्रको प्रचारप्रसार हुनुपर्छ । प्रचारप्रसार हुन नसक्दा एकातिर बिरामीले निःशुल्क पाइने औषधि किनेर खाइरहेका छन् भने अर्कातिर खपत हुन नसक्दा औषधि खेर गइरहेका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।