कोरोनालाई जितेका कैलालीका युवा भन्छन्: आत्मबल बढाउँ, कोरोनासँग अवश्य जितिन्छ
काठमाडौं । कैलालीको सेती प्रादेशीक अस्पतालमा कोरोनाको उपचार गराइरहेका एक जना युवा आज डिस्चार्ज भएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका ९ प्रतापपुरका २१ वर्षीय युवकले १६ दिन अस्पताल बसाई सकेर आज डिस्चार्ज भएका हुन् । उनले अस्पतालबाट घर फर्केने समयमा कोरोनासँग जित्न आत्मविश्वास र हिम्मत चाहिने बताएका छन् । ‘निडरका साथ उपचारमा बसे कोराना जित्न सकिन्छ, मलाई कुनै लक्षण नै देखिएको थिएन, तर मलाई कोरोना पोजेटिभ देखियो, म आत्मबलले उपचारमा बसेँ, म निको भएँ,’ उनले भने । कोरोना संक्रमणबाट निको हुन्छु भन्नेमा आफू सुरुवातबाटै पूर्ण विश्वस्त रहेको उनको भनाई छ । उनलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र अस्पतालका डाक्टरहरुले फुल दिएर बिदा गरेका छन्। उनी एम्बुलेन्समा चढेर अस्पतालबाट घर फर्केका हुन्। गत चैत ११ गते राती कैलालीको गौरीफन्टा नाका भएर भारतको मुम्बईबाट घर फर्किएका थिए। १२ गते विहान घर पुगेका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो।त्यसको १५ औं दिनमा उनको दोस्रो र त्यसको २४ घण्टामा गरिएको तेस्रो पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डा. जगदीश जोशीले बताए। उनी डिस्चार्ज भएसँगै अब सेतीमा चार जना संक्रमितको उपचार भइरहेको छ। उनीहरु सबैकाे रिपाेर्ट भने पाेजेटिभ देखिएकाे छ । तर, अवस्था भने सामान्य नै भएकाे असपतालले बताएकाे छ ।
काठमाडौं बाहिर पनि कोरोनाको सफल उपचार
काठमाडौं काठमाडौं बाहिर पनि कोरोनाको सफल उपचार भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले काठमाडौं बाहिर पनि कोरोनाको सफल उपचार भएको बताएका हुन् । काेरेाना अपडेटका लागि दैनिक गरिने पत्रकार सम्मेलनमा उनले काठमाडौं बाहिर पनि सफल उपचार भइ पुष्टि गभएकाे बताएका हुन् । विभिन्न स्थानीय तहले पनि कोरोना भाइरसको जोखिम न्युनिकरण तथा नियन्त्रणका लागि राम्रो काम गरेका उनको भनाइ छ । ‘सेती प्रादेशिक अस्पताल र धौलागाीरी अस्पतालमा कोरोनाका बिरामीको सफल उपचार भएको छ, यसले पनि काठमाडौं बाहिरका अस्पतालमा सफल उपचार भएको बुझन सकिन्छ,’ उनले भने । आज मात्रै कैलालीको सेती प्रादेशीक अस्पतालबाट एक जना कोरोनाका बिरामी डिस्चार्ज हुँदैछन् भने हिजो मात्रै धाैलागिरी अस्पतालबाट ६५ वर्षीय वृद्धा कोरोनाको सफल उपचारपछि घर फर्किएकी थिइन् । हालसम्म नेपालमा कोरोनाका बिरामी ३१ जना रहेका छन् । जसमध्ये ४ जना निको भएर घर फर्किसकेका छन् ।
दक्षिण कोरिया कोरोना सँगको लडाइँ जित्दै, २४ घण्टामा ८ जनामा मात्र देखियो
काठमाडौं ।दक्षिण कोरियामा विगत २४ घण्टामा केवल आठ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण देखिएको विवरण प्राप्त भएको छ। दुई महिनायता सङ्क्रमितको सङ्ख्या एकोहोरो अङ्कमा मात्रै थपिएको यो पहिलो पटक हो। सङ्क्रमणको दर उल्लेख्य रूपमा घटेपछि सरकारले भेला र जमघटमा लगाइएका प्रतिबन्धहरू फुक्का गर्ने घोषणा गरेको छ। आठ सङ्क्रमितमध्ये पाँच जना विदेशबाट फर्किएका व्यक्ति भएको बताइएको छ। कुनै बेला चीनपछि एशियामा सर्वाधिक सङ्क्रमण फैलिएको दक्षिण कोरियाले लकडाउन नलगाईकनै कोभिड-१९ महामारी उल्लेखनीय रूपमा नियन्त्रणमा लियो। त्यहाँ सङ्क्रमितको सङ्ख्या १० हजार ७ सय पुगेको छ भने २ सय ३४ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन्। आक्रामक कदम फेब्रुअरी महिनामा एशियामा चीनपछि धेरै सङ्क्रमित हुनेको सङ्ख्या दक्षिण कोरियामा थियो। कोरोनाभाइरस प्रकोप नियन्त्रणमा ल्याउन दक्षिण कोरियाले सम्भावित सङ्क्रमित व्यक्तिको परीक्षण र पहिचान गर्न उपायहरू व्यापक रूपमा अवलम्बन गरेको थियो। राष्ट्रपति मुन जे-इनले आफ्नो देशले कोरोनाभाइरस नियन्त्रणका लागि गरेको प्रगतिले कोभिड-१९ लाई परास्त गर्न सकिने आशा विश्वका अन्य भागमा पनि दिने बताए। अब गिर्जाघर, मदिरालय र व्यायामशालाहरू खुल्नेछन्। तर तिनले आगामी महिनाको आरम्भसम्म व्यक्तिगत दूरीसम्बन्धी नियम पालना गर्नुपर्नेछ । यसअघि कोरोनाभाइरस नियन्त्रण र रोकथामका लागि उदाहरणीय काम गरेको भन्दै प्रशंसा पाएको दक्षिण कोरियाले एप्रिल ४ तारिखमा दुई साताका लागि सामाजिक दूरी कायम गर्ने समयसीमा थपेको थियो। उक्त समयसीमा आइतवार सकिँदैछ। व्यक्तिगत दूरी कायम गर्नका लागि दक्षिण कोरियालीहरूलाई सार्वजनिक स्थलमा एकअर्काभन्दा दुई मिटर पर उभिन सुझाव दिइएको छ। उनीहरूलाई गिर्जाघर र अन्य भेलामा नजान सल्लाह दिइएको छ। एक महिनाका लागि बन्द गरिएका विद्यालयहरूले अनलाइनमार्फत् पढाउन थालिसकेका छन्।