कोरोना अपडेटः संसारभर निको हुने संक्रमितको संख्या करिब ७ लाख

काठमाडौं । नेपाली समय अनुसार आज विहान ७ः३० बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या २५ लाख ५६ हजार ७ सय ४५ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ७७ हजार ६ सय १९ जनाको मृत्यु भइसकेको छ भने ६ लाख ९० हजार ३ सय ९३ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढी शिकार अमेरिकाकी जनता भएका छन् । जहाँ ४५ हजार ३ सय १८ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने ८ लाख १८ हजार ७ सय ४४ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २० हजार ८० पुगेको छ भने अहिलेसम्म ६४५ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ४२ जना संक्रमित भएका छन् भने ४ जना निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभारः वल्डोमिटर)

एकैदिनमा उदयपुरकाे ११ जनामा देखियो कोरोना, संक्रमित संख्या ४२ पुग्यो

काठमाडाैं । एकैदिनमा उदयपुरका ११ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका ११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हाे। याे सँगै उदयपुरमा मात्र कोरोना संक्रमितको संख्या २४ पुगेको छ। विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि मंगलबार धरानमा गरिएको पुनः परीक्षणमा ८ जनामा र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उदयपुरकै ३ जनामा कोरोना देखिएको हो। योसँगै कोरोना संक्रमितको संख्या ४२ पुगेको छ जसमा ५ जना निको भएर घर फर्किएका छन्।

नर्भिक हस्पिटलमा उपचारत एक बिरामीमा आरडिटी पोजिटिभ भन्ने समाचार गलत

काठमाडौं । नर्भिकमा उपचाररत एक बिरामीमा आरडिटी पोजिटिभ भन्ने समाचार गलत रहेको नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएकाे छ । हस्पिटलले मंगलबार एक विज्ञप्ति जारी गरी २०७७ बैशाख ९ गते विभिन्न सामाजिक सञ्जाल तथा अनलाईन मिडियाहरुमा आएकाे उक्त समाचार गलत भएकाे जानकारी गराएकाे छ । सामान्य ज्वरो आई गत सोमबारदेखि नर्भिकमा उपचाररत एक ५० वर्षीया महिलामा कोरोनाको शंकाका कारण निजको पिसिआर परीक्षणका लागि स्वाव बीर अस्पतालको प्रयोगशालामा पठाइएको थियो । सो परीक्षणको नतिजा प्राप्त भइसकेको तथा नतिजा नकारात्मक (निगेटिभ) आएको नर्भिकले जानकारी गराएकाे छ ।