किट अभावले कर्णालीमा कोरोना परीक्षण प्रभावित
काठमाडाैं । किट अभावका कारण कर्णाली प्रदेशमा कोरोना भाइरसको परीक्षण प्रभावित भएको छ । थ्रोट स्वाबको नमूना सङ्कलन तथा प्रोसेसिङ गर्ने सामान सकिएपछि कोरोना परीक्षणकार्य प्रभावित भएको हो । किट नहुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जडान गरिएको रियल टाइम पोलिमर चेन रियक्सन (आरटी पिसीआर) मेसिन सञ्चालनमा आउन सकेको छैन । गत मङ्गलबार प्रतिष्ठानले पिसीआर जडान गरेको थियो । प्रतिष्ठानका अनुसार प्रयोगशाला सञ्चालन नहुँदा अहिले जुम्लामा कोरोना शङ्कास्पद व्यक्तिको जाँच रोकिन पुगेको छ । प्रदेश अस्पताल सुर्खेतमा पनि किट अभावले परीक्षण प्रभावित भएको छ । अस्पतालका निर्देशक डा डम्बर खड्काले प्रयोगशालासँग ३०० मात्र नमूनाको परीक्षण गर्न मिल्ने किट बाँकी रहेको जानकारी दिए । यहाँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट खरिद गरी ल्याएको पिसीआर मेसिन दिएको छ । पशु रोग अन्वेषण प्रयोगशालामा नयाँ आरटी पिसीआर मेसिन जडान भएपछि कम क्षमताको भनिएको उक्त मेसिन पनि थन्किएको छ । कर्णालीको सुर्खेत र जुम्लामा रहेका मेसिनले एकैपटक ९६ स्वाब नमूना परीक्षण गर्न सक्दछन् । तर, प्रदेशमा स्वाब सङ्कलन गरेर प्रयोगशालामा ल्याउन आवश्यक पर्ने भाइरस ट्रान्सफर मिडिया (भिटीएम) तथा सङ्कलित स्वाब परीक्षण गर्ने पिसीआर प्रोसेसिङ किट सकिएका छन् । प्रदेश स्वास्थ्य निर्देशक डा रीता भण्डारीले एक साताअघि नै किट माग गरिएको बताए । ‘कर्णालीका लागि थप एक/एक हजार भिटीएम सेट र प्रोसेसिङ किट माग गरेका छौँ, आएको छैन’, उनले भने, ‘जसले गर्दा आरडिटी र पिसीआर परीक्षण प्रभावित बन्यो ।’ उनका अनुसार कर्णालीमा हालसम्म पाँच हजार ५०० को आरडिटी तथा करिब एक हजार जनाको पिसीआर परीक्षण गरिएको छ । हालसम्म यहाँ भने कोरोना सङ्क्रमण देखिएको छैन । छिमेकी जिल्ला बाँकेको नेपालगञ्जमा कोरोना सङ्क्रमितको सङ्ख्या अचानक बढेपछि कर्णाली प्रदेशमा पनि त्रास बढेको छ । बाँकेमा फैलिँदो सङ्क्रमणको नतिजाले कर्णालीमा पनि त्रास बढेको हो । परीक्षण न्यून भएकाले कोरोना नदेखिएको हो कि भन्ने आशङ्का गर्न थालिएको छ । दुई साता पहिले कर्णाली भित्रिएकाहरुको परीक्षण गरेपछि मात्रै वास्तविकता पत्ता लाग्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् । किट अभावले भने परीक्षण ढिलाइ हुने भएको छ । कर्णालीमा वैशाखको पहिलो सातादेखि किट अभाव भएको थियो । सामाजिक विकास मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधिकारीले परीक्षण किट खरिदको जिम्मा प्रदेश स्वास्थ्य निर्देशनालयलाई दिएको बताए । ‘केन्द्रसँग पनि एक हजार थान किट माग गरेका छौँ, किट माग गरेको दुई साता बितिसक्यो, आइपुगेको छैन’, उनले भने । बाँकेसँग प्रत्यक्ष सम्पर्क जोडिएको कर्णालीमा कोरोना परीक्षणको दायरा बढाउनुपर्ने चौतर्फी आवाज उठेको छ । रासस
लकडाउन, विकास र टेष्टः सरकार काठमाडौंमै रुमल्लिएको हो ?
काठमाडौं । आज देशमा लकडाउन भएको ४२ दिन पुगिसकेकाे छ । कोरोना भाइरसको कारण भएको लकडाउनले मानिस घरभित्रै छन् । तर, दिनप्रतिदिन कोरोना संक्रमितको संख्या भने बढ्दै गएको छ । आज मात्रै नेपालगञ्जमा सात जना कोरोनाका बिरामी भेटिएका छन् । संघीय राजधानी काठमाडौं उपत्यकाकामा भने कोरोना संक्रमण भएकाहरू पनि घर फर्किसकेका छन् । सरकारले काठमाडौं मा विशेष सतर्कता अपनाएर ती बिरामी निको भएर घर फर्के र नयाँ संक्रमित पनि देखिएनन् । तर, काठमाडौं बाहिर पनि दिनप्रति दिन कोरोनाका बिरामीको संख्या दजनौं बढिरहेको छ । काठमाडौंमा मात्रै लकडाउनपछि धादिङका एक पुरुष र सनसिटी अपार्टमेन्टमा बस्दै आएका आमा छोरामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु अहिले निको भएर घर फर्किसकेका छन् । आज आज नयाँ संक्रमित नभेटिएको २३ दिन भइसकेको छ । यदि सरकारले जुन रुपमा काठमाडौं उपत्यकामा नमुना परीक्षण दायरा बढायो र मानिसको आवतवावतमा कडाई गर्यो त्यही अनुरुप अन्य ठाउँमा पनि दायरा बढायो भने यो अवस्था आउने थियो र ? यो भने आम सबैको जिज्ञासाको विषय बनेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा अहिलेसम्म पीसीआर विधिबाट ७३५ र ¥यापिड डायग्नोस्टिक टेष्ट (आडीटी) विधिबाट ३ हजार ३ सय ७९ मात्र परीक्षण भएको छ । उपत्यकाको जनसंख्याको तुलनामा यो निकै कम हो । सरकारले मानिसको आवतजावत रोकेर र अन्तर्राष्ट्रिय उडानहरु पनि बन्द गरेर विशेष सतर्कताका साथ काम गरिरहेको पनि छ । तर, अझै पनि धेरैले लकडाउन कायमै गर्नु पर्छ भनेर आवाज उठाइरहेका छन् भने धेरैले अब काठमाडौंमा खुकुलो पार्दा पनि हुन्छ भन्ने आवाज पनि उठाइरहेका छन् । ४२औं दिन लामो लकडाउनका कारण व्यपाार व्यवसाय र उद्योगधन्दाहरु ठप्प छन् । कोरोना बाहेकका बिरामीहरु थला पर्न थालेका छन् भने यो अवधिमा खाना नपाएर पनि समस्यामा परेकाहरुको समाचार पनि बाहिरन थालेका छन् । यसले पनि कोरोनाभन्दा पनि मानसिक स्वास्थ्यमा असर पर्न सक्ने सम्भावना पनि प्रवल छ । सोमबारै उपत्यकाका नगरपालिकाको छाता संगठन ‘उपत्यका नगरपालिका फोरम’का पदाधिकारीले कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर लकडाउन खुकुलो बनाउन माग गरेका थिए । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले पछिल्लो समय कोरोना संक्रमितको संख्या बढी रहेकोले मानिसहरुको आवत–जावतमा कडाई गर्नुपर्ने बताए । धेरैले काठमाडौंमा लकडाउन खुुकुलो पार्नु पर्ने बताइरहेपनि त्यस्तो गर्दा मानिसहरु लुकेर आउनसक्ने सम्भावना हुने हुँदा खुकुलो पार्न नहुने उनको भनाई छ । ‘नेपालगञ्ज, विरगञ्जलगायतका स्थानमा कोरोना संक्रमितका विरामी बढिरहेका छन्, यस्तो बेलामा एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवत–जावत गर्दा संक्रमणको खतरा बढी हुन्छ, लकडाउन अझै कडा गर्नु पर्छ,’ उनले भने । सोमबार बसेको समन्वय समितिको बैठकमा स्वास्थ्य मन्त्रालय र सीसीएमसीले रातो, पहेँलो र हरियो क्षेत्र निर्धारण गरी त्यसअनुसार लकडाउन कडा र खुकुलो बनाउने प्रस्ताव पेश भएको छ । तत्काल काठमाडौं उपत्यका ग्रिन जोन मै परेपनि लकडाउन खुकुलो नबने भने पक्का छ । तर अहिले काठमाडौंमा कोरोनाका संत्रलमित नभएको भन्दै रातारात लुकेर काठमाडौं भित्रिनेहरु पनि बढेका छन् । सरकारले यो तर्फ पनि बढी ध्यान दिनु पर्छ । पुतली सडक पुनर्निर्माण हुँदै विकास निर्माण काठमाडौंमै देशभर लकडाउन भइरहँदा काठमाडौंका सडक भने यतिबेला चिटिक्क बनेका छन् । हिजो धुलै धुलो हुने काठमाडौंका केहस् सडकहरु यो समयमा स्कालोपत्रे गरेर चिटिक्क पारेका हुन् । तर काठमाडौं बाहिरका निर्माण आयोजना र सडकहरु भने उही पहिलकै अवस्थामा छन् । सरकारले विभिन्न आयोजना तथा भौतिक निर्माणका कामलाई निरन्तर रुपमा अगाडि बढाउन निर्देशन दिएपनि ती आयोजनाहरु कामदार र निर्माण सामग्रीको अभाव देखाउँदै ठप्प बनेका छन् । काठमाडौंका लागि हुने निर्माण सामग्री र जनशक्ति के अन्य ठाउँका लागि नभएकै हो त ? यो भने जिज्ञासाको विषय पनि बनेको छ । काठमाडौंका सडकहरु चिप्ला बनाउन तर्फ ध्यान जाने सरकारको अन्य जिल्ला र क्षेत्रका विकास निर्माण आयोजनाहरुमा ध्यान किन गएन ? अन्य समयमा २४सै घण्टा व्यस्त रहने सकडहरु पनि नेपालमा छन् । यो बेला ती सडकहरुको पुर्नर्निर्माण गर्यो उचित नै हुन्छ । तर, त्यसतर्फ भने न कुनै स्थानीय ता, न प्रदेश नत संघको नै ध्यान गएको छ । तर, काठमाडौं भित्रका धेरै आयोजनाहरु भने अझै पनि निर्माण भइरहेका छन् । काठमाडौंमा मुख्य मुख्य सडकहरु भत्काएर पनि सरकार पुनर्निमाणमा जुटेको छ । लकडाउनपछिकाे काठमाडाैंकाे सडक परीक्षण न्युन सरकारले लकडाउन गरेको ४३ दिन भइसकेको छ । तर यो अवधिमा परीक्षण भने न्युन गरेको छ । यो अवधिमा सकेसम्म धेरै परीक्षणहरु गरी कोरोना भए नभएको पुष्टि गर्नु पर्नेमा हालसम्म त्यति धेरै परीक्ष्ण भएका छैनन् । नेपालमा हालसम्म कोरोनाको आशंकामा ६४ हजार ४ सय ८५ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १३ हजार ६ सय ४० जनाको पिसिआर र ५० हजार ८ सय ४५ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा ५ हजार ८ सय ३७, प्रदेश २ मा ५ हजार ७ सय ३६, बागमतीमा ८ हजार ६ सय १०, गण्डकीमा ५ हजार ८ सय ८२, प्रदेश ५ मा ४ हजार ८ सय ३१, कर्णालीमा ५ हजार ८ सय १३ र सुदूरपश्चिम प्रदेशमा १४ हजार १ सय ३६ जनाको आरडिटिबाट परीक्षण भएको छ । यो परीक्षणको तथ्याकं ले पनि देखाउँछ की जुन रुपमा कोरोनाका बिरामी देखिरहेका छन् । त्यो अनुरुपको परीक्षण भएको छैन । नेपालमा हालसम्म कुल संक्रमित ८२ जनामध्ये १६ जना उपचारपछि डिस्जार्च भएका छन्। प्रदेश १ मा ३१, प्रदेश २ मा १३, बागमतीमा ७, गण्डकीमा २, प्रदेश ५ मा २४ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित भेटिएका हुन्। अहिलेसम्म कर्णाली प्रदेशमा भने संक्रमित भेटिएको छैनन्। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् । सरकारले लकडाउनको समयको सदुपयोग गरी चौतर्फी नाफा हुने काम पनि गर्न सक्छ । नागरिकहरु घरभित्रै रहेको मौका छोपी विकास निर्माणका कामलाई तीव्रता र नमुना परीक्षणको कामलाई प्रभावकारी बनाए कोरोनाबाट छिट्टै नै छुटकारा पाउँछौं भन्ने कुरामा दुई मत छैन ।
बबरमहलकाे सफ्टवेयर कम्पनीबाट ६३ कार्टुन पिपिई खरिद
काठमाडौं । काठमाडौंको बबरमहलमा रहेको सफ्टवेयर कम्पनी इ-ज्ञानकुन्ज एजुकेसन सिस्टम प्राइभेटमा लुकाएर राखेको ६३ कार्टुन पिपिई भेटिएको छ । करीब १० लाख रुपैयाँ बराबरको उक्त पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) सामग्री लुकाएर राखेको सामान आँखु इन्टरप्राईजेज बालाजुको रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खरिद गरेको जनाएको छ। पञ्जा, चस्माका सामाग्रीमा लुकाएर राखिएका सो पिपिईको मूल्य ८ देखि १० लाख रुपैयाँ बराबर रहेको अनुमान रहेको विभागको बजार अनुगमन शाखा निर्देशक सागर मिश्र बताए । उजुरी आएपछि विभागले आँखु इन्टरप्राइजेजले चीनबाट ल्याएको ती सामानको तातोपानी नाकाबाटै ट्रयाकिङ थालेको थियो। ‘तातोपानीबाट सामान ल्याएर सप्लायरले कहाँ राखेको छ ? कसलाई बेच्दैछ भनेर अनुसन्धान गर्दै जाँदा लुकाएर राखेको अवस्थामा भेटिएको हो,’ निर्देशक मिश्रले भने। अनसन्धानका क्रममा पिपिई सामग्री लुकाई भण्डारण गरी बिक्री वितरण गरेको भेटिएपछि ती सामाग्रीहरु सोही ठाउँमा सिलबन्दी गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको हो। लुकाएर राखिएको सामान विभागले सिलबन्दी गरेपछि आखुँ इन्टरप्राइजेजको एक जना प्रतिनिधिमात्रै विभागको सम्पर्कमा आएका विभागले जनाएको छ ।