उपचारका क्रममा मृत्यु भएकाको स्वाब परीक्षण
काठमाडौं । पुरानो मेडिकल कलेजको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएकाको स्वाब परीक्षण गरिने भएको छ । दम, उच्च रक्तचाप र ज्वरो आएर उपचारका लागि आएकी रुपन्देही जिल्ला घर भई हाल खैरहनी नगरपालिका–१२ बस्ने ६० वर्षीया उमादेवी विकको उपचारका क्रममा मङ्गलबार राति मृत्यु भएको थियो । अस्पतलामा विकको मृत्यु भएपछि कोरोना भाइरसको आशङ्कामा स्वाब सङ्कलन गरी काठमाडौं पठाउने तयारी गरिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए । विकको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । यसअघि पनि भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत वीरगञ्जका सन्तोष यादवको मृत्यु भएको थियो । उनको पनि स्वाब परीक्षण गरिएको थियो । तर, उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।
प्रदेश नं १ का ६ जना कोरोना सङ्क्रमित निको भई घर फिर्ता
काठमाडौं । प्रदेश नं १ का ६ कोरोना सङ्क्रमितहरु उपचारपछि निको भएर घर फर्किएका छन् । उपचार गराइरहेका ३१ मध्ये ६ जनालाई निको भइ आज घर फर्केका हुा् । उपचारमा खटिएका सबैको व्यवहारबाट प्रशन्नता व्यक्त गर्दै उनीहरुले नेपाल र नेपालीलाई सलाम गरेका छन् । उपचारमा रहेका अन्य सङ्क्रमित पनि उपचारको राम्रो प्रबन्ध एवं व्यवस्थापन कारण आफूहरु पनि छिट्टै निको हुने आशामा छन् । धार्मिककार्य गर्न भारतबाट १३ जनाको समूह बनाएर आएका ती समूह सदस्यलाई कोरोनाको सङ्क्रमण देखिएपछि प्रदेश सरकारले विशेष सुरक्षासहित कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा ल्याएको थियो । उनीहरुलाई वैशाख ५ र ६ गते उदयपुर जिल्लाको भुल्केबाट ल्याइएको थियो । प्रदेश नं १ मा पहिलोपटक यति धेरै सङ्ख्यामा कोराना सङ्कमित देखिएपछि प्रदेश सरकारले सङ्क्रमण बढ्न नदिन लकडाउनलाई निकै कडा बनाएको छ । एकबाट अनेकमा सर्ने यो रोगबाट बच्न र बचाउन सामाजिक दूरी कायम गर्नु नै सबैभन्दा राम्रो उपाय हो । यी जमातीहरु विसं २०७६ मङ्सिर २६ गते दिल्लीको धार्मिक केन्द्र (मर्कज) बाट भारतको जोगबनी हुँदै नेपालको विभिन्न भाग घुम्दै उदयपुरको भुल्के पुगेको थिए । सङ्क्रमितमध्येका ६ जनाको तीन चरणको थ्रोट स्वाब परीक्षण (पिसीआर) गर्दा नेगेटिभ रिपोर्ट आएको अस्पतालले पुष्टि गरेपछि घर पठाइएको अस्पताल प्रशासनले जनाएको छ । उनीहरु सबै भारतीय नागरिक हुन् । घर फर्कनेहरुमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्मद रासिद छन् । डिस्चार्ज भएका सबै स्वस्थ देखिने र घर जान पाउने आशामा केन्द्रित जमाती अहिले व्रतमा छन् । एक महिना लगातार रोजा व्रत बस्ने मुस्लिमहरुको आज १२औँ रोजा हो भने रोजा बस्ने रोजदार रमजान महिनाको दोस्रो असरामा प्रवेश गरेका छन् । उनीहरुलाई विराटनगर–१५ स्थित मर्कज ९पूर्वी आठ जिल्लाको मुस्लिमको केन्द्र० मा १४ दिन आइसोलेसनमा राखिने र पुनः स्वाब परीक्षण गरिने व्यवस्था मिलाइएको छ । सो अवसरमा घर जान लागेका अनुस जैदीले केन्द्रको उपचार कार्यमा राम्रो सेवा र सहयोगको भावना पाएको बताए । अहिले कुनै असजिलो अनुभव नभएको उनले उल्लेख गरे । उनले बन्दाबन्दी खुलेपछि नेपाल सरकारको निर्णयको आधारमा स्वदेश फर्कने जानकारी दिए । प्रदेश नं १ सामाजिक विकासमन्त्री जीवन घिमिरेले स्वास्थ्य सेवा निर्देशनालय, मन्त्रालय, अस्पतालको संयुक्त कार्यको सफलतास्वरुप आज पहिलो चरणमा सङ्क्रमित निको भइ निस्कने लागेकामा खुशी व्यक्त गरे । उनले भने– यो प्रदेश सरकारको कोरोना उपचारमा ठूलो सफलता हो । मन्त्री घिमिरेले प्रदेशमा रहेका तीन पिसीआर परीक्षणका लागि तीन हजार र १४ जिल्लामा द्रुत परीक्षणका किट ९आरडिटी० लागि सात हजार व्यवस्था गरिएको बताए । कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सङ्गीता मिश्राले निको भएर घर जान लागेका पूर्व सङ्क्रमितले केन्द्रमा रहँदा सहयोगी रहेको बताउँदै केन्द्रमा रहेका अन्यको आगामी हप्ता स्वाब परीक्षण गर्ने जानकारी दिए । केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले केन्द्रका स्वास्थ्य उपचार सामग्रीको कुनै अभाव नरहेको बताए । अहिले केन्द्रमा २५ जना उपचारमा छन् । रासस
चन्द्रागिरि नगरपालिकाले काेराेना नियन्त्रणमा खटिनेहरूकाे ‘कोभिड–१९ बीमा’ गर्दै
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले कोभिड–१९ संक्रमण, रोकथाम र नियन्त्रणका लागि खटिने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी तथा एम्बुलेन्स चालकको स्वास्थ्य बीमा गरेको छ । सोमबारदेखि लागु हुने गरी प्रतिव्यक्ति १० लाख रूपैयाँको स्वास्थ्य बीमा गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले व्यवस्थित रुपमा कोरोना नियन्त्रणका लागि जनशक्ति परिचालन गरिरहेको अवस्थामा कार्यरत जनशक्तिलाई थप प्रोत्साहन गर्न तथा हुन सक्ने जोखिम कम गर्न कार्यपालिकाको निर्णयानुसार आन्तरिक खर्चबाट व्यहोर्ने गरी स्वास्थ्य बीमा गरिएको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए । उनका अनुसार राष्ट्रिय बीमा संस्थानमा नगरपालिकामा कार्यरत ३५० कर्मचारीको स्वास्थ्य बीमा गरिएको छ जसमा ७८ जनप्रतिनिधि, ८४ नगरअन्तर्गतका कर्मचारी, १७७ नगरअन्तर्गतका वडा कार्यालय तथा स्वास्थ्यकर्मी र ११ एम्बुलेन्सका चालक छन् । उक्त बीमाअन्तर्गत प्रतिव्यक्ति ६ लाख रुपैयाँ बराबरको सामूहिक दुर्घटना बीमा, एक लाख रुपैयाँ बराबरको औषधोपचार बीमा, दुई लाख रुपैयाँ बराबरको घातक रोग बीमा र एक लाख रुपैयाँ बराबरको कोभिड–१९ रोग बीमा समावेश गरी बीमा गरिएको उनले जानकारी दिए । गत चैत १९ गतेको नगरकार्यपालिकाको बैठकले जनप्रतिनिधि तथा कर्मचारीको स्वास्थ्य बीमा गर्नै निर्णय गरेको थियो । आन्तरिक व्यवस्थापनमा समय लाग्दा बीमा गर्न केही दिन ढिला भएको उनले जानकारी दिए । रासस