भारतबाट आएकाको पिसीआर परीक्षण गरिँदै

काठमाडाैं । भारतबाट आएर तनहुँका विभिन्न स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा बसेकाको पिसिआर परीक्षण शुरु गरिएको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण जिल्लास्तरीय समितिले क्वारेन्टिनमा बस्नेको पिसिआर परीक्षणलाई प्राथमिकता दिने निर्णय गरेको हो । सोहीबमोजिम घिरिङ गाउँपालिकाका १६ जना र ऋषिङ गाउँपालिकाका दुई जनाको बिहीबार स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाइएको समितिका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । बुधबार व्यास नगरपालिका-१ स्थित आदिकवि भानुभक्त क्याम्पस र व्यास नगरपालिका-४ स्थित मदर्शा आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका २५ जनाको स्वाब परीक्षण गरिएको थियो । उनीहरुको रिपोर्ट नेगेटिभ आइसकेको छ । क्वारेन्टिनमा बस्ने अरुको पनि क्रमशः स्वाब परीक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । यसअगाडि व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिकाका ३९ जनाको पिसिआर परीक्षण गरिसकिएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आइसकेको छ । भानु नगरपालिकामा ९, व्यास नगरपालिकामा २५, म्याग्दे गाउँपालिकामा तीन, घिरिङ गाउँपालिकामा १५, ऋषिङ गाउँपालिकामा दुई, देवघाट गाउँपालिकामा तीन, बन्दीपुर गाउँपालिकामा तीन र आँबुखैरेनी गाउँपालिकामा दुई गरी हाल ६२ जना क्वारेन्टिनमा छन् । जिल्लामा यसअगाडि ६७० को आरडिटी परीक्षण गरिएको छ ।

बैशाख ११ गते कोरोना संक्रमित मुक्त बनेको काठमाडौंमा अहिले २९ संक्रमित

काठमाडौं । उपत्यकामा कोरोना भाईरस संक्रमितको संख्या २९ पुगेको छ । बैशाख ११ गते सबै कोरोना संक्रमित निको भएर घर फर्किसकेपछि काठमाडौं कोरोना संक्रमित मुक्त बनेका थियो । तर बैशाख २३ गते सनसिटी अर्पाटमेन्टका पुरुष पुनः संक्रमण देखिएपछि काठमाडौंमा फेरि संक्रमण देखिन थाल्यो । त्यसपछि सरकारले संक्रमितको संख्या काठमाडौंमा कम देखिएको काराण लकडाउन केही खकुलो गर्न सुरुमात्र के गरेको थियो बैशाख ३० गते एकैपटक ३ जनामा संक्रमण देखिएको थियो । ती ३ संक्रमित चन्द्रागिरीकी ३३ वर्षीय महिला, भक्तपुरकी २५ वर्षीय महिला र २७ वर्षिय पुरुष रहेका थिए । उनीहरु तीनै जना उपत्यका बाहिरबाट आएका थिए । चन्द्रागिरी नगरपालिका ९ की महिला बैशाख २९ गतेमात्र कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आएकी थिइन् । लकडाउन हुनुभन्दा पहिले नै पारिवारिक कार्यक्रमको लागि कञ्चनपुरको महेन्द्रनगर गएकी उनी निजी गाडीको पास बनाएर काठमाडौं आएकी थिइन् । यस्तै भक्तपुर निवासी २५ वर्षिया महिला पनि सुनसरीबाट बैशाख २९ गते नै काठमाडौं आएकी थिइन् । त्यस्तै भक्तपुरकै अर्का संक्रमित २७ वर्षिय पुरुष पनि तराइबाट आएका थिए । उनी पनि सवारी पास बनाएर काठमाडौं छिरेका थिए । यसरी उपत्यकामा एकपछि अर्को कोरोना संक्रमित थपिँदै गएपछि कोरोना संक्रमितको संख्या ३३ पुगेको थियो । तर, बिहीबार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमित निको भएपछि उपत्यकामा कोरोना संक्रमितको संख्या २९ पुगेको हो । उपत्यकाका कोरोना स्क्रमितहरु कुन कुन अस्पतालमा छन् ? उपत्यकाका २९ संक्रमित हाल तीन अस्पतालमा उपचार गराईरहेका छन् । अहिले टेकु अस्पतालमा ४ जना डिस्चार्ज भएसँगै १ जना मात्र संक्रमित बाँकी रहेका अस्पतालका निर्देशक डा‍. सागर राज भण्डारी बताए । पाटन अस्पतालमा १३ जना संक्रमित उपचार गराईरहेकाे अस्पतालका निर्देशक डा. विष्णु प्रसाद शर्माले जानकारी दिए । यस्तै सशस्त्र प्रहरी अस्पतालमा १५ जना संक्रमित उपचार गराईरहेको डिआईजी चन्द्र अधिकारी जानकारी दिए । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनीहरु बताउँछन् ।

एलआरआई स्कूलले त्रिवि शिक्षण अस्पताललाई दियाे विभिन्न स्वास्थ्य सामाग्री

काठमाडाैं । कलङ्कीको एलआरआई स्कूलले कोभिड-१९ रोग नियन्त्रणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताललाई आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ । सामाजिक उत्तरदात्यिवअन्तर्गत विद्यालयले माहामारी रोकथामका लागि अग्रस्थानमा खटिने स्वास्थ्यकर्मीका लागि करिब दुई लाख रूपैयाँ बराबरको सामग्री सहयोग गरेको हो । विभिन्न समयमा सामाजिक कार्यमा सहयोग गर्दै आएको विद्यालयले यसअगाडि स्थानीय तहका फोहरमैला, सरसफाइ तथा व्यवस्थापनमा सहभागी कर्मचारीका लागिसमेत यस किसिमका सामग्री उपलब्ध गराएको थियो । यहाँ शुक्रबार आयोजित कार्यक्रममा विद्यालयका संस्थापक गुठीयार यशोधरा पन्तले अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गालाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिआई) १७ थान, केएन–९५ मास्क ९२ थान, भाइजर १०७ थान, सर्जिकल मास्क ३०० थान, साधारण मास्क ९० थान, सेनिटाइजर १०० थानलगायत सामग्री हस्तान्तरण गरे । विद्यालयका अध्यक्ष शिवराज पन्तले परोपकारी कार्य निरन्तर गर्दै आएको आफ्नो संस्थाले विश्वमा महामारीका रूपमा फैलिइरहेको कोभिड-१९ ले नेपालमा पनि जोखिम बढाइरहेकाले अग्रस्थानमा निरन्तर कार्य गर्नुपर्ने स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सहयोग गरेको बताए । अस्पतालका कार्यकारी निर्देशक खड्गाले करिब एक हजार ४०० कर्मचारी रहेको अस्पतालमा स्वास्थ्य सामग्रीको खपत हुने हुँदा त्यसको अत्यधिक माग बढेको अवस्थामा विद्यालयले गरेको सहयोगको सराहना गरे । उनले लकडाउनको अवधिमा सर्वसाधारणले जथाभावी हिँडडुल गर्न नहुनेमा जोड दिँदै अस्पतालमा एक जना कोरोना सङ्क्रमित बालिकाको उपचार भइरहेको र आवश्यकताअनुसार आइसोलेसन केन्द्रको विकास गरिने बताए । विद्यालयका कन्फुसियस कक्षाका निर्देशक तान पानले ट्रष्टद्वारा सञ्चालित यस संस्थाले सामाजिक सेवामा सधैँ समर्पित रहेको विचार व्यक्त गरेका छन् । यसअघि विद्यालयले नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा एक लाख रूपैयाँ सहयोग गरेको शिक्षक दीपक जोशीले जानकारी दिए । विद्यालयले कोरोनाबाट बढी प्रभावित सुदूरपश्चिम प्रदेशलाई १५ हजार थान सर्जिकल पञ्जा, कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाइन स्थललाई ५० थान बेड, सोही सङ्ख्यामा म्याट्रेस, सिरानी, बेडसिट र कम्बल प्रदान गरेको छ । यसैगरी काठमाडौं महानगरपालिका–१४ र नागार्जुन नगरपालिका–१० अन्तर्गत तारकेश्वर युवा क्लब स्युचाटारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । रासस