सेती अस्पतालमा उपचाररत काेराेनाका बिरामी घर फर्किँदै
काठमाडौं । कैलालीकाे सेती अस्पतालमा उपचाररत काेराेनाका एकजना बिरामी निकाे भएर घर फर्किने भएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय राज विक कोरोनालाई जितेर घर फर्किने भएका हुन्। चैत २२ गते परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका उनको शनिबार नेगेटिभ रिपोर्ट आएको थियो। २४ घण्टामा परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि उनलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ। अस्पतालले उनकाे परीक्षण गर्दा दुईपटक नै कोरोना नेगेटिभ आएकाे आजै या भोलिसम्म डिस्चार्ज गर्ने तयारी भइरहेको बताएकाे छ । मुम्बईबाट गत चैत ११ गते घर फर्किएका उनलाई चैत २२ गते कोरोना पोजिटिभ देखिएको थियो। १४ दिन क्वारन्टिनमा र १५ दिन आइसोलेसन गरी २९ दिन कोरोनासँगको लडाई जितेर उनी घर फर्किदैछन्। साे अस्पतालमा उनी सहित ५ जना काेराेनाका बिरामी छन् ।
धनगढी उपमहानगरलाई निर्माण व्यवसायीकाे सवा एक लाख रुपैयाँ र माक्स सहयाेग
काठमाडौं । निर्माण व्यवसायी संघ कैलालीले धनगढी उपमहानगरपालिकालाई १ लाख १५ हजार रूपैयाँ र आठ हजार थान मास्क सहयोग गरेको छ। संघले उपमहानगरपालिकालाई सो रकम आज हस्तान्तरण गरेको हो । विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथाम तथा जोखिम नियन्त्रणका लागि संघले उपमहानगरपालिकालाई सो रकम र माक्स सहयोग गरेको बताएको हो । धनगढी उपमहानगरपालिका क्षेत्रका विपन्न वर्गलाई सहयोग होस् भन्ने उद्देश्यले आज चेक र मास्क हस्तान्तरण गरिएको संघका अध्यक्ष यज्ञराज उपाध्यायले बताए। अहिले कोरोना भाइरसको उच्च जोखिममा सुदूरपश्चिम छ । कैलालीको सेती प्रादेशीक अस्पतलमा मात्र ५ जना कोरोनाका बिरामीको उपचार भइहेको छ ।
सरकारले भन्याे: डा. शेरबहादुर पुनकाे बिषयमा अनर्गल प्रचार नगरौं
काठमाडौं । सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा.शेरबहादुर पुनका बिषयमा अनर्गल प्रचार नगर्न आग्रह गरेको छ । आइतबार एक सुचना जारी गर्दै पुनका सम्बन्धमा केही पत्रपत्रिका तथा सामाजिक सञ्जालमा सत्य तथ्य बङ्ग्याइँ मन्त्री भानुभक्त ढकालको नामसमेत मुछि अनर्गल तथा दुष्प्रचार गर्ने कार्य भएकामा ध्यानाकर्षण भएको जनाउँदै त्यस्तो नभएको जनाएको हो । मन्त्रालयले कोही पनि स्वास्थ्यकर्मीको मनोवल घटाउन काम नगरेको उल्लेख गर्दै स्वास्थ्यकर्मीलाई सरकारले शतप्रतिशत भत्ता र २५ लाखको बीमासमेत व्यवस्था गरेकाले डा.पुनका सन्दर्भमा सत्यतथ्य नबुझीकन अनर्गल प्रचारप्रसार वा लेख लेखाउने कार्य नगर्न नगराउन आग्रह गरिएकाे छ ।