कोभिड–१९ : रोगभन्दा भय बढी हुँदा मानसिक समस्या

काठमाडौं । लगनखेलस्थित मानसिक अस्पतालमा आएका कतिपय बिरामीलाई कोही पनि मानिससँग नजिक जान डराउने समस्या देखिएको छ । कोभिड–१९ को रोकथामका लागि सबै नागरिकले सामाजिक दूरी कायम गरे पनि ती व्यक्ति जो कोही आफ्नो नजिक आउनासाथ रोग लागिहाल्छ कि भन्ने चिन्तामा रहेको पाइन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चारमाध्यमबाट साबुनपानीले हात धुनु भन्ने सन्देश सुनेरै कतिपय दिनभर हात धुने काम मात्रै गरेको पनि अस्पतालले जनाएको छ । बीस सेकेण्डसम्म मिचीमिची हात धुनु भन्ने सन्देश सुनेरै उनीहरु दिनभर अधिकांश समय हात धोएरै बिताउने गरेका छन् । विश्वव्यापीरूपमा फैलिरहेको कोभिड–१९ सङ्क्रमितको सङ्ख्या नेपालमा पनि थपिरहँदा त्यसकै भयका कारण मानसिक रोगको जोखिम बढिरहेको छ । कतिपय यसअघि नै औषधि खाइरहेका बिरामी त कतिपय नयाँ बिरामीमा मानसिक समस्या देखिन थालेको अस्पतालले जनाएको छ । कतिपय बिरामीमा सामान्य रुघाखोकी पनि कोरोना भाइरस नै हो भन्ने रूपमा लिने गरेको पाटन मानसिक अस्पतालका प्रमुख मनश्चिकित्सक डा अनन्तप्रसाद अधिकारीले बताए । उनका अनुसार कतिपय व्यक्ति भने रोगको रोकथामका लागि तीन–चार मास्क एकैपटक लगाउने गरेको पाइन्छ । उनले भने, “धेरै मास्क लगाउँदा बढी सुरक्षित हुन्छु भन्ने भ्रम ती व्यक्तिमा रहेको पाइन्छ ।” कोभिड–१९ का त्रासका कारण नरम र कडा दुवै किसिमका मानसिक समस्या भएको पाइएको छ । यस समयमा व्यक्तिमा साइकोसिस (वास्तविक र अवास्तविक छुट्याउन नसक्ने अवस्था), एन्जाइटी, डिप्रेसन (नैराश्यता) लगायत मानसिक रोग देखिरहेको छ । ती व्यक्तिमा डराउने, झस्कने, जुनसुकै कुरालाई शङ्काका रूपमा हेर्ने, निद्रा नलाग्नेलगायत समस्या देखिन थालेको उनले बताए । रोगकै त्रासका कारण कतिपयमा अल्कोहलको प्रयोग अत्यधिक बनाएका छन् । यो समयमा मानसिक समस्या महिला र पुरुष दुवैमा बराबर रहेको अस्पतालमा आउने बिरामीको सङ्ख्याले देखाएको छ । लकडाउनका कारण बिरामीको सङ्ख्या कम हुनु स्वभाविक भए पनि अहिले पनि बिरामी उपचारका लागि आइरहेको अस्पतालले जनाएको छ । सामान्य अवस्थामा दैनिक १ सय ५० देखि २ सयसम्म बिरामी उपचारका लागि आउने गरेकामा अहिले झण्डै ३०/३५ जना आइरहेका छन् । उपचारका लागि आउनेमा काठमाडौं उपत्यकाकै बिरामीको सङ्ख्या बढी रहेको अस्पताल निर्देशक डा मोहनराज श्रेष्ठले बताए । कतिपय भने बाहिरी जिल्लाबाट पनि आकस्मिक सेवाका लागि आएका छन् । कोभिड–१९ का बारेमा राम्ररी नबुझेर पनि व्यक्तिमा त्रास बढी भएको उनले बताए। कतिपयमा रोग लाग्नासाथ मरिहाल्छु कि भन्ने भय पाइन्छ । उनले भने, “सावधानी अपनाएपछि रोग लाग्दैन र लागेपछि पनि निको हुने सम्भावना बढी छ भनी बुझाउनुपर्छ ।” मानसिक रोगको असर सबै उमेर, वर्ग र पेशामा देखिएको भए पनि यस्ता विपद्का समयमा विगतमा औषधोपचार गरेर निको भएका वा हाल उपचार गराइरहेका व्यक्ति बढी जोखिममा रहेका छन् । ती व्यक्तिमा कुनै पनि कुरा सहन नसक्ने समस्या पाइन्छ । बालबालिका पनि रोगको जोखिम रहने डा अधिकारीले बताए । उनीहरुमा रोग लागेपछि निको नै हुँदैन भन्ने चिन्ता हुनसक्छ । बालबालिकालाई रोगबारे सजग गरे पनि अभिभावकले सही सूचना दिएर अनावश्यक चिन्तामा जान दिन नहुने उनको सुझाव छ । उनले भने, “जुनसुकै कुरालाई झिँझो मान्ने, निद्रा नलाग्नेलगायत यो रोगका लक्षण हुन्,परिवार एकै ठाउँमा बस्दा एकले अर्काको कुरा सुन्ने हुँदा डिप्रेसनको जोखिम कम हुन्छ ।” अहिलेसम्म मानसिक रोगको औषधिको समस्या भने भइनसकेको अस्पतालले जनाएको छ । अस्पतालमा भर्ना गरेर उपचार गर्न ५० श्यया रहेकामा अहिले पनि झण्डै ४० जनाको हाराहारीमा बिरामी छन् । अस्पतालमा धेरै कर्मचारी करारमा रहेकाले लकडाउन लम्बिँदा तिनलई तलब दिन भने समस्या आउनसक्ने देखिएको अस्पताल निर्देशक डा श्रेष्ठले बताए । अस्पतालमा ३१ जना करारका कर्मचारीलाई अस्पतालले नै तलब दिँदै आएको छ । रासस

चीनबाट साढे आठ करोडका के-के सामान ल्याइयाे ?

काठमाडाैं  । कोरोनाभाइरसको सङ्क्रमणसँग जुझ्न चीनको तिब्बत सरकारले उपलब्ध गराएका दुईवटा पीसीआर मेशिन र त्यसका २० हजार किट सहितका स्वास्थ्य सामग्री बुधवार प्राप्त भएको बताइएकाे छ । ती स्वास्थ्य सामग्री झन्डै ५१ लाख चिनियाँ युआन अर्थात साढे आठ करोड नेपाली रुपियाँको रहेको बताइएको छ। हाल कतिपय अत्यावश्यक किटहरूको अभाव हुन सक्ने विवरण आइरहेका बेला ती सामग्री नेपाल आइपुगेका हुन्। बुधवार नै भन्सार प्रक्रिया गरी ती सामग्री काठमाडाैं ल्याउने लक्ष्य राखिएको बताइएकाे छ । सामग्रीमा के के छन्? सहयोगमा आएको सामग्रीमा स्वास्थ्यकर्मीहरूले व्यक्तिगत सुरक्षाका लागि प्रयोग गर्ने एन९५ मास्क र पीपीई १० हजार थान रहेको बताइएको छ। स्वास्थ्य मन्त्रालयको जनसङ्ख्या तथा समन्वय महाशाखाका प्रमुख डा. रमेश पोखरेलले कोरोनाभाइरसको सङ्क्रमण परीक्षण गर्न प्रयोग गरिने दुईवटा पीसीआर मेशिन र त्यसमा प्रयोग हुने रिअजेन्ट र स्वाब सङ्कलन गर्न प्रयोग हुने भीटीएम २०,००० थान रहेको बताए। परीक्षणका लागि नाक र घाँटीबाट स्वाब सङ्कलन गर्न प्रयोग हुने भीटीएमको अभाव हुन लागेको विवरण आएका थिए। सरकारी अधिकारीहरूले ५०० देखि १,००० को सङ्ख्यामा मात्रै भीटीएम बाँकी रहेको बताएका थिए। त्यसबाहेक एक हजार वटा ज्वरो नाप्न प्रयोग गरिने इन्फ्रारेड थर्मामिटर पनि तिब्बतले सहयोग दिएको उनले जानकारी दिए। बुधवार बिहान चिनियाँ पक्षले तातोपानीको सीमावर्ती मितेरी पुलमा नेपाली पक्षलाई ती सामग्री उपलब्ध गराएको थियो। चीनबाट थप सामग्री ल्याउने प्रयास प्रादेशिक तहमा पनि यी सामग्रीहरू पठाउनुपर्ने आवश्यकता रहेको र यसबारे अध्ययन गरिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसअघि अघिल्लो हप्ता सरकारले चीनको अलीबाबा फाउन्डेशनबाट सहयोग प्राप्त गरेको थियो। बीबीसी नेपाली

भारतले लगायो र्यापिड टेस्टमा रोक

काठमाडौं । भारतमा र्यापिड डायग्नोस्टिक टेस्टको माध्यमबाट कोरोना भाइरसको परीक्षणमा रोक लगाएको छ । भारतको केन्द्रीय गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र आईसीएमआरको तर्फबाट संयुक्त रुपमा भएको पत्रकार सम्मेलनमा आगामी दुई दिनका लागि र्यापिड टेस्टबाट कोरोना परीक्षणमा रोक लगाइने निर्णय गरेको हो । आईसीएमआरका डा. रमन गंगाखेडकरले विभिन्न राज्यमा र्यापिड टेस्ट किटबाट लिएको परीक्षणको नतिजा फरक आएसँगै विश्वसनीयतामा प्रश्न उठेको भन्दै अगामी दुई दिन र्यापिड टेस्ट नगर्ने जानकारी दिए । आईसीएमआरले गहन छानबिन पछि परीक्षणका लागि निर्देशन जारी गर्ने जानकारी दिँदै सो राज्यमा आफ्नो टोली पठाउन लागेको जनाएको छ । पछिल्लो २४ घण्टा यता भारतमा १ हजार १ सय ९३ कोरोना संक्रमित फेलापरेसँगै हालसम्म २० हजार १ सय ७८ जना भारतिय नागरिकमा कोरोना संक्रमित छन् भने ६ सय ४५ जनाको मृत्यु भईसकेको छ ।