थप १३ जना कोरोना संक्रमणमुक्त,निको हुनेको संख्या २ सय १९
काठमाडौं । शनिबार मात्र १३ जना काेराेना संक्रमित बिरामी काेराेनामुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकाेटाले टेकु अस्पतालबाट काठमाडौं बुढानिलकण्ठका ३८ वर्षिय पुरूष र टाेखा ७का ४१ वर्षिय पुरूष, काेभिड १९ युनिफाइड अस्पताल बलम्बुबाट ११ जना डिस्चार्ज भएका छन् । ७ देखि ४२ वर्ष उमेरका व्यक्तिहरू जसमा ६ जना पुरुष र ५ जना महिला रहेका छन् । हालसम्म २ सय १९ जसमा ४७ जना महिला र १सय ७२ जना पुरुष रहेका छन् ।
थप १ सय ८९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ हजार ४ सय १ पुग्याे
काठमाडौं । शनिवार १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा थप १ सय ८९ जनामा कोरोना देखिएको प्रवक्ता विकास देवकोटाले बताएका छन् । संक्रमित हुनेमा १ सय ८५ जना पुरूष र ४ जना महिला रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा गरिएकाे परीक्षणामा १ सय २४ जनामा काेराेना पुष्टि भएकाे हाे । जसमा धनुषाका ७ जना, झापाका १ जना, कपिलवस्तुका ७७ जना, ललितपुरकाे १ जना, महाेत्तरीकाे ४ जना , राैतहटका ६ जना, सल्लाहीका १७ जना, सिराहाका ११ जना रहेका छन् । त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयाेगशाला रूपन्देहीमा गरिएकाे परीक्षणमा २६ जना काेराेना संक्रमित भएका छन् । विपी काेइराला स्वास्थ्य प्रतिष्ठान धरानमा गरिएकाे परीक्षणमा ९ जना सप्तरीका रहेका छन् । भने राप्ती स्वास्थ्य प्रयाेगशालामा गरिएकाे परीक्षणमा ८ जना काेराेना संक्रमित पुष्टि भएका छन् । नारायणी अस्पताल विरगञ्जमा गरिएकाे परीक्षाणमा ३ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रयाेगशालामा गरिएकाे परीक्षणमा दैलेखका १४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकाेटाले जानकारी दिए । हालसम्म नेपाल १ हजार ४ सय १ जनामा काेराेना देखिएकाे छ । त्यस्तै २ सय १९ जना उपचार पछि निकाे भएका छन् भने ६ जनाकाे मृत्यु भइसकेकाे छ ।
कैलालीका ७ स्थानीय तह मिलेर अस्पताल सञ्चालन गर्दै
लम्की। कैलालीका पूर्वी क्षेत्रका स्थानीय तह टीकापुरमा अस्थायी कोरोना अस्पताल सञ्चालनको तयारीमा जुटेका छन् । देशभरि पछिल्लोपटक कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि टीकापुर अस्पतालसँगको सहकार्यमा कैलालीका १३ मध्ये ७ स्थानीय तह अस्पताल सञ्चालनका लागि तयारीमा जुटेका हुन् । कैलालीको पूर्वी भेगबाट धनगढी बिरामी पठाउँदा समस्या भएपछि स्थानीय तहका प्रमुख अस्पताल सञ्चालनको तयारीमा छन् । शुक्रबार टीकापुर अस्पताल विकास समितिको समन्वयमा जानकी गाउँपालिकामा बसेको बैठकमा स्थानीय प्रमुखबीच सहमति भएको हो । स्थानीय तहसहितको सर्वदलीय बैठकले टीकापुर अस्पतालमा रहेको १२ श्ययाको आइसोलेसन कक्ष अपुग हुने देखिएकाले टीकापुरस्थित सिटी हलमा थप ३० श्ययाको अस्थायी कोरोना अस्पताल सञ्चालन गर्ने निर्णय गरेको जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले जानकारी दिए । “कोरोना अस्पताल सञ्चालनका लागि सबै स्थानीय तहले आवश्यक बजेट व्यवस्था गर्नेछौं”, चौधरीले भने, “सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले उपचारको पूर्वतयारीमा जुटेका हौं”, उनले बेडमात्र होइन भेन्टिलेटरको व्यवस्था गर्न बजेट छुट्याउन तयार रहेको बताए । अहिले टीकापुर अस्पतालमा एउटा पनि भेन्टिलेटर छैन । सात स्थानीय तहका नागरिकले सेवा लिन धनगढीभन्दा टीकापुर अस्पताल सहज हुन्छ । बैठकले टीकापुर अस्पतालका मेसु डा जितेन्द्र कँडेललाई अस्थायी कोरोना अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने बजेटको लागत अनुमान बनाउने जिम्मा दिएको टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिए । “अस्पतालका मेसु कँडेलले अस्पताल सञ्चालन गर्न आवश्यक पर्ने सामग्री र बजेटको योजना ल्याएपछि हामी सात स्थानीय तह खर्च गर्न तयार छौं”, रावलले भने, “सबै स्थानीय तहले सहयोग गर्ने प्रतिबद्वता जनाएका छाैं, अब स्थानीयस्तरदेखि उपायको खोजी थालेका हौं ।” रासस