आज चारजना संक्रमित निको भएर घर फर्किए: डा. विकास देवकोटा
काठमाडौं । कोरोनाभाईरस (कोभिड–१९) को ४ जना संक्रमित निको भएर घर फर्किएका छन् । कोभिड–१९ सम्बधि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ४ जना संक्रमित निको भएर घर फर्किएको बताएका हुन् । १९ वर्षिय पुरुष १२ दिनपछि र अन्य ३ पुरुष दिनपछि निको भएर घर फर्किएका हुन् । यहीसँगै नेपालमा काेराेना जितेर घर फर्किनेकाे संख्या १६ पुगेकाे छ । आइतबारसम्म नेपालमा काेराेना संक्रमितकाे संख्या ५१ रहेकाे छ । हाल देशभर १७ हजार २५ जना क्वारेन्टीनमा रहेका छन् भने आइसाेलेसनमा १ सय १० रहेका छन् । हालसम्म पिसिआर र आरडिटी विधिबाट ५१ हजार ३ सय ६६ वटा परीक्षण भएकाे छ ।
प्रदेश नं.१ मा मात्रै ३० काेराेना सङ्क्रमित
विराटनगर। प्रदेश नं. १ मा हालसम्म कोभिड–१९ बाट ३० जना सङ्क्रमित देखिएका छन् । प्रदेशमा शनिबारसम्म ५ हजार २१२ जनाको कोभिड–१९ को परीक्षणबाट ३० जना सङ्क्रमित फेला परेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा रहेको सूचना डेस्कले जनाएको छ । प्रदेशमा द्रूत परीक्षण विधि (आरडीटी) बाट ४ हजार २९८ जना तथा थ्रोट स्वाब पिसीआरबाट ९१४ जनाको कोभिड–१९को परीक्षण गरिएको छ । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या शनिबारसम्म १ हजार २०४ छ भने भने स्वास्थ्यकर्मीहरुका निगरानीमा ३१ जना आइसोलेसनमा छन् । रासस
कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु, दुई हजार संक्रमित
काठमाडौं । विश्वभर फैलिएको कोभिड–१९को महामारीबाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ४९ पुगेका छन् । गैरआवासीय नेपाली संघ(एनआरएन), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा ३३, अमेरिकामा १०, संयुक्त अरब इमिरेट्समा दुई तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्डसमा एकएक जनाको निधन भएको हो । एनआरएन स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार नेपालबाहेक विश्वभर एक हजार ९८३ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको आँकडानुसार २४ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित रहेको कोडिभ १९ उच्चस्तरीय समिति एनआरएनर्का प्रेस संयोजक चिरन शर्माले जानकारी दिए । नेपालमा भने ४९ जनामा कोरोना संक्रमण देखिएको तथा १२ जना कोरोनामुक्त भएको समितिले जनाएको छ । यस्तै विदेशमा कोरोना संक्रमण भएका गैरआवासीय नेपालीमध्ये ४३४ जना कोरोनामुक्त भएको बताइएको छ । संक्रमित हुने नेपालीमा अमेरिका एक हजार, बेलायत सात सय, संयुक्त अरब इमिरेट्स ८१, बहराइन ४९, कुवेत ४२, पोर्तुगल २७, आयरल्याण्ड २२, स्पेन १२, अष्ट्रेलिया ११, बेल्जियम छ, स्वीजरल्याण्ड पाँच ,साउदी अरब र जर्मनी चारचार, मलेशिया, क्यानडा, न्युजिल्याण्ड र साइप्रस तीनतीन, जापान, हङकंङ र माल्टा दुईदुई तथा फ्रान्समा एक जना रहेको समितिले जनाएको छ । समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत ३६ नेपाली चिकित्सक, नेपाली कूटनीतिक नियोग, एनआरएनका शाखा तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतबार विदेशमा रहेका नेपालीको कोरोना संक्रमणको तथ्यांक संकलन गर्दै आएको छ । यसैबीच कोरोना भाइरसको महमारीबाट प्रभावित नेपालीको सहयोगार्थ एनआरएनले आफ्ना शाखालाई परिचालन गरेको छ । एनआरएका महासचिव डा हेमराज शर्माका अनुसार कोरोना महामारीपछि ४१ देशमा रहेका एनआरएनका शाखामार्फत नौ सय स्वयंसेवक परिचालन गरिएको छ । कोरोना संक्रमणपछि विश्वभर छरिएका करीब ३० हजार गैरआवासीय नेपालीले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राहत प्राप्त गरेको एनआरएनले जनाएको छ । डा शर्माका अनुसार ७० भन्दा बढी गैरआवासीय नेपाली चिकित्सकसमेतले कोरोना संक्रमित देशमा गैरआवासीय नेपालीलाई सघाइरहेका छन् । यसअघि चीनबाट कोरोना भाइरस संक्रमण शुरु भएलगत्तै एनआरएनले अध्यक्ष कुमार पन्तको अध्यक्षतामा कोभिड –१९ उच्चस्तरीय समिति गठन गरी काम अघि बढाएको थियो । रासस