नेपालमा कोरोना संक्रमितकाे संख्या २९ सय नाघ्याे

काठमाडौं । नेपालमा कोरोना संक्रमितकाे संख्या २९ सय नाघेकाे छ । बिहिबार २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितकाे संख्या २९ सय नाघेकाे  हाे। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा थप २ सय ७८ जनामा कोरोना देखिएको प्रवक्ता विकास देवकोटाले बताएका हुन् । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २९ सय १२ पुगेकाे छ जसमा ३ सय ३३ जना घर फर्किसकेका छन् र ११ जनाकाे मृत्यु भईसकेकाे छ । हाल देशभर १ लाख ६६ हजार ७ सय ६५ क्वारेन्टिनमा  छन् भने २५ सय ६८ जना आईसाेलेसनमा रहेका छन् ।  

काेराेना सङ्क्रमितलाई हृदयाघात भए कहाँ लैजाने ?

काठमाडौं । कोरोना सङ्क्रमितलाई हृदयाघात भएमा उपचारका लागि कहाँ जाने ? बन्दाबन्दीका अवस्थामा कोरोना विशेष अस्पताल, क्वारेन्टिन वा घरमै रहँदा मुटुरोगसम्बन्धी अस्पतालमा लान र उपचार पाउन सहज नहुन सक्छ तर चिन्ता गर्नु पर्दैन । बाँसबारीस्थित सरकारी स्वामित्वको शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले यसको तयारी गरिसकेको छ । सङ्क्रमितलाई हृदयाघात वा मुटुसम्बन्धी कुनै समस्या भएमा उपचार र सेवाका लागि केन्द्रले नियमित शल्यक्रिया र उपचारलाई असर नपर्ने गरी बेग्लै आइसोलेशन वार्डसमेत तयार गरेको छ । सुखको कुरा, हालसम्मका दुई हजार ५०० सङ्क्रमितमध्ये कसैलाई पनि मुटुरोगसम्बन्धी समस्या देखा परेको छैन । कूल दुई सय ५० शय्या रहेको सो विशिष्टीकृत अस्पतालले कोरोना रोकथामका लागि जारी बन्दाबन्दीपछि मूल भवनको द्वार बन्द गराई आकस्मिक कक्षतर्फको भवनको द्वारबाट मात्रै आवागमन गराएको छ । सेवाग्राहीले आकस्मिक कक्ष वा परीक्षणमा जानुपूर्व भाइरसको सम्भावित सङ्क्रमणको लक्षण भए/नभएको पहिचान अनिवार्य गराउने गरेको छ । द्वारबाट भित्र गएपछि ‘होल्डिङ कक्ष’ मा उनीहरुको तापक्रम जाँच तथा खोकी वा घाँटीका समस्या भएका वा सङ्क्रमित धेरै भएका जिल्लाबाट आएका बिरामी भएमा अलग्गै आइशोलेसन वार्डमा राखेर उपचार गरिँदै आएको छ । यहाँ भर्ना गरिएका बिरामीलाई सङ्क्रमण देखिएमा मुटुको उपचारपछि कोरोना विशेष अस्पतालमा पठाइनेछ । बन्दाबन्दीका अवस्थामा कोरोना सङ्क्रमितले समेत मुटुसम्बन्धी समस्याबारे आवश्यक परामर्श र सहयोगका लागि केन्द्रको मोबाइल नम्बर ९८५१२३०६८२ मा सम्पर्क गरी विशेषज्ञ चिकित्सकसँग परामर्श गर्न सक्ने व्यवस्था मिलाइएको छ । केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीका अनुसार बन्दाबन्दी अगाडि दैनिक ५५ जना गरी महिनामा एक हजार ६०० सम्मले आकस्मिक कक्षमा सेवा लिएकामा त्यसयता बिरामीको सङ्ख्या घटेको छ । केन्द्रमा गत चैतमा एक हजार १९, वैशाखमा एक हजार २४५ र यही जेठ २२ गतेसम्म ५१० जनाले आकस्मिक वार्डको सेवा लिएका छन् । बहिरङ्गतर्फ सामान्यतः दैनिक ७०० सम्म बिरामी आउने गरेकामा बन्दाबन्दीको केही समय सो सेवा बन्द रहेको र गत वैशाख १६ यता दैनिक २४ देखि १६६ जनासम्मले सेवा लिएका छन् । बन्दाबन्दीकै अवधिमा कूल ५० जनाको मुटुको शल्यक्रिया गरिएको छ भने ३१ जनाको ओपन हार्ट सर्जरी, २३४ जनाको क्याथ ल्याबबाट कोरोनरी एन्जियोग्राफी, ७१ जनाको एन्जियोप्लाष्टी, ६६ जनाको प्राइमरी एन्जियोप्लाष्टी र ४७ जनालाई पेसमेकर राखिएको छ । केन्द्रका कार्डियोलोजी विभाग प्रमुख डा सुजीव राजभण्डारीका अनुसार उक्त अवधिमा यहाँ उपचारमा आएकामध्ये २४० जनाको आरडिटी गर्दा पाँच जनाको पोजेटिभ देखिएकामा कोरोना विशेष अस्पतालमा रिफर गरिएको थियो भने मुटुको गतिमा समस्या भएर आएका एक जनालाई त्रिवि शिक्षण अस्पताल सिफारिस गरिएपछि कोरोना पोजेटिभ देखिएको थियो । यहाँ मुटुरोगीमध्ये ४२ जनामा पिसिआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएकाले सहजरुपमा सेवा प्रवाह भइरहेको छ । यहाँका कुनै बिरामीलाई कोरोना देखिएमा सबै सेवा बन्द हुने गरेर सिल नगरी त्यस्ता बिरामीलाई बेग्लै आइसोलेशनमा राखेर अन्य बिरामीलाई अर्काे भवनमा नियमित उपचार गर्न सकिने गरी प्रबन्ध गरिएको छ । गत पुस ९ गते कार्यकारी निर्देशकमा नियुक्त मुटुरोग विशेषज्ञ डा अधिकारीले आगामी असार १ गतेदेखि बिरामी बढ्न सक्ने भएकाले समूहगत र अस्पतालको खुला स्थानमा परीक्षणका लागि व्यवस्था मिलाइएको जानकारी दिनुभयो । यहाँ कार्यरत चिकित्सक र कर्मचारीलाई आवश्यक व्यक्तिगत सुरक्षा उपकरण उपलब्ध गराइएको छ । हाल यहाँ आकस्मिकका कूल ३४ शय्या छन् । नेपाल सरकारले तोकेबमोजिम केन्द्रमा १५ वर्षमुनि र ७५ वर्षमाथिका मुटुरोगी तथा विपन्न एवं गरीब बिरामीलाई निःशुल्क उपचार गरिन्छ । उमेर खुल्ने कागज र स्थानीय तहको सिफारिसका आधारमा केन्द्रले थप छुट पनि दिन सक्नेछ । यहाँ मुटुको शल्यक्रिया, क्याथ प्रोसिडिएर, पिसमेकर, सिएजी, इपिएस–आरएफए, डायग्नोष्टिक प्रोसिडिएर, बिरामी भर्नापछिको इन्जेक्सन आदि सेवा दिइँदै आएको छ । केन्द्रमा मुटुरोगी शिशुका लागि पनि अलग्गै कक्ष स्थापित छ । यहाँ हाल सय चिकित्सक र ३०० नर्सिङ स्टाफ कार्यरत छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा सो केन्द्रलगायत विभिन्न विशिष्टीकृत अस्पतालले स्थानीय तहका स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सकको सेवासहित स्याटेलाइट तथा अनुसेवा क्लिनिक सञ्चालन गर्न र विशेषज्ञ स्वास्थ्य सुविधा नपुगेका दुर्गम स्थानका बिरामीका लागि भरपर्दाे टेलिमेडिसिन सेवा प्रणाली सञ्चालनमा ल्याउन रकम विनियोजन गरेको छ । आगामी आवका लागि संसद्बाट पारित सरकारको नीति तथा कार्यक्रममा केन्द्रमा बाल मुटुरोगको पहिचान, परीक्षण र उपचार गर्ने संस्थागत व्यवस्था गरिने उल्लेख छ । चालू आर्थिक वर्षमा पूर्वाधारतर्फ नेपाल सरकारबाट रु ४६ करोड ५१ लाख बजेट विनियोजन गरिएको छ भने नियमित खर्च केन्द्र आफ्नै आम्दानीबाट हुने गरेको छ । सामान्यावस्थामा केन्द्रको मासिक आम्दानी रु १३/१४ करोड हुने गरेको छ । ‘शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र ऐन, २०५७’ अनुसार स्थापित सो केन्द्रमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदेन अध्यक्ष र प्रशासकीय प्रमुखका रूपमा दैनिक प्रशासन सञ्चालन गर्नका लागि हृदयरोग विशेषज्ञमध्येबाट नेपाल सरकारले एक कार्यकारी निर्देशक नियुक्त गर्ने व्यवस्था छ । कूल ५२ रोपनी जग्गामा तीन भवनमा रहेको केन्द्रका संस्थापक अध्यक्ष डा अरुण सायमी छिन् । हृदयरोगको निदान, उपचार तथा हृदयरोगीको पुनःस्थापनका लागि आवश्यक उच्चस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ रूपमा प्रदान गरी हृदयरोगीलाई मानवोचित जीवनयापन गर्न सक्षम तुल्याउन तथा हृदयरोगसम्बन्धी उच्चस्तरीय अध्ययन र अनुसन्धानका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न एक उच्चस्तरीय केन्द्रका रूपमा सो संस्थाको स्थापना गरिएको हो । यसले मुलुकको स्वास्थ्य सेवा क्षेत्रमा सुधार ल्याउन हृदयरोगसम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न नेपाल सरकारलाई परामर्श दिने काम पनि गर्दै आएको छ ।

कन्ट्याक्ट ट्रेसिङ गर्न थप टोली परिचालन, उपत्यकामा बढी निगरानी गरिने

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितसँग नजिक रहेकामा गरिने ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्नका लागि मुलुकभर एक हजार १०७ टोली परिचालन गरिएको छ । सङ्घ, प्रदेश र स्थानीय तहमा एक हजार १०७ टोली परिचालन गरेर कन्ट्याक्ट ट्रेसिङ गर्दै आएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । प्रदेश तहमा सामाजिक विकास मन्त्रालय र स्थानीय तहमा रहेका अस्पताल र स्वास्थ्यचौकीले ट्रेसिङको काम गर्दै आइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई हजार ६३४ जनामा कोरोना सङ्क्रमित भएको पृष्टि भएको छ । ट्राभल हिस्टीका आधारमा सङ्क्रमितसँग नजिक रहेका आफन्त, साथीभाइको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ गर्ने गरिन्छ । इपिडिमियोलोजी र प्रदेशको मन्त्रालयले पाँचजनाका चिकित्सकको टोली कन्ट्याक्ट ट्रेसिङका लागि खटाएका छन् । पहिले कन्ट्याक्ट ट्रेसिङका लागि आफैँ पुग्ने गरेको इपिडिमियोलोजीले अहिले भने प्रदेशमा रहेका चिकित्सकलाई नै केन्द्रबाट भर्चुअल तालिम दिएर कन्ट्याक्ट ट्रेसिङ गर्नका लागि खटाइरहेको छ । अहिले पनि केन्द्रबाट आवश्यकताअनुसार बढी सङ्क्रमित ठाउँमा कन्ट्याक्ट ट्रेसिङका लागि टोली जाने गरेको इपिडिमियोलोजी महाशाखाका निर्देशक डा पाण्डेले बताए । ‘पहिले हामी १०० जनासम्म सङ्क्रमित भएको अवस्थामा हामी आफैँ नै जाने गथ्र्यौं । उदयपुर, कपिलवस्तु, बाँके, धनगढीमा हामी आफैँ गयौँ’, उनले भने, ‘अहिले सङ्क्रमित बढेकाले हामीबाट मात्र कन्ट्याक्ट ट्रेसिङ गर्न सम्भव भएन । हामीले प्रदेश र स्थानीय तहका चिकित्सलाई तालिम दिएर खटाइरहेका छौँ ।’ स्थानीय तहमा प्रत्येक गाउँपालिकामा एकवटा समूहको दरले, नगरपालिकामा दुई टोलीको दरले उपमहानगरपालिकामा तीन टोलीको दरले र महानगरपालिकामा पाँच टोलीको दरले कन्ट्याक्ट ट्रेसिङका लागि परिचालन गरिएको छ । ती टोलीमा तीनजना रहनेछन् । जसमा जनस्वास्थ्य अधिकृतसहित, नर्स र ल्याब टेक्निसियन रहने गर्छन् । चार सय ६० गाउँपालिकामा ४६० टोली, २७६ नगरपालिकामा ५५२ टोली, ११ उपमहानगरपालिकामा ३३ टोली र ६ महानगरपालिकामा ३० टोली परिचालन छन् । सङ्क्रमित पृष्टि भएपछि ती सङ्क्रमितको ट्राभल हिस्ट्रीका आधारमा नजिकका आफन्त, घरपरिवार सबैको कन्ट्याक्ट ट्रेसिङ गर्दै आइरहेको छ । तीनदेखि ११० जनामा ट्रेसिङ कोभिड-१९ सङ्क्रमितसँग नजिक रहेकासँग गरिने कन्ट्याक्ट ट्रेसिङ तीनजनादेखि ११० जनासम्म गरिएको छ । कोभिड-१९ को सङ्क्रमण फैलिन नदिई रोकथाम र नियन्त्रण गर्नका लागि सङ्क्रमित भएका व्यक्तिका नजिक रहेका तीनदेखि ११० जनासम्ममा कन्ट्याक्ट ट्रेसिङ गरिएको महाशाखाको सर्भेलेन्स तथा अनुसन्धान शाखाका प्रमुख महेन्द्रध्वज अधिकारीले बताए । महाशाखाले एकजना सङ्क्रमितमा रहेका नजिकका व्यक्ति थोरैमा तीन र धेरैमा ११० जनासम्म कन्ट्याक्ट ट्रेसिङ गरेको छ । सर्भेलेन्स शाखा प्रमुख अधिकारीले सङ्क्रमित व्यक्तिलाई प्रत्यक्ष भेटेर, फोनबाट उसको नजिकको रहेका व्यक्तिलाई कन्ट्याक्ट ट्रेसिङ गरिरहेको जानकारी दिए । कन्ट्याक्ट ट्रेसिङ सङ्क्रमितलाई सङ्क्रमण हुनुभन्दा १४ दिन अगाडि र सङ्क्रमितको लक्षण नदेखिएमा ६ हप्तासम्म अगाडि व्यक्तिमा नजिक रहेका गरिन्छ । ‘रोगको पहिचान भएको लक्षण देखिएको मान्छेको भने सङ्क्रमण देखिएको दिनदेखि १४ दिन पछाडि गएर कन्ट्याक्ट ट्रेसिङ गर्छौं’, उनले भने, ‘त्यो अवधिमा सङ्क्रमितले कहाँ गयो, कसकसलाई भेट्यो । कुन गाडी चढ्यो । सबै कुराको सूचना लिएर उसँग आएका मानिसलाई पहिचान गर्छौं ।’ कन्ट्याक्ट ट्रेसिङ गरिएका व्यक्तिलाई पनि छुट्याएर क्याजुअल कन्ट्याक्टमा रहेका १५ मिनेटभन्दा कम समय भेटेको, टाढाबाट भेटेको व्यक्तिलाई रोग सर्ने सम्भावना धेरै नहुने उनको भनाइ रहेको छ । सङ्क्रमितसँगै घरमा बसेका व्यक्ति भने उच्च जोखिममा रहने भएकाले विशेष निगरानीमा राखिन्छ । त्यस्ता व्यक्ति बिरामीसँग सम्पर्क भएको दिनदेखि १४ दिनसम्म घरमै बस्न भनेर अनुगमन गरिने उनले बताए । सङ्क्रमितसँगै पाँचदेखि १० दिनसम्म क्लोज कन्ट्याक्टमा रहेका व्यक्तिलाई आरडिटी वा पिसिआर परीक्षण गरेको शाखा प्रमुख अधिकारीले बताए । उपत्यकामा बढी निगरानी उपत्यकामा कन्ट्याक्ट ट्रेसिङको काम इपिडिमियोलोजी आफैँले गर्ने गरेको छ । इपिडिमियोलोजीले स्थानीय तहसँगैको सहकार्यमा कन्ट्याक्ट ट्रेसिङ गर्दै आइरहेको छ । ‘देशभित्रका मानिस यहाँ आउने भएकाले कन्ट्याक्ट ट्रेसिङका लागि तयारी अवस्थामा राखिएको छ’, शाखा प्रमुख अधिकारीले भने, ‘यहाँ सङ्क्रमित भएपछि हामी आफैँ जाने गरेका छाैं ।’ रासस