नेपालमा कोरोना संक्रमितको संख्या किन कम देखिन थाल्यो ? अब संक्रमण बढ्ने जोखिम छ कि छैन ?

काठमाडौं । नेपालमा आइतबार मात्र ८२ जना नयाँ संक्रमित थपिए । कुल ३ हजार ९ सय १६ जनाको रियल टाईम पिसिआर मार्फत परीक्षण हुँदा मात्र ८२ जना अर्थात २ प्रतिशतमा मात्र संक्रमण पुष्टि भएको हो । पछिल्लो १० दिन अर्थात असार १९ गतेदेखि असार २८ गतेसम्मको नेपालमा संक्रमितको डाटा हेर्ने हो भने संक्रमितको संख्या झण्डै १० प्रतिशतले घटेको छ । १० दिन पहिले असार १९ गते एकैदिन ७ सय ७४ जनामा संक्रमण पुष्टि भएको थियो । उक्त दिन ४ हजार ४ सय ८३ जनाको रियल टाईम पिसिआरबाट परीक्षण भएको थियो । अर्थात परीक्षण गरिएको करिब १७ प्रतिशतमा कोरोना संक्रमण देखिएको थियो । पछिल्लो १० दिनको पिसिआर परिक्षण र संक्रमितको संख्या यस्तो छ परीक्षण कति घट्यो ? पछिल्लो १० दिनको पिसिआर परीक्षणको संख्या हेर्दा सबैभन्दा बढि असार २३ गते र सबैभन्दा कम असार २७ गते भएको छ । असार २७ गते ५ हजार १ सय ३३ जनाको पिसिआर परीक्षण भएको छ जसमा २ सय ४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै असार २७ गते ३ हजार ६ सय ४८ जनाको पिसिआर परीक्षण भएको छ जसमा ७० जनामा मात्र कोरोना पुष्टि भएको छ । यसरी सबैभन्दा बढि र कम परीक्षणबीच २ हजार ४ सय ८५ को भिन्नता देखिन्छ । तर यस माथि दिइएको चार्ट हेर्दा परीक्षण धेरै संख्यामा हुँदा धेरैमा संक्रमण पुष्टि हुन्छ भन्ने देखिँदैन । किनभने सबैभन्दा बढी संक्रमित देखिएको असार १९ गते ४ हजार ४ सय ८३ जनाको परीक्षण भएको थियो । दक्षिण एसियामा हेर्ने हो भने माल्दिभ्स र भुटानपछि नेपालकै पिसीआर परीक्षण संख्या राम्रो रहेको छ । संक्रमितको संख्या घट्नुको कारण  नेपालमा संक्रमितको संख्या घट्नुको कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिका पनि एक हो । मन्त्रालयले कुनै पनि प्रकारको लक्ष्ण नदेखाएको व्यक्तिहरुको परीक्षण नगर्ने निर्देशिका नै जारी गरेको छ । तर स्वास्थ्य विज्ञहरुको अनुसार नेपालमा कोरोना भएको अधिकांश व्यक्तिहरुमा कुनै पनि प्रकारको लक्षण देखिएको छैन । संक्रमितहरुको संख्या घट्नुको यो एउटा मुख्य कारण भएको जनस्वास्थ्य विज्ञहरु बताउँछन् । स्वास्थ्य मन्त्रालय– अझै त्रासमै छौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमतिको संख्या घट्दै गए तापनि नेपाल अझै त्रासमा रहिरहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले अहिले देखिएको संख्याले निष्र्कष निकाल्न नसकिने बताए । ‘अहिले पोजेटिभ देखिने संख्या कम हुँदै गरेको देखिन्छ तर यसको निष्कर्ष हामीले अहिले नै दिन सक्दैनौं । हामी अहिले बढिरहेको आवतजावत र मानिसहरुले सामान्य सुरक्षाको विधिहरु पालना नगर्दा संक्रमण फेरि बढ्दैन भनेर हामी भन्न सक्दैनौं,’ डा. अधिकारीले भने । नेपाल भारत खुल्ला सिमाको कारण पनि नेपालमा कोरोना संक्रमण जोखिम कम भएको छैन । भारतमा कोरोना संक्रमण विस्तार भइरहेकोले नेपालमा जोखिम उच्च देखिएको हो । भारतमा अहिले संक्रमण बढेर विश्व कै सबैभन्दा बढि संक्रमित भएको तेस्रो राष्ट्र बनेको छ । संक्रमितको संख्या लुकाउनु भएको हो त भन्ने प्रश्नमा अधिकारीले संक्रमितको संख्या लकाउनु पर्ने कनै कारण नभएको बताए । बाहिर घट्दै उपत्यकामा बढ्दै ईपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जिल्ला बाहिर संक्रमण घटिरहँदा उपत्यकामा भने बढिरहेको बताए । पाण्डेले उपत्यकामा अहिलेसम्म ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । उपत्यकामा देखिएको अधिकांश संक्रमितहरु विदेशबाट आएकाहरु रहेको र कोही कोही भने कुनैपनि ट्राभल हिस्ट्री नभएको व्यक्तिहरु भएको उनी बताउँछन् । कुनैपनि ट्राभल हिस्ट्री नभएको व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ पनि सुरु गरिसकेको उनले बताए । यस्तै काठमाडौँ उपत्यकाका ५ हजार मानिसको कोभिड–१९ को पिसिआर परीक्षण गर्नका लागि नमूना सङ्कलन गरिएको उनले जानकारी दिए ।

सुदूरपश्चिममा प्रयोगशाला स्थापनामा ढिलाइ

धनगढी । कोभिड–१९ को रोकथाम र उपचार व्यवस्थापनको प्रयासस्वरुप नमूना परिक्षणको लागि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा प्रयोगशाला स्थापना गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयनमा ढिलाइ भएको छ । प्रदेश सरकारले गएको चैत महिनामा कोभिड–१९ को रोकथाम उपचार व्यवस्थापनका लागि प्रदेशका बैतडी र डोटी जिल्लामा एक/एक प्रयोगशाला र कैलालीमा थप एक प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । प्रयोगाशाला स्थापना नहुँदा कोभिड–१९ का शङ्कास्पद नमूना जाँचका लागि अन्य जिल्लामा पठाउनुपर्ने अवस्था छ । सेती प्रादेशिक अस्पतालमा सञ्चालनमा रहेको प्रयोगशालामा दैनिक न्यून सङ्ख्याका नमूना जाँच हुने गरेको छ । प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले सम्बन्धित अस्पतालमा मेशिन राख्न चाहिने पूर्वाधार निर्माणको काममा समय लागेकाले प्रयोगशाला स्थापनामा ढिलाइ भइरहेको बताए । उनले भने, “शुरुको अवस्थामा मेशिनलगायतका सामग्रीको व्यवस्थापनका लागि आह्वान गरिएकोमा कसैले पनि टेण्डर नहालेकाले पनि समयमै प्रयोगशाला स्थापना गर्न ढिलाइ भएको हो ।” सरकारको पछिल्लो निर्णय अनुसार दैनिक एक हजार वटा नमूना जाँच गर्ने क्षमताको प्रयोगशाला स्थापनाका लागि प्रक्रिया अघि बढाइएको छ । यसका लागि तीन वटा मेसिन खरिद भइ धनगढी पुगिसकेकोमा सम्बन्धित अस्पतालमा मेसिन राख्न चाहिने भौतिक पूर्वाधार जुटाउने काम भइरहेको बताइएको छ । क्वारेन्टाइनमा बसेका सबैको नमूना जाँच हुँदैः विदेशबाट फर्केर प्रदेशका क्वारेन्टाइनमा बसिरहेका नागरिकको कोरोनाको परीक्षण गर्न लागिएको छ । कम्तीमा पाँच दिन क्वारेन्टाइनको बसाई पूरा गरेका सबै नागरिकको पिसिआर पद्धतिबाट नमूना जाँच गर्न पहल भएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताए । उनले भने, “यसका लागि स्वाबको नमूना सङ्कलन गरी प्रयोगशालमा पठाउन प्रदेशका सम्पूर्ण स्वास्थ्य कार्यालयलाई पत्राचार गरिएको छ ।” यसैबीच कोभिड–१९ को रोकथाम उपचार व्यवस्थापनको क्रममा प्रदेशमा समुदाय तहमा समेत नमूना सङ्कलन र परीक्षण गर्ने तयारी थालिएको छ । आगामी १५ दिनभित्र यो काम शुरु गर्न लागिएको डा अवस्थीले जानकारी दिए । सोमबारसम्म सुदूरपश्चिमका विभिन्न जिल्लामा बनाइएका क्वारेन्टिनमा छ हजार १ सय ९१ जना बसिरहेका छन् । हालसम्म पिसिआर पद्धतिबाट जम्मा २६ हजार ७ सय ६२ को नमूना जाँच भइसकेको छ । यस्तै आरडिटी पद्धतिबाट एक लाख १८ हजार २ सय ९२ नमूना जाँच भइसकेको छ । पछिल्ला दिनमा प्रदेशमा नमूना सङ्कलन कार्य सुस्त भइरहँदा सङ्क्रमणको दर पनि घट्दै गएको देखिएको छ । सोमबार थप १५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै प्रदेशमा कूल सङ्क्रमित ३ हजार ७ सय ८३ पुगेका छन् । यसबाहेक सुर्खेतस्थित प्रयोगशालामा गरिएको नमूना परीक्षणमा सुदूरपश्चिम प्रदेशका दश जनामा कोरोना पोजेटिभ देखिएको थियो । प्रदेशको राजधानी जिल्ला कैलालीमा सबैभन्दा बढी १ हजार ६ जना सङ्क्रमित पुगेका छन् । यसै गरी अछाममा ५ सय ९३, बैतडीमा ३ सय, बझाङमा १ सय ६२, बाजुरामा ४ सय ४६, डडेल्धुरामा २ सय ७५, दार्चुलामा २०, डोटीमा ५ सय ३५ र कञ्चनपुरमा ४४६ जना कोभिड–१९ का सङ्क्रमित पुगेका छन् । भारतबाट आउनेको सङ्ख्या र क्वारेन्टाइनमा बसेकाको सङ्ख्या घट्दै गएको र नयाँ नमूना सङ्कलन कार्य सुस्त हुँदा सङ्क्रमण दर पनि घटेको बताइएको छ । सीमा नाकाबाट आउनेको उचित व्यवस्थापन नभई पछिल्ला दिनमा आफू खुशी ढङ्गले गन्तव्यमा जाने गरेको देखिएकाले सङ्क्रमण अब समुदायमा देखिन सक्ने जोखिम रहेको स्वास्थ्यकर्मीको भनाइ छ । प्रदेशमा हालसम्म कोरोना भाइरसका कारण आठ जनाको मृत्यु भएको छ । प्रदेशमा पहिलो पटक गएको चैत १४ गते पहिलो कोरोना सङ्क्रमित भेटिएका थिए । वैशाख महिना शुरु हुँदासम्म पाँच जना सङ्क्रमित फेला परेकामा त्यसपछिको झण्डै एक महिनासम्म नयाँ सङ्क्रमणको दर स्थिर देखिएको थियो ।  रासस

बढ्दाे कोरोना संक्रमणले अवस्था झन् झन् खराब हुनसक्ने डब्ल्यूएचओको चेतावनी

काठमाडौं । सरकारले थप निर्णायक कदमहरू चाल्न विफल भएमा कोरोना भाइरस महामारी ‘खराबमाथि खराब’ हुँदै जाने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ । डब्ल्यूएचओका महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयससले ‘थुप्रै देशहरू गलत दिशातर्फ गइरहेको’ बताए । प्रमाणित उपायहरू नअपनाइएका वा नपछ्याइएका ठाउँमा सङ्क्रमितहरू बढिरहेको उनले बताए । गेहब्रेयससले के भने ? सोमवार जिनिभामा बोल्दै डा गेहब्रेयससले ‘नेताहरूको मिश्रित सन्देशले’ उनीहरूले महामारीलाई नियन्त्रणमा ल्याउन सक्छन् भन्ने जनविश्वासलाई कमजोर पारेको बताए । ‘यो भाइरस आम मानिसको एक नम्बरको शत्रु बनेको छ तर सरकार र मानिसहरूका गतिविधिले त्यस्तो देखाउँदैन,’ उनले भने । उनले सामाजिक दूरी, हात धुने, आवश्यक ठाउँमा मास्क लगाउनेजस्ता गतिविधिलाई गम्भीर रूपमा लिनुपर्ने बताए । ‘निकट भविष्यमा पुरानो सामान्य अवस्था फर्कने देखिँदैन ।’ उनले चेतावनी दिँदै भने, ‘यदि आधारभूत कुरालाई पछ्याइएन भने यो महामारी जाने एउटै बाटो छ । त्यो भनेको खराब, खराब र खराब हुनु हो ।’ अमेरिकी देशहरूमा केन्द्रविन्दु उत्तर र दक्षिण अमेरिकी देशहरू यतिखेर महामारीको केन्द्रविन्दु बनेका छन् । डब्ल्यूएचओको आपत्कालीन सेवा सम्बन्धी निर्देशक डा माइक रायनका अनुसार अमेरिकी देशहरूमा खुकुलो पारिएको लकडाउनका उपायले केही ठाउँमा ‘व्यापक सङ्क्रमण’ फैलाएको थियो । ल्याटिन अमेरिकामा अहिलेसम्म १ लाख ४५ हजारभन्दा बढी कोरोना भाइरससँग जोडिएका मृत्यु पुष्टि भएका छन् । आधाजसो ती मृत्यु ब्राजिलमा भएको छ जहाँ राष्ट्रपति जइर बोल्सोनारूले भाइरससँग जुझ्ने कडा उपायहरूको विरोध गरेका थिए । त्यहाँ जाँच नै कम भएकाले त्यस्तो सङ्ख्या अझै उच्च हुनसक्ने ठानिएको छ । अमेरिकामा उच्च प्रभाव संयुक्त राज्य अमेरिकामा एकातर्फ सङ्क्रमितहरू बढिरहँदा अर्कोतर्फ राष्ट्रपति डोनल्ड ट्रम्प र स्वास्थ्य विज्ञहरूबीच तनाव देखिएको छ । सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा अहिलेसम्म ३३ लाखभन्दा बढी सङ्क्रमण पुष्टि भएका छन् भने १ लाख ३५ हजारभन्दा बढीको भाइरसका कारण मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयको विवरण छ । सङ्क्रमितको सङ्ख्यामा ह्वात्तै वृद्धि देखिएपछि अमेरिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको राज्य क्यालिफोर्नियामा पुनस् कडा प्रतिबन्धका नियम लागु गरिएका छन् । गभर्नर ग्याभिन न्युसमले रेष्टुराँ, बार, मनोरञ्जन स्थल, चिडियाखाना र सङ्ग्रहालयजस्ता भवनपरिसरभित्रका गतिविधि तत्काल लागु हुनेगरी बन्द गर्न लगाएका छन् । महामारीबाट उच्च प्रभावित अमेरिकाका विभिन्न क्षेत्रमा गिर्जाघर, व्यायामशाला र शैलुनहरू समेत बन्द गरिनेछन् । पछिल्ला दुई सातामा क्यालिफोर्नियामा परीक्षण गरिएकामध्ये सङ्क्रमितको सङ्ख्या २० प्रतिशतले वृद्धि भएको छ । आइतवार फ्लोरिडामा एकैदिन १५ हजारभन्दा बढी सङ्क्रमित पुष्टि भएका थिए । इङ्ग्ल्याण्डमा मास्क अनिवार्य ब्रिटेनको सरकारले आउँदो साताबाट इङ्गल्याण्डका पसल र सुपरमार्केटहरूमा मुख ढाक्नेगरी मास्क लगाउनैपर्ने नियम ल्याएको छ । प्रधानमन्त्रीको कार्यालयबाट जारी गरिएको विज्ञप्ति अनुसार भिडभाड हुने र घरभित्रका ठाउँमा मास्क लगाएर आफू र वरपरका मानिसहरूलाई सुरक्षित पार्न सकिन्छ भन्ने स्पष्ट प्रमाणहरू पाउन थालिएको बताइएको छ । सार्वजनिक सवारीमा मास्क लगाउने नियम भने जुन महिनादेखि नै लागु छ । तर त्यसबारे कुराहरू राम्रोसँग प्रस्ट नपारिएको भन्दै सरकारको आलोचना हुने गरेको छ । ब्रिटेन कोरोनाभाइरसको महामारीबाट बढ्ता प्रभावित हुनेमध्येको देशमा पर्छ । त्यहाँ अहिलेसम्म २ लाख ९१ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने ४४ हजारभन्दा बढीले भाइरसका कारण ज्यान गुमाएका छन् ।  (बीबीसी)