११ महिने बालक कोरोना जितेर डिस्चार्ज

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का ११ महिने कोरोना सङ्क्रमित बालक सुशांक सुनार उपचारपछि महाकाली अस्पतालबाट सोमबार डिस्चार्ज भएका छन् । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठले कोभिड–१९ आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिकानुसार आइसोलेसन कक्षमा १४ दिन पूरा भई उपचारपछि निको भएपछि बालक सुनारलाई डिस्चार्ज गरिएको बताए । स्वास्थ्य आपतकालीन केन्द्र रामशाहपथको पत्रानुसार थप एक हप्ता होम आइसोलेसनमा बस्ने गरी डिस्चार्ज गरिएको उनले बताए । होम आइसोलेसनमा बस्दा चिकित्सकको नियमित सम्पर्कमा रहने गरी र स्वास्थ्य मन्त्रालयको जारी निर्देशिकामा उल्लेख गरिएका कुराको पालना गर्नेलगायतका कुरा सम्झाएर पठाइएको उनको भनाइ छ । कोरोना जितेका बालक र उनकी आमालाई टीका र खादा ओढाएर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बिदाइ गरेका हुन् । अस्पतालको आइसोलेसनमा भर्ना भएका भीमदत्त नगरपालिका–२ का ५० वर्षीय, महाकाली नगरपालिका–३ का ३८ वर्षीय र कागेश्वरी मनहरा नगरपालिका काठमाडौंका १८ र ३८ वर्षीय पुरुषलाई अस्पतालले आइतबार डिस्चार्ज गरेको थियो । अस्पतालमा ३० कोरोना सङ्क्रमित उपचाररत छन् ।  रासस

कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ८१ लाख ८ हजार ६ सय २८ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ३८ हजार ५ सय ८३ जनाको मृत्यु भइसकेको छ भने ४१ लाख ८८ हजार २ सय ३४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख १८ हजार २ सय ८२ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २१ लाख ८२ हजार ९ सय ११ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ३ लाख ४३ हजार २६ पुगेको छ भने अहिलेसम्म ९ हजार ९ सय १५ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ६ हजार २ सय ११ जना संक्रमित भएका छन् भने १९ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी १ हजार ४१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभारः वल्डोमिटर)

थप ४ सय ५१ जनामा देखियो कोरोना, संक्रमितकाे संख्या ६२ सय नाघ्याे

काठमाडाैं । नेपालमा ४ सय ५१ जनामा देखियो कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा नेपालमा ४ सय ४१ जनामा कोरेना भाइरस देखिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशको विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या ६ हजार २ सय ११ रहेको छ । जसमध्ये १ हजार ८१ जना उपचारपछि निको भएका छन् भने १९ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म १ लाख ३८ हजार ६ सय ८३ काे पिसिआर विधि र २ लाख १९ हजारकाे ३ सय ३६ जाकाे आरडिटीबाट परीक्षण भएकाे छ । सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन ।