नेपालमा काेराेनाकाे कारण थप एकजनाकाे मृत्यु, मृतककाे संख्या २० पुग्याे
काठमाडाैं । नेपालमा काेराेनाकाे कारण थप एकजनाकाे मृत्यु भएकाे छ । बाँके जिल्ला, बैद्यनाथ गाउँपालिका वडा नं ६ कि ४६ वर्षिय महिलाकाे काेराेनाकाे कारण मृत्यु भएकाे पुष्टि भएकाे हाे । उनी नेपालगंज स्थित शिक्षण अस्पताल काेहलपुरमा जेठ ३० गते मृगौला सम्बन्धि समस्याकाे कारण भर्ना भएकी थिईन् । असार १ गते उनकाे स्वाब संकलन गरी परीक्षणकाे लागि भेरी अस्पतालमा पठाईएकाे र नतिजा नआउँदै उनकाे असार १ गते साँझ ६ बजे मृत्यु भएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । उनकाे परीक्षणकाे नतिजा असार २ गते आउँदा पाेजेटिभ आएकाे उनले बताए । याेसँगै नेपालमा काेराेनाकाे कारण मृत्यु हुने व्यक्तीकाे संख्या २० पुगेकाे छ ।
थप ५ सय ८६ जनामा देखियो कोरोना, संक्रमितकाे संख्या ७१ सय नाघ्याे
काठमाडाैं । नेपालमा थप ५ सय ८६ जनामा देखियो कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा नेपालमा ५ सय ८६ जनामा कोराेना भाइरस देखिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशको विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या ७ हजार १ सय ७७ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ११ सय ६७ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण २० जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म १ लाख ४९ हजार ७ सय ७२ काे पिसिआर विधि र २ लाख ३३ हजारकाे ५ सय ४३ जाकाे आरडिटीबाट परीक्षण भएकाे छ । सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन क्वारेन्टिनमा र आईसाेलेसनमा कति छन् ? हाल देशभर १ लाख २५ हजार ७ सय ९८ जना क्वारेन्टिनमा रहेका छन् भने ५ हजार ९ सय ९० जना आईसाेलेसनमा रहेका छन् ।
गाउँघरमा घुम्दै कोरोना सङ्क्रमित
जिल्लाको शिखर नगरपालिका–३ आलीअतुराली गाउँमा कोरोना सङ्क्रमणको पुष्टि भएकाहरु खेलेआमरूपमा गाउँमा घुम्न थालेका छन् । गाउँमा उनीहरुलाई घुम्नबाट रोक्ने कोही सरकारी कर्मचारी तथा सुरक्षाकर्मी नभएका कारण उनीहरु घरको कामदेखि धान रोपाइँको काममा व्यस्त हुने गरेको पाइएको छ । भारतबाट रोजगारी गरी दुई हप्ता पहिले घर आएका उक्त वडाका १४ जनामा कोरोना सङ्क्रमण देखापरेको छ । गत जेठ २० गते आलीअतुराली क्वारेन्टिनमा राखिएका २८ जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी धनगढी प्रयोगशालमा पठाएको थियो । मङ्गलबार जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरको संयोजगत्वमा उक्त वडामा पत्रकारसहित गएको अनुगमनका क्रममा कोरोना सङ्क्रमित खुलेआम गाउँघरमा घुमिरहेको पाइएको थियो । कोरोना परीक्षणका लागि स्वाब पठाइएकामध्ये १४ जनामा असार १ गते कोरोना सङ्क्रमणको पुष्टि भएको रिपोर्ट आएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिषबहादुर शाहले बताए । उनले भने, “आलीअतुराली क्वारेन्टिनमा बसेका २८ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि धनगढी प्रयोगशालमा पठायौं, जसमा १४ जनाको नतिजा पोजेटिभ आएको छ, सबै आफ्नो घर गएपछि नतिजा आयो, अहिले समस्या भयो ।” पिसीआरको नतिजा नआउँदै आफूहरुलाई होम क्वारेन्टिनमा रहने गरी घर पठाएका एक कोरोना सङ्क्रमितले बताए । उनले भने, “कोरोना परीक्षणको रिपोर्ट आएको थिएन, हामीलाई होम क्वारेन्टिनमा बस्नु भनेर घर पठायो, अहिले कोरोना पोजेटिभ आयो, हामी पनि चिन्तित छौं ।” घरमा आएको चार दिनपछि कोरोना सङ्क्रमण भएको रिपोर्ट आएपछि अहिले गाउँमा कोरोना फैलिने भन्दै स्थानीयवासीमा त्रास फैलिएको स्थानीय बलबहादुर बोगटीले बताउनुभयो । उनले भने, “कोरोना रिपोर्ट नआउँदै क्वारेन्टिन बसेकालाई घर पठाइदियो, अहिले १४ जना सङ्क्रमण भएको रिपोर्ट आयो, कसरी गाउँमा जोगिने भन्ने चिन्ता बढेको छ ।” कोरोना सङ्क्रमण भएकाहरु खुलेआम गाउँघरमा घुमिरहेका कारण अन्यमा पनि कोरोना सर्ने भन्दै स्थानीयवासीमा त्रास उत्पन्न भएको उनको भनाइ छ । गएको जेठ १९ गते पहिलोपटक सो वडाका २५ वर्षीय एक युवामा कोरोना पुष्टि भएको थियो । उनी डोटीको पहिलो कोरोना सङ्क्रमित थिए । त्यसअघि ११ गते गौरिफन्टा नाकाबाट श्रीमती र छोरासहित नेपाल भित्रिएका उनी १२ गतेदेखि शिखर नगरपालिकाले बनाएको क्वारेन्टिनमा थिए । १६ गते साँझ उनको छोरामा स्वास्थ्य समस्या देखिएपछि छोरा र श्रीमतीसहित तीन जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरी स्वाब परीक्षण गर्दा उनमा कोभिड–१९ पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । छोरा र श्रीमतीमा भने दुईपटकसम्म जाँच गर्दा पनि कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको छ । ती युवकमा सङ्क्रमण पुष्टि भएसँगै एउटै क्वारेन्टिनमा बसेका ३१ जना अन्यको ‘कन्टयाक्ट ट्रेसिङ’ का आधारमा जेठ २० गते ‘थ्रोट स्वाब’ सङ्कलन भएको थियो । उनीहरुमध्ये १४ जनामा कोरोना पुष्टि भएको रिपोर्ट आएको हो । ढिलोगरी परीक्षणको नतिजा आउदा सङ्क्रमित पाईएकाहरु सबै घर–घर पुगिसकेका छन् । पहिलो सङ्क्रमितलाई कुनैपनि लक्षण नदेखिएकोले १४ दिन आइसोलेसनमा राखेपछि जिल्ला अस्पतालले जेठ २९ गते नै डिस्चार्ज गरेको थियो । सरकारको ‘आइसोलेसन व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका’ अनुसार डिस्चार्ज गरेको जनाएको थियो । सोहीअनुसार उनको ‘कन्टयाक्ट ट्रेसिङ’ का आधारमा स्वाब सङ्कलन गरी पठाइएकाहरुको नतिजा आउनुअगावै सबै जनालाई घर पठाइएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । “समयमा नतिजा आएको भए पनि उनीहरुको डिस्चार्ज हुने समय भोलि हुने थियो”, स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले भने, “ढिलो रिपोर्ट आयो, अहिले समस्या भयो पोजेटिभलाई अझै केही दिन ‘होम’ आइसोलेसनमा राखिने छ ।” पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ३७ पुगेको छ । तीमध्ये तीन जनालाई सरकारको मापदण्डअनुसार १४ दिन आइसोलेसनमा राखेर कुनै लक्षण नभेटिएपछि डिस्चार्ज गरिएको छ भने अन्यलाई घरकै होम आइसोलेलसनमा रहने गरी घर पठाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । रासस