कोरोनाको उच्च जोखिममा कञ्चनपुर

कन्चनपुर । भारतमा रोजगारीका लागि गएका व्यक्ति फर्कने क्रमसँगै कञ्चनपुर कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमा परेको छ । भारतीय शहरमा कोरोनाका कारण बन्दाबन्दी हुन थालेपछि सीमा नाका हुँदै भारतबाट फर्कनेको संख्या दिनहुँ बढिरहेको छ । भारतबाट फर्केकामध्ये अधिकांशमा कोरोना भाइरस सङ्क्रमण देखा पर्न थालेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार मङ्गलबारमात्रै पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै फर्केका ७४० मध्ये २१४ जनाको एन्टिजेन परिक्षणमा ४५ जनाको परीक्षण नतिजा पोजेटिभ आएको छ । यसैगरी त्रिनगर (डोकेबजार) सीमा नाका भएर भारतबाट फर्केका ७१० मध्ये ४८९ जनाको एन्टिजेन परीक्षण गरिएकामा ६६ को परीक्षण नजिता पोजेटिभ आएको छ । कञ्चनपुरमा हालसम्म चार हजार ६४० जनाको एन्टिजेन परीक्षण गरिएकामा पोजेटिभको संख्या ३११ रहेको छ । एन्टिजेन परीक्षणमा सक्रिय सङ्क्रमित २२८ छन् । पश्चिमी सीमा नाका गड्डाचौकी भएर आएका तीन हजार ६९४ को एन्टिजेन परीक्षण गरिएकामा १६५ जनाको नतिजा पोजेटिभ आएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए । उनका अनुसार महाकाली अस्पतालको आइसोलेसनमा रहेका बिरामीको सङ्ख्या ३० छ । आइसिएच आइसोलेसनमा रहेका बिरामीको सङ्ख्या ५४ छ । हालसम्म जिल्लामा कोरोना सङ्क्रमणका कारण १६ जनाको मृत्यु भइसकेको छ । रासस

प्रतिव्यक्ति ९ हजार लिई सिनामङ्गलमा पिसिआरको नेगेटिभ रिपोर्ट तयार

काठमाडाैं । मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड–१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ । काठमाडौंको सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर प्रालिका सञ्चालक डा सिपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सञ्चालक प्रकाश रायमाझी भन्ने चित्रबहादुर रायमाझीसहितको समूह मिलेर उक्त नक्कली कार्य गरी पैसा असुल्ने गरेको खुल्न आएको छ । वैदेशिक रोजगारीमा जाने व्यक्तिका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट अत्यधिक रकम लिई नमूना सङ्कलन नै नगरी नक्कली बनाउने गरेको खुलेकाले उनीहरुसहित आठ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । सूचनाका आधारमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले मङ्गलबार साँझ काठमाडौँको सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर प्रालिबाट जारी भएका स्वाब सङ्कलन तथा परीक्षण नै नगरी ‘पिसिआर टेष्ट नेगेटिभ’ भनी उल्लेख भएका चार थान नक्कली परीक्षण रिपोर्टसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा गौरादह घर भई हाल पेप्सीकोला बस्ने ४५ वर्षीय प्रकाश रायमाझी भन्ने चित्रबहादुर रायमाझी, सप्तरीका प्रमोदकुमार यादव, महोत्तरी गौशालाका प्रदीपकुमार गिरी, महोत्तरीकै अमनकुमार यादव, मोरङ विराटनगरका वजेश पोख्रेल, महोत्तरीका बादल मिरिङ थिङ, दोलखा वैतेश्वरी घर भई चाबहिल बस्ने २२ वर्षीय सरोज क्षेत्री र सप्तरी मध्यपुराका डा खेलानन्दप्रसाद सिंह रहेको प्रहरीले जनाएको छ । त्यहाँबाट रिपोर्ट बनाउन प्रयोग हुने कम्प्युटरलगायतका उपकरणसमेत नियन्त्रणमा लिइएको र थप अनुसन्धान कार्यका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिको रोहबरमा सुरिया हेल्थकेयर प्रालिको सेवा हाललाई बन्द गराइएको महाशाखाले जनाएको छ । उनीहरुले प्रतिव्यक्ति नौ हजार लिई नक्कली रिपोर्ट बनाउने गरेको खुलेको छ । रासस

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कारोना संक्रमण

काठमाडौं । भारतको हरिद्धारमा गंगा स्नान गरेर नेपाल फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारत भ्रमण सकेर स्वदेश फर्किएपछि कोरोना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । पूर्वराजा दम्पतीलाई संक्रमण भेटिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।