कोभिड–१९ को दोस्रो वेबः काम लाग्न सक्छ स्थानीय तहको पोहोरको अनुभव

काठमाडौं । विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण दर नेपालमा फेरि पनि बढ्न थालेको छ । गत वर्षको सुरुदेखि नै नेपालमा संक्रमण बृद्धि हुन थालेको कोरोना भाइरसको दोस्रो वेब नेपालमा सुरु भइसकेको चर्चा गर्न थालिएको छ । गत वर्षको सुरुदेखि नै नेपालमा फैलिएको कोरोना भाइरसले फेरि त्रासदी सिर्जना गरेको छ । संक्रमण दर कम गर्न भन्दै सरकारले २०७६ साल चैत ११ गतेदेखि देशव्यापी लकडाउन सुरु गर्दा सबैको मनमा त्रास थियो । लकडाउनको असर कस्तो होला ? कोभिडबाट कसरी बाच्ने जस्ता प्रश्नहरु सबैको मानको खेलिरहेको थियो । महामारी नियन्त्रणको लागि सबैभन्दा प्रभावकारी काम स्थानीय तहहरुले गरेका थिए । प्रायः सबै स्थानीय तहले क्वारेन्टिन र आइसोलेसन कक्ष स्थपना गरेका थिए भने संकास्पद व्यक्तिको निःशुल्क कोरोना परीक्षण गर्ने व्यवस्था पनि मिलाएका थिए । यस्तै, स्थानीय तहहरुले कोरोना कोष छुट्टयाई गरिब परिवार र आर्थिक स्थिति कमजोर भएका परिवारलाई राहत प्याकेज वितरण गरेका थिए । कतिपय स्थानीय तहहरूले आफ्नो क्षेत्रमा प्रवेश गर्ने नाकाहरूमा हेल्थ डेक्सको पनि स्थापना गरेका थिए । एक जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्न पनि रोकिएको थियो । कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि स्थानीय तहहरुले राम्रो ज्ञान र अनुभव हासिल गरेका छन् । ती स्थानीय तहहरुले महामारी नियन्त्रण र रोकथामको लागि गत वर्ष के कसरी व्यवस्थापन गरेका थिए ? केही गाउँपालिकाहरुले आफ्नो अनुभव सुनाएका छन् । बागमती प्रदेश अन्तरगत रसुवा जिल्लामा पर्ने नौकुण्ड गाउँपालिकाले ५० बेडको क्वारेन्टिन स्थापना गरी व्यवस्थित आइसोलेसन कक्षको पनि स्थापना गरेको थियो । तर, सो पालिकाको आइसोलेसन सेन्टरमा कसैलाई राख्नु परेको थिएन । सो गाउँपालिकाले सबै विद्यालयहरु बन्द गराएको थियो भने विकास निर्माणका कामहरु ठप्प भएका थिए । गाउँपालिका प्रवेश गर्नेहरुलाई अनिवार्य १४ दिनसम्म क्वारेन्टिनमा राखिएको अध्यक्ष नुर्वु स्याङ्वो घले बताउछन् । प्रदेश १ अन्तरगत संखुवासभामा पर्ने सभापोखरी गाउँपालिकाले ४० जनासम्म राख्न मिल्ने क्वारेन्टिन स्थापना गरेको थियो भने १४ बेडको आइसोलेसन कक्ष निर्माण गरेका थियो । आपतकालिन अवस्थामा खर्च गर्न मिल्ने गरी ३० लाख रुपैयाँको कोरोना कोष पनि स्थापना गरिएको थियो । विद्यालय, बजार, शैक्षिक संस्था लगायत सबै गतिविधि बन्द गरिएको थियो । विकास निर्माणका काम रोकिएका थिए । संक्रमितको उपचारको लागि आवश्यक जनशक्ति र उपकरणको अभाव भएकोले जिल्ला सदरमुकाम खादबारी पठाइएको अध्यक्ष रतनबहादुर सुब्बा बताउछन् । सो पालिकाबाट सदरमुकाम खादबारी नजिकै पर्छ । बागमती प्रदेश अन्तरगत रामेछाप जिल्लामा पर्ने गोकुलगंगा गाउँपालिकाले ३० बेडको क्वारेन्टिन र ५ बेडको आइसोलेसन कक्ष बनाएको थियो । पालिकाभन्दा बाहिरबाट आएकाहरुलाई १४ दिनसम्म क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टिनमा बसेका व्यक्तिहरुलाई पीसीआर चेक गरेर मात्र घर पठाइएको थियो । सो पालिकामा पनि सबै गतिविधि बन्द गरिएको पालिकाले जानकारी दिएको थियो । बागमती प्रदेश अन्तरगत सिन्धुपाल्चोक जिल्लामा पर्ने बाह्रविसे नगरपालिकाले ८० बेडको क्वारेन्टिन र ५० बेडको आइसोलेसन कक्ष बनाएको थियो । गत वर्ष सो नगरपालिकामा २८ जनालाई आइसोलेसनमा राख्नु परेको थियो । लकडाउन भएको समयमा नगरपालिका भित्रका विद्यालय, बजार, विकास निर्माण लगायतका गतिविधि बन्द भएका थिए । बागमती प्रदेश अन्तरगत ललितपुर जिल्लामा पर्ने बागमती गाउँपालिकाका सर्वसाधारणका साथै केही कर्मचारीहरुलाई पनि कोरोना संक्रमण देखिएको थियो । सो समयमा गाउँपालिकाको हरेक वडामा १० देखि १५ बेडको क्वारेन्टिन बनाएको थियो । बागमती प्रदेश अन्तरगत नुवाकोट जिल्लामा पर्ने शिवपुरी गाउँपालिकाले ८ बेडको आइसोलेसन कक्ष बनाएको थियो । गण्डकी प्रदेश अन्तरगत म्याग्दी जिल्लामा पर्ने धवलागिरी गाउँपालिकाले पनि क्वारेन्टिन तथा आइसोलेसन कक्ष स्थापना गरेको थियो । सो वेला बाहिरी जिल्लाबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने व्यवस्था गरेको थियो । बागमती प्रदेश अन्तरगत सिन्धुली जिल्लामा पर्ने तीनपाटन गाउँपालिकाले प्रवेश गर्ने नाकाहरुमा हेल्थ डेक्सको स्थापना गरेको थियो । गाँउपालिकले नागरिकलाई राहत प्याकेज पनि वितरण गरेका थियो । गाउँपालिकाले विभिन्न संघ संस्था, विद्यालयमा स्यानिटाइजर, माक्स वितरण गरेको थियो । कोरोनाको समयमा गाउँपालिका भित्रका सबै विद्यालय बन्द भएका थिए । प्राथमिक स्वास्थ्य क्षेत्रलाई तोकेर वडा अनुसारका विद्यालयमा क्वारेन्टिनको स्थापना गरिएको थियो । प्रदेश १ अन्तरगत भोजपुर जिल्लामा पर्ने षडानन्द नगरपालिकाले कोरोना संक्रमण शंका भएका व्यक्तिलाई पीसीआर परीक्षण गरेर आइसोलेसनमा राखेको थियो । बाहिरी जिल्लाबाट आउनेलाई १४ दिनसम्म क्वारेन्टिनमा राखेर घर पठाइएको थियो । यस्तै, नगरपालिका प्रवेश गर्दा माक्स, सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको थियो भने लकडाउनको समयमा राहत प्याकेजहरु वितरण भएको थियो । गरिब परिवार र आर्थिकस्थीति कमजोर भएका परिवारलाई नगरपालिकाले एक परिवारलाई १ बोरा चामल, ३ केजी नुन, २ लिटर तेल वितरण गरेको थियो ।

नेपालगञ्जका विद्यालय एक साता बन्द गर्ने निर्णय

काठमाडौं । कोरोना भाइरस संक्रमण बढेपछि नेपालगञ्ज उपमहानगरपालिकामा शुक्रबारदेखि शैक्षिक संस्था बन्द हुने भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले नेपालगञ्जमा पछिल्लो समय कोभिड संक्रमण उच्चगतिमा बढेपछि उपमहानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था एक साताका लागि बन्द गर्ने निर्णय गरेको उपप्रमुख उमा थापामगरले जानकारी दिईन । नगरप्रमुख डा धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्दका लागि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको छ । बैठकले भारतबाट आउनेहरूको सीमानाका जमुनाहमा स्वास्थ्य परीक्षण तथा एन्टिजेन परीक्षणका लागि थप कडाइ गर्ने निर्णय गरेको छ । मास्क अनिवार्य लगाउनेलगायत स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्दै बैठकले बजार अनुगमनलाई पनि कडाइ गर्ने निर्णय भएको छ । मास्क नलगाई कारोबार गर्ने पसल व्यवसाय कम्तीमा एक साताका लागि बन्द गर्ने निर्णय समितिको छ । घरबाहिर मास्क नलगाई आवागमन गर्नेलाई कारवाही गर्न बैठकले माग गरेको छ । कोरोना भाइरस सङ्क्रमण तीव्रगतिमा फैलिएपछि मास्क नलगाई सडकमा निस्कनेलाई मास्क अनिवार्य प्रयोग गर्न लगाउन आग्रह गरिएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए । छिमेकी मुलुक भारतमा तीव्ररूपमा सङ्क्रमण बढेकाले त्यसको प्रत्यक्ष असर बाँकेमा परेको छ । कोरोना सङ्क्रमणदर अस्वाभाविकरूपमा बढे पनि स्वास्थ्यका मापदण्ड कार्यान्वयनमा बेवास्थाका कारण विगतमा जस्तै फेरि बाँके कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सरोकारवाला सबैसँग बैठक गरी कोरोना सङ्क्रमणविरुद्ध सबै एक भएर अभियान सञ्चालन गरिने बताए । ‘म आज मात्रै जिल्लामा आएको छु, आजै नेपालगञ्ज उपमहानगरपालिका सङ्क्रमण रोकथामका लागि आवश्यक छलफल गर्न बैठक गर्दैछौँ’, उनले भने, ‘भोलिसम्म सबै स्थानीय तहसँग आवश्यक छलफल गरी आइसोलेशन र क्वारेन्टिन सञ्चालनका विषयमा निर्णय हुनेछ ।’ रासस

बिहीबार ५३४ कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

काठमाडौं । बिहीबार नेपालभर ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणबाट ४९० र एन्टिजेन परीक्षणबाट ४४ जना गरी ५३४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयको तथ्यांक अनुसार देशभर ४ हजार १५२ पीसीआर परीक्षण र ५६४ एन्टिजेन परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा काठमाडौंमा १४५, ललितपुरमा ४३, कास्कीमा ३८, बाँकेमा ८९, मोरङ र दाङमा १३१३, रुपन्देहीमा १६, महोत्तरी र बाग्लुङमा १०र१० जनामा संक्रमण पुष्टि भएको छ। यस्तै गत २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार ६६ पुगेको छ। गत २४ घण्टामा १५७ जना संक्रमित निको भएका छन्। योसँगै हालसम्म कोरोना निको हुनेको संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ। हाल देशभर ४ हजार ३८४ जना संक्रमित आइसोलेसनमा रहेका छन्। ती मध्ये ३ हजार ८९४ जना होम आइसोलेसनमा रहेका छन् भने ४९० जना संस्थागत आइसोलेसनमा छन्। देशभर ९१ जना आइसीयु र ३५ जना संक्रमित भेन्टिलेटरमा उपचारत छन् भने ६८ जना क्वारेन्टाइनमा रहेका छन्।