‘बालबालिकामा हुने क्लब फुट समस्या समयमै उपचार गरे निको हुन्छ’

चितवन । बालबालिकामा जन्मजातै खुट्टाको पैताला बाङ्गो हुने या पछाडि फर्किने (क्लब फुट) समस्या समयमै उपचार गरे निको हुने चिकित्सकले बताएका छन् । जन्मेपछि मात्रै थाहा हुने सो रोगको शल्यक्रिया वा प्लास्टर गरेर निको पार्न सकिने उनीहरुको भनाइ छ । विश्वको तथ्याङ्कअनुसार एक हजारमध्ये एक जनामा यो रोग देखिने गरेको भए पनि नेपालमा यसको यकिन तथ्याङ्क भने छैन । भरतपुर अस्पतालका प्रवक्ता वरिष्ठ बालरोग विशेषज्ञ डा युवानिधि बसौला यस्ता खालका समस्या लिएर आउने गरेका जनाउँदै आफूहरुले यस्ता बिरामीलाई अर्थाेपेडिक सर्जनकामा पठाउने गरेको बताए । उनले भने, ‘समयमा उपचार गर्दा यो रोग निको हुन्छ ।’ जन्मनुअघि नै यसको रोकथाम गर्न भने नसकिने उनको भनाइ छ । अस्पतालका वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्राडा कृष्णप्रसाद पौडेल क्लब फुट भएका बालबालिकालाई अवस्था हेरी प्लास्टरदेखि शल्यक्रियासम्म गर्नुपर्ने बताउँछन् । उनले भने, ‘धेरै आत्तिनु पर्दैन, समयमै उपचार गर्न सके यसलाई सामान्य बनाउन सकिन्छ ।’ कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरको सिटिइभिटी कार्यक्रमका सहायक प्राचार्य मुकेश मल्लिकले बालकभन्दा बालिकामा यो समस्या कम देखिने गरेको बताए । बालबालिकामा यो समस्या वंशाणुगत गुण, कलिलैमा गर्भवती हुँदा र जुम्ल्याहा बच्चा जन्मँदा देखिन सक्ने उनको भनाइ छ । क्लब फुट भएका बालबालिकालाई स्प्लिन्ट (विशेष जुत्ता), पोन्सेटी (प्लास्टर) र थेरापी विधिबाट उपचार गराउन सकिने चिकित्सकको सुझाव छ । रासस

सङ्क्रमितले भरियो दाङको बेलझुण्डी कोरोना अस्पताल

दाङ । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल भरिएको छ । पच्चीस जनाको क्षमता भएको उक्त अस्पतालमा अहिले २६ कोरोना सङ्क्रमित राखिएको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताए । उनका अनुसार पाँच जनालाई सघन उपचारकक्ष (आइसीयू) मा राखेर उपचार गरिएको छ भने अन्य २१ जनालाई ‘जनरल वार्ड’मा राखेर उपचार गरिएको छ । जनरल वार्डमा रहेका २१ जनालाई पनि अक्सिजन दिइएको छ । ‘हाम्रो क्षमता २५ जनाको हो, त्यसमा पाँच जना आइसीयु शय्या छन्’, उनले भने, ‘तर अहिले हामी २६ जना राख्न बाध्य छौँ ।’ पछिल्लो समय सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले यसपछि आउने सङ्क्रमितलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता रहेको वलीले बताए । अहिले अस्पतालमा घोराहीका १५, तुलसीपुरका आठ, शान्तिनगरका दुई र रोल्पाका एक रहेका छन् । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत आयुर्वेद शिक्षण अस्पतालमा कोरोना विशेष अस्पताल सञ्चालित छ । अस्पतालका लागि तल्लो तलालाई मात्रै प्रयोग गरिएको छ । माथिल्लो तलामा बिएएमएसका कक्षा सञ्चालन भइरहेका छन् । माथिल्ला दुई र तीन तलामा पनि अस्पताल सञ्चालन गर्न पाएमा ५५ शय्यासम्म सञ्चालन गर्न सकिने सामथ्र्य रहेको वलीले बताए । ‘तल्लो तलामा बिरामी राखिएको छ, यस्तो अवस्थामा माथिल्लो तलामा कक्षा सञ्चालन हुँदा सङ्क्रमणको पनि डर छ’, उनले भने, ‘त्यसैले माथिल्ला तलामा पनि अस्पताल सञ्चालन गर्न सकिएमा धेरै सङ्क्रमित राख्न सकिन्छ ।’ अहिले अस्पताल पनि भरिएको भन्दै बिरामीले शय्या पाउन सक्ने सम्भावना न्यून रहेको वलीको भनाइ छ । अब सङ्क्रमितले जनप्रतिनिधि र नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरेमा व्यवस्थापनमा सहज हुने तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन शाखाका निरीक्षक विमल केसीले बताए । ‘अस्पताल ऋणमा चलिरहेको छ’ व्यवस्थापक वलीका अनुसार अहिले अस्पताल ऋणमा चलिरहेको छ । अक्सिजन मात्रै दैनिक रु ५० हजारदेखि एक लाखसम्म खर्च हुने गरेको छ । अन्य व्यवस्थापन खर्च गरी जम्मा रु दुई लाखसम्म खर्च हुने गरेको भए पनि अहिले अस्पताललाई सरकारले रकम उपलब्ध नगराएको उहाँको गुनासो छ । उहाँका अनुसार गएको वर्ष असोजदेखि अहिलेसम्म लुम्बिनी प्रदेश सरकारबाट बजेट आएको छैन । “गएको असोजदेखि एक रुपैयाँ पनि आएको छैन”, उहाँले भन्नुभयो, “त्यसैले अहिले ऋणदान गरेर चलाएका छौँ ।”

शनिबार नेपालभर ७६८ काेराेना संक्रमित थपिए

काठमाडाैं । शनिबार नेपालभर ७६८ काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज पीसीआर परिक्षण गर्दा ७६८ जना संक्रमित थपिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ८३ हजार ६५८ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितको संख्या ५ हजार ५४५ पुगेको छ । नेपालमा आजसम्म २३ लाख ४० हजार ४१७ जनाको पीसीआर विधिबाट परिक्षण भएको छ । यस्तै आज २२६ जना निको भएसँगैं हालसम्म २ लाख ७५ हजार ३८ जना निको भएर घर गइसकेका छन । पछिल्लो २४ घण्टामा ५ जनाको कारोनाको कारण मृत्यु भएको छ ।