हाम्रो स्वास्थ्य प्रणाली कोल्याप्स भएको होइन, महामारीलाई धान्ने प्रणाली अपुग भएको होः प्रधानमन्त्री

<p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड महामारीबाट विरामी भएका नागरिकको उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अन्य उपकरणको तत्काल व्यवस्थापनका लागि निर्देशन दिएका छन् । विभिन्न अस्पतालका सञ्चालक, चिकित्सक, विज्ञ, अक्सिजन उत्पादक, वितरक, निजी क्षेत्र, मन्त्री र सरकारी निकायसँगको विशेष छलफल आयोजना गर्दै प्रधानमन्त्री ओलीले मानव जीवन रक्षाका लागि तीव्र रफ्तामा काम गर्न निर्देशन [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड महामारीबाट विरामी भएका नागरिकको उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अन्य उपकरणको तत्काल व्यवस्थापनका लागि निर्देशन दिएका छन् ।

विभिन्न अस्पतालका सञ्चालक, चिकित्सक, विज्ञ, अक्सिजन उत्पादक, वितरक, निजी क्षेत्र, मन्त्री र सरकारी निकायसँगको विशेष छलफल आयोजना गर्दै प्रधानमन्त्री ओलीले मानव जीवन रक्षाका लागि तीव्र रफ्तामा काम गर्न निर्देशन दिएका हुन् ।

कोभिड १९ को दोस्रो भेरियन्ट संक्रमणका सन्दर्भमा आयोजित विशेष छलफल कार्यक्रममा प्रधानमन्त्री ओलीले त्यसको नियन्त्रणका लागि सरकारले चालेका कदमका विषयमा जानकारी दिंदै विभिन्न निकायले गर्नु पर्ने कामबारे निर्देशन दिएका थिए ।

तत्कालको काम अक्सिजन आपूर्ति

प्रधानमन्त्री ओलीले नागरिकको जीवनरक्षाका लागि आवश्यक अक्सिजन आपूर्ति, उत्पादन र वितरणमा लाग्न निर्देशन दिए । घरघरमा अक्सिजनको सिलिण्डिर राख्ने र अस्पतालमा अक्सिजन अभाव हुने गरेकोप्रति लक्षित गर्दै उनले त्यसका लागि आवश्यक सचेतना आवश्यक रहेको वताए ।

‘सुरक्षाका मापदण्ड नअपनाउने, कोभिड लाग्छ भनेर अक्सिजन घरमै लगेर राख्ने प्रवृत्ति बढेको छ, यसले अस्पतालको विरामीलाई पनि बचाउन सक्दैन र घरमा राखेको अक्सिजनले पनि काम गर्दैन, यस कुरामा जनचेतना जगाउनु आवश्यक देखियो,’ प्रधानमन्त्री ओलीले भने ।

सरकारले तत्काल गर्ने कामको रुपमा अहिले अक्सिजन आपूर्ति, उत्पादन र वितरणलाई लिएको उनको भनाई थियो ।

‘अक्सिजन खरिद र वितरणका लागि तत्काल के के गर्नुपर्छ गर्ने, निजी अस्पतालमा बढेको नाफाखोर प्रवृत्ति हटाउने, भेन्टिलेटर अपुग भए तत्काल मगाएर त्यसको पूर्ति गर्ने काम गर्नु प¥यो, मानवीय संकटको बेला ३५ दिने सूचना पर्खेर बसे नागरिकको ज्यान जान्छ,’ उनले भने ।

विरामीलाई खोजेको औषधि र अन्य उपचार सामग्री नपाएर मर्छु भन्ने मनोविज्ञानबाट समेत मुक्त गर्नु पर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।

‘विरामीले मैले खोजेको औषधि पाउँदिनँ, अक्सिजन पाउँदिनँ भन्ने सोच्नु नपरोस्, तत्काल उपलब्धता र सुलभताका लागि तपाईंहरु सबैको सक्रियता आवश्यक छ,’ उनले थपे ।

अफवाह फैलाएर ह्यारेसमेन्ट नगरौं

प्रधानमन्त्री ओलीले मानवीय संकटका बेला तत्काल आवश्यक सामग्री खरिद गर्दा अफवाह फैलाएर जे कुरामा पनि भ्रष्टााचार नै हुन्छ भन्ने स्थायी प्रचारले काम गरिरहेकाहरुको मनोवल गिर्नेतर्फ सचेत रहन पनि आग्रह गरे ।

‘भ्रष्टाचार भयो भने क्षम्य हुँदैन, तर मानव संकटलाई राजनीतिकरण गर्न स्थायी रुपमा भ्रष्टाचारको अफवाह फैलाएर महामारीसँग अग्रमोर्चामा लडिरहेकालाई ह्यारेसमेन्ट गर्ने, बदनाम गर्ने र कामबाट निरुत्साहित गर्ने प्रवृत्ति छ, मानवीय रक्षाको लागि गरेका प्रयासहरुलाई विकृत रुपमा ब्याख्या गर्ने पेशा नै भएकाहरुसँग सजग रहेर महामारीबाट जनतालाई वचाउनु पर्दछ,’ प्रधानमन्त्री ओलीले भने ।

ओलीले विज्ञहरुलाई आफूले प्रयोग गर्ने टर्मिनोलोजीमा परिवर्तन गर्न सुझाव पनि दिए ।

‘हाम्रो स्वास्थ्य प्रणाली नै कोल्याप्स भयो भन्नेजस्ता टर्मिनोलोजी प्रयोग नगरौं, महामारीलाई धान्ने प्रणाली अपुग भएको हो, कोल्याप्स भएको होइन, हामीसँग यसअघि नभएका प्रणालीहरुलाई पनि हामीले यसबीचमा विस्तार गरेका छौं, त्यसैले प्रणाली कोल्याप्स भएको होइन,’ उनले भने ।

महामारीलाई राजनीति लाभको विषय नबनाऔं

विश्वव्यापी रुपमा आएको महामारी सबैको साझा समस्या भएको वताउँदै प्रधानमन्त्री ओलीले यसका विरुद्ध मिलेर सामना गर्नु पर्ने वताए । राजनीतिक विपक्षीहरुले सरकारले कामै गरेर भनेर महामारीबाट लाभ लिने प्रयास गरेको उनको दाबी थियो ।

‘हाम्रा विपक्षीले भनेजस्तो सरकारले केही नगरेको होइन, सरकारले गरेको छ, गर्छ र गर्नेछ, सिमसिम पानीमा छाता ओढेर ओत लागेजस्तो आँधी आउँदा छाताले थेग्दैन । त्यस्तै भएको हो,’ उनले भने ।

छलफलमा सीसीएमसी र स्वास्थ्य मन्त्रालयका तर्फबाट अहिले भएका कामबारे रिपोर्ट प्रस्तुत गरिएको थियो । उपत्यकाका विभिन्न अस्पतालका सञ्चालक, अक्सिजन उत्पादक र वितरकहरुले आ–आफ्नो तर्फबाट महामारी नियन्त्रण प्रभावकारी बनाउनेबारे सुझाव दिएका थिए ।

Share News