आइतबार ६ हजार ६३६ जनाले जिते कोरोना
काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ६३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ६ हजार ६३६ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा कृष्ण पौडेलका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४७१ जनाको पिसिआर र ३ हजार २६२ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार २४ जना र एन्टीजेटमाफर्त ४५५ जना संक्रमित पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ । यससँगै हालसम्म मृतकको संख्या ७ हजार ८९८ पुगेको छ ।
मिदासबाट प्याब्सन र एनप्याब्सनका कर्मचारीलाई १ महिना नि:शुल्क भिडियाे स्वास्थ्य परामर्श
काठमाडौं । प्याब्सन र एनप्याब्सनका प्रिन्सिपल, शिक्षक एवं कर्मचारीहरु घरमै बसेर डाक्टरसँग एक महिनाको निशुल्क भिडियो काउन्सिलिङ सेवा पाउने भएका छन् । दुई संस्थाले मिदास टेक्नोलोजीसँगको सहकार्यमा आफ्ना कर्मचारीहरुको लागि यस्तो सेवा ल्याएको जनाएको छ । कोभिड–१९ महामारीसँगैको जारी बन्दाबन्दीले हिँडडुलमा कठिनाइ भई बिरामीहरू आफ्नो नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन नसक्दा समयमै उपचार वा परामर्श नपाएर उनीहरूको रोग बढी च्यापिसकेको अवस्थामा पुग्ने जोखिमलाई न्यूनीकरण गर्न मिदासले मेराे डाक्टर भिडियाे सेवा सुरु गरेकाे छ । मिदास टेक्नोलोजीजले सञ्चालनमा ल्याएको मेरो डाक्टर मा २०० भन्दा बढी विशेषज्ञ डाक्टरहरु नियमित रुपमा भिडियोमार्फत परामर्श दिन उपलब्ध छन् । बिरामीहरुले मोबाइल अथवा ल्यापटपमार्फत् कुनै पनि समय र स्थानबाट मेरो डाक्टरमा उपलब्ध कुनै पनि डाक्टरहरुसँग एपोइन्टमेन्ट लिई दोहोरो संवाद गरेर स्वास्थ्य परामर्श लिन सक्नछन् । मेराे डाक्टरबाट सेवा कसरी लिने ? १। बिरामीहरुले मोबाइल अथवा ल्यापटपमार्फत् कुनै पनि समय र स्थानबाट यो टेलिमेडिसीन सेवा लिन सक्नुहुनेछ । २ । यदि एन्ड्राेइड फोन प्रयोगकर्ता भएमा गुगल प्ले स्टोरबाट मेरो डाक्टर‘ एप डाउनलोड गर्न सकिन्छ । ३ । आइओएस फोन प्रयोगकर्ता भएमा एप्पल स्टोरमा गएर मेरो डाक्टर एप डाउनलोड गर्न सकिन्छ । ४ । ल्यापटप वा डेक्सटपबाट यो सेवा लिन चाहेमा http://www.merodoctor.com टाइप गरेर यो सेवा लिन सकिन्छ । ५ । मेराे डाक्टर कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा http://www.merodoctor.com/help ले तपाईँलाई थप मद्दत गर्नेछ । तपाईँहरूको सजिलोका लागि यो लिंकमा म्यानुअल राखिएको छ ।
देशभरका ६ महानगरः कोभिड नियन्त्रण, उपचार र रोकथाममा के गर्दैछन् ?
काठमाडौं । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको कारण विश्व ठुलो सङ्कटमा छ । यो महामारीले प्रभाव पारेसँगै नेपाल पनि लामो समयदेखि कोरोना भाइरससँगको लडाईंमा छ । विश्वका धेरै देशहरू यस सङ्कटलाई परास्त गर्न लागि परेका छन् । नेपालमा दिनकै हजारौं संख्यामा संक्रमित भइरहेका छन् भने सयौं संख्यामा मानिसहरूको मृत्यु भइरहेको अवस्था छ । पछिल्लो समयमा कोरोना सङ्क्रमण दर र मृतकको संख्या कम भएको छ । तर, महामारी नियन्त्रण हुने अवस्थामा छैन । बरु भइरस संक्रमणको कारण नयाँ रोग र स्वास्थ्य समस्या देखा परेको तथ्यहरु सार्वजनिक भइरहेका छन् । महामारीका कारण बेरोजगारीको संख्या दिनप्रतिदिन बढ्दो छ । यसले सामाजिक, आर्थिक, विकास निर्माण आदि सबै क्षेत्रमा असर पुर्याए पनि स्थानीय तहहरू कोरोना रोकथाम र नियन्त्रण गर्नमा लागेका छन् । स्थानीय तहका जनप्रतिनिधिहरुले दिन रात नभनि महामारी न्यूनिकरण गर्नको लागिपरेका छन् । पछिल्लो समयको अवस्था हेर्दा कोरोना भाइरस जित्नेको सङ्ख्या बढ्दै गएको छ । निषेधाज्ञालाई खुकुलो बनाउने तयारी पनि धेरै स्थानीय तहमा हुँदैछ । कोभिड महामारीकै कारण नेपालमा ठूलो आर्थिक क्षति पुगेको छ । व्यापार बन्द भएको कारण साना तथा घरेलु उद्योग मात्र नभई धेरै ठुलाठुला उद्योग पनि बन्द हुने अवस्थामा पुगेका छन् । उत्पादन भएका वस्तुको बिक्री तथा वितरण नभएको कारण उद्योगहरूले धेरै घाटा व्यहोरी रहेका छन् । कोभिड महामारी अहिले दुर्गम गाउँगाउँमा पुगेपनि बाक्लो बस्ती भएका र जनघनत्व बढी भएका क्षेत्रको यसको असर बढी देखिएको छ । महामारी नियन्त्रण गर्नको लागि अहिले ७ सय ५३ नै पालिकाहरू लागेका छन् । यो जटिल अवस्थामा नागरिकको नजिकको सरकार स्थानीय तह हो । नजिकैको सरकार स्थानीय तह भएका कारण जुनसुकै परिस्थितमा पनि नागरिकको सुरक्षाको लागि उभिन्छ भनेर प्रत्याभूति दिनका लागि जनप्रतिनिधिहरू लागेका पनि छन् । गत वर्ष लकडाउनको प्रारम्भदेखि नै स्थानीय तहहरुले राहतका कार्यक्रमहरू ल्याएका थिए । तर, यसपाली दैनिक कमाएर परिवार धान्दै आएका व्यक्ति र परिवारको लागि स्थानीय तहहरुले पनि प्रभावकारी कार्यक्रम ल्याउन सकिरहेका छैनन् । यो महामारीको असर कम गर्न संघीय सरकारले खोप किनेर दिनु पर्ने हो । तर, संघीय सरकारको विश्वास र भर पर्न नसकेर कतिपय स्थानीय तहहरू खोप किन्नमा जुटेका छन् । आफैले खोप किनेर स्थानीय सरकारलाई दिने संघीय सरकारले बताइरहेको छ । यही पृष्ठभूमिमा कोभिड नियन्त्रण, उपचार र रोकथामको लागि देशभरमा रहेका ६ महानगरपालिकाले के कस्तो काम गरिरहेका छन् भनेर यो सामग्री तयार पारेका छौं । बीरगन्ज महानगरपालिका विश्व भर महामारीको रूपमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसले बीरगन्ज महानगरपालिकामा पनि ठुलो असर पुर्याएको छ । बीरगन्ज महानगरमा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण कमै मात्रामा देखिएको छ । कोरोनाको प्रभाव कम हुँदै गएपछि लकडाउनलाई खुकुलो बनाउने तयारी गर्दै गरेको महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सराबगी बताउँछन् । यो महानगर भारतसँग सिमाना जोडिएको कारण बोर्डर व्यवस्थापन गर्न पनि लागि परेको छ । भारतबाट फर्किने नेपाली नागरिकको संख्या सामान्य रहेको सराबगीले जानकारी दिए । महानगरले भारतबाट फर्किनेहरूको सिमानामा एन्टिजिन परीक्षण पनि गर्दै आएको छ । एन्टिजिन परीक्षण गर्दा पोजेटिभ देखियो भने महानगरले सञ्चालन गरेको आइसोलेसनमा अथवा होल्डिङ सेन्टरमा राख्ने व्यवस्था मिलाएको पनि सराबगीले बताए । कन्ट्याक्ट ट्रेसिङ दायरालाई फराकिलो बनाई कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिहरूको पहिचान गरी एन्टिजेन परीक्षण र पीसीआर गर्ने व्यवस्था मिलाएको पनि सराबगीले जानकारी दिए । एन्टिजेन र पीसीआर परीक्षण महानगरले निःशुल्क गर्दै आएको छ । महानगरपालिकाले मास क्वारेन्टिन भन्दा होम क्वारेन्टिनलाई जोड दिएका थियो । होम आइसोलेसन बसेका कोभिडका बिरामीहरूलाई सम्बन्धित वडाका स्वास्थ्य शाखाले फोन मार्फत उनीहरूको स्वास्थ्य अवस्था बारे बुझिरहेको पनि सराबगीले जनाए । महानगरपालिकाले कोरोना संक्रमित भएका बिरामीको घर घरमा अक्सिजनको आपूर्ति पनि गरेको छ । नारायणी अस्पताललाई ३ ओटा भेन्टिलेटर र विभिन्न स्वास्थ्य सामाग्रीहरू पनि महानगरले वितरण गरेको छ । अस्पतालमा उपचाररत कोभिड संक्रमणका बिरामी र उनीहरूका आफन्त तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई निःशुल्क खाना खुवाउन व्यवस्था मिलाएका पनि सराबगीले जानकारी दिए । महानगरपालिकाले १ हजार क्षमताको ठाकुरराममा होल्डिङ सेन्टर स्थापना गरेको थियो । तर, यो होल्डिङ सेन्टरमा कसैलाई पनि राख्नु पर्ने अवस्था आएको छैन । दैनिक कोरोनाको परीक्षण गर्दै आएर उनीहरूको गन्तव्यसम्म पुर्याउने व्यवस्था महानगरले मिलाएको कारण होल्डिङ सेन्टरमा धेरै मानिसलाई राख्नु पर्ने अवस्था आएको छैन । गोपाल मण्डलीमा कोभिड अस्पतालको निर्माण र २ सय ३० बेडको आइसोलेसन कक्ष तयारी गरी त्यही होडिङ सेन्टर बनाएको पनि सराबगीले जानकारी दिए । बीरगञ्ज महानगरले कोभिड रोकथाम र नियन्त्रणका लागि वडामा फोकल पर्सन चयन गरेको छ । उनीहरूले होम आइसोलेसनमा बसेका संक्रमितहरुसँग नियमित सम्पर्क गरिरहेका छन् । होम आइसोलेसनमा बसेका संक्रमितको स्वास्थ्य समस्या बारेमा थप परामर्शका लागि चिकित्सकले आवश्यक सहयोग गर्दै आएको छ । सरावगीका अनुसार होम आइसोलेसनमा बसेका करिब १२ सय संक्रमितलाई घरघरमा गई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । होम आइसोलेसनमा बसेका कोभिडका संक्रमितको स्वास्थ्यमा समस्या आयो भने महानगरपालिकाले बिरामीलाई उपचारको लागि अस्पतालसम्म पुर्याउने एम्बुलेन्सको व्यवस्था पनि मिलाएको आएको छ । महानगरपालिकामा निःशुल्क एम्बुलेन्स सेवा छ । यो महामारीले महानगरपालिकाको सम्पूर्ण कामकाजमा पनि ठुलो असर पूर्याएको र विकास निर्माणको कामहरू पनि ठप्प भएको सराबगीले बताए । विकास निर्माणको काम गर्न केन्द्र र प्रदेश सरकारसँग ६ महिनाको समय थपिदिए महानगरपालिकाको सशर्त अनुदानका योजनाहरू पुरा गर्न सक्ने पनि उनले जनाए । केन्द्र र प्रदेशले समय नथपिदिए विकास निर्माणको काम पूरा गर्न समस्या हुने उनको भनाई छ । बजार अनुगमनको लागि सहायक सिडिओको संयोजकत्वमा टोली बनेको छ । सिडिओको टोलीले बाजार मात्र नभई अस्पतालमा स्वास्थ्य सेवा राम्रो छ कि छैन भनेर अनुगमन गर्दै आएको सराबगीले जानकारी दिए । अनुगमन गर्ने क्रममा अस्पतालले महानगरपालिकाले बनाएको स्वास्थ्य कार्यविधि पालन गरे नगरेको, स्वीकृति लिए नलिएको लगायत विषय बारे पनि अनुगमन गरिएको छ । महानगरले बिहान ६ बजेदेखि १० बजेसम्मको लागि बजार खुल्ला गर्न दिएको छ । श्रम गरी खाने विपन्न वर्गको लागि महानगरले दैनिक ५ हजार मानिसलाई निःशुल्क खाना पनि खुवाउँदै आएको छ । यो जोखिम न्यूनिकरण गर्नको लागि प्रदेश र केन्द्रको जुन खालको सक्रियता हुनुपर्ने थियो त्यति नभएको महशुस भएको मेयर सरावगीको भनाई छ । कोरोना संक्रमण सुरु भएसँगै स्वास्थ्य सामाग्री तथा अक्सिजन अभाव रहेको थियो । सुरुसुरुमा महानगरमा अक्सिजनको अभावका कारण ७ जनाको मृत्यु भएको थियो । अहिले अस्पतालहरुमा अक्सिजनको माग घट्दै गएको छ । हाल महानगरपालिकामा अक्सिजनको अभाव र स्वास्थ्य सामाग्रीको अभाव छैन । पछिल्लो समयमा कोरोना संक्रमितको संख्या पनि घट्दै गएको छ । पछिल्ला दिनहरुमा दैनिक ७ देखि ८ जनासम्म मात्र नयाँ संक्रमित देखिन थालेको सरावगीले जानकारी दिए । नारायणी अस्पतालमा महानगरपालिकाले नै ल्याबको स्थापना गरी दिएको छ । महानगरलाई केही एन्टिजेन परीक्षण गर्ने किट पनि नेपाल सरकारबाट प्राप्त भएको छ । नेपाल सरकारबाट प्राप्त भएको किटले भारतबाट आएका नागरिकको परीक्षण हुँदै आएको छ । महानगरले एक घर एक एन्टिजेन परीक्षण गर्ने तयारी गरेको छ । नारायणी अस्पतालमा नै पीसीआर परीक्षण हुँदै आएको छ । पछिल्लो समयमा भारतबाट मुख्य सडक हुँदै आउनेको संख्या १० देखि ५० जनासम्म मात्र रहेको र खुल्ला सिमाना भएको कारण भारतबाट आउने नागरिक र आवतजावत गर्ने मानिसहरूलाई रोक्न नसकिने पनि उनले बताए । काठमाडौं महानगर तीव्र गतिमा फैलिरहेको नयाँ भेरियन्टकोे कोरोना भाइरसले काठमाडौं महानगरपालिकामा ठूलो असर पारेको छ । जोखिम न्यूनिकरण गर्न महानगरले विभिन्न प्रयासहरू गरिरहेको छ । कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारको लागि महानगरभित्र रहेका सामुदायिक र सरकारी अस्पतालहरूको बारेमा सुरुमा राय सुझाव लिएको उप–प्रमुख हरिप्रभा खड्गी बताउँछिन् । सामुदायिक र सरकारी अस्पताललाई महानगरले कस्तो सहयोग गर्न सक्छ भनि छल्लफल गरिएको थियो । महामारीको यो समयमा महानगरको लगानीमा तत्काल ठूलो अस्पताल बनाउन नसकिने उनले बताइन् । काठमाडौं महानगरले वीर अस्पताललाई १५ ओटा भेन्टिलेटर सहित ५० ओटा मनिटर पनि दिएको छ । वीर अस्पतालमा स्वास्थ्य सामाग्री र अन्य समस्या पर्यो थप सहयोग पनि गर्ने उपप्रमुख खड्गीले जानकारी दिइन् । काठमाडौं महानगरले टिचिङ अस्पताललाई पनि १० ओटा भेन्टिलेटर सहयोग गरेको छ । क्षेत्रपाटी चिकित्सालयमा आइसोलेसन सहितको भेन्टिलेटर राखिएको छ । यस चिकित्सालयमा महानगरले निःशुल्क खाना, खाजा खुवाउँदै आएको छ । नरदेवी आयुर्वेद चिकित्सालयमा पनि आइसोलेसन कक्ष सहित खानाको व्यवस्था मिलाएको छ । काठमाडौं महानगरभित्र रहेका सबै सामुदायिक अस्पतालमा पनि २÷२ ओटा भेन्टिलेटर दिएको खड्गीले बताइन् । कोरोनाका कारण महानगरभित्रका सबै विकास निर्माणको कामहरू रोकिएका छन् । विकास निर्माणको बजेटबाट कोभिड नियन्त्रण गर्नका लागि महानगरले खर्च गरेको छ । जनताको जीवन रक्षा गर्नको लागि आवश्यक कामहरू गर्दै आएको खड्गीले बताइन् । महानगरपालिकाले राधा स्वामीमा ७८ ओटा आइसोलेसन कक्ष पनि तयार गरेको छ । संघीय सरकारले सामुदायिक र सरकारी अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न आवश्यक रहेको उनले बताइन् । भेन्टिलेटर महानगरपालिकाले अस्पतालाई दिएता पनि बिरामीको चाप अस्पतालमा बढ्दै गएपछि अक्सिजनको अभाव हुने गरेको छ । खड्गीले नेपाल सरकारसँग पनि अक्सिजन प्लान्ट अस्पतालमा जडान गर्नको लागि आवाज उठाउँदै आएकी छिन् । अक्सिजन र घर घरमा कोरोना विरुद्धको खोप पुर्याउनको लागि नेपाल सरकरले स्थानीय सरकारले जिम्मा दिए जिम्मा लिन तयार रहेको उनको भनाई छ । नेपाल सरकारले पहिले कोरोना विरुद्धको खोप लगाउनको लागि स्थानीय सरकारलाई दिएको भए भिडभाड नहुने र भिडभाड भएको कारणले नै नागरिकहरू कोरोनाको खोप लिनका लागि डराएको पनि खड्गीले बताइन् । स्थानीय सरकारलाई खोप लगाउने अधिकार दिएको भए यो महामारलिाई केही हदसम्म रोक्न र मृत्यु दर पनि कम हुने उनको अनुमान छ । पछिल्लो समय संक्रमितको संख्या पनि दिन प्रतिदिन घट्दै गएको छ । होम आइसोलेसन बसेका कोभिडका बिरामीहरूलाई सम्बन्धित वडाकाले फोन मार्फत उनीहरूको स्वास्थ्य अवस्था बारे जानकारी लिइरहेका छन् । बिरामीको स्वास्थ्य समस्या भए महानगर वा वडा कार्यलयमा सम्पर्क गरे अस्पतालसम्म पुर्याउने व्यवस्था मिलाइएको छ । अस्पतालको क्षमता बढाउने र संक्रमण दर घटाउने कामलाई सँगै लिएर गए मात्र कोभिडलाई नियन्त्रणमा लिन सकिने भएकोले सबै मिलेर अगाडि बढ्नु आवश्यक रहेको उपप्रमुख खड्गीको भनाई छ । महानगरमा अहिले निषेधाज्ञा जारी रहेको अवस्था छ । संक्रमण दर घटाउने र महामारी नियन्त्रणमा लिने हो भने निषेधाज्ञालाई कडाई गर्न र लम्ब्याउन आवश्यक रहेको उनको सुझाव छ । विकास निर्माणको बजेटबाट नै कोरोना महामारी र नियन्त्रण गर्नका लागि महानगरले खर्च गरेको छ । यो समयमा महानगरले कुनै पनि राहतका कार्यक्रमहरू ल्याएको छैन । तर, प्रत्येक वडालाई थोरै रकम राहतको लागि छुट्टाएको छ । यदि कसैले खानै नपाउने अवस्था सिर्जना भयो भने उनीहरुले सम्बन्धित वडा कार्यालयमा निवेदन दिएर राहत लिन सक्ने व्यवस्था मिलाईएको उनले बताइन् । विराटनगर महानगरपालिका तीव्र गतिमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसले विराटनगर महानगरपालिकामा पनि ठुलो असर पुर्याएको छ । महानगरले कोरोना रोकथाम र नियन्त्रणको लागि जनचेतनाका कार्यक्रमहरू गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत बताउँछन् । एन्टिजेन र पीसीआर परीक्षण पनि महानगरले निःशुल्क गर्दै आएको छ । महानगरले आइसोलेसन कक्षको स्थापना पनि गरेको छ । महानगरपालिका भित्रका सरकारी तथा सामुदायिक अस्पतालमा अक्सिजनको व्यवस्थापन पनि गरेको प्रमुख प्रशासकीय अधिकृत बस्नेत बताउँछन् । वडा तथा समुदाय र नागरिकहरूलाई पनि मास्क, सोनिटाइजर आदि वितरण गरिएको छ । नगर प्रमुख भीम पराजुलीले चढ्दै आएको गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्न दिएका छन् । महानगरपालिकाले बिरामीलाई निःशुल्क एम्बुलेन्सको प्रयोग गर्न दिएको पनि बस्नेतले बताए । स्वाब संकलन गरी तोकिएको ल्याबमा परीक्षण गर्न लैजानको लागि पनि गाडीको व्यवस्था गरिएको छ । मेयर पराजुली पनि अस्पतालहरुमा अक्सिजन अभाव हुन नदिनको लागि विभिन्न ठाउँमा पहल गरेको बस्नेतले बताए । उप–मेयरको संयोजनमा अक्सिजन उपलब्धता जस्ता विषयमा अनुगमन गर्न टोली बनाइएको छ । एन्टिजेन र पिसीआर गर्ने कीट महानगर आफैले खरिद गरेको छ । स्वास्थ्य सामाग्रीको खरिद गरी वडा कार्यालय, अस्पतालमा वितरण गरिएको पनि बस्नेतले जानकारी दिए । प्रदेश आपूर्ति केन्द्रले पनि स्वास्थ्य सामाग्रीहरू महानगरलाई दिएको छ । विराटनगर महानगरले निषेधाज्ञालाई कायम नै राखेको छ । कोशी अस्पतालमा अक्सिजन र स्वास्थ्यका सामाग्रीहरू पनि वितरण गरेको बस्नेत बताउँछन् । महानगरले यो समयमा कुनै पनि राहतको कार्यक्रमहरू ल्याएको छैन । सार्वजनिक विकास निर्माणको कामहरू नरोकिएको र निर्माणका सामाग्रीहरू ओसारपसार गर्नको लागि सहज भएका कारणले श्रमजीवी वर्गको पनि काम नरोकिएको कारण राहतको कार्यक्रम नल्याएको बस्नेत बताउँछन् । महानगरको कामकाजमा असर पुगेको छ । वडा कार्यालयरु बन्द भएको कारण राजश्व सङ्कलनमासमस्या रहेको बस्नेत बताउँछन् । विकासका योजनाहरू सञ्चालन गर्न, कार्यान्वयन गर्नमा पनि असर पुगेको छ । आन्तरिक राजश्व ९५ करोडको अनुमान गरेर कार्यक्रम बनाएको तर ३० करोडमा गएर राजश्व अड्केको पनि बस्नेतको भनाई छ । पछिल्लो समय संक्रमितहरु घट्दै गएको र अक्सिजन, बेडको समस्या नभएको बस्नेतले बताए । उपमेयरको संयोजकत्वमा महानगरपालिकाले बजार अनुगम गर्ने कामलाई पनि तीव्रता दिएको छ । ललितपुर महानगरपालिका ललितपुर महानगरपालिकामा पनि कोरोनाको संक्रमण उच्च रहेको छ । महामारी नियन्त्रण र रोकथामको लागि थुप्रै प्रयासहरू भइरहेका छन् । नयाँ भोरियेन्टको कोरोना भाइरसको प्रभाव महानगरपालिकामा पर्न थालेपछि २ ओटा आइसोलेसन सेन्टर स्थापना गरेको महानगरकी उपमेयर गीता सत्यालले जानकारी दिइन् । यी २ ओटा आइसोलेसन सेन्टरमा महानगरले ५ जना डाक्टरको दरबन्दी पनि राखेको छ । महानगर र २६ नम्बर वडाको संयुक्त प्रयासबाट ५० बेडको आइसोलेसन तयार पारिएको हो । महानगरले बनाएको आइसोलेसन बसेका धेरै संक्रमितहरु निको भइसकेका छन् । बागडोल स्थित ज्यापु समाजको बृद्धा आश्रममा महानगरले १ सय १० बेड क्षमताको अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना गरेको पनि उपप्रमुख सत्यालले जानकारी दिइन् । केही समयअघिसम्म ललितपुरभित्रका सामुदायिक र सरकारी अस्पतालमा अक्सिजनको अभाव भएको थियो । अक्सिजन अभाव कम गनै महानगर क्षेत्रमा रहेका अक्सिजन उत्पादकसँग अक्सिजन आपूर्ति कसरी गर्न सकिन्छ भनेर छलफल चलाइएको थियो । महानगरभित्रका अस्पताललाई प्राथमिकतामा राखेर अन्य स्वास्थ्य सामाग्री वितरण गरेको सत्यालले जानकारी दिइन् । पहिलेको जस्तो हाल महानगरमा अक्सिजनको अभाव रहेको छैन । कोरोना महामारीको कारण विकास निर्माण लगायत सबै काममा असर पुगेको छ । गत वर्ष जस्तो वर्ष श्रमजीवी वर्गको लागि राहतको कार्यक्रम महानगरपालिकाले ल्याउन सकेको छैन । दैनिक खानको लागि समस्या परेका व्यक्तिहरुले सम्पर्क गरे राहतको व्यवस्था गरेको सत्याल बाताउछिन् । होम आइसोलेसनमा बसेकाहरुलाई अस्पताल लैजानु पर्ने अवस्था आएमा महानगरले निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरेको छ । होम आइसोलेसनमा बस्नुभन्दा महानगरले बनाएको सुविधा सम्पन्न आइसोलेसन कक्षमा बस्नु राम्रो हुने पनि सत्यालले बताइन् । महानगरले कन्ट्याक्ट ट्रेसिङलाई फराकिलो बनाई कोभिड–१९ सँग सम्बन्धित लक्षण देखिएका नागरिकहरूको पहिचान गरी संक्रमितको अति नजिकको सम्पर्कमा रहेका व्यक्तिहरूको पहिचान गरी एन्टिजेन्ट वा पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाएको छ । महानगरमा कोरोनाका संक्रमण सुरु भएसँगै निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा मात्र गर्दै जाँदा धेरै जनाको रोजगारी गुम्ने र श्रमगरी खानको लागि समस्या हुने भएकोले अब निषेधाज्ञालाई खुकुले बनाउँदै जानु पर्ने पनि उनले बताइन् । निषेधाज्ञा लम्बिँदै गयो भने राहतका कार्यक्रम ल्याउनु पर्ने आवश्यकता रहेको पनि उनको धारणा छ । पोखरा महानगरपालिका पोखरा महानगरपालिकामा पनि कोरोना भाइरस व्यापक रूपमा फैलिएको छ । कोरोना भाइरसले महानगरमा बसोबास गर्ने धेरै नागरिकको ज्यान गएको छ । यो क्षेत्रफलको हिसाबले ठुलो, जनसङ्ख्याको दोस्रो स्थान र गण्डकी प्रदेशको पनि राजधानी भएको महानगरपालिका हो । महानगरले कोरोना रोकथाम र नियन्त्रण गर्नको लागि सम्पूर्ण प्रयास गरेको उपप्रमुख मञ्जुदेवी गुरुङ बताउँछिन् । महानगरले कोरोना रोकथाम तथा नियन्त्रण व्यवस्थापन समिति पनि बनाएको छ । कोभिड रोकथाम र नियन्त्रणका लागि प्रत्येक वडाको अध्यक्षको संयोजकतामा ४ जना सदस्य सहितको फोकल पर्सन चयन गरी रोकथाम तथा नियन्त्रण व्यवस्थापन समिति बनाएको पनि गुरुङले जानकारी दिइन् । उनीहरूले होम आइसोलेसनमा बसेका संक्रमितहरुसँग नियमित सम्पर्क गरिरहेका छन् । संक्रमितको स्वास्थ्य समस्याको बारेमा थप परामर्शका लागि महानगरको सहकार्यमा हरेक वडामा चिकित्सकले आवश्यक सहयोग गर्दै आएका छन् । यो समितिले नियमित फोन परामर्श, निःशुल्क एम्बुलेन्स सेवा, सेनिटाइजर, हाईजिन किट वितरणका कार्यक्रम जारी राखेका छन् । नगरभित्र निःशुल्क पीसीआर परीक्षण तथा एन्टिजेन परीक्षण भइरहेको छ । होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको घरमा वडाध्यक्ष पुगि संक्रमितको स्वास्थ्य अवस्था बरे लिइरहेको उपप्रमुख गुरुङले बताइन् । महानगरमा ६ ओटा एम्बुलेन्स सेवा रहेको छ । एम्बुलेन्स व्यवस्थापन वडा नं. ९ का वडा अध्यक्षले गर्दै आएका छन् भने आइसोलेसन र क्वारेन्टीन व्यवस्थापनको लागि वडा नं. १९ का वडाध्यक्षलाई जिम्मा दिइएको छ । अस्पतालको अवस्था बुझ्ने र स्वास्थ्य सामाग्रीको अभाव हुन नदिनको लागि फोकल पर्सन चयन गरी स्वास्थ्य अधिकृतलाई जिम्मा लगाएको पनि गुरुङले बताइन् । गत वर्षको कोरोनाको लहर फैलिँदा नै चालु वर्षको बजेट ल्याइएको थियो । त्यो बेला नै महानगरको आफ्नै अस्पताल हुनु पर्छ भनेर निर्णय पारित गरेको र यो वर्ष १ सय बेडको आइसोलेसन सहितको अस्पताल निर्माण गरी उद्घाटन गरेको र अब सञ्चालन गर्ने तयारी हुँदै गरेको पनि गुरुङले जानकारी दिइन् । महानगरले २ सय बेडको क्वारेन्टीनको व्यवस्था गर्दा ५० बेडको महिला क्वारेन्टीन र आइसोलेसन व्यवस्थापन गरेको छ । गर्भवती महिलाको सुरक्षाको लागि विशेष जोड दिएको पनि गुरुङले जानकारी दिइन् । बन्दाबन्दीले बजारमा कालो बजारी नहोस्, महँगी नबढोस् भनेर दैनिक अनुगमनको कामलाई पनि तीव्रता दिएको उनको भनाई छ । सुरु सुरुका दिनमा अक्सिजन अभाव पनि भएको थियो । महानगरपालिका भित्र २ ओटा अक्सिजन प्लान्ट रहेका छन् । अक्जिनको अभावको कारण एक जना सुत्केरी महिलाका ज्यान पनि गएको थियो । सुरुका चरणमा जस्तो हाल महानगरपालिका अक्सिजनको अभाव नभएको पनि गुरुङले बताइन् । कोरोना रोकथाम र नियन्त्रणतर्फ वडा कार्यालयहरूको सक्रियता बढेको छ । महानगरपालिकाले बिरामीले बेड, अक्सिजन नपाएको खण्डमा यसलाई सहजीकरण पनि गर्दै आएको छ । महानगर भित्र धेरै जना संक्रमित भए पनि निरन्तर कोभिड रोकथाम र नियन्त्रणका लागि विभिन्न कामहरू भइरहेका छन् । महानगरसँगै वडाहरूमा पनि कोभिड रोकथाम र नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । वडा अध्यक्ष र वडा सदस्यहरूले अनुगमनका कामहरू पनि गरिरहेका छन् । महानगरपालिमा हाल पनि निषेधाज्ञा कायम नै गरिएको छ भने अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहेको अवस्था छ । कोभिड रोकथाम र नियन्त्रणका लागि सम्पूर्ण नगरबासी सहित आम जनसमुदायबाट साथ, सहयोग मिलेको नै गुरुङले जनाइन् । दोस्रो चरणमा फैलिएको कोरोना भाइरसले महानगरको कामकाज र विकास निर्माणको काममा पनि ठुलो असर पुर्याएको छ । महानगरमा निषेधाज्ञाका कारण राजश्व सङ्कलन पनि भएको छैन । महानगर भित्र हुँदै गरेको विकास निर्माणको काम पनि ठप्प भएको र सबै क्षेत्रहरूमा प्रभावित भएको गुरुङले जानकारी दिइन् । महानगरलाई कोरोना संक्रमितको शव व्यवस्थापन गर्नको लागि चुनौति रहेको पनि गुरुङले जनाइन् । महानगरमा शव व्यवस्थापन गर्नको लागि एउटा मात्र गाडी थियो तर, मृतकको संख्या बढ्दै गएपछि २ ओटा गाडी शव व्यवस्थापनका लागि प्रयोग गर्दै आएको उपप्रमुख गुरुङले बताइन् । भरतपुर महानगरपालिका विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको कारण भरतपुर महानगरपालिका सङ्कटलाई परास्त गर्न लागिपरेको छ । महानगरपालिकामा कोरोनाको संक्रमण दर उच्च छ भने मृतकको संख्या पनि दिनप्रतिदिन बढ्दैछ । महानगरपालिकाले कोभिड–१९ सङ्कट रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि सम्पूर्ण प्रयास जारी राखेको महानगरकी उप–प्रमुख पार्वती शाह ठकुरीले बताइन् । महानगरमा कोरोना भाइरस फैलिएपछि वडा नं. १४ र १९ मा सुरुवातमा १५ बेड कोभिड अस्पतालको निर्माण गरेको पनि ठकुरीले जानकारी दिइन् । १४ नं. वडामा नै आयुर्बेदिक अस्पताल सुरु गरिएको छ । महानगरपालिकाको ८ देखि १० नं. वडासम्म एन्टिजेन परीक्षण भइरहेको छ । महानगरमा ३ ओटा एम्बुलेन्स छन् । कोरोनाको बिरामीहरूले यो निःशुल्क प्रयोग गर्न सक्ने पनि उनले जानकारी दिइन् । होम आइसोलेसनमा बसेका तर उसको स्वास्थ्यमा समस्या भयो भने अस्पताल लैजानको लागि निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्थापन गरिएको छ । महानगरले होम आइसोलेसनमा बसेका कोभिड संक्रमितहरुलाई घरघरमा पुगेर मेडिसिन किट र हाईजिन किट उपलब्ध गराउँदै आएको उपप्रमुख ठकुरीले जानकारी दिइन् । महानगरले नागरिकलाई कोरोना संक्रमण हुन नदिनको लागि सचेतनाका विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गरेका गर्दै आएको छ । पालिकाका धेरैभन्दा धेरै कोरोना संक्रमितहरु होम आइसोलेसनमा बसेका छन् । आइसोलेसनमा बसेका नागरिकहरूको स्वास्थ्य बुझ्नको लागि स्वास्थ्य शाखाको टिमले सधै सम्पर्क गरिरहको हुन्छ । महानगरले कोरोना संक्रमितहरुको अति निकट सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गरी परीक्षण गराउने काम पनि गरिरकहेको छ । कन्ट्याक्ट ट्रेसिङमार्फत संक्रमितको अति नजिकको सम्पर्कमा रहेका व्यक्तिहरूको पहिचान गरी परीक्षण गरिने भएको हो । नगरमा कन्ट्याक्ट ट्रेसिङ कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउनको लागि पनि जोड दिएको छ । अस्पतालहरूमा अक्सिजन अभाव हुन नदिन र अन्य उपचार व्यवस्थापनका लागि सहजीकरण पनि गरिँदै आएको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि वडा कार्यालयहरूको सक्रियता बढेको छ । बिरामीले बेड, अक्सिजन नपाएको खण्डमा महानगरले यसलाई सहजीकरण गर्दै आएको छ । बन्दाबन्दीको समयमा बजारमा कालोबजारी नहोस् महंगी नबढोस भनेर सिडिओको नेतृत्वबाट दैनिक बजार अनुगमनको कामलाई पनि तीव्रता दिएका ठाकुरीले बताइन् । महानगरपालिकासँग नगरका वडाहरूमा पनि कोभिड रोकथाम र नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । चिकित्सकसहितको घरदैलो कार्यक्रम गरी निःशुल्क औषधी, एक्सरे र अक्सिजनको व्यवस्था गरिएको छ । नियमित फोन परामर्श, निःशुल्क एम्बुलेन्स सेवा, सेनिटाइजर, हाईजिन किट वितरणका कार्यक्रम जारी रहेका छन् । नगरभित्र निःशुल्क पीसीआर परीक्षण तथा एन्टिजिन परीक्षण गरिएको छ । गत वर्षको जस्तो यो वर्ष महानगरपालिकाले कुनै राहतको कार्यक्रम ल्याएको छैन । राहत कार्यक्रममा ध्यान दिन नसकेको उनको भनाई । कोभिड संक्रमणका कारण महानगरको कामकाज र विकास निर्माणका काममा पनि असर परेको उपप्रमुख ठकुरी बताउँछिन् । आफूहरुको २ वर्षको कार्यकाल कोभिडकै कारण फलदायी हुन नसकेको उनको गुनासो छ । कोभिड रोकथाम र नियन्त्रणका लागि वडामा फोकल पर्सन चयन गरिएको छ । उनीहरूले होम आइसोलेसनमा बसेका संक्रमितहरुसँग नियमित सम्पर्क पनि गरिरहेका छन् । अस्पतालमा उपचाररत कोभिड संक्रमणका बिरामी र उनीहरूका आफन्त तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई निःशुल्क खाना खुवाउन व्यवस्था मिलाइएको छ । अक्सिजन अभावकै कारण धेरै नागरिकले ज्यान पनि गुमाएका छन् । यसलाई सहजीकरण गर्नका लागि सुरुको चरण भन्दा हाल अक्सिजनको अभाव नभएको पनि उनले जनाइन् । प्रदेश र केन्द्र सरकारबाट जोखिम न्यूनीकरण गर्नको लागि कुनै पनि सहयोग प्राप्त नभएको उनको गुनासो छ ।