सुर्तिजन्य पदार्थ सेवन गर्नेमा कोरोनाको जोखिम उच्च, संक्रमण दर पनि बढी

<p>काठमाडौं । विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तिजन्य पदार्थको सेवनले हरेक वर्ष विश्वमा ८० लाख मानिसको मृत्यु हुने गरेको छ । श्वासप्रश्वास सम्बन्धि रोग तथा दीर्घकालिन रोग निम्त्याउने प्रमुख कारक हो सुर्तिजन्य पदार्थ । सुर्ती लागु पदार्थ हो । निकोटिन नामको रसायनिक पदार्थले लत बसाउँछ भने सुर्तिमा २० भन्दा बढी त क्यान्सर गराउने रसायनहरू मात्रै पाइन्छन् [&hellip;]</p>

काठमाडौं । विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तिजन्य पदार्थको सेवनले हरेक वर्ष विश्वमा ८० लाख मानिसको मृत्यु हुने गरेको छ । श्वासप्रश्वास सम्बन्धि रोग तथा दीर्घकालिन रोग निम्त्याउने प्रमुख कारक हो सुर्तिजन्य पदार्थ ।

सुर्ती लागु पदार्थ हो । निकोटिन नामको रसायनिक पदार्थले लत बसाउँछ भने सुर्तिमा २० भन्दा बढी त क्यान्सर गराउने रसायनहरू मात्रै पाइन्छन् । यसका साथै यसकाे सेवनले मुटुरोग, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग र मधुमेह जस्ता लाग्ने गरेको छ ।

विश्व स्वास्थ्य संगठनद्धारा परिचालित जनस्वास्थ्य विशेषज्ञले १९ अप्रिल २०२० मा कोभिड र धुम्रपान गर्नेहरुबीचको सम्बन्धको अध्यन सार्वजनिक गरेको थियो । उक्त अध्यनले धुम्रपान गर्ने व्यक्तिहरुमा नगर्ने व्यक्तिको दाँजोमा कोभिड–१९ (कोरोना भाइरस) को कारण गम्भीर स्वास्थ्य समस्या आईपर्ने देखाएको थियो ।

सोही अध्यनलाई आधार मान्दै विश्व स्वास्थ्य संगठनले सुर्तिजन्य वस्तुको सेवन गर्ने व्यक्तिहरुलाई कोरोना जोखिमको उच्च तहमा राखेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सुरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार पहिलाे लहरकाे समयमा यस विषयमा धेरै अनुसन्धानहरु भएका थिए ।

उनी भन्छन्, ‘ विदेशमा सुर्तीहरु हुँदैन र त्यहाँ धुम्रपानलाई लिएर अध्यन गरिएकाे हाे । नेपालमा भने यस्ताे केही अध्यन भएकाे छैन । तर हामीले यसै पनि अनुमान गर्न सक्छाैं कि दुवै धुम्रपान र काेभिड दुवैकाे तार्गेट फाेक्साे रहेकाे छ जसले गर्दा धुमंपान अथवा सुर्तीजन्य वस्तु प्रयाेग गर्ने व्यक्ति काेराेना लागेकाे अवस्थामा जाेखिममा पर्न सक्छन ।’

कोभिड–१९ सुरु भएको देश चीनमा गरिएको विभिन्न अध्ययनहरुले पनि सुर्तीजन्य पदार्थको प्रयोगले श्वासप्रश्वास तथा हृदय रोगका बिरामीहरुमा कोभिडको गम्भिर लक्षणहरु देखिने बताउँछ ।

त्यहाँका ५ हजार बढी प्रयोगशालामा गरिएको विभिन्न अध्ययनका अनुसार उच्च रक्तचाप, क्यान्सर, हृदयरोग भएका व्यक्तिहरुको कोभिड–१९ का कारण हुने मृत्युदर अन्यको दाँजोमा निकै उच्च रहेको छ ।

चीनमा मात्र नभएर विश्वभरमा भएको यस सम्बन्धि विभिन्न किसिमका अध्ययनले सुर्तीजन्य पदार्थले कोभिड–१९ को जोखिम दुई गुणा बढी हुने बताउँछ ।

नेपालमा पनि कोभिडको कारण मृत्यु भएका व्यक्तिहरुको स्वास्थ्य अवस्था हेर्दा पनि धेरै व्यक्तिहरु दीर्घरोगी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीको अनुसार नेपालमा हाल मृत्यु हुनेहरु विशेष गरेर दीर्घरोगी त्यसमा पनि पहिलादेखि नै श्वासप्रश्वासमा समस्या भएका व्यक्ति, मृटुरोगी, मृगौला तथा निमोनिया रोगीहरु रहेका छन् । यस्ता रोगीहरु विशेष गरेर पुरुषहरु रहेको उनी बताउँछन् ।

नेपालमा कोरोनाको कारण आइतबार साँझसम्म ७ हजार ८९८ जनाको मृत्यु भइसकेको छ ।

सुर्तीको सेवन गर्न मास्क पटक पटक खोल्ने र हातको प्रयोग गरेर सेवन गर्ने हुँदा कोभिड-१९ को संक्रमण सर्ने सम्भावना पनि उत्तिकै मात्रामा बढी हुने अधिकारीले बताए ।

मुटुरोग विशेषज्ञ तथा ओपन हार्ट सर्जन प्रेमराज वैधको अनुसार सुर्तिजन्य पदार्थ सेवन र कोभिड १९ दुवैले शरीरको रगत बाक्लो बनाउँदछ जसले शरीरमा श्वासप्रश्वासको समस्या उत्पन्न गराउँदछ ।

वैध भन्छन्, ‘जब मानिसले कुनै पनि प्रकारको सुर्तिजन्य वस्तुको सेवन गर्दछ तब त्यसमा भएको निकोटिनले शरीरमा भएको रगतको नशालाई खुम्चाउँछ । यति मात्र नभएर धुम्रपान गर्दा चुरोटमा भएको स–साना कणहरु जब शरीरमा प्रवेश गर्छन् त्यसले रगतलाई बाक्लो बनाउँदछ । यसका साथै सुर्तिजन्य पर्दाथको सेवनले फोक्सको श्वासप्रश्वास नली बिगार्दै जान्छ र रगत झनै बाक्लो बनाउँदै लैजान्छ । ’

‘कोरोना लागेपछि मानिसको शरीरमा रगत जम्ने शक्ति बढ्दछ र यसले पनि फोक्सोमा रगत जमाएर श्वासप्रश्वासमा समस्या ल्याउँदछ । कोरोना संक्रमितलाई भेन्टिलेटरमा राखेर बचाउन नसक्नुको कारण पनि यही हो । यस्तै चुरोटको कारणले ब्रोनकाईटिज, निमोनियाहरु देखिन्छ । त्यस्तै कोरोना लागेपछि मानिसमा निमोनिया जस्तो लक्ष्ण देखिन्छ । यसरी यी दुवैले शरीरको श्वासप्रश्वास नली र रगमा असर गर्ने भएकोले सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिसमा कोभिड–१९ लागेको अवस्थामा जोखिम झनै बढी हुन्छ,’ उनी भन्छन् ।

यस्तै सुरुवा रोग विशेषज्ञ डा.अनुप बास्तोलाका अनुसार पनि धुम्रपान गर्ने व्यक्तिहरुमा कोभिड–१९ को सक्रमण उच्च हुनुको साथै कारोना भाइरस लागेपछि हुने जाखिम पनि बढि नै रहन्छ ।

‘धुम्रपान गर्ने व्यक्तिलाई श्वासप्रश्वासको मात्र समस्या नभएर अन्य दीर्घरोगहरुले पनि सताउँछ जसले गर्दा उनीहरु कोभिड–१९ संक्रमणको उच्च तहमा हुन्छन् । उनीहरुमा यस संक्रमणले निम्ताउने जोखिम पनि अन्यको दाँजोमा खतरनाक हुन्छ,’ बास्तोला भन्छन् ।

‘कोभिड–१९ ले विशेष गरेर फोक्सोमा असर गर्दछ । धुम्रपानले फोक्सोलाई निस्कृय बनाउनुको साथै रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर गराउँछ जसकारण शरीर कोरोना भाइरस लगायत अन्य रोगसँग लड्नलाई कमजोर बन्दछ,’ उनले थपे ।

सुर्तीजन्य पदार्थको सेवनबाट नेपालमा वर्षेनि २७ हजारकाे मृत्यु

नेपालमा वर्षेनि २७ हजार १३७ व्यक्तिको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले हुने गरेको ष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा. राधिका थपलिया बताउँछिन् । त्यो नेपालमा मृत्युको करीब १५ प्रतिशत हो ।

नेपालको तथ्याङ्कले हाल सुर्तीजन्य पदार्थ सेवन गर्ने २८.९ प्रतिशत रहेका केन्द्रका निर्देशक डा थपलियाले बताइन् । उनको अनुसार तीमध्ये ४८.३ पुरुष र ११.६ प्रतिशत महिला रहेका छन् । यसैगरी नेपालमा पहिलोपटक धुम्रपान सुरु गर्दाको औषत उमेर १७.८ रहेको छ ।

नेपालमा वर्षेनि सुर्तीजन्य पदार्थको सेवनले उपचार खर्च, अकाल मृत्यु र अशक्त हुँदा करीब ४७ अर्ब क्षति हुने गरेको छ ।

विश्व स्वास्थ्य संगठनकाे अनुसार विश्वमा १२ लाख व्यक्तिको सँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुने गरेको छ । यस्तै नेपालमा ३७ लाख कामदारहरु दोस्रो व्यक्तिको चुरोटको धुँवा पिउन बाध्य छन् भने ५५ लाख मानिसहरू परिवारका सदस्यले उडाएको धुवाँबाट पिडित छन् ।

सुर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन कार्यान्वयन फितलाे 

नेपालमा सुर्तिजन्य पदार्थको प्रयोग नियन्त्रण तथा नियमन गर्न १० वर्ष अघि नै कानून बनाइएको छ । तर सो कानून अहिलेसम्म पनि राम्रोसँग पालना भएको पाईदैनन् । कुनै बेला मानिसहरुलाई सार्वजनिक स्थलमा धुम्रपान गरेको देख्दा केही महिना कडाई गरेको जस्तो देखिएता पनि अहिले यसको कडा रुपमा कतै पनि पालन भएको पाईदैँन ।

सुर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन २०६८ का प्रावधानहरु-

१। सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न पाइदैन् । यदि गरेको पाइएमा १०० रुपैयाँ जरिवाना वा हाताबाट निष्कासन वा दुबै सजाय हुनसक्छ ।

२। कुनै पनि सञ्चारमाध्यमबाट सुर्तिजन्य पदार्थको विज्ञापन, कार्यक्रम समाचार सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाइदैन । यति गरेमा १ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुनसक्छ ।

३। १८ वर्षभन्दा कम उमेरका बालबालिका तथा गर्भवतीलाई सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न गराउन वा निशुल्क उपलब्ध गराउन पाइदैन । यदि गरेमा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।

४। सुर्तिजन्य पदार्थ प्रति आकर्षण हुने गरी सजावट वा प्रदर्शन गर्न पाइदैन् । यदि गरेमा १०  हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।

५। फुटकर रुपमा चुरोट, बिडी वा सिगारको खिल्ली बिक्री, वितरण गर्न पाइदैन् । यदि गरेमा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।

६। नि:शुल्क रुपमा सुर्तिजन्य पदार्थ वितरण गर्न वा उपहार दिन पाइदैन । यदि यस्तो गरेको भेटिएमा १० हजार रुपैयाँ जरिवाना हुनसक्छ ।

७। कुनै पनि कार्यालय र सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तिसेवन निषेधको सूचना टाँस्नु पर्दछ । यदि यस्ताे नगरेमा त्यस्तो कार्यालयले ५ हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुनसक्छ ।

८। सुर्तिजन्य पदार्थ बिक्री, वितरण गर्न इजाजत पत्र अनिवार्य लिनु पर्छ यदि नलिएको खण्डमा १० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्छ ।

Share News