नेपालकाे उच्च शिक्षालाई सुधार गर्न विश्व बैंकले ६० मिलियन डलर अनुदान दिने

काठमाडाैं । नेपालकाे उच्च शिक्षालाई सुधार गर्न विश्व बैंकले ६० मिलियन डलर अनुदान दिने भएकाे छ । बैंकका कार्यकारी अध्यक्ष बाेर्डले आज नेपालको उच्च शिक्षाको गुणस्तर सुधार गर्न, अनलाइन शिक्षाको स्तर बढाउन, र विपन्न र कमजोर विद्यार्थीहरूका लागि शैक्षिक संस्थाहरूमा पहुँच विस्तार गर्न नेपाललाई ६० मिलियन डलर दिने निर्णय गरेकाे हाे ।  विश्व बैंकका लागि माल्दिभस्का अध्यक्ष फारिस हार्डेड जेरभाेसले काेभिड १९ महामारीले मानव जिवन सक्षम राख्न आवश्यक भएकाे देखाएकाे र शिक्षामा राम्राे पहुँच हुँदा त्यसले मानिसहरुलाई सिप सिकाई सक्षम बनाई नेपापलाई महामारीसँग सजिलै जित्ने सक्ने बनाउने बताउँछन् ।  

उदयपुरमा घट्दै कोरोना सङ्क्रमण

उदयपुर । वैशाखको तेस्रो हप्तादेखि तीव्र रुपमा वृद्धि हुँदै गएको कोरोना सङ्क्रमण जेठको अन्तिम हप्तामा आएर उदयपुर जिल्लामा सुधार हुँदै गएको छ । स्वास्थ्य कार्यलय उदयपुरका अनुसार जेठको अन्तिम हप्तादेखि जिल्लामा कोरोना सङ्क्रमणमा निकै कमी आएको छ । बढी सङ्क्रमित भएको त्रियुगा नगरपालिकामा जेठको अन्तिम हप्तामा आएर ५ सय ३५ बाट सङ्क्रमितहरु घटेर २ सय ९० मा झरेको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ । कटारी नगरपालिकामा १ सय १७ जना पुगेकोमा सङ्क्रमित घटेर ४५ जनामा झरेकोे छ । रौतामाई गाउँपालिकामा ७६ जना रहेकोमा घटेर २९ जना र लिम्चुङबुङ गाउँपालिमा ६४ जनाबाट सङ्क्रमित घटेर हाल २४ जनामा झरेको छ । त्यस्तै अन्य स्थानीय निकायमा पनि कमी आएको छ । जिल्लाको आठै पालिकामा कोरोना सङ्क्रमणका दर घटेर निको हुनेहरुको सङख्यामा पनि वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख प्रसाद मोहन सुवेदीले बताउनुभएको छ । जिल्लामा हालसम्ममा ४७ जनाको कोरोनाबाट मृत्यु भएको छ । यसैबीच कोरोना सङ्क्रमणको अवस्थालाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यलय उदयपुरले जिल्लामा निषेधाज्ञाको समय जेठ २८ बाट बढाएर असार ७ सम्म थपेको छ । थप गरिएको निषेधाज्ञामा बिहानको ७ बजेदेखि दिनको १२ बजे सम्म पसलहरु खोल्न दिइने छ ।

सन् २०२० मा भन्दा यसवर्ष विश्वमा कोभिडबाट धेरैको मृत्यु

न्युयोर्क । सन् २०२० को अर्थात् गत वर्षको तुलनामा यसवर्ष विश्वमा कोभिडबाट धेरैको मृत्यु भएको पाइएको छ । सन् २०१९ को अन्त्यमा चीनको हुबे प्रान्तको वुहान शहरबाट कोभिड १९ को भाइरस देखा परेको थियो । त्यसपछि सन् २०२० मा यो भाइरस विश्वभर पुगेको थियो । तर गत वर्षको भन्दा पनि यस वर्ष यो भाइरसबाट विश्वमा धेरै नागरिकको ज्यान गएको पाइएको एक समाचारमा जनाइएको छ । अमेरिकाको वाल स्ट्रिट जर्नलले यो समाचार दिएको हो । अघिल्लो वर्षको भन्दा यस वर्षको छ महिनायता नै विश्वमा कोभिडबाट धेरै मानिसको ज्यान गएको छ । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको रिपोर्टअनुसार यस वर्षको छ महिनामा मात्र १८ लाखभन्दा बढी मानिसको विश्वमा कोभिडको संक्रमणबाट नै मृत्यु भएको छ ।सो विश्वविद्यालयले विश्वका कैयौं देशमा अहिले खोपको आविष्कार भएर खोप लगाउने थालिएको भए पनि यस वर्ष लागेपछि मानिसहरुको ज्यान जाने क्रम भने रोकिएको छैन भनेको छ । कोभिडबाट भएको यो मृत्युको संख्या हेर्दा अहिले पनि संसारका कैयौँ स्थानमा कोभिडको महामारीले मानिसको ज्यान लिने क्रम भने नरोकिएको देखिएको सो विश्वविद्यालयले जनाएको छ । रासस/सिन्ह्वा