मंगलबार ६ हजार ५७० जनाले जिते काेराेना

काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ५७० जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ६ हजार ५७० जनाले दोश्रो लहरको कारोना जितेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा कृष्ण पौडेलका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ६५ जनाको पिसिआर र ५ हजार ६११ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ८७० जना र एन्टीजेटमाफर्त १ हजार २८३ जना संक्रमित पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १०८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ । यससँगै हालसम्म मृतकको संख्या ८ हजार ९८ पुगेको छ ।

अक्सिजनका खाली सिलिण्डर फिर्ता गर्न स्वास्थ्य मन्त्रालयकाे अनुरोध

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजनका खाली सिलिण्डर उपलब्ध गराउन अनुरोध गरेको छ । मन्त्रालयले अक्सिजन सिलिण्डरको अभावले अस्पतालमा कोभिड–१९ सङ्क्रमितको उपचारमा समस्या भएकोले जतिसक्दो चाँडो सिलिण्डर सम्बन्धित उद्योगलाई उपलब्ध गराइदिनुहुन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै व्यक्ति, संस्था वा निकायलाई अक्सिजनको सिलिण्डर सम्बन्धित उद्योगलाई उपलब्ध गराउनु अनुरोध गरेका हुन् । उनले खाली सिलिण्डर समयमै भर्नका लागि उद्योगमा नपुग्दा अक्सिजनको आपूर्तिमा असर पर्ने भएकोले ति सिलिण्डर उपलब्ध गराउनु अनुरोध गरेका हुन् । ‘उपचारका लागि अत्यावश्यक हुने अक्सिजन सिलिण्डर विभिन्न कारणले देशमा विभिन्न भागमा व्यक्तिका घर, टोल र आइसोलेसन तथा अस्पतालमा पुगेका छन’, उनले सूचनामा भनेका छन्, ‘ती सिलिण्डर समयमै र्नका लागि सम्बन्धित उद्योगमा नपुग्दा अक्सिजनको आपूर्ति प्रणालीमा असर गर्ने हुन्छ र अस्पतालमा जटिल उपचारमा रहनु भएका व्यक्तिलाई अप्ठयारो हुन्छ । त्यसैले जुनसुकै व्यक्ति संस्था वा निकायले जुनसुकै वहानामा लैजानु भएका अक्सिजन सिलिण्डर यथासक्य चाँडो जुन उद्योगको हो सोही उद्योगमा भर्नका लागि उपलब्ध गराइदिनुहुन अनुरोध छ ।’ उनले अस्पतललाई पनि अधिकतम मात्रामा अक्सिजन सिलिण्डर भनेर राख्नु हुन, अक्सिजन प्लान्ट वा टङ्याक मर्मत, जडान जतिसक्दो चाँडो गरी पूर्णक्षमतामा अक्सिजन सञ्चालनसमेत गर्न अनुरोध गरेका छन् । सहप्रवक्ता डा अधिकारीले सङ्ख्यात्मकरुपमा सङ्क्रमण केही कम भएको जस्तो लक्षण देखिएपनि महामारीको उच्च जोखिम कायमै रहेको उल्लेख गरेका छन् । अहिलेसम्म नेपालमा पाँच लाख ९१ हजार ४९४ सङ्क्रमण, चार लाख ९७ हजार ९६० निको र सात हजार ९९० सङ्क्रमणबाट निधन भइसकेका छन् ।

सबै नागरिकले छिट्टै खोप पाउँछन, स्वास्थ्यमन्त्री तामाङ

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले सरकारले सबै नागरिकलाई कोभिड– १९ विरुद्धको खोपको व्यवस्थापनका लागि प्रयत्नरत रहेको बताए । मंगलबार बागमती प्रदेश स्काउट अन्र्तगत गोकर्णेश्वर नगरपालिकाको स्थानिय स्काउट कार्यक्रमको उद्घाटनपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री तामाङले सबै नागरिकलाई कोभिड – १९ विरुद्धको खोप लगाउनको लागि सरकारले प्रयास गरिरहेको बताएका हुन् । उनले खोप ल्याउने क्रम जारी रहेको भन्दै उमेर समुह अनुसार क्रमशः खोप दिदैँ जाने भन्दै दोस्रो मात्रा लगाउन बाँकी रहेकाहरुलाई छिट्टै खोप ल्याएर दिइने जानकारी दिए । ‘हामी खोप छिट्टै ल्याउँदैछौ । खोपहरु आउनेछ । हामी धेरै पहलकदमी गरिरहेको छौँ । क्रमैसँग सबैलाई खोप लगाइनेछ । खोप सुनिश्चित गर्नेछौँ । नेपाली जनताको रक्षाको लागि मैले गर्नुपर्ने हरतरहको प्रयत्न गर्नेछु’, उनले भने, ‘खोप जति आउँछ त्यसलाई क्रमैसँग उमेर समुहलाई ध्यानमा राखेर गरिरहेका छौँ । बाँकी रहेका हरुका लागि पनि छिट्टै खोप ल्याएर दोस्रो डोज लगाउने कुरामा पनि हामी प्रतिबद्ध छौँ । आम नागरिकलाई खोप लगाउनको लागि आवश्यक पर्ने खोपको व्यवस्थापनका लागि हामी प्रयत्न गरिरहेका छौँ ।’ बागमती प्रदेश स्काउटले बागमती प्रदेशभित्रका जिल्लाहरुमा स्थानीय स्काउट कार्यक्रम अन्र्तगत कोरोनाविरुद्ध जनचेतना अभिवृद्धि कार्यक्रम आजदेखि सुरुवात गरेको छ । कोभिड– १९ संक्रमणबाट बच्नका लागि जनस्वास्थ्यको मापदण्ड अपनाउने सन्दर्भमा स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सूचना तथा जानकारीहरु बजाउँदै टोल–टोलमा मोटरसाइकल मार्फत् सूचना दिने अभियानका संयोजक सुदर्शन बजगाँईले जानकारी दिए । आगमी १५ दिनसम्म उक्त कार्यक्रम सञ्चालन गर्ने र प्रभावकारिता हेरेर थप गर्ने स्काउटले जनाएको छ ।