दुई मन्त्रालयबीच समन्वय नहुँदा भएन बढी शुल्क लिने अस्पतालको अनुगमन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत जेठ २४ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै कोभिड–१९ संक्रमितको उपचार गर्ने अस्पतालको अनुगमन गर्न सहयोग माग गरेको थियो । मन्त्रालयसँग भएका सम्पूर्ण जनशक्ति कोभिड संक्रमितको उपचारमा उपयोग भएको भन्दै उद्योग मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई अस्पतालको अनुगमन गर्न सहयोग माग गरेको थियो । पछिल्लो समय निःशुल्क उपचार हुने भनिएका अस्पताल र केही निजी अस्पतालले कोभिड संक्रमितको उपचारमा बढी रकम लिने गरेको गुनासोपछि मन्त्रालयले उक्त अस्पतालको अनुगमन गरी कारवाही गर्न सहयोग माग गरेको थियो । स्वास्थ्य मन्त्रालयले सहयोेग माग गरे पनि उद्योग मन्त्रालयले बजार अनुमगनको नियामक निकायको रुपमा रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई जानकारी नै नदिएको पाईएको छ । अन्तरमन्त्रालय समन्वय नहुँदा कोभिड संक्रमित बिरामीहरुले ठूलो रकम अस्पताललाई बुझाउँदै आएका छन् भने निःशुल्क उपचार हुने अस्पतालले समेत मनोमानी रुपमा चर्काे शुल्क लिने गरेका छन् । स्वास्थ्य मन्त्रालयले कोभिड संक्रमितका लागि प्रतिदिन न्यूनतम ३ हजार ५ सय रुपैयाँदेखि अधिकतम १५ हजार रुपैयाँसम्म शुल्क तोकेपछि केही निजी अस्पतालले चर्काे शुल्क लिने गरेका छन् । चर्काे शुल्क लिएको गुनासोका आधारमा स्वास्थ्य मन्त्रालयले सहयोेग मागे पनि वाािण्ज्य विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंले अस्पतालको अनुगमन नगर्दा उपभोक्ताहरु ठगिने गरेका छन् । सरकारी शुल्क साढे ३ हजारदेखि १५ हजारसम्म मन्त्रालयले कोभिडको उपचार गर्ने सरकारी तथा निजी अस्पताललाई उपचार खर्च तोकेको छ । मन्त्रालयले सामान्यका लागि ३ हजार ५ सय, मध्यमका लागि ७ हजार र गम्भीरका लागि १५ हजार प्रति बिरामी प्रतिदिनको उपचार खर्च तोकेको छ । जसमा कुनै बिरामीले आफ्नै खर्चमा उपचार गर्न चाहेमा अस्पतालले माथि तोकिएको दररेटमा अधिकतम ५० प्रतिशत थप गरी शुल्क लिनसक्ने गरी शुल्क तोकेको छ । मन्त्रालय अन्तरगतको स्वास्थ्य आपतकालीन कार्यसञ्चाल केन्द्रका प्रमुख डा.समिरकुमार अधिकारी तोकिएभन्दा बढी शुल्क लिने अस्पतालको अनुगमन गरी कारवाही गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र जिल्ला प्रशासन कार्यालयसँग सहयोग मागिएको बताउँछन् । ‘हाम्रो सम्पूर्ण जनशक्ति कोभिड केन्द्रीत भएको छ, बजार अनुगमनको जिम्मा पाएका निकायलाई कोभिड केन्द्रीत अनुगमन गर्न हामीले सहयोग माग गरेका हौँ’, उनले भने । जानकारी आएको छैनः वाणिज्य विभाग स्वास्थ्य मन्त्रालयले २४ गते नै उद्योग मन्त्रालयमा पत्र पठाएपनि वाणिज्य विभागले भने मन्त्रालयबाट जानकारी नआएको जनाएको छ । विभागका प्रवक्ता शिवराज सेढाई उद्योग मन्त्रालयबाट अस्पतालको अनुगमनको विषयमा कुनै जानकारी नआएको बताउँछन् । ‘हाम्रो काम बजार अनुगमन गर्ने हो, हामीले नियमित रुपमा आप्नो कामहरु गरिरहेका छौँ, तर स्वास्थ्य मन्त्रालयले भनेजस्तो कोभिड उपचार गर्ने अस्पतालको अनुगमनको विषयमा विभागमा कुनै जानकारी आएको छैन, मन्त्रालयबाट जानकारी नआए पनि हामीले ठूला अस्पतालको अनुगमन गरिरहेका छौँ’, उनले भने । बढी शुल्क लिने अस्पतालाई कारवाही गर्नु पहरोमा कुइनो ठेकेसरहः वाणिज्य विभाग वाणिज्य विभागका बजार अनुगमनका कर्मचारीहरु भने निजी क्षेत्रको लगानीमा सञ्चालित अस्पतालको अनुगमन गर्न नसक्ने जनाएका छन् । विभागका एक कर्मचारीले नाम नबताउने शर्तमा भने, ‘यसअघि हामीले नाम चलेका केही अस्पतालले बढी शुल्क लिएको विषयमा अनुगमन गरेका थियौँ, अनुगमनका क्रममा हामीलाई धक्की आयो’, उनले भने, ‘हामीसँग न सुरक्षाका लागि पुलिस छ, न हामीले कारवाही गरेका अस्पतालले नियम अनुसारको शुल्क लिन्छन्, तिनीहरुलाई जिस्काएर अनुगमन गरी कारवाही गर्नु, पहरामा कुइनो ठोकाए सरह हो, दुःख हामी कर्मचारीलाई नै हो, पावर र पहुँचका भरमा चल्र्नेहरुसँग सिगौँरी खेल्न सकिदैन ।’
काेराना परीक्षण घट्दै: लक्षण भएकालाई परीक्षण गर्न जान सरकारकाे आग्रह
काठमाडौं । कोरोना परीक्षण दैनिक रुपमा घटेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड लक्षण भएकाहरुलाई नजिकैको स्वास्थ्य संस्थामा गएर परीक्षण गर्न अनुरोध गरेको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका मानिसहरुलाई मन्त्रालयका प्रवक्त डा कृष्ण पौडेलले छिटोभन्दा छिटो परीक्षणको लागि अस्पताल जान आग्रह गरेका छन् । ‘हाल परीक्षण गर्न मानिसहरु हिच्किचाइ रहेको डाटाले देखाएको छ । कोरोना पत्ता लगाई निको पार्नु परीक्षण सबैभन्दा राम्रो विधि हो । त्यसैले सबैलाई लक्षण देखिएको अवस्थामा परीक्षण गराइहाल्नु हुन अनुरोध गर्दछौं, ‘उनले भने । ‘सरकारले सबै सरकारी अस्पतालमा पिसिआर परीक्षण निशुल्क गरेको छ र एन्टिजेन्ट पनि गाउँगाउँमा पुराइएको छ । घरमा यो हो कि त्यो हो भनेर बस्दा संक्रमण सर्ने र जोखिम बढ्ने हुनला परीक्षण गरी ढुक्क हुन सबैलाई अनुरोध गर्न चाहान्छु,’ उनले थपे । यसअघि जेठ २१ गते १४ हजार १८३ पिसिआर परीक्षण र ६ हजार ६३१ को एन्टिजेन्ट मार्फत परीक्षण भएको थियो जुन क्रमश रुपमा जेठ ३० गते आइपुग्दा मात्र ७ हजार ५१७ को पिसिआर र ४ हजार ८८९ को एन्टिजेन मार्फत परीक्षण भएको छ । पछिल्लो एक हप्ताको डाटा हेर्दा जेठ २४ गते कुल १७ हजार ९०३ र जेठ २५ गते १७ हजार ६७६ जनाको पिसिआर र एन्टिजेन्ट मार्फत परीक्षण भएको थियो । यस्तै जेठ २६ गते कुल १६ हजार ६१५, जेठ २७ गते १५ हजार २३८, जेठ २८ गते १५ हजार १८३ र जेठ २९ गते १४ हजार ४९४ जनाको पिसिआर र एन्टिजेन्ट विधि मार्फत परीक्षण भएको थियो । यसअघि नेपालमा दैनिक २० हजारभन्दा बढी परीक्षणहरु हुने गर्थियो । पौडेलको अनुसार सरकारको क्षमताभन्दा ५० प्रतिशत कम परीक्षण भइरहेको छ । गएको ९ दिनमा हरेक दिन परीक्षण घट्दै गएर आइतबार मात्र १२ हजार ४०६ जनाको परीक्षण भएको छ जसमा २ हजार ४०७ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. पौडेलले विभिन्न कारण परीक्षणहरु घट्दै गएको र यसमा व्यक्तिहरु परीक्षणको लागि अस्पताल नजानु पनि एउटा कारण भएको बताए । प्रवक्ता पौडेलको अनुसार गाउँगाउँको स्वास्थ्य संस्थामा गरिएको परीक्षणको समयमा नतिजा नआइपुग्दा पनि परीक्षण घटेको देखिएको हो ।
आइतबार ३ हजार ९९४ जनाले जिते कोरोना
काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ९९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ३ हजार ९९४ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार देशभरका प्रयोगशालामा ७ हजार ५१७ जनाको पिसिआर र ४ हजार ८८९ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ६९४ जना र एन्टीजेटमाफर्त ७१३ जना संक्रमित पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ । यससँगै हालसम्म मृतकको संख्या ८ हजार ४१२ पुगेको छ ।