आईतबार थप २ हजार ५५२ जना कोरोना संक्रमणमुक्त

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालभर थप २ हजार ५५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म ६ लाख ९ हजार २१८ जना संक्रमित निको भइसकेका छन्। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार १३२ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ६०३ जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयको तथ्यांक अनुसार ४ हजार ८७६ जना पिअिसार परीक्षण गर्दा १ हजार ४२ र ३ हजार २५६ जनाको एन्टीजेन परीक्षण गर्दा ५६१ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा २७ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार २२५ जना संक्रमितको मृत्यु भइसकेको छ। यस्तै, आईतबार  काठमाडौं उपत्यकामा ४६१ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ३४२, भक्तपुरमा ३१ र ललितपुरमा ८८ जना संक्रमित थपिएका हुन् ।  

चार वर्षसम्म मूल्य सार्वजनिक नगर्ने शर्तमा चीनबाट ३० लाख डोज खोप आउँदै

काठमाडौं । सरकारले चीनसँग खरिद गर्न लागेको कोरोनाविरुद्धको खोप लिन नेपाल वायुसेवा निगमको जहाज चीन जाने भएको छ । नेपाल सरकारले खरिद गरेको तीन लाख डोज खोप निगमले तीन वटा उडान मार्फत ल्याउने भएको छ । पहिलो चरण अन्तरगत निगमकाे जहाजले असार २४ गते १० लाख डोज खोप ल्याउने तयारी गरेको छ । सरकारले चीनको सिनोफार्म कम्पनीसँग खोप खरिद गरेको हो । निगमका अनुसार पहिलो उडान यही जुलाइ ८ (असार २४ गते) मा हुनेछ भने दोस्रो र तेस्रो उडान क्रमशः जुलाई १५ र २२ मा हुने तय भएको छ । खोप खरिदमा गोप्य सम्झौता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको भेरोसेल खोप खरिद गर्न चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग गोप्य सम्झौता गरेको छ । तीस लाख डोप खोप ल्याउने तयारी भएता पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कतिमा खोप खरिद सार्वजनिक गरेको छैन । चिनियाँ कम्पनीले खोपको मूल्य, खरिद गरिएको खोपको संख्या लगायत खोप खरिदसँग सम्बन्धित विषय ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्न नेपाल सरकारलाई प्रस्ताव गरेको थियो । उक्त प्रस्तावको आधारमा तत्काल अन्य देशबाट खोप ल्याउनसक्ने सम्भावना नभएपछि मन्त्रालय र स्वास्थ्य सेवा विभागले उक्त प्रस्तावलाई स्वीकृत गर्दै खोप खरिद गरिएको मन्त्रालय स्रोतले भन्यो । स्रोतका अनुसार चार वर्षसम्म सम्झौता सार्वजनिक नगर्ने सर्तमा खोप खरिद गरिएको हो । सरकारले यसअघि भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्डका २० लाख डोज खोप खरिद गर्न अग्रिम रकम भुक्तानी गरेको थियो । उक्त सम्झौता अनुसार १० लाख डोज खोेप खरिद गरेर नेपाल ल्याईएपनि भारतले बाँकी १० लाख डोज खोप दिएको छैन । हालसम्म भारतबाट खरिद तथा अनुदानमा ल्याईएको र चीन सरकारले अनुदानमा दिएकोे गरि ४२ लाख ४८ हजार बराबर डोप खोप नेपाल आइसकेको छ । जसमध्ये दुई देशबाट अनुदानमा प्राप्त २९ लाख, कोभ्याक्स सुविधाबाट ३ लाख ४८ हजार र भारतबाट खरिद गरेर ल्याईएको १० लाखसहित ४२ लाख ४८ हजार मात्रा खोप आइसकेको हो । उक्त खोेप मध्येमा बिहीबारसम्म २५ लाख ७४ हजार ७१५ जनाले पहिलो मात्रा लगाएका छन् भने ७ लाख ५७ हजार ३८०५ जनाले दोस्रो मात्रा पनि लगाइसकेका छन । चीनले दोस्रोपटक उपलब्ध गराएको खोपको पहिलो मात्रा लगाएकालाई असार २२ देखि दोस्रो मात्रा लगाइने कार्यक्रम सार्वजनिक भइसकेको छ ।

महाकाली अस्पतालमा कोरोनाको उपचारमा खटिनेमा महिला स्वास्थ्यकर्मी अग्रस्थानमा

कञ्चनपुर । महाकाली अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा दिनरात खटिनेमा महिला स्वास्थ्यकर्मी अग्रस्थानमा रहेका छन् । बिरामीको उपचारमा सघाउ पु¥याउने कामसँगै नास्ता, खानाको व्यवस्थामा समेत महिला स्वास्थ्यकर्मीले सहयोग गरेका छन् । महिला स्वास्थ्यकर्मीले पिपिइ सेट लगाई १२ १२ घण्टा बिरामीको सेवामा खटिनुपरेको छ । अस्पतालका नर्सिङ अधिकृत रमिला विष्ट महामारीको अप्ठ्यारोमा आफूहरुले कसरी काम गरेको भनेर कसैले नहेर्ने तर गुनासो र गाली मात्रै गर्ने गरेको तीतो यथार्थ सुनाउछिन् । ‘पिपिइ लगाएर काम गर्न कति ग्राहो हुन्छ । त्यो पनि १२/१२ घण्टासम्म’, उनले भनिन्, ‘बिरामीको चाप अस्पतालमा बढेका बेला दिनरात नभनी सेवा गरेका छौँ । हप्ता–हप्ता दिनसम्म घरपरिवारसँग भेट नगरी बिरामीकै सेवामा समर्पित भएर कार्य गरेका छौँ ।’ अस्पतालाले कोरोनाबारे शनिबार आयोजना गरेको कार्यक्रममा बोल्ने क्रममै नर्सको व्यवहार नराम्रो भएको गुनासो सुनेपछि एकाएक बीचमै रोकिँदै आँखाबाट झर्न थालेको आँशु पुछ्दै उनले भनिन्, ‘त्यसमा एक÷दुई जनाले कहिलेकाहीँ नराम्रो बोल्छन् । त्यसलाई ठूलो बनाएर हेर्न त भएन ।’ नर्सिङ अधिकृत विष्टको आँखामा आँशु आएपछि कार्यक्रममा सहभागी सबै भावुक देखिए । विष्टले आफूलाई सम्हाल्दै कोरोना बिरामीको उपचार गर्दा नर्सहरुको पीडा सुनाउनुभयो । बिरामीको उपचार गर्दागर्दै नर्स बेहोस भएर ढलेकोसमेत उनले बताइन् । ‘नर्सिङ स्टाफ १२/१२ घण्टासम्म खटिए, ड्युटीमा बेहोससम्म भए । गाली र गुनासो त कुरै छैन’, उनले भनिन्, ‘त्यसबेला कसैले पनि तपाईँहरुले कसरी काम गरिरहनुभएको छ भनेर सोधेन । हामी पनि त मान्छे नै हो, बुझिदिनुहोला ।’ नर्सिङ अधिकृत विष्टले उपचारका क्रममा प्रत्येक भेन्टिलेटरमा दुई नर्स खटिएको र बिरामीको नास्ता–खाना पु¥याउनसमेत आफूहरु व्यस्त हुनुपरेको बताइन् । गलत नियतवश बिरामीको उपचारमा लापरवाही नहुने र कहिलेकाहीँ मानवीय कमजोरीका आधारमा हुने त्रुटिलाई देखाएर मनोबल खस्काउन नहुने नर्सिङ अधिकृत विष्टको भनाइ थियो । ‘गुनासो र गाली हामीलाई मात्रै गर्छन् । त्यो हामीले मात्रै पाउनुपर्ने होइन होला’, उनले भनिन्। कार्यक्रममा अस्पतालका चिकित्सक अर्जुन भट्टले नर्सको व्यवहार राम्रो नभएको भनेर गरिएको गुनासोले आफू मर्माहत भएको बताए । ‘महामारीमा ज्यानको पर्वाह नगरी खटिएका नर्सलाई आक्षेप लगाउने कार्य राम्रो होइन’, उनले भनिन्, ‘यस्ता कुराले ‘हर्ट’ गर्छ ।’ कोरोना महामारी बिरामीको उपचारमा अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी गरी ८९ जना खटिएका थिए । उनहरुमध्ये सबैभन्दा बढी ५२ नर्स बिरामीको उपचारका खटिएका छन् ।