काठमाडौं । सरकारले चीनसँग खरिद गर्न लागेको कोरोनाविरुद्धको खोप लिन नेपाल वायुसेवा निगमको जहाज चीन जाने भएको छ । नेपाल सरकारले खरिद गरेको तीन लाख डोज खोप निगमले तीन वटा उडान मार्फत ल्याउने भएको छ ।
पहिलो चरण अन्तरगत निगमकाे जहाजले असार २४ गते १० लाख डोज खोप ल्याउने तयारी गरेको छ । सरकारले चीनको सिनोफार्म कम्पनीसँग खोप खरिद गरेको हो ।
निगमका अनुसार पहिलो उडान यही जुलाइ ८ (असार २४ गते) मा हुनेछ भने दोस्रो र तेस्रो उडान क्रमशः जुलाई १५ र २२ मा हुने तय भएको छ ।
खोप खरिदमा गोप्य सम्झौता
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको भेरोसेल खोप खरिद गर्न चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग गोप्य सम्झौता गरेको छ । तीस लाख डोप खोप ल्याउने तयारी भएता पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कतिमा खोप खरिद सार्वजनिक गरेको छैन ।
चिनियाँ कम्पनीले खोपको मूल्य, खरिद गरिएको खोपको संख्या लगायत खोप खरिदसँग सम्बन्धित विषय ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्न नेपाल सरकारलाई प्रस्ताव गरेको थियो । उक्त प्रस्तावको आधारमा तत्काल अन्य देशबाट खोप ल्याउनसक्ने सम्भावना नभएपछि मन्त्रालय र स्वास्थ्य सेवा विभागले उक्त प्रस्तावलाई स्वीकृत गर्दै खोप खरिद गरिएको मन्त्रालय स्रोतले भन्यो ।
स्रोतका अनुसार चार वर्षसम्म सम्झौता सार्वजनिक नगर्ने सर्तमा खोप खरिद गरिएको हो ।
सरकारले यसअघि भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्डका २० लाख डोज खोप खरिद गर्न अग्रिम रकम भुक्तानी गरेको थियो । उक्त सम्झौता अनुसार १० लाख डोज खोेप खरिद गरेर नेपाल ल्याईएपनि भारतले बाँकी १० लाख डोज खोप दिएको छैन ।
हालसम्म भारतबाट खरिद तथा अनुदानमा ल्याईएको र चीन सरकारले अनुदानमा दिएकोे गरि ४२ लाख ४८ हजार बराबर डोप खोप नेपाल आइसकेको छ । जसमध्ये दुई देशबाट अनुदानमा प्राप्त २९ लाख, कोभ्याक्स सुविधाबाट ३ लाख ४८ हजार र भारतबाट खरिद गरेर ल्याईएको १० लाखसहित ४२ लाख ४८ हजार मात्रा खोप आइसकेको हो ।
उक्त खोेप मध्येमा बिहीबारसम्म २५ लाख ७४ हजार ७१५ जनाले पहिलो मात्रा लगाएका छन् भने ७ लाख ५७ हजार ३८०५ जनाले दोस्रो मात्रा पनि लगाइसकेका छन ।
चीनले दोस्रोपटक उपलब्ध गराएको खोपको पहिलो मात्रा लगाएकालाई असार २२ देखि दोस्रो मात्रा लगाइने कार्यक्रम सार्वजनिक भइसकेको छ ।