डा. नूतनकाे नेतृत्वमा नर्भिकमा नेपालकै पहिलाे जेनेटिक ल्याब भएको आइभिएफ सेन्टर संचालन हुँदै
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले असार २३ गतेदेखि अत्याधुनिक सुविधा तथा प्रविधिसहित नेपालमै पहिलो जेनेटिक ल्याबसहितको आइभिएफ एण्ड फर्टिलिटि सेन्टर संचालनमा ल्याउने भएको छ । विभिन्न कारणले सन्तान नभएकाहरुका लागि आधुनिक प्रविधि, उपकरणले सुसज्जित नर्भिक आइभिएफ एण्ड फर्टिलिटी सेन्टर संचालन ल्याउन लागेको हो । चर्चित वरिष्ठ स्त्री रोग तथा टेस्टट्यूब बेबी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्मा नेतृत्वको टिमले नर्भिक आइभिएफ एण्ड फर्टिलिटी सेन्टरबाट सेवा प्रवाह गर्नेछ । डा. शर्माकाअनुसार नर्भिक अस्पतालको आइभिएफ एण्ड फर्टिलिटि सेन्टर नेपालका अस्पतालहरुमध्येकै अत्याधुनिक एवम् सुविधायुक्त रहेको छ । विश्वमा पछिल्लो समय अभ्यासमा आएका अत्याधुनिक उपकरण तथा प्रविधिहरुको प्रयोग गरी स्तरीय सेवा दिने तयारी पूरा भएको र भोलि सेन्टरको उद्घाटन हुने डा. शर्माले जानकारी दिइन् । यो सेन्टरमा वंशाणुगत रोगको पहिचान गर्ने प्रि–जेनेटिक डाइग्नोसिस सेवासहितको ल्याब समेत रहेको छ । नेपालमा हालसम्म कुनै पनि आइभिएफ सेन्टरमा प्रि–जेनेटिक डाइग्नोसिस सेवा उपलब्ध छैन । प्रि–जेनेटिक डाइग्नोसिसमार्फत स्वस्थ भू्रणको अवस्था पहिचान गरी गर्भाधारण गराउने गरिन्छ । जसका कारण भविष्यमा जन्मिने बच्चाहरुमा हुनसक्ने विभिन्न खाले बंशाणुगत रोगको जोखिम निराकरण गर्न सहयोग पुग्नेछ । डा. शर्माले विगत १५ वर्षदेखि काठमाण्डौंका विभिन्न अस्पतालसँग आवद्ध रहेर स्त्री रोग तथा बाँझोपनको समस्या रहेका सयौं बिरामीलाई सेवा दिइसकेकी छन् । नर्भिकको यो सेन्टरमा आधुनिक सुविधासहित स्त्रीरोग, प्रसूति सेवाका साथै निसन्तान दम्पत्तिहरुका लागि उपचार सेवा उपलब्ध हुनेछ । परिवर्तित जीवनशैली, वातावरणीय अवस्था र बढ्दो तनाव लगायतका कारणले अधिकांश महिलामा बाँझोपन अर्थात निसन्तान सम्बन्धी समस्या विकराल बन्दै गएको छ। बढ्दो उमेर, ढिलो विवाह, धुम्रपान तथा मादक पदार्थको सेवन, यौन सम्बन्धी रोग, पाठेघरको संक्रमण, असुरक्षित गर्भपतन, महिनावारी रोक्ने औषधिको अधिक सेवन, लामो समयसम्म गर्भनिरोधक अस्थायी साधनको प्रयोग, अधिक मोटोेपन, सुगर तथा थाइराइडको समस्या लगायतका कारणले पनि महिलाहरुमा बाँझोपन हुने अध्ययनहरुले देखाएका छन् ।
भेरोसेलको दोस्रो मात्रा आजदेखि लगाइने, काठमाडौं महानगरले ताेक्याे १२ स्थान
काठमाडाैं । काठमाडौं महानगरपालिकाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउनका लागि १२ स्थान तय गरेको छ । गत जेठ २५ गतेदेखि कोरोनाविरुद्धको उक्त खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई कामपाले आजदेखि यही असार २४ गतेसम्म दोस्रो मात्रा लगाउनका लागि १२ स्थान तय गरेको हो । खोप केन्द्रहरुमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, शङ्करमपुर अस्पताल, हिमाल अस्पताल, ओम अस्पताल एवं रिसर्ज सेन्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय र जनमैत्री अस्पताल बालाजु रहेको कामपाले जानाएको छ । कामपाका शहरी स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकले आफूलाई पायक पर्ने अस्पतालमा पुगेर खोप लगाउन पर्नेछ । त्यसका लागि पहिलो मात्रा लगाएको खोप काड अनिवार्य लानुपर्ने छ । पहिलो मात्र लगाउने बेला कामपाले ३२ वटा खोप केन्द्रबाट कार्यक्रम सञ्चालन गरेको थियो । भीड कम गर्नका लागि भन्दै प्रत्येक दिन एक उमेर समूहलाई मात्र खोप लगाएको थियो । यसअघि स्वास्थ्य विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै जेठ २६ गते ६३ वर्षका लागि, जेठ २७ गते ६२ वर्षका लागि, जेठ २८ गते ६१ वर्षका लागि र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउन नजिकको केन्द्रमा जान आग्रह गरेको थियो । त्यसैगरी यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको वैशाख २५ गतेको निर्णयानुसार कामपासहित जेठ २ गतेदेखि काठमाडौं जिल्लामा कोभिड–१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाइएको थियो । जेठ ११ गतेसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप करिब एक लाख व्यक्तिले लगाएका थिए । त्यसैगरी आजदेखि लागाइने खोपका लागि काठमाडौँ जिल्लाका लागि अन्य स्थानीय तहले पनि १९ वटा खोप केन्द्र तय गरेका छन् ।
टिचिङ अस्पतालको उपनिर्देशकमा डा. सन्तकुमार दास नियुक्त
काठमाडाैं । टिचिङ अस्पतालको उपनिर्देशकमा डा. सन्तकुमार दास नियुक्त भएका छन् । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)की डीन प्राडा दिव्यासिंह शाहले उनलाई उक्त पदमा नियुक्त गरेकी हुन् । उनकाे कार्यकाल दुई वर्षकाे रहनेछ । दास अस्पतालकाे काेभिड व्यवस्थापन समितीका संयाेजक पनि हुन् । अस्पतालमा उपनिर्देशकको दुईजना रहने नियम रहेकाे छ । यसअघि एक पदमा प्राडा सुवास आर्चाय नियुक्त भइसकेका छन् ।