४४ लाख भेरोसेल खोप लिन जहाज आज चीन जाने

काठमाडाैं । सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप भोलि ल्याउने भएको छ । खोप ल्याउन आज राति ११ बजे नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले खरिद गरिएको खोप भोलि चीनबाट ल्याइने जानकारी दिए । सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप लिनका लागि आज राति ११ बजे वाइडबडी विमान चीनतर्फ जाने बताए । उनका अनुसार भोलि दिउँसो २ बजे खोप लिएर जहाज नेपाल आउने छ । नेपालमा अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी रहेको छ ।

शंखरपुर नगरपालिकाकाे विद्यालयमा मनोपरामर्श कक्ष बनाउँदै सम्भाव्य फाउण्डेसन

काठमाडाैं । सम्भाव्य फाउण्डेसनले शंखरपुर नगरपालिकाकाे वडा नं ६ काे विद्यालयमा मनाेपरामर्श कक्ष बनाएर संचालनकाे तयारी गरेकाे छ । मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको सम्भाव्य फाउण्डेशनले शंखरपुर नगरपालिकाकाे श्रि भगवती उच्च माध्यामिक विद्यालयमा मनाेपरामर्श कक्ष बनाएर संचालन गर्न लागेकाे हाे । फादर जो थालर एण्ड फ्रेण्डस्को सहयोगमा फाउण्डेसनले उक्त विद्यालयमा मनाेपरामर्श कक्ष बनाइरहेकाे छ । उक्त परामर्श कक्ष शुक्रबार उद्घाटन भई संचालनमा आउने फाउण्डेसनकाे सुपरभाइजर केशब श्रीष मगरले बताए । मैत्रीनगर किर्तिपुरस्थित सम्भाव्य फाउण्डेशनले नेपालभरिका विद्यालयमा ‘हरेक विद्यालयमा कम्तीमा एकजना मनोसामाजिक परामर्शदाता हुनैपर्छ’ भन्ने नारासहित सामुदायिक विद्यालयहरुमा निःशुल्क मनोपरामर्शदाता उपलब्ध गराउने अभियान चलाइरहेको छ । यस अभियान अन्तर्गत सम्भाव्यले नेपालमै पहिलाेपटक दुई सामुदायिक विद्यालयमा मनाेपरामर्श कक्ष स्थापना गरिसकेकाे छ । फाउण्डेसनले सिन्धुपाल्चोक तालामाराङस्थित तेर्से माध्यमिक विद्यालय र बाउनपाटीस्थित जालपादेवी माध्यमिक विद्यालयमा मनाेपरामर्श कक्ष स्थापना गरिसकेकाे छ ।

यी हुन् विद्यालय खोल्नुअघि पुरा गर्नुपर्ने सरकारको मापदण्ड

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार बसेको बैठकले भौतिक रुपमा विद्यालय खोल्नुअघि गर्नुपर्ने कार्यहरुको नियम बनाएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थितिमा सम्बन्धित सबै सरोकारवालासँग बसेको बैठकले यस्तो नियम बनाएको मन्त्रालयका प्रवक्त डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिए । बैठकमा कोभिड क्राइसिस म्यानेजमेन्टका प्रमुख तारानन्द शर्मा, शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, अभिभावक संघ, प्याबसन र एनप्याबसनको उपस्थिती रहेको पौडेलले बताए । ‘बैठकले विद्यालयलाई खोल्नुभन्दा अगाडी विद्यालयलाई नजिकैको स्वास्थ्य संस्था र स्थानिय निकायसँग समन्वय गरी त्यहाँ परीक्षण, उपचार र ट्रेसिङको सम्पुर्ण व्यवस्था मिलाई र विद्यालय रहेको पालिकाको कोभिड-१९ को जोखिम आकलन गर्ने जुन जिल्लास्थित सिसिएमसीले सिफारिस गर्छ, पाैडेलले भने, ‘त्यसको आधारमा शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले कोभिड-१९ बेला विद्यालय संचालन सम्बन्धी जारी गरेको कार्यढाँचा २०७७ को पुर्ण पालना गरी अभिभावक, शिक्षक र विद्यार्थीहरुलाई कोभिड १९ सम्बन्धी अभिमुखीकरण गरेर मात्र निकट भविष्यमा विद्यालय संचालन गर्ने हिसाबले तयारी गर्न अनुरोध गरेको छ ।’ विद्यालयहरु सुचारु राख्ने नराख्ने निर्णय त्यहाँको स्थानिय सरकारले जोखिम अनुसार गर्नेहुँदा विद्यालय खोल्ने निर्णय गर्नुअघि सबै पुर्वतयारी पुरा गरी विद्यालयमा रहने कर्मचारी विद्यार्थी र शिक्षकहरु सबैको स्वास्थ्य सुरक्षामा ध्यान दिई शिक्षा मन्त्रालयले विद्यालय संचालन सम्बन्धी जारी गरेको कार्यढाँचा २०७७ काे नियम पालन गर्नुपर्ने उनले बताए । देशमा संक्रमण घटे पनि जोखिम नघटिसकेको र देशभरका सबै पालिका र सबै विद्यालयमा एउटै अवस्था नरहेको भन्दै मन्त्रालयले सबै निकायलाई यस विषयमा संवेदनशिल रहन आग्रह गरेको छ । यसअघि उपत्यकाको ३ सिडिओको बैठकले असोज १ गतेबाट सबै विद्यालहरु पालिकाले अनुमति दिए भौतिक रुपमा खोल्न पाउने निर्णय गरेको थियो ।