मधेस प्रदेस कोरोना मुक्त, ८२ प्रतिशतले लगाए पूर्ण खोप

जनकपुर । मधेस प्रदेस कोरोना सङ्क्रमण मुक्त प्रदेश बनेको छ । मधेस प्रदेसका आठवटै जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्यमा झरेपछि प्रदेश सङ्क्रमणमुक्त बनेको हो । कोरोना महामारी सुरुआत भएयता प्रदेशमा हालसम्म ४१ हजार ४१७ सङ्क्रमित भएकोमा ४० हजार ३५५ निको भएर घर फर्किएको मधेस प्रदेस स्वास्थ्य निर्देशनालय धनुषाले जनाएको छ । सङ्क्रमणकै कारण प्रदेशमा एक हजार ६२ को मृत्यु भएको स्वास्थ्य निर्देशक विजयकुमार झाले जानकारी दिए । सङ्क्रमणकै कारण हालसम्म बारामा १८१, सप्तरीमा १६१ , सिरहामा १३५ , धनुषामा १३२ , पर्सामा १३२ , रौतहटमा १२९ , सर्लाहीमा ९३ र महोत्तरीमा ९१ जनाको मृत्यु भइसकेको निर्देशनालयले जनाएको छ । यस्तै प्रदेशमा करिब ८२ प्रतिशतले कोेभिड–१९ विरुद्धको पूर्ण डोज खोप लगाएका छन् । सार्वजनिक सेवाका लागि अनिवार्य खोप कार्ड अनिवार्य गरेको र खोपसम्बन्धी निरन्तरको प्रचारप्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण कोभिड–१९ विरुद्धको खोप लगाउने दर बढेको निर्देशक झाले बताए ।

कोभिडका नयाँ भेरियन्टलाई पनि कोरोनाको खोपले काम गर्छ : डब्लुएचओ

जेनेभा । विश्व स्वास्थ्य संगठनले कोभिडका अरु नयाँ नयाँ भेरियन्टहरुलाई पनि अहिलेको कोभिडका विरुद्धको खोपले नै काम गर्ने जनाएको छ । अहिले पछिल्ला समयमा अफ्रिका तथा अमेरिकामा पनि कोभिडका नयाँ नयाँ भेरियन्टहरु भेटिएका समाचारहरु आइरहेका बताइएको छ । ती नयाँ भेरियन्टहरुका विरुद्धमा पनि कोरोनाको खोप प्रभावकारी देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । उक्त संगठनले हालै गरेको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको समाचारमा जनाइएको छ । विश्वमा कोभिडका संक्रमितहरुका संख्या घट्दै गएको पाइएको छ । साथै गएको सन् २०२० को मार्चको तुलनामा अहिले विश्वमा कोभिडका कारणले हुने गरेको मृत्युमा पनि निकै नै कमी आएको देखिएको छ । यो मृत्युदरमा भएको कमी पनि कोभिडका विरुद्धको खोपकै कारण भएको उक्त संगठनको भनाई छ । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले कोभिडको ओमिक्रोन भेरियन्ट पत्ता लगाएका थिए । यस भेरियन्टको संक्रमण दर अरुको तुलनामा निकै नै बढी थियो । तर पनि सो भेरियन्टलाई पनि हाल प्रचलनमा रहेकै खोपले प्रभावकारी रुपमा काम गरिरहेको सो संगठनले जनाएको छ । (रासस/सिन्ह्वा)

भारतमा २४ घण्टामा तीन हजार २७५ जना कोरोनाका नयाँ सङ्क्रमित थपिए

नयाँ दिल्ली । भारत २४ घण्टाको समयावधी अर्थात बुधबार मध्यरातिसम्म तीन हजार २७५ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ९१ हजार ३९३ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान जानकारी दिएको छ । विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः केही दिनयता नयाँ सङ्क्रतिको सङ्ख्या तीन हजार नाघ्न थालेको छ । थप एक दिनमा भएका कोरोनाका नयाँ सङ्क्रमतिमध्ये ४१ प्रतिशत दिल्लीका रहेका समाचारमा जनाइएको छ । कुल सङ्क्रमितमा एक हजार ३५४ जना दिल्लीमा रहेका छन् । हाल राष्ट्रिय राजधानी दिल्लीमा पाँच हजार ८५३ सक्रिय सङ्क्रमित रहेका छन् । यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ५५ जनाको मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्य्ु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २३ हजार ९७५ पुगेको छ । भारतभरि अझै पनि सक्रिय सङ्क्रमित १९ हजार १३७ जना रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो तर केही हप्तायताबाट सक्रिय सङ्क्रमति बढेका छन् । २४ घण्टाको समयावधि अर्थात बुधबार मध्यरातिसम्म तीन हजार १० जना कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ४७ हजार ६९९ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएका छन्  । (रासस/सिन्ह्वा)