गाउँघरमै पुगेर स्वास्थ्य जाँच गर्दै राइनासका स्वास्थ्यकर्मीहरु

काठमाडौं । लमजुङको राइनास नगरपालिकाका स्वास्थ्यकर्मीहरुले घर–घरमै पुगेर स्वास्थ्य जाँच गर्ने गरेका छन् । नगरपालिकाभित्र रहेका ६ वटा स्वास्थ्य चौकी र ५ वटा स्वास्थ्य इकाईका स्वास्थ्यकर्मीहरुले प्रत्यक महिना गाउँ घरमै पुगेर नियमित रुपमा स्वास्थ्य जाँच गर्ने गरेका हुन । जसअनुसार राइनास नगरपालिका वडा नम्बर ९ मा रहेको मोहोरियाकोट स्वास्थ्य चौकिका स्वास्थ्यकर्मीहरुले सोमबार घर घरमा पुगेर स्वास्थ्य परीक्षण गरेका छन् । उक्त कार्यालयले प्रत्येक महिनाको २५ गते ज्येष्ठ नागरिक घरदैलो कार्यक्रम सञ्चालन गर्दै आएको छ । घरदैलो कार्यक्रममा प्रेसर जाँच गर्ने गरिएकोमा सोमबारदेखि सुगर जाँच समेत गरिएको मोहोरियाकोट स्वास्थ्य चौकिकी अहेब उषा आचार्यले जानकारी दिईन । उनका अनुसार सोमबारको घरदैलो कार्यक्रम अन्तरगत ९२ जनाको प्रेसर तथा ४५ जनाको सुँगरको जाँच गरिएको थियो । महिनामा एक पटक घरदौलो कार्यक्रम गरी स्वास्थ्य जाँच गर्दा ६० वर्षभन्दा माथिका बृद्ध बृद्धालाई उपयोगी भएको उनको भनाई छ । ‘गाउँ गाउँमा गएर बृद्धा बा आमाको स्वास्थ्य जाँच गर्न उहाँहरुको मुहारमा खुसी देखोका छौँ, हामी गाउँघर स्वास्थ्य जाँचलाई अभियान कै रुपमा सञ्चालन गर्दै आएका छौँ’, उनले भनिन ।

दलित परिवारको स्वास्थ्य बीमा गर्दै औरही गाउँपालिका

धनुषा। धनुषाको औरही गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सात वटै वडामा बसोबास गर्ने दलित परिवारको स्वास्थ्य बीमा गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष उमाशङ्करप्रसाद साहले गाउँपालिकामा रहेका दलित समुदायको स्वास्थ्यमा पहुँच स्थापित गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा स्वास्थ्य बीमा गर्न लागिएको जानकारी दिए । प्रारम्भिक तथ्याङ्कअनुसार सात वटा वडामा बस्ने करिब सात सय ३५ परिवारको स्वास्थ्य बीमा गरिने उनले बताए । ‘यहाँका अधिकांश दलित परिवारका सदस्य आर्थिक अभावका कारण स्वास्थ्य संस्थामा जान नसक्ने र उपचार गर्नै परेमा ऋण लिनुपर्ने अवस्थामा छन्’, अध्यक्ष साहले भने, ‘त्यही समस्यालाई मध्यनजर गरी चुनावमा गरेको स्वास्थ्य बीमा गर्ने प्रतिवद्धता अनुसार काम गर्न लागिएको हो ।’ बीमाका लागि प्रतिपरिवार तीन हजार पाँच सय गाउँपालिकाले बेहोर्ने निर्णय भइसकेको उनको भनाइ छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सविरकुमार महतोले अहिले दलित परिवारको तथ्याङ्क सङ्कलनलगायतका काम भइरहेकाले सो प्रक्रिया सकिएलगत्तै बीमाको काम अगाडि बढ्ने जानकारी दिए। ‘तीन हजार पाँच सय बीमा रकम तिरेपछि बीमितले एक लाख बराबरको औषधी उपचार गर्ने सरकारको नीति छ, तर स्थानीय नागरिकलाई यस विषयमा धेरै जानकारी छैन । जसका कारण आर्थिक अभावमा समस्या भोग्नुपर्ने अवस्था छ’, उनले भने, ‘दलित परिवारलाई सहयोग गरेर अरु परिवारलाई पनि बीमा गर्नुपर्छ भन्ने सन्देश फैलाउने उद्देश्य हो ।’ यसका अतिरिक्त गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी चालु बजेट तथा कार्यक्रमबाट वडा नं १ को स्वास्थ्य चौकीमा परीक्षण प्रयोगशाला, बर्थिङ सेन्टर र सङ्घीय बजेट तथा कार्यक्रमबाट वडा नं २ मा २१ करोडको लागतमा १५ शय्याको अस्पताल निर्माण गरिरहेको छ । रासस

भारतमा कोरोना फैलिएसँगै नेपालगञ्ज नाकामा सतर्कता

नेपालगञ्ज । नेपालगञ्ज नाकामा पछिल्ला दिनमा दैनिक जसो कोरोना संक्रमित फेला पर्न थालेपछि सतर्कता बढाइएको छ । भारतबाट आएका व्यक्तिलाई नेपालगञ्ज नाकामा परीक्षण गरी सङ्क्रमण पष्टि भए होम आइसोलेसनमा पठाउने गरिएको छ । सुरुमा कोरोना माहामारी फैलिदा नेपालगञ्जस्थित जमुनाह नाकामा ‘हेल्थ डेस्क’ राखिएको थियो । हाल हेल्थ डेस्कमा २२ जना कर्मचारी कार्यरत छन् । गत चैत ३ गतेदेखि आइतबारसम्म नाकामा परीक्षण गर्दा एक सय एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नाकामा एन्टिजेन परीक्षण गरी कोरोना पुष्टि भएकालाई नाकामै परामर्शका साथै औषधि समेत दिइन्छ । तर नाकामा आइसोलेसनमा राख्ने व्यवस्था नभएकाले होम आइसोलेसनमा पठाउने गरिएको छ । कोरोना महामारी सुरु भएपछि हालसम्म नाकामा एक लाख १५ हजार वटा नमूना परीक्षण भइसकेको छ । ‘सबैले परीक्षण गर्न मान्दैनन, नाका हुँदै नेपाल भित्रिने सबैलाई अनुगमन गर्ने अवस्था पनि छैन’, हेल्थ डेस्कका प्रमुख गिता गिरी शाहीले भने । उनका अनुसार भारतका पञ्जाव, दिल्ली, लखनउबाट आउने यात्रुमा बढी कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको भन्दै कोरोना सङ्क्रमण पुष्टि भएकाहरुमा कुन भेरियन्ट हो भन्ने पत्ता नलागेको बताए । कोरोना सङ्क्रमण पुष्टि भएकाहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा स्थानीय तहको रोहबरमा होम आइसोलेसनमा व्यवस्थापन गरिरहेको उनको भनाइ छ । रासस