स्वास्थ्य सेवा सुचारु गर्न चिकित्सकहरुलाई स्वास्थ्य मन्त्रालयले गर्यो अनुरोध
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा सुचार गर्न चिकित्सकहरुलाई अनुरोध गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेमाथि कारबाही गराउन सरकार पूर्ण प्रतिबद्ध भएको भन्दै स्वास्थ्य उपचार जस्तो संवेदनशील सेवालाई सुचारु राख्न चिकित्सकहरुलाई अनुरोध गरेको हाे । साथै, उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई हातपात तथा कुटपिट गरी घाइते बनाएको घट्नाप्रति ध्यानआकर्षण भएको भन्दै मन्त्रालयले खेद प्रकट गरेको छ ।
सरकार र चिकित्सकबीच सहमति : आक्रमण गर्नेलाई कारबाही गरिने
काठमाडौं । सरकार र आन्दोलनरत चिकित्सकबीच मंगलबार सहमति भएको छ । पोखराको मणिपाल शिक्षण अस्पताल लगायत विभिन्न स्थानका चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुनअनुसार कारबाही गर्ने सहमति भएको हो । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेमाथि ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६’ अनुसार कारबाही गर्ने सहमति भएको हो । मंगलबार गृह मन्त्रालयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्यमन्त्री मोहन बस्नेत, चिकित्सक संघ लगायतका प्रमुख तथा प्रतिनिधिहरूबीच भएको बैठकले उक्त सहमति गरेको हो ।
माछापुच्छ्रे बैंकका कर्मचारी र ग्राहकलाई ओम हस्पिटलमा विशेष छुट
काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहक तथा कर्मचारीलाई ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको सेवा सुविधामा विशेष छुट हुने भएको छ । सो सम्बन्धमा दुई कम्पनीबीच सम्झौता भएको छ । ओम हस्पिटलमा आयोजित संक्षिप्त समारोहमा ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र माछापुच्छ्रे बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारीहरु तथा योनो नेपाल एसविआई मोबाइल एप प्रयोगकर्ताले ओम हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग सेवा रेडियोलोजी, प्याथोलोजी, फार्मेसी र फिजियोथेरापी लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । नेपालको निजी क्षेत्रबाट सञ्चालित ओम अस्पतालले तीन दशक अघिदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले एकै छानामुनी आकस्मिक उपचारदेखि सघन उपचार तथा पेन मेडिसिन लगायत अन्य ३७ वटाभन्दा बढी विषयहरुमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आईरहेको छ । निःसन्तान दम्पतिलाई दाम्पत्य सुख प्रदान गर्ने आइ.भि.एफ. सेवाको शुरुवात गर्ने यो अस्पालले मातृशिशु सेवा, स्त्री तथा प्रसुती रोग, ल्यापारोस्कोपिक सर्जरी, जनरल मेडिसिन, दन्त रोग, नेत्र रोग, मानसिक रोग, फोक्सो तथा छाती रोग, मुत्र रोग लगायतका बिषयमा विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । मिर्गौला रोग र अर्बुदरोग उपचारमा नेपाल सरकारसँग सहकार्य गरी सहुलियत सहितको उपचार सेवा समेत प्रदान गर्दै आइरहेको छ । स्वास्थप्रति जागरुक नागरिकहरुकालागि ओम अस्पतालमा भिन्न भिन्न स्वास्थ्य परिक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरु समेतको व्यवस्था रहेको छ । त्यसैगरी, माछापुच्छ्रे बैंकका देशभर १६५ शाखामा १५ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् । बैंकले १२ एक्सटेन्सन काउण्टर, १३० शाखा रहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, २०३ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट बैङ्किङ र एसएमएस बैङ्किङ सुबिधा प्रदान गर्दै आइरहेको छ ।