
काठमाडौं । खानाको प्याकेट किन्नुअघि लेबलहरू पढ्न तपाईं कति समय खर्च गर्नुहुन्छ ? यदि तपाईं चिप्सको प्याकेटबाट चिप्स खानुहुन्छ भने के तपाईंलाई थाहा छ कति चिल्लो र कति कार्बोहाइड्रेट थियो ?
सायद तपाईंसँग यी प्रश्नहरूको जवाफ हुने छैन ।
बजारमा प्रशोधित र अल्ट्रा प्रशोधित प्याकेज गरिएको खानाको चहलपहल छ । यस्तो अवस्थामा कुनै पनि व्यक्तिलाई यति धेरै विकल्पहरूबाट सही विकल्प रोज्न सजिलो हुँदैन ।
प्रख्यात मेडिकल जर्नल ल्यान्सेटको प्रतिवेदनअनुसार देशका सहरी तथा ग्रामीण क्षेत्रमा खपत हुने कुल क्यालोरीमध्ये औसत १० प्रतिशत अल्ट्राप्रशोधित खानाबाट आउने गरेको छ ।
आर्थिकरूपमा राम्रो सहरी परिवारहरूमा यो बढेर ३० प्रतिशतसम्म पुगेको छ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार सन् २०२१ मा भारतमा प्रशोधित खानाको खुद्रा बजार २५ खर्ब ३५ अर्ब रुपैयाँबराबर पुगेको थियो ।
उही समयमा, बजार अनुसन्धान कम्पनी यूरोमोनिटरको डाटाबेसका अनुसार साना किराना पसल विक्रेताहरू भारतमा अल्ट्राप्रशोधित खानाको बिक्रीमा अगाडि छन् । नमकिन, स्न्याक्सजस्तो खाजा स्वतन्त्र साना किराना पसलहरूले सबैभन्दा धेरै बेचेको २०२१ को तथ्यांकले देखाउँछ ।
अखिल भारतीय आयुर्विज्ञान संस्थान, ऋषिकेश, उत्तराखण्डको सामुदायिक तथा पारिवारिक चिकित्सा विभागका अतिरिक्त प्राध्यापक डा. प्रदीप अग्रवाल भन्छन्, ‘विगत दुई दशकमा मोटोपनाजस्ता नसर्ने रोगबाट पीडित व्यक्तिको संख्या बढेको छ । उच्च रक्तचाप, मधुमेह, भारतमा उल्लेख्यरूपमा बढेको छ र यसको कारण प्याक गरिएको प्रशोधित खाना हो, जसको चलन सहर र ग्रामीण क्षेत्रमा बढेको छ ।’
उनी थप्छन्, ‘केही वर्षयता मानिसको जीवनशैलीमा परिवर्तन आएको छ । वर्षौंदेखि, प्याक गरिएको प्रशोधित खाना हाम्रो जीवनको एक हिस्सा बनेको छ । यो खानाले तपाईंलाई तत्काल ऊर्जा दिन्छ, तर यसमा पोषक तत्वको कमी हुन्छ । यी चीजहरूमा धेरै मात्रामा मिठो, नुन र खाली क्यालोरी हुन्छ । खाली क्यालोरीहरू ती खाद्य पदार्थबाट आउँछन्, जसमा पोषक तत्व हुँदैनन् ।’
खानाको प्याकेटमा लेखिएका कुरा पढ्नु किन महत्त्वपूर्ण छ ?
भारतीय खाद्य सुरक्षा र मानक प्राधिकरण (प्याकेजिङ र लेबलिङ) नियमहरू, २०२१ अनुसार भारतमा बेच्ने प्रत्येक पूर्व–प्याक गरिएको प्रशोधित खानाको प्याकेटमा पूर्णपोषणबारे जानकारी गराएको हुनुपर्छ । यस जानकारीले उपभोक्तालाई कुनै पनि खाद्य प्याकेट खरिद गर्नुअघि सूचित निर्णय लिन मद्दत गर्ने एफएसएसएआईको विश्वास छ ।
वास्तवमा यो महत्त्वपूर्ण छ किनभने प्याकेज गरिएको खाद्य उद्योगले तोकिएको सीमाभन्दा धेरै चिनी, नुन र चिल्लो पदार्थको मात्रामा यस्ता खाद्य पदार्थलाई प्रवर्द्धन गरेको आरोप छ ।
प्रश्न यो छ कि जब खानेकुराको जानकारी पछाडि दिइन्छ भने अगाडि लेख्न के आवश्यकता ?
वास्तवमा, भारतको ठूलो जनसंख्या छ जो हिन्दी वा अंग्रेजीमा लेखिएका कुराहरू पढ्न सक्दैन । साथै, धेरैपटक मानिसहरूले प्याकेटमा लेखिएको आकार धेरै सानो भएको गुनासो गर्छन् । जसका कारण यो देखिँदैन । त्यसैले पढ्ने वा नपढ्ने जो कोहीले बुझ्न सक्ने प्रणालीको आवश्यकता छ ।
उपभोक्ताले पौष्टिक खानाको विकल्प छनौट गर्न सकून् भनेर प्याक लेबलिङ प्रणालीको अगाडि प्रवर्द्धन गर्नेबारे लामो समयदेखि चर्चा हुँदै आएको छ ।
यदि तपाईंले चुरोटको प्याकेट हेर्नुभयो भने त्यहाँ एक तस्बिर र चेतावनी लेखिएको हुन्छ जसले ग्राहकलाई यो किन्नुअघि सोच्न लगाउँछ । त्यसपछि खरिद गर्ने कि नगर्ने भन्ने कुरा ग्राहकमा भर पर्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार ‘प्याक लेबलिङको अगाडि उपभोक्तालाई स्पष्टरूपमा देखिने, बुझ्न सजिलो र ग्राफिकका रूपमा प्रतिनिधित्व गर्नुपर्दछ । यो प्याकेजिङमा प्याकेटको पछाडि दिइएको जानकारीसँग मेल खाने जानकारी हुनुपर्छ ।’
२०१४ मा एफएसएसएआईले खाद्य प्याकेटहरूमा लेबलिङ प्रणाली प्रस्ताव गरेको थियो जसले विद्यमान नियमहरूलाई थप सुव्यवस्थित गर्न सक्छ । यो सिफारिस एफएसएसएआईद्वारा गठित विज्ञ समितिले गरेको हो ।
यस विषयमा वर्षौंदेखि विभिन्न तहमा छलफल भइरहेको छ । प्याकेट फूड उद्योग यसमा सहमत नभए पनि स्वास्थ्य विज्ञहरूले कडा मापदण्डको माग गरिरहेका छन् ।
भारतीय पोषण मूल्यांकन मोडेल के हो ?
सेप्टेम्बर २०२२ मा एफएसएसएआईले ’फ्रन्ट अफ प्याक लेबलिङ’ को मस्यौदा प्रस्तुत गरेको थियो । यस मस्यौदामा भारतीय पोषण मूल्यांकन मोडेल ल्याउने प्रस्ताव गरिएको थियो । यदि कुनै खानामा अधिक पोषक तत्वहरू छन् भने त्यसलाई ५ रेटिङ दिइने छ ।
यदि कुनै एक कमी छ भने यसको रेटिङ घट्ने छ । तर, कसैलाई आधा ताराभन्दा कम दिन मिल्दैन । यो मस्यौदा इण्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट अहमदाबादले गरेको अध्ययनमा आधारित थियो ।
उपभोक्ता अधिकारकर्मी तथा नागरिक उपभोक्ता तथा नागरिक कार्य समूहका कार्यकारी निर्देशक एस सरोजा भन्छिन्, ‘हामीले स्टार रेटिङको सट्टा स्पष्ट चेतावनी लेबलको माग गरिरहेका छौं । प्याकेटहरूमा सबैले सजिलै बुझ्न सक्ने लेबलहरू हुनुपर्छ । उसलाई चाहे पढ्न आओस् या नआओस् । चाहे अंग्रेजी बोलुन् वा हिन्दी । हामी यसलाई धेरै सरल राख्न चाहन्छौं ।’
उनी थप्छिन्, ‘फ्रन्ट अफ प्याक लेबलिङमा एफएसएसएआई बैठकमा एफएसएसएआईद्वारा स्टार रेटिङको बारेमा कुरा गरिएको थियो । जसमा आधा तारादेखि ५ तारा समावेश थियो । यसको मतलब कसैलाई ५ स्टार भयो भने ऊ एकदमै स्वस्थ हुन्छ, तर कसैलाई आधा स्टार भयो भने कम स्वस्थ हुन्छ ।’
उनका अनुसार यो मूल्यांकन प्रणालीमा फेला परेको समस्या यो हो कि तपाईं कसैलाई आधा ताराभन्दा कम दिन सक्नुहुन्न । तारा भनेको हरेक कुरामा राम्रो कुरा हुन्छ भन्ने हो । जबकि यो सत्य होइन ।
सरकारलाई मस्यौदा पेस गर्नुअघि एफएसएसएआईले जनताको राय जान्न चाहेको थियो । यसका लागि उसले नोभेम्बर २०२२ मा यो मस्यौदा सार्वजनिक गरेको थियो । यो मस्यौदामा निकै बहस भएको थियो ।
सार्वजनिक स्वास्थ्य पेसेवरहरूले यसको व्यापक आलोचना गरे । उनीहरूले आईएनआर प्रणालीमा शैक्षिक कम्पोनेन्ट थप्न आग्रह गरे, जुन हराइरहेको थियो ।
‘औसतमा एक व्यक्तिले कुनै पनि खानाको प्याकेट किन्नुअघि ७ देखि ८ सेकेन्ड खर्च गर्छ । हामीले प्याक लेबलको अगाडि एउटा यस्तो ७ देखि ८ सेकेन्डमा पढ्न सकिने गरी बनाउनुपर्छ, जसले हामीले यसलाई किन्ने वा नकिन्ने भनेर स्पष्टरूपमा व्याख्या गर्न सक्छ,’ डा। प्रदीप अग्रवाल भन्छन्, ‘यसमा दुईवटा कुरा छ– पहिलो त सजिलै बुझ्ने र दोस्रो सांकेतिक भाषामा हुनुपर्छ । हामीले हाम्रो देशको विविधतालाई ध्यानमा राखेर प्याक लेबलिङको अगाडि छान्नुपर्छ ।’
तर, धेरै विशेषज्ञ प्यानल सिफारिसहरू र मस्यौदा नियमहरू हुँदाहुँदै भारत अझै पनि स्पष्ट फ्रन्ट–अफ–प्याक लेबलिङ प्रणालीमा सहमत हुन सकेको छैन ।
कुन देशमा प्याक लेबलिङ प्रणाली अगाडि छ ?
ल्यान्सेटमा प्रकाशित एक लेखका अनुसार फ्रन्ट अफ प्याक लेबललाई नर्डिक की होल लोगो अथवा हेल्थियर च्वाइस लोगो, चेतावनी लेबल र स्पेक्ट्रम लोगो तीन वर्गमा विभाजन गर्न सकिन्छ ।
नर्डिक को होल लोगो उत्तरी युरोपेली देशहरूमा लागु हुन्छ । हेल्थकेयर च्वाइस लोगो सिंगापुरमा लागु हुन्छ । यी दुवै प्रकारका लोगोहरू खाद्य उद्योगमा बढी स्वीकार्य छन् किनभने तिनीहरूले प्याकेज गरिएको खानालाई सकारात्मक प्रकाशमा प्रस्तुत गर्छन् ।
यो लेबलिङले उपभोक्ताहरूलाई यी प्याकेटमा रहेको खाना पौष्टिक छ वा छैन भन्ने स्पष्टरूपमा बताउँदैन । एफओपीएलको दोस्रो श्रेणी भनेको चेतावनी लेबल हो । यो लेबलिङ प्रणाली चिली र मेक्सिकोमा लागु गरिएको छ । चेतावनी लेबलहरूले प्याकेटमा रहेको खाद्यवस्तुलाई स्पष्टरूपमा संकेत गर्दछ जुन तोकिएको सीमाभन्दा बढी छ र नियमितरूपमा उपभोग गर्नु हुँदैन ।
तेस्रो श्रेणी स्पेक्ट्रम लेबलिङ हो, जसमा चेतावनी र स्वास्थ्य तारा रेटिङहरू जस्तै न्यूट्री स्कोर र ट्राफिक लाइट सिग्नलहरू समावेश छन् । न्यूट्री स्कोर युरोपेली देशहरूमा लागु हुन्छ । बेलायतमा धेरै ट्राफिक लाइट तथा न्यूजील्याण्ड र अष्ट्रेलियामा स्वास्थ्य स्टार रेटिङ लागु हुन्छ ।
तर, धेरै प्रकारका लेबलिङ प्रणालीमध्ये, त्यहाँ त्यस्तो कुनै प्याकेट लेबलिङ छ जुन अरू देशभन्दा राम्रो छ ? यस विषयमा एस सरोजा भन्छिन्, ‘चिली र इजरायलमा चेतावनीको लेबल प्रयोग गरिन्छ । धेरै अध्ययनहरूले पत्ता लगाएका छन् कि मानिसहरूले बिस्तारै नुन, चिनी वा फ्याटको उच्च मात्रा भएको खानाको सेवन कम गरेका छन् । साथै, यी फूड प्याकेटहरू बनाउने कम्पनीहरूले पनि आफ्नो उत्पादन बनाउने तरिका परिवर्तन गर्नुपरेको छ ।
सही खाना कसरी छनौट गर्ने ?
क्यालिफोर्निया विश्वविद्यालयका पेडियाट्रिक एन्डोक्रोनोलोजिस्ट र ‘सुगर द बिटर ट्रुथ’ का लेखक प्रख्यात अमेरिकी डा. रोबर्ट लुस्टिगले ‘ब्याक-अफ-प्याक लेबलिङको कुनै अर्थ छैन र फ्रन्ट-अफ-प्याक लेबल प्रणाली पनि समाधान होइन’ भन्ने विश्वास गर्छन् ।
‘धेरै कम मानिसले पछाडिको लेबल पढ्छन्,’ उनी भन्छन्, दोस्रो, कम्पनीले तपाईंलाई सही जानकारी दिँदैनन् । सर्वसाधारणको बुझाइभन्दा बाहिरका शब्दहरू प्रयोग गर्छन् । हामी यसलाई ‘सादा दृश्यमा लुकाउने’ भन्छौं अर्थात् केवल चीजहरू लुकाउनु हो ।’
खानाको प्याकेट किन्दा के कुरामा ध्यान दिनुपर्छ ? यस प्रश्नमा डाक्टर रोबर्ट लुस्टिग कुनै प्याकेट किन्दा वा खाना छनौट गर्दा तीन कुरालाई ध्यानमा राख्न सुझाउँछन् ।
१. खानेकुरा यस्तो हुनुपर्छ कि यसले पेटको ख्याल राख्छ । तपाईंको कलेजोको सुरक्षा गर्दछ र तपाईंको दिमागलाई शक्ति दिन्छ ।
२. आन्द्रालाई स्वस्थ राख्न खानामा रुफेजको मात्रा पर्याप्त हुनुपर्छ । कलेजोलाई चिनी र क्याडमियमबाट बचाउनुहोस् । चिनी पाइने चीजहरूले तपाईंको कलेजोलाई असर गर्छ र त्यसैले अहिले धेरैलाई फ्याटी लिभरको समस्या छ ।
३. ओमेगा ३ फ्याटी एसिड मस्तिष्कका लागि धेरै महत्त्वपूर्ण हुन्छ । यो ती चीजहरूमध्ये एक हुनुपर्छ ।
डा. रोबर्ट भन्छन्, ‘मेरो सल्लाह यही हुनेछ कि यी तीनमध्ये कुनै पनि समावेश नभएको कुनै पनि चीज नकिन्नुहोस् ।’ बीबीसी हिन्दी