भूकम्प प्रभावित क्षेत्रका महिला तथा बालबालिकामा कुपोषणको जोखिम
जाजरकोट । भूकम्पबाट क्षति भएको जाजरकोट, रुकुमपश्चिमका महिला तथा बालबालिकामा कुपोषणको जोखिम बढेको छ । जाजरकोट, रुकुमपश्चिमका साथै सल्यानका महिला तथा बालबालिकामा भूकम्पपछि कुपोषणको जोखिम बढेको हो । भूकम्प प्रभावित क्षेत्रमा तीन महिनासम्म सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट उक्त कुरा पत्ता लागेको नेपाल परिवार नियोजन सङ्घले जनाएको छ । सङ्घकाअनुसार महिलामा इच्छा नभएरै गर्भवती हुने दर पनि बढेको छ । गत मङ्सिरदेखि माघसम्म परिवार नियोजन सङ्घले सञ्चालन गरेको ‘आधारभूत स्वास्थ्य सेवा कार्यक्रम’ शिविरमा सेवा लिन आएका अधिकांश महिला तथा बालबालिकामा कुपोषणको जोखिम बढेको पाइएको कार्यक्रमका संयोजक वसन्त खनालले बताए । उनका अनुसार कार्यक्रमअन्तर्गत जाजरकोट र रुकुमपश्चिममा ४६ वटा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । विपद्का समयमा पोषिलो खानेकुरा खान नपाएकाले पनि कुपोषणको जोखिम बढेको उनको भनाइ छ । उक्त शिविरमा सात हजार तीन सयभन्दा बढी भूकम्प प्रभावितलाई सेवा दिइएको खनालले जानकारी दिए । उनका अनुसार सेवा लिनेमा पुरुष नौ सय ४४, महिला छ हजार तीन सय ५५ महिला छन् । संयोजक खनालले चार हजार एक सय नौ पाठेघरको मुखको क्यान्सरको जाँच गरिएकामा एक सय छ जनामा क्यान्सरको सुरुआती अवस्था पत्ता लागेको जानकारी दिए । पाँच सय ४५ महिलालाई गर्भपतन सेवा उपलब्ध गराएको थियो । भूकम्पपछि महिलामा इच्छा नभएरै गर्भवती हुने दर पनि बढेको उनले बताए । भूकम्पपछि यौन हिंसा कम गर्न, परिवार नियोजनको सेवा, एचआइभीबारे सचेतना अभिवृद्धि गर्न, अनिच्छुक गर्भधारण घटाउन सङ्घ कार्यक्रम गरेको संयोजक खनालले बताए । कार्यक्रम जाजरकोटको भेरी र नलगाड नगरपालिका तथा बारेकोट र कुसे गाउँपालिकाका साथै रुकुमपश्चिमको आठबिसकोट नगरपालिका तथा सानीभेरी गाउँपालिकामा सञ्चालन गरिएको थियो । प्रभावित जिल्लामा बाह्रै महिना खान नपुग्ने, भूकम्पपछि खाना र बस्नको समस्या, सन्तुलित खानाको अभावले यहाँका महिला र बालबालिकामा कुपोषणको जोखिम बढेको कार्यक्रम संयोजक खनालको भनाइ छ । उनका अनुसार जाजरकोटको कुशे र बारेकोट गाउँपालिकामा कुपोषणको समस्या सबैभन्दा बढी पाइएको छ । त्यस्तै प्रभावित जिल्लामा अनिच्छुक गर्भधारणको समस्या पनि बढ्दै गएकाले सुरक्षित परिवार नियोजनका बारेमा जनचेतना जगाउनुपर्ने खनालले बताए । नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले पालिकामा अझै लगानी बढाएर प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने योजना रहेको बताए । ‘उत्पादनशील क्षेत्रमा घरटहरा निर्माण भएका छन् । खाद्यान्नको पनि समस्या भएकाले स्वास्थ्य समस्या देखिएको हो’, उनले भने । बारेकोट गाउँपालिकामा स्वास्थ्य, खाद्यान्नको समस्या रहेको भन्दै साझेदार निकायले सहयोग गर्नुपर्ने गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए । आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीले विपद्का समयमा सबैले एकजुट भएर काममा लाग्नुपर्नेमा जोड दिए । रासस
ज्येष्ठ नागरिकको घरमै निःशुल्क स्वास्थ्य सेवा दिँदै महानगर
मोरङ । विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरमै गएर निःशुल्क स्वास्थ्य सेवा दिने काम सोमबारदेखि सुरु गरेको छ । महानगरले १९ वटा वडामा बसोबास गर्ने ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको हो । महानगर प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीले संयुक्ररुपमा स्वास्थ्य सेवा दिन घरदैलोमा जाने स्वास्थ्यकर्मीलाई स्वास्थ्य जाँचका लागि आवश्यक उपकरण हस्तान्तरण गरे । नगरका प्रत्येक वडामा दुई नर्सिङ कर्मचारीलाई ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच तथा परामर्शका लागि खटाइएको छ । उक्त कार्यक्रममा ज्येष्ठ नागरिकको उच्च रक्तचाप, मधुमेह, अक्सिजनको तहको जाँच, नेबुलाइजेसन सेवा, सामान्य स्वास्थ्य परीक्षण तथा उपचार, ड्रेसिङ, औषधि वितरणसहित स्वास्थ्य परामर्श सेवासमेत प्रदान गरिने स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । सम्बन्धित वडाका महिला स्वयंसेविका परिचालन गरिनेछ । हरेक तीन महिनामा कम्तीमा एक पटक ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण उपचार सेवा उपलब्ध गराइनेछ । घरमा जाँदा बिरामीलाई अस्पताल प्रेषण गर्नुपरेमा महानगरको एम्बुलेन्समार्फत निःशुल्क सेवा दिनुका साथै सम्बन्धित अस्पतालमा समन्वयकारी भूमिका निर्वाह गर्नेछ । प्रमुख कोइरालाले आम विराटनगरवासीको घरमै गएर सेवा दिने प्रतिबद्धताअनुरुप निःशुल्क स्वास्थ्य सेवा सुरु गरिएको जनाउँदै स्वास्थ्यकर्मीलाई अनुशासित र जिम्मेवारपूर्वक ज्येष्ठ नागरिकको स्वास्थ्य सेवामा लाग्न निर्देशन दिए । उपप्रमुख कार्कीले यस कार्यक्रममा ८० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक समेटिने गरी काम गर्न आग्रह गरे । महानगर क्षेत्रभित्र दुई हजार तीन सय २४ जना ८० वर्षमाथिका ज्येष्ठ नागरिक रहेकामध्ये सबैभन्दा बढी वडा नं ३ मा तीन ९० र सबैभन्दा कम वडा नं १८ मा २४ जना रहेको महानगरको तथ्याङ्कमा उल्लेख छ । रासस
चन्द्रागिरिमा १० प्रकारका जडीबुटीलाई औषधिका रुपमा प्रवर्द्धन गर्न सकिने
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले प्राथमिकतामा परेका विभिन्न दश आयुर्वेदिक जडीबुटीको उद्यान एवं प्रशोशन केन्द्र निर्माण गर्ने भएको छ । हाल नगरपालिकाले चन्द्रागिरि–८ मातातीर्थमा सञ्चालित मातातीर्थ आयुर्वेद औषाधालयलाई १५ श्ययामा स्तरोन्नति गरिसकेको छ । नगरपालिकाले आफ्ना सामुदायिक वनभित्र रहेका आयुर्वेदिक प्रजाति सुगन्धवाला, चिराइतो, गुर्जो, तितेपाती, टिमुर, पाखानवेद, धासिङ्गरे, लौठसल्ला, पिपला र कौलोको संरक्षण, उपयोग एवं प्रवद्र्धन गर्न लागेको हो । यसका लागि नगरपालिकाले पहिलोपटक जडीबुटीको स्रोत सर्वेक्षण सम्पन्नसमेत गराएको छ । काठमाडौं उपत्यकाभित्रका नगरपालिकामध्ये चन्द्रागिरिले सम्भवतः पहिलोपटक सङ्घीय सरकारको ‘जडीबुटी सर्वेक्षण मार्गदर्शन २०१२’ अनुसार विज्ञ टोली मार्फत ‘चन्द्रागिरि नगर क्षेत्रभित्र रहेका औषधीय तथा सुगन्धित जडीबुटीको वैज्ञानिक अध्ययन तथा लगत सङ्कलन सर्वेक्षण’ गराएको थियो । चन्द्रागिरिका १५ सामुदायिक वन मध्ये जडीबुटी क्षेत्र पहिचान गरेका विभिन्न आठ वन सो सर्वेक्षणमा समेटिएका थिए । ती वन समूहमा मसिने, चन्द्रागिरि, मच्छेनारायण, चुनदेवी, गुमालचोक सचेत महिला, काफलडाँडा, रातमाटेडाँडा, जमुनाडाँडा वनक्षेत्रमा अध्ययन टोलीले वैज्ञानिक अध्ययन गरेको थियो । अध्ययनका क्रममा जडीबुटीहरुको भौगोलिक अवस्थितिलाई ‘प्लटिङ’ समेत गरिएको थियो । ती वन क्षेत्रका सात सय १३ हेक्टरमध्ये एक सयदेखि एक सय ५० हेक्टरमा जडीबुटी पाइएको थियो । सम्भावना बोकेका एकसय जडीबुटी, खेतीयोग्य ६० प्रकारका जडीबुटी र प्रमुख दश जडीबुटी तुरुन्तै प्रशोधन गरेर बजारमा लान सकिने अध्ययनका क्रममा देखिएको थियो । पाँच प्रकारका जडीबुटी ९चिराइतो, सुगन्धवाला, टिमुर, पिपला र धासिङ्गरे० लाई खेती गर्न सकिने अनुसन्धान सर्वेक्षणले पुष्टि गरेको छ । ती जडीबुटी एउटै विधिद्वारा प्रशोधन गर्न सकिने जनाइएको छ । ती जडीबुटीबाट वार्षिक ५३ हजार केजी सङ्कलन सकिने अध्ययनले औँल्याएको छ । सर्वेक्षणले वार्षिकरुपमा कम्तीमा रु ३५ लाख बराबरको जडीबुटी सङ्कलन गर्न सकिने, यदि ती जडीबुटी सङ्कलन नगर पनि बिरुवा मरेर नजाने, कुहिएर जाने तथा कुनै क्षति नपुर्याउने जनाइएको छ । यसैबीच अध्ययन तथा लगत सङ्कलन सर्वेक्षण अध्ययन टोलीले चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई आइतबार अध्ययन प्रतिवेदन हस्तान्तरण गर्यो । सो अवसरमा उनले औषधीय तथा सुगन्धित जडीबुटीको संरक्षण , सम्वद्र्धन तथा उपयोग गर्ने नीति नगरपालिकाले लिएको जानकारी दिँदै चन्द्रागिरिमा आयुर्वेद रिसर्च सेन्टर स्थापना गर्ने र मातातीर्थ आयुर्वेदिक औषधालयलाई आवश्यक पर्ने स्रोतलाई सुदृढ बनाउने बताए । प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले सामुदायिक वनको दीगो व्यवस्थापन एवं सदुपयोग गर्दै यसलाई आयआर्जनसँग जोड्न र जैविक विविधता संरक्षण गर्न नगरपालिकाले सहयोग गर्ने बताए । मातातीर्थ आयुर्वेदिक औषधालयका प्रमुख डा नारायण अचार्यले पहिलोपटक गरिएको बहुआयामिक अध्ययनले चन्द्रागिरिमा प्रचुर मात्रामा औषधीय तथा सुगन्धित जडीबुटीको सम्भाव्यताको उजागर गरेको जानकारी दिए । उनले भने, ‘औषधालयको आफ्नै जडीबुटी उद्यान बनाउने, प्रशोधन केन्द्र स्थापना गर्ने तथा औषधिसमेत उत्पादन गर्ने नीतिलाई सहयोग गर्ने छ ।’ अध्ययन टोलीमा डा नवीन जोशी, स्नेहा बर्मा तथा शालिकराम कँडेल थिए । टोलीले सामुदायिक वनभित्रका जडीबुटीका स्रोत स्थानीयवासी, वनमा आश्रित समुदायका लागि नगद आम्दानीको महत्वपूर्ण स्रोत र जीविकोपार्जनको माध्यम बन्न सक्ने सुझाव दिएको छ । साथै स्थानीयस्तरमा जडीबुटीको खेती, दिगो विकास, प्रशोधन गरेर वन तथा जैविक विविधताको संरक्षण गर्दै स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने अवसर हुने पनि टोलीले निष्कर्ष निकालेको छ । चन्द्रागिरिमा जडीबुटीका प्रजातिको व्यवस्थापन, खेती, दिगो व्यवस्थापनको सम्भावना औँल्याएको छ । यसैगरी सामुदायिक वन, निजी वन तथा निजीस्तरमा जडीबुटी खेती गर्र्ने प्रयोजनका लागि अध्ययनले थप प्रोत्साहन गरेको जनाइएको छ । रासस