५ महिनामा यी काम गर्नेछिन् स्वास्थ्यमन्त्री शर्मा
काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले आइतबार पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहणपछि स्वास्थ्य मन्त्रालयका कर्मचारीसँगको भेटघाट कार्यक्रममा मन्त्री शर्माले जेनजीहरूको भावना अनुसार काम गर्न तयार रहनुपर्ने निर्देशन दिइन् । स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभिन्न महाशाखा तथा शाखाका प्रमुखहरूसँग उनले भ्रष्टाचार अन्त्य गर्दै सुशासनको पक्षमा काम गर्न आग्रह गरिन् । ‘जेनजीहरूले भ्रष्टाचार बढ्यो र सुशासन भएन भन्ने माग राख्दै आन्दोलन गरेका हुन् । अब स्वास्थ्य मन्त्रालयले यसलाई प्रमाणित गरेर देखाउनुपर्ने बेला आएको छ,’ उनले भनिन् । उनले सबै कर्मचारीलाई आग्रह गर्दै भनिन्, ‘कुनै पनि तहमा कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्, भ्रष्टाचार आर्थिक रुपमा पनि हुन्छ प्रशासनिक रुपमा पनि हुन्छ, हामीले अनावश्यक काममा दुःख दिने काखापाखा गर्नु पनि भ्रष्टाचारकै अङ्ग हुन्, अब यस्तो नहोस् भनेर हामीले ख्याल गर्नुपर्छ ।’ उनले यही मन्त्रालयमा तीन वर्ष स्वास्थ्य सचिवकै रुपमा काम गर्दा भ्रष्टाचारलाई कसरी हटाउने भन्ने कुरा मुख्य चुनौती रहेको बताउँदै प्रशासनिक रुपमा गरे पनि राजनीतिक रूपबाट गर्न नसकेको बताइन् । उनले राजनीतिक कारण भ्रष्टाचार हुन थालेपपछि राजीनामा दिएको स्मरण गर्दै उनले खरिद प्रक्रियालाई पूर्ण रुपमा पारदर्शी बनाउन र शून्य भ्रष्टाचार कसरी हुन्छ भन्ने कुरामा जोड दिनुपर्ने बताइन् । शर्माले केन्द्रको मन्त्रालयमात्र नभइ प्रदेश र स्थानीयस्तरमा रहेका स्वास्थ्य संस्थामा जनशक्तिको अभाव रहेको बताउँदै भएका स्रोत साधनको कसरी सदुपयोग गर्ने भन्नेतर्फ चनाखो हुनुपर्ने बताइन् । मन्त्रीका प्राथमिकता स्वास्थ्यमन्त्री डा. शर्माले मन्त्री भइसकेपछि आफूले प्राथमिकता दिएर गर्ने कामलाई सार्वजनिक गरेकी छन् । उनले सबैभन्दा पहिले जेनजी आन्दोलनमा ज्यान गुमाएका मृतकका परिवारको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्ने बताएकी छन् । परिवारको भविष्यमा कमाएर पाल्न सक्ने छोरा वा छोरी नरहेकाले त्यो घरको आर्थिक अवस्था हेर्दै निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्ने पहिलो निर्णय गरेकी छन् । यसका लागि अर्थमन्त्रालयसँग समन्वय गरेर बजेटको व्यवस्था गर्ने उनको योजना छ । यस्तै शहीद परिवारबाट योग्यता पुगेका व्यक्तिलाई स्वास्थ्य सम्बन्धी विषयमा अध्ययन गर्न निजी क्षेत्रको समेत सहभागितामा कार्यक्रम सञ्चालन गर्ने बताइन् । उनले यो विषयमा तत्काल छलफल अगाडि बढाउनुपर्ने बताएकी छन् । ‘अहिले हामी कहाँ स्वास्थ्य अन्तर्गतका विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । ती कार्यक्रममा मृतकका परिवारका आवश्यक योग्यता पुगेका व्यक्ति छन् भने हामीले कार्यक्रममा समावेश गर्नुपर्छ, यसका लागि हामी तत्कालै काम सुरु गर्छौं,’ उनले भनिन् । मन्त्री शर्माले आन्दोलनका घाइतेलाई सरकारले निःशुल्क सेवा उपलब्ध गराइरहेको बताउँदै जबसम्म पूर्ण रुपमा निको हुँदैन तबसम्म यथावत राखिने बताएकी छन् । उनले घाइतेहरूको चोटपटकको वर्गीकरण कसरी भइरहेको छ, त्यसलाई हेरेर त्यही अनुरुप उनिहरूले पाउने क्षतिपूर्तीको व्यवस्था गर्ने बताइन् । स्वास्थ्यमन्त्री आफैले माओवादी द्धन्द्धकालमा चोटपटकको वर्गीकरण र उपचारको समन्वयकर्ताको रुपमा काम गरेकी थिइन् । आफूले यो विषयमा काम गरिसकेको र अनुवभव पनि भएकाले यसमा पनि आफैले काम गर्ने बताएकी छन् । मन्त्री शर्माले मानसिक स्वास्थ्यको विषलाई प्राथमिकतामा राख्ने बताएकी छन् । देशको वर्तमान परिस्थिती हेर्दा मानसिक स्वास्थ्य ठूलो चुनौतीको रुपमा देखा परेको बताउँदै उनले यसलाई सम्बोधन गर्नुपर्ने बताइन् । यो विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा प्राविधिक टोलीसँग छलफल गरेर अगाडि बढ्ने योजना सुनाएकी छन् । डा. शर्मा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ र महिला भएको बताउँदै जनसांखिक सर्वेक्षणको प्रतिवेदन हेर्दा मधेश, कर्णाली, सुदूरपश्चिम, लुम्बिनी प्रदेशमा मातृ शिशु मृत्युदर उच्च रहेको बताउँदै उनले ती प्रदेशको जोखिममा रहेको लक्षित समुदाय छनोट गरी विशेष कार्यक्रम सञ्चालन गर्ने बताइन् । वैदेशिक रोजगारीमा गएका व्यक्तिमा स्वास्थ्यका समस्या रहेको बताउँदै उनले ती समुदायलाई स्वास्थ्य सेवा प्रदान गर्ने बताइन् । उनले त्यसका लागि श्रम मन्त्रालयको समन्वयमा कार्यक्रम गर्ने योजना सार्वजनिक गरेकी छन् । अहिले नर्सहरू आन्दोलनमा रहेको बताउँदै उनले यस्ता समस्या सम्बोधनका लागि पहल गर्ने बताइन् । ‘यो सरकारको अब ५ महिनामात्रै बाँकी छ, सबै कुरा हामीले चाहेर पनि गर्न सक्दैनौं तर सक्दो कोसिस गर्छौं,’ उनी भन्छिन्, ‘यो अवधिमा हामी अल्पकालिन, मध्येकालिन र दीर्घकालिन योजना बनाउँछौं । जसमा अल्पकालिन योजना पाँच महिनाको अवधिमा कार्यन्वयन गर्छाैं,मध्यकालिन योजना सुरुवात गर्छौ र दीर्घकालिन योजनामा कसरी अगाडि बढ्ने भन्नेबारे खाका बनाउँछौं ।
नक्सालको भाटभटेनीमा बीमा गरिएकोभन्दा बढी क्षति, साढे २६ करोड रुपैयाँ ‘एडभान्स’
काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको प्रदर्शनमा नक्साल स्थित भाटभटेनीमा पुगेको क्षतिको शिखर इन्स्योरेन्समा ६६ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ । शिखर इन्स्योरेन्सबाट सर्भेका लागि खटिएका सर्भेयर सूर्यप्रसाद जोशीका अनुसार सामानको मात्रै ६० करोड रुपैयाँ दाबी परेको छ । साथै, कम्पनीमा भवनको मात्रै ६ करोड रुपैयाँको दाबी परेको उनले बताए । उनका अनुसार बीमा दाबी परेको रकमको शिखर इन्स्योरेन्सले भाटभटेनीलाई ‘एडभान्स’ स्वरूप साढे २६ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । सर्भेयर सूर्यप्रसाद जोशीका अनुसार कम्पनीले भवनको सरसफाइ, पुनर्निर्माणमा राहत होस् भनेर परेको दाबीमध्ये २५ करोड रुपैयाँ र भवनमा परेको दाबी रकममध्ये डेढ करोड भुक्तानी गरेको हो । आन्दोलनको कारण क्षतिग्रस्त नक्सालको भाटभटेनीको क्षति मूल्यांकनका लागि शिखर इन्स्योरेन्सले सर्भेयर जोशी र नेपाल पुनर्बीमाको तर्फबाट जगन्नाथ गौतमलाई खटाइएको छ । भवन पूर्ण रुपले जलेर क्षति पुगेको हुँदा अहिले सर्भे जारी रहेको र यति नै भनेर क्षतिको मूल्यांकन भइ नसकेको उनले बताए । उनका अनुसार अहिले खरिद गरेको सामानको बिल कलेक्सन भइरहेको र सबै बिल प्राप्त भएपछि मात्रै कति क्षति पुगेको भन्न सकिनेछ । ‘हामीले हेर्ने भनेको खरिद गरेको सामानको बिल हो, जुन कलेक्सन भइरहेको छ, उहाँहरूबाट सबै बिल प्राप्त भएपछि कति क्षति पुग्यो भन्न सकिने छ,' उनले भने । भवन पूर्ण रुपमा जलेर नष्ट भएको हुँदा बीमा गरेकोभन्दा बढी क्षतिको रकम आउन सक्ने जोशीको भनाई छ । क्षति रकम बढी आएपनि बीमा गरेको जति मात्रै भुक्तानी गर्ने कम्पनीको दायित्व भएको उनले बताए । उनले भने, ‘क्षति पुगेको सामानको हकमा चाडपर्व नजिकैको समयमा घटना भएको हुँदा बीमा गरेको भन्दा बढी छ भन्ने उहाँहरूको दाबी छ । तैपनि बीमा गरेअनुसार दाबी हुन्छ ।’ नक्सालमा रहेको भाटभटेनीमा अहिले भवन भत्काउने र सरसफाइको काम सुरु भएको छ । यस्तै देशभरका विभिन्न ठाउँमा क्षति पुगेको भवनमा कुनैमा पुनर्निर्माण भई सञ्चालनमा आइसकेको छ भने कुनै पुनर्निर्माणकै क्रममा रहेको छ । जेनजी प्रदर्शनका क्रममा देशभर भाटभटेनी सुपरमार्केटको १२ वटा स्टोर पूर्ण रुपमा क्षति पुगेको थियो । बाँकी ९ वटा आउटलेटमा भने लुटपाट र तोडफोड र आगजनी भएको छ ।
चार दशक स्वास्थ्य सेवाको अनुभव बोकेकी चिकित्सक मन्त्रीको ‘हट सिट’मा
काठमाडौं । स्वास्थ्य तथा जनसख्या मन्त्रीमा डा. सुधा शर्मा नियुक्त भएकी छिन् । जेन जी आन्दोलनपछि सरकारको नेतृत्व सम्हालिरहेकी प्रधानमन्त्री शुसीला कार्कीले करिब डेढ महिनापछि स्वास्थ्य मन्त्रालयको नेतृत्व छनोट गरेकी हुन् । यस अघि पटक पटक विभिन्न व्यक्तिको नाम चार्चामा आए पनि छनोट हुन सकेको थिएन । तर, अन्ततः स्वास्थ्य मन्त्रालयले नेतृत्व पाएको छ । स्वास्थ्य जस्तो संवेदनशिल निकायले डेढ महिनादेखि नेतृत्व नपाउँदा समस्या भएको जनगुनासो बढ्दै गएको थियो । डा. शर्मा मन्त्री बनेसँगै स्वास्थ्य मन्त्रालयले नेतृत्व पाएको छ । आन्दोलनमा आफ्नै भवन जलेर अरुको शरणमा बसिरहेको मन्त्रालयको नेतृत्व सम्हाल्न मन्त्री शर्मालाई ठूलो चुनौती पनि देखिन्छ । को हुन सुधा ? स्वास्थ्य क्षेत्रमा लामो समय अनुभव भएकी एउटा चिकित्सक हुन् डा. सुधा शर्मा गौतम । उनी अहिले उमेर ६९ वर्ष पुगिन् । सुधा स्वास्थ्य क्षेत्रकी परिचित व्यक्ति हुन् । उनको जन्म काठमाडौंमै भएको हो । उनको पढाइ हुर्काइ पनि यही भयो । घरमै संस्कृत शिक्षा सिकेकी उनलाई संस्कृत पढाउन घरमै गुरु आउँथे । घरमै संस्कृत पढे पनि दाइ दिदीबाट अंग्रेजी सिकिन् । उनी एकैचोटी क्षेत्रपाटीमा रहेको कन्या मन्दिरमा कक्षा पाँचमा भर्ना भएकी थिइन् । उनका दाइदिदी पनि विज्ञान विषय लिएर पढ्दा उनलाई पनि त्यही विषय लिएर पढ्न मन लाग्यो । उनी पढाइमा राम्रै थिइन् । आमाबुवाले पनि उनलाई पढ्नुपर्छ भन्थे । ११ वर्षको उमेरमा विवाह गरेकी उनकी आमाले १३ वर्षमा बच्चा जन्माइसकेकी थिइन् । आफुले पढ्न नपाएकी आमालाई छोराछोरी पढाउनुपर्छ भन्ने सोच थियो । बुवा पनि पढेलेखेका थिए । उनका हजुरबुवा विद्धच्छिरोमणी कुलचन्द्र गौतम संस्कृत साहित्यमा नाम चलेका विद्धवान हुन् । यस्तो परिवारमा जन्मेकी उनलाई पढ्नमा कुनै अवरोध भएन । पढाइमा उनको इच्छा र परिवारको वातावरणले उनी १९७२ सालमा एसएलसी पास भइन् । त्यसपछि विज्ञान विषय लिएर नेपालमै पढिन् । १९७४ मा उनी मेडिसिन पढ्नको लागि छात्रवृतीमा पढ्न गइन् । १९८० मा एमबिबएस सकेर उनी फर्किन् । त्यसपछि उनी स्वास्थ्य क्षत्रमा काम गर्न सुरु गरेकी थिइन् । काम गर्दै उनले पढाइ पनि जारी राखिन् । पढाइ काम विवाहपछि छोराछोरी हुर्काउन बढाउन एउटा महिलालाई पक्कै सहज हुँदैन । उनका श्रमान पनि सर्जन डाक्टर हुन् । उनी घरपरिवार श्रीमानको सहयोग र आफ्नो अठोटले यहाँसम्म पुग्न सकेको बताउँछिन् । ४३ वर्षको अनुभव नेपालको स्वास्थ्य क्षेत्रमा लामो समयदेखि काम गरिरहेकी डा. गौतम एक प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् । ४३ वर्षदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएकी उनलाई स्वास्थ्य विज्ञका रुपमा पनि चिन्न सकिन्छ । उनीसँग एउटा चिकित्सकको रुपमा बिरामीलाई उपचार गर्नेदेखि लिएर विभिन्न अस्पताल वा स्वास्थ्य संस्थाको नेतृत्व वा व्यावस्थापन गरेको अनुभव छ । वि.सं २०६५ देखि २०६८ सालसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवका रुपमा काम गरिसकेकी डा. सुधाले परोपकारी प्रसुति तथा स्त्री रोग अस्पताल थापाथलीको निर्देशकको रुपमा पनि काम गरिसकेकी छिन् । उनी सिआइडब्लुएसी अस्पतालकी सह निर्देशकको रुपमा कार्यरत छिन् भने रोयल कलेज अफ अब्स्टेट्रिसियन एण्ड गायनोकोलोजिष्ट (आरसिओजी) युकेको नेपाल स्थित् इन्टरनेश्नल रिप्रेजेन्टेटिभ कमटीकी अध्यक्ष समेत हुन् । डा. शर्मा नेश्नल एकेडेमी अफ मेडिकल साइन्सेसमा प्राध्यापकको रुपमा काम गरेकी छिन भने देश तथा विदेशका विन्नि राष्ट्रिय तथा अन्तराष्ट्रि स्वास्थ्य सस्थामा काम गरेको अनुभव उनीसँग छ । माओवादीको १० वर्ष जनयुद्ध सकेर शान्तीवर्ता भइसकेपछि शर्मा युद्धबिराम आचार संहिता अनुगमन समितिको सदस्यको रुपमा काम गरेकी थिइन् । उनी अहिले पनि राष्टिय तथा अन्तराष्टिय स्वास्थ्य सस्थाहरूलाई सािर्वजनिक स्वास्थ्य सम्बन्धी परामर्श सेवा दिदै आएकी छिन् । २०३९ सालमा जिल्ला अस्पतालबाट सेवा सुरु गरेर सचिव पदसम्म पुग्न सफल भएकी उनी नेपाल चिकित्सक संघको अध्यक्षमा बागी उम्मेदवारका रूपमा विजयी भएकी थिइन् । शर्माले चिकित्सकलगायत प्रोफेसनलहरुको संस्था (पापड)को अध्यक्षका रुपमा आन्दोलनको नेतृत्व गर्नुका साथै घाइतेको उपचारमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन् । उनले ‘सिंहदरबारको घुम्ने मेच’नामक कृती प्रकाशन गरेकी छिन् । प्रसूति तथा स्त्री रोग विशेषज्ञ मात्र नभई जन स्वास्थ्य विज्ञको रुपमा परिचित डा. सुधाले उनले क्लिनिकल सेवा, स्वास्थ्य प्रणाली र गुणस्तरीय उपचार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएकी छिन् । महिलाको स्वास्थ्य क्षेत्रमा योगदानका लागि उनले एफआईजीओ वमेन अफ द इअर अवार्डसहित थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेकी छन् । ११ जना दाजुभाइकी १० औं सन्तान सुधाले नेपाली स्वास्थ्य क्षेत्रमा काम गर्दा अहिलेको जस्तो अवस्था थिएन । महिलाहरूले जिउने जीवन पनि डर लाग्दो थियो । नागरिकहरू विभिन्न रोग पालेर बसिरहेका थिए । उनीहरूमा अस्पताल जानुपर्छ उपचार गर्नुपर्छ भन्ने अहिलेको जस्तो चेत थिएन । सानै उमेरमा बिहे हुन्थ्यो । एउटै दम्पत्तिले १३÷१४ सम्म बच्चा जन्माउथे । उनकी आमाले पनि ११ जना दाजुभाइ जन्माएकी थिइन् । जसमा सुध १० औ सन्तानका रुपमा जन्मेकी थिइन् । उनी अहिलेका नागरिक पहिलेभन्दा निकै शिक्षित भएको बताउँछिन् । उनी भन्छिन्, ‘अहिले धेरै भए दुई नभए एक सन्तान जन्माउने सम्मको चेत भइसकेको छ, यसरी हेर्दा स्वास्थ्य क्षेत्रमा पहिलेको तुलनामा निकै परिवर्तन भएको छ ।’ सुधाले कामको सिलसिलामा नेपालका अधिकांश जिल्ला पुगेकी छन् । त्यहाँको स्वास्थ्य अवस्था, महिलाको स्वास्थ्य अवस्थाबारे उत्तिकै जानकारी छ । उनी नेपालका ग्रामिण क्षेत्रमा अझै सहज उपचार पाउन गाह्रो रहेको भन्दै सरकारले नै यसमा कदम चाल्नुपर्ने बताउँछिन् । स्वास्थ्य क्षत्रबारे जानकार सुधालाई स्वास्थ्य मन्त्रीको रुपमा पाउँदा नागरिकले अझ बढी आशा गरेका छन् ।