सिटिजन्स बैंकले दोस्रोपटक पायो ‘बैंक अफ द इयर’ अवार्ड

काठमाडौं । सिटिजन्स बैंकले सन् २०२५ को ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरेको छ । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले एक कार्यक्रमकाबीच ‘बैंक अफ द इयर २०२५’ अवार्ड सिटिजन्स बैंकलाई प्रदान गरेको हो । सिटिजन्स बैंकले लगातार दोस्रो पटक बैंक अफ द इयर अवार्ड पाएको हो । यसअघि सन् २०२४ को ‘बैंक अफ द इयर’ अवार्ड पनि सिटिजन्स बैंकले नै पाएको थियो । बैंकका अध्यक्ष प्रवलजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले आयोजित कार्यक्रममा अवार्ड ग्रहण गरेका हुन् । अवार्ड वितरण कार्यक्रममा करिब १२५ भन्दा बढी देशका बैंकका अध्यक्ष, सीईओ लगायत ४ सय जना भन्दा बढीको उपस्थिति थियो । बैंकका अध्यक्ष पाण्डेले लगातार दुई वर्ष विश्वकै प्रतिष्ठित अवार्डबाट सम्मानित हुन पाउँदा अत्यन्त गौरवान्वित महसुस गरेको बताए । साथै आगामी दिनमा अझै जिम्मेवार बनेर उत्कृष्ट ग्राहक मैत्री आधुनिक बैंकिङ सेवा सुविधा दिने उनको भनाइ छ ।  बैंकका सीईओ पोखरेलले सम्पूर्ण सरोकारवाला निकायको सहयोग एवं कर्मचारीहरूको अहोरात्र मिहिनेतबाट अवार्ड प्राप्त गर्न सफल भएको बताए । भविष्यमा थप उत्कृष्ट कार्यसहित सुशासन र प्रुडेन्ट बैंकिङ र हरित बैंकिङ सेवा सुविधामा थप जोड दिने उनको भनाइ छ ।  नेपालमा सन् २००२ देखि लगातार बैंकहरूले उक्त अवार्ड प्राप्त गरिरहेका छन् । हाल अस्तित्वमा रहेका ९ वटा बैंकले  मात्र यो अवार्ड प्राप्त गरेका छन् ।  द फाइनान्सियल टाइम्सले वार्षिक रुपमा विभिन्न देशका बैंकहरुले गर्ने कार्यसम्पादन एवं गतिविधिहरूलाई मध्यनजर गर्दै बैंक अफ द इयरबाट सम्मानित गर्ने गरेको छ । सोही अनुरूप वर्ष २०२५ को अवार्ड सिटिजन्सले प्राप्त गर्न सफल भएको हो । यस अवार्डबाट सम्मानित हुने बैंकहरुको वार्षिक सूची द फाइनान्सियल टाइम्सको म्यागजिन द बैंकर मार्फत प्रकाशित हुने गरेको छ । बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नव युवा लक्षित बचत खाता ‘सिटिजन्स जेनजी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डीजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।  फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेभिङ अकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गरेको छ । साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ । बैंकले देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना २ सय वटा शाखा, १६९ वटा एटीएम, ३ वटा विस्तारित काउण्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग इकाइबाट १९ लाख ५६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

यसकारण रोकियो नेपाल बैंकको डीसीईओ नियुक्ति

काठमाडौं । नेपाल बैंक सञ्चालक समितिको मंसिर पहिलो सातातिर बैठक बसेर नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) नियुक्त गर्ने तयारी थियो । तर, मंसिरको १७ गतेसम्म आइपुग्दा पनि बैंकमा डीसीईओ नियुक्त हुन सकेन । सञ्चालक महेश भट्टराईको संयोजकत्वमा डीसीईओ र एसीईओ छनोट समितिले क्रमसंख्या, कार्यसम्पादन मूल्याङ्कन लगायत विषय अध्ययन गरेर पेश गर्ने र सञ्चालक समितिले निर्णय गर्ने तयारी थियो ।  तर, सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि बैंकको डीसीईओ र एसीईओ नियुक्ति प्रक्रिया पछि धकेलिएको बैंक स्रोतले जनाएको छ ।  गत वर्ष बैंकको वार्षिक साधारण सभा ढिलागरी सम्पन्न भएको थियो । बैंक सञ्चालक समितिको विसं २०८१ फागुन ८ गते बसेको बैठकले विसं २०८१ चैत ६ गते ६५औं वार्षिक साधारण सभा बोलाएको थियो । सभामा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेण्डा थियो । बैंकको सञ्चालक बन्न बद्री खनाल, चुडामणी चापागाईं, विवेक शमशेर जबरा, रमेश दवाडी, ध्रुव भट्टराई (कर्मचारी सञ्चय कोषको प्रतिनिधि) र लक्ष्मी भट्टराईले सर्वसाधारण सेयरधनी समूहबाट उम्मेदवारी दिएका थिए । सञ्चालकबाट हटेको ६ महिना नपुग्दै जबराले पुनः उम्मेदवारी दिएर राष्ट्र बैंकको निर्देशन उल्लङ्घन गरेको र दुवाडीको न्यूनतम योग्यता नपुग्ने दाबी विरोधी तथा उजुरीका आधारमा निर्वाचन अधिकृत विद्याकान्त अधिकारीले दुई जनाको उम्मेदवारी रद्द गरे । यस्तै, लक्ष्मी भट्टराईले इच्छा नभएकाले आफ्नो राजीखुशीले उम्मेदवारी फिर्ता लिए । उम्मेदवारी दिएका ६ जनामध्ये ३ जना विभिन्न कारणले बाहिरिएँदा बद्री खनाल, चुडामणी चापागाईं र ध्रुव भट्टराई मात्रै उम्मेदवार थिए । सञ्चालक समितिको एजेण्डा अनुसार अन्तिममा ३ जना मात्रै रहे पनि निर्वाचन अधिकृतले निर्वाचित भएको भनेर घोषणा गरेका थिएनन् । तर, बैंक सञ्चालक बन्न आफूले दिएको उम्मेदवारी रद्द गराएको भन्दै विवेक शमशेर जबरा बैंक विरुद्ध अदालत पुगे । उच्च अदालत पाटनले चैत ६ गते तय गरेको निर्वाचन कार्यक्रम रोक्न अघिल्लो दिन ( चैत ५ गते) अन्तरिम आदेश दियो । बैंकको ६५औं वार्षिक साधारण सभा सम्पन्न भयो तर, निर्वाचन कार्यक्रम रोकियो । पछि अदालतले निर्वाचन कार्यक्रम विरुद्ध परेको रिट खारेज गरिदिएपछि विसं २०८२ असार २१ गते खनाल र भट्टराईलाई सञ्चालक समितिका अध्यक्षले पद तथा गोपनीयताको सपथ खुवाए । तर, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भइसकेका कारण चापागाईंले सञ्चालक पदको सपथ लिएनन् । खनाल अहिले पनि बैंकको सञ्चालक छन् । त्यसैगरी, कर्मचारी सञ्चय कोषको प्रतिनिधित्व गर्ने भट्टराईलाई फिर्ता बोलाएर गत असोज २४ गतेदेखि जीवनकुमार कटवाल बैंकको सञ्चालक छन् । त्यसपछि रोकियो डीसीईओ नियुक्ति प्रक्रिया भट्टराई नेतृत्वको डीसीईओ र एसीईओ सिफारिस समितिले निवेदन दिएका उम्मेदवारको क्रमसंख्या र कार्यसम्पादन मूल्याङ्कन अध्ययन गरिरहेको थियो । यहीबीचमा बैंकका सेयरधनी रामकुमार श्रेष्ठले बद्री खनाल र ध्रुव भट्टराई (हाल जीवनकुमार कटवाल)को सञ्चालक नियुक्ति प्रक्रिया विधिसम्मत नरहेको भन्दै सर्वाेच्च अदालतमा रिट दायर गरे ।  ‘विवेक राणाजीले दायर गरेको रिटमा अदालतको स्टेअर्डरका कारण निर्वाचनको परिणाम साधारण सभाबाट अनुमोदन हुन सकेन । तर, निर्वाचन प्रक्रिया सबै सम्पन्न भइसकेको थियो । पछि विवेकजीको रिटलाई खारेज गरेपछि यत्तिकै डिसमिस भयो,’ बैंक स्रोतले भन्यो, ‘बद्री खनाल, कर्मचारी सञ्चय कोषका ध्रुव भट्टराई र चुडामणि चापागाईं मात्रै अन्तिम उम्मेदवार थिए । तर, निर्विरोध निर्वाचित भनेर घोषणा भएको थिएन र साधारण सभाले पनि अनुमोदन गरेको थिएन ।’ सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गर्दै खनाल र कटवाललाई सञ्चालक समितिमा हाजिर नगर्न निर्देशन दियो । अल्पकालीन आदेश जारी गरेपछि तत्कालका लागि बैंकको डीसीईओ र एसीईओ नियुक्ति प्रक्रिया पनि रोकिएको बैंक स्रोतको भनाइ छ । किनकि डीसीईओ र एसीईओ सिफारिस समितिमा कटवाल पनि सदस्य छन् । कटवाललाई नै तत्काल काम नगर्न आदेश आएपछि केही समयका लागि नियुक्ति प्रक्रिया रोकिएको बैंक स्रोतको भनाइ छ । ‘दुई जना सञ्चालकलाई हाजिर नै नगराउनु भनिएको छ । अब मंसिर १९ गते छलफलका लागि बोलाइएको छ । १९ गते केही न केही निर्णय आउँछ होला । त्यसपछि मात्रै प्रक्रिया अघि बढ्ने देखिन्छ,’ बैंक स्रोतले भन्यो ।

जापानको ३१.७६ अर्ब ऋणमा कोटेश्वर फ्लाइओभर बन्ने, ब्याजदर ०.२ प्रतिशत

काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौता भएको छ ।  बुधबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा ऋण सम्झौता भएको हो । सम्झौतामा अर्थ सचिव डा. घनश्याम उपाध्याय र जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरे । त्यस्तै, ऋण सम्झौतामा अर्थमन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सह–सचिव डा. धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गरे । जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्ब जापानी येन (करिब ३१.७६ अर्ब) बराबरको ऋण सहायता उपलब्ध गराएको हो । जाइकामार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ०.२ प्रतिशत ब्याजदर रहने अर्थमन्त्रालयले जनाएको छ । यस आयोजनाअन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ । उक्त अन्डरपास तथा फ्लाइओभरले काठमाडौं, ललितपुर, भक्तपुर तथा बीपी राजमार्ग हुँदै चल्ने सवारीसाधनको आवागमन सहज बनाउन तथा ट्राफिक जाम न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा अर्थमन्त्रालयको छ ।  मन्त्रालयका अनुसार आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागमार्फत कार्यान्वयन गरिनेछ । जापानी राजदूत तोरुले जापानको सहुलियतपूर्ण ऋण सहयोगमा कार्यान्वयन हुने कोटेश्वर चोक सुधार आयोजना कार्यान्वयनबाट उपत्यकाको यातायात व्यवस्थामा उल्लेख्य सुधार हुने विश्वास व्यक्त गर्नुका साथै नेपाल र जापानबीचको दशकौं पूरानो मित्रतापूर्ण सम्बन्धको स्मरण गरेका थिए । अर्थमन्त्री खनालले आफ्नो सम्बोधनमा नेपाल-जापान सहकार्यअन्तर्गत काठमाडौं उपत्यकाको महत्वपूर्ण जामयुक्त स्थानको सुधारमा प्रगति ल्याउने उद्देश्यले अघि बढाइएको यो परियोजनाले राजधानीको यातायात व्यवस्थापनमा दीर्घकालीन परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । कार्यक्रममा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, जापानी दूतावास तथा जाइका नेपालका अधिकारीहरूको उपस्थिति रहेको थियो ।