श्रीलंकाको अर्थतन्त्र ‘कोल्याप्स’, देश टाँट पल्टेको घोषणा

काठमाडौं । श्रीलंकाले टाँट पल्टेको घोषणा गरेको छ । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रेमासिंघेले श्रीलंकाकाे अर्थतन्त्र अब टाँट पल्टिएको घोषणा गरेका हुन् । प्रधानमन्त्री विक्रेमासिंघेले बुधबार संसदलाई सम्बोधन गर्दै श्रीलंका आर्थिक रुपमा टाँट पल्टेर अर्थतन्त्र नै कोल्याप्स भएको बताएका हुन् । लामाे समयदेखि खाद्यान्न, इन्धन, विद्युत, औषधि  संकटबाट गुज्रिरहेको  श्रीलंका अब तेल पनि किन्न नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ । ‘अहिले हाम्रो अर्थतन्त्र गभ्भीर छ, हामी ठूलो चुनौति सामाना गरिरहेका छौं, अब हामीलाई विदेशबाट वस्तु आयात गर्नको लागि विदेशी मुद्राको सञ्चिति पनि छैन, हाम्रो अर्थतन्त्र टाँट पल्टिएको छ,’ उनले संसदमा भनेका छन् । उनले श्रीलंकामाथि रहेको ऋणको भारी सबैभन्दा ठूलो बोझ भएको बताएका छन् भने पर्यटनबाट हुने आम्दानी पनि शुन्यमा झरेको धारणाका छन् । यस्तै, उनले श्रीलङ्काले जुलाईको अन्त्यसम्ममा आईएमएफ कर्जा प्याकेजलाई अन्तिम रूप दिने बताएका छन् । उनका अनुसार आईएमएफसँग पहिलो पटक प्रत्यक्ष सम्बाद सोमबारबाट सुरु भएको र अब १० दिनसम्म चल्ने बताएका छन् । ‘श्रीलङ्काका लागि एक मात्र सुरक्षित विकल्प भनेको अन्तर्राष्ट्रिय मुद्रा कोषसँग छलफल गर्नु हो,  साँच्चै भन्ने हो भने यो हाम्रो एक मात्र विकल्प हो, हामीले यो बाटो अपनाउनु पर्छ,’ उनले भने । उनले सार्वजनिक वित्त, अर्थतन्त्र, कर्जा व्यवस्थापन, बैंकिङ क्षेत्रको स्थायित्व र सामाजिक सुरक्षाको जालोबारे आईएमएफसँग प्रारम्भिक छलफल सम्पन्न भएको बताएका छन् । वित्तीय तथा कानुनी सल्लाहकार फर्महरूसँग छलफलपछि जुलाईको अन्तसम्ममा श्रीलङ्काको कर्जा पुनःसंरचनाका लागि आधार तय गरिने उनकाे भनाइ छ । हाल श्रीलंका खतरनाक आर्थिक संकटसँग जुधिरहेको छ । अहिले आर्थिक संकटका कारण श्रीलंकामा महँगीले आकाश छोएको छ । श्रीलंकाको यो अवस्था हुनुको पछाडिको प्रमुख कारण भनेको विदेशी मुद्रा सञ्चिती हो । श्रीलंकासँग अहिले अत्यन्तै आवश्यक पर्ने सामानहरु आयात गर्नको लागि पनि विदेशी मुद्रा सञ्चित छैन । गत वर्ष मार्चमा श्रीलंकाले विदेशी मुद्रा भण्डार बढाउनको लागि आयातमा प्रतिबन्ध लगाएको थियो । यसबाट देशमा चिनी र इन्धन जस्ता अत्यावश्यक सामानको कमी आएको थियो । श्रीलंकाले आफ्नो विदेशी मुद्रा सञ्चिति बढाउनका लागि बाहिरी सहयोग मागिरहेको छ । श्रीलंकाले चीनसँग सहयोग मागेको थियो । तर, अहिलेसम्म चीनको तर्फबाट उसले सहयोग पाइसकेको छैन । श्रीलंकाले भारतसँग पनि सहयोग मागेको थियो । भारतले पनि श्रीलंकालाई खासै सहयोग गरेको छैन । अन्तर्राष्ट्रिय व्यापारका लागि विदेशी मुद्रा आवश्यक हुन्छ । विश्वभरी अमेरिकी डलर चल्छ । त्यसैले विदेशी मुद्रा सञ्चितीमा अमेरिकी डलर सबैभन्दा धेरै हुन्छ । विश्वको ८५ प्रतिशत व्यापार अमेरिकी डलरमा हुन्छ । ऋण पनि डलरमै दिइन्छ । यदि विदेशी मुद्रा सञ्चिती भएन भने व्यापार गर्न कठिनाइ हुन्छ । अन्य देशबाट सामान किन्न समस्या हुन्छ । कुनै पनि देशले लामो समयसम्म डलर बिना अन्य मुद्रामा सामान दिन सक्दैन ।

‘ब्याजदर अझैं बढ्छ, नेपाल श्रीलंकाकै हालतमा पुग्न सक्छ’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुको ब्याजदर अझैं बढ्न सक्ने बताएका छन् । उनले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै बैंकहरुको ब्याजदर अझै बढ्ने बताएका हुन् । उनले ब्याजदर बढेमा उद्योग व्यवसायीले पनि स्वीकार गर्नुपर्ने धारणा राखे । ‘आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदर ८ प्रतिशत हुने, ७ प्रतिशतको मुद्रास्फीतिको सीमा कायम गर्ने भनेको छ, अर्को वर्ष धेरै मानिसहरुले चुनौती अवस्था रहने अनुमान गरिहरको देख्छौं, हामी पनि त्यसको लागि तयारी हुनुपर्छ, पछिल्लो समय ब्याजदरका रेटहरु बढी रहेका छन्, अझैं बढ्ने देखिन्छ, त्यसलाई हामीले स्वीकार्नुपर्छ,’ उनले थपे । उनले अर्थतन्त्रका लागि जिम्मेवार पक्षहरु सबैजना आ-आफ्ना दायित्वमा इमानदार भएमात्रै अहिलको शंकटको सामना गर्न सकिने बताउँदै कुल गार्हस्थ उत्पादनको १०७ प्रतिशतको ऋण कसले चलाएको छन् भन्ने प्रश्न समेत गरे । यस्तै गभर्नर अधिकारीले अहिले अर्थतन्त्रमा उतारचढाव आउँदा उद्योग व्यवसाय क्षेत्रमा प्रभाव पर्नु स्वभाविक रहेको भन्दै दुई वर्ष अगाडिको भन्दा अहिले निजी क्षेत्र कम्फरटेवल जोनमा नै रहेको धारण राखे । यस्तै, गभर्नर अधिकारीले आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्न सक्ने बताए । उनले अत्याधिक आयात गरेर भएको विदेशी मुद्रा सञ्चितिसमेत सिध्याउँदै गएकाले अब आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने बताए । उनले उद्योगी व्यवसायी लगायत सबैले नेपालमा नै उत्पादन बढाएर आयात नभइ निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने सोच राखेमात्रै मुलुकको अर्थतन्त्र लयमा आउने बताए । गभर्नर अधिकारीले पछिल्लो समय विदेशबाट आएको रेमिट्यान्सले उत्पादन नभइ विदेशबाट नै आयात गर्नाले देशको विदेशी मुद्रा सञ्चितिमा गिरावट आइरहेको बताए । ‘अब जबसम्म हाम्रो सोच मान्छे बाहिर पठाउने, रेमिटेन्स आएको छ, त्यो पैसाले आयात गरेका छौं, त्यो खाँचो छ, उत्पादन छैन, नेपालमा भएको डलर पनि सिध्याउँदै जान्छौं, आयात बराबर डलर आउने माध्यम बनाउन सक्नुपर्याे नी ? त्यो योजना हाम्रो हुनुप¥यो, त्यति गर्न सकेनौं, त्यो बेलासम्म विदेशी मुद्रा सञ्चिति धमिराले खाएझैं गयो भने हामीलाई भोलि समस्या पर्छ, त्यसकारण हामी सबै शतर्क र सजक रहौं भने हाम्रो अर्थतन्त्रलाई ठाउँमा नै राख्न सक्छौं, जनताले दुःख गरेर ल्याएको सम्पति बैंक तथा वित्तीय क्षेत्रलाई जिम्मा दिएका छन्, त्यसलाई हामीले सही सदुपयोग गरेर आन्तरिक उत्पादन बढाउनतिर लगाउनु पर्याे,’ उनले भने । गनर्भर अधिकारीले मौद्रिक नीति जादुको छडी नभएको पनि बताएका छन् । उनले मौद्रिक नीति राष्ट्र बैंकको उद्देश्य अनरुप सन्तुलित र समग्र आर्थिक क्षेत्र समेट्ने गरी ल्याइने बताए । गभर्नर अधिकारीले मौद्रिक नीति बनाउनको लागि सरकारको बजेटले मार्ग दिएको बताए । यस्तै, उनले कोभिडको समयमा मौद्रिक नीति सन्तुलित र समग्र आर्थिक क्षेत्र समेट्ने ल्याउन चुनौतीपूर्ण भएपनि राष्ट्र बैंकले ल्याएर सबैका मागलाई सम्बोधन गरेको बताए । उनले राष्ट्र बैंकले ल्याउँदै आएको मौद्रिक नीति कुनै एउटा क्षेत्र, व्यक्तिभन्दा पनि समग्र अर्थतन्त्रको माग अनुसार लिएर आउने गरेको बताए । ‘वर्तमान मुलुकको अर्थतन्त्रमा देखिएका समस्या वास्तविक सिनारियो हो, दुई वर्ष अगाडिको मौद्रिक नीति ल्याउँदा कोभिडको ठूलो समस्या रहेको थियो, त्योभित्र पनि हामीले लकडाउन भएको अवस्थामा मौद्रिक नीति ल्याएका थियौं, त्यतिबेला सबैले ब्रेडिङ स्पेस खोज्नुभएको थियो, त्यो स्पेस दिनलाई चुनौतीपूर्ण अवस्था थियो, कसरी ल्याउने कसरी समेट्ने र कसरी अर्थतन्त्रलाई चलायमान बढाउने एक खालको चुनौतीपूर्ण अवस्था थियो, त्यो बेला निजी क्षेत्र लगायत सबैको सहयोगले त्यो बेला नीति ल्यायौं, त्यो नीतिले सहयोग ग¥यो र स्पेस दियो,’ उनले भने । गभर्नर अधिकारीले गत वर्षको मौद्रिक नीति अर्थतन्त्रको स्थायित्व दिनको लागि ल्याएपनि केही क्षेत्रमा असर परेको स्वीकार गरे । उनले मौद्रिक नीति बनाउँदा वा कुनै काम गर्दा सुधार गर्ने कुरा छोड्यो भने समस्या आउने भन्दै मौद्रिक नीति सुधार भएर आउने संकेत गरे ।

पेट्रोलको मूल्यवृद्धिसँगै साइकल किन्ने बढे, स्टक सकिँदा बढ्यो मूल्य

काठमाडौं । साइकल चलाउनु कतिपयको बाध्यता हुन्छ भने कयौंको ‘प्यासन’ हुन्छ । धेरैको रोजिरोटी साइकल चलाएर चल्छ भने अधिकांश मानिस फिटनेसका लागि साइकलको प्रयोग गर्छन् । केही समयअघि राजधानी काठमाडौंमा साइकल चलाएका मानिसहरु कमै देखिन्थे । बिहान बेलुका फिटनेस भन्दै सडक छेउछाउमा देखिने हुनेखाने वर्ग र दिनभर साइकलमै घुमेर साँझको लागि एक छाक टार्ने हुँदाखाने वर्गको लागि साइकल प्रिय छ । ती दुई वर्ग बाहेक अन्यले साइकल खासै प्रयोग गर्दैनन् । तर, पछिल्लो केही सातादेखि भने धेरैको रोजाइ साइकल बनेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै अधिकांशले घरमै मोटरसाइकल थन्क्याएर साइकल प्रयोग गर्न थालेको विभिन्न तथ्यांकले देखाउँछ । नेपाल आयल निगमले नै बैशाख महिनामै ११ प्रतिशतले पेट्रोलियम पदार्थको प्रयोग घटेको देखाएको छ । सरकारले आइतबार र शनिबार सार्वजनिक विदा दिनु र मोटरसाइकल प्रयोगकर्ताले साइकल प्रयोग गर्नाले पनि पेट्रोलियम पदार्थको प्रयोग घटेको बुझ्न सकिन्छ । साइकल व्यापारीहरु पनि आयल निगमले पेट्रोलियम पदार्थको मूल्य उच्च रुपमा बढाएपछि साइकलको माग ह्वात्तै बढेको बताउँछन् । उनीहरुका अनुसार अहिले साइकलको बजारमा माग बढेर आपुर्ति गर्न सकिएको छैन । पछिल्लो समय नेपाली बजारमा विभिन्न ब्रान्डका गियर साइकल, साधा देखि विद्युतिय साइकलहरू खरिदबिक्री भइरहेका छन् । बजारमा साइकलको माग बढ्दै गएपछि साइकलको मूल्य पनि बढेको छ । अहिले बजारमा प्रति साइकल २ हजारदेखि ४ हजार रुपैयाँसम्म मूल्यवृद्धि भएको साइकल व्यापारी बताउँछन् । ३१ वर्षदेखि काठमाडौंको असनमा साइकल बिक्री गर्दै आएका लक्ष्मी साइकल सेन्टरका सञ्चालक उत्तम मानन्धर पेट्रोलियम पदार्थको मूल्यवृद्धि पछि साइकलको माग ह्वात्तै बढेको बताउँछन् । उनले साइकलको माग बढेर अभाव हुँदा मूल्य पनि बढेको बताए । मानन्धरका अनुसार २० हजार रुपैयाँदेखि ६ लाख रुपैयाँसम्मका विभिन्न ब्रान्डका साइकल उनको पसलमा पाइन्छन् । साइकलमा विपन्न वर्गदेखि उच्च वर्गका ग्राहकसम्म आकर्षित गर्ने भएको र स्वास्थ्यको लागि पनि साइकल उपयोग हुने उनको भनाइ छ । ‘राजधानीमा साइकलको व्यापार राम्रो छ, बच्चादेखि वृद्धसम्मले साइकलको आवश्यकतालाई मध्यनजर गरेर प्रयोग गर्छन्, सामानको ढुवानीदेखि आवतजावत पनि प्रयोग गर्न साइकल मिल्छ, त्यसैले साइकलको खपत बढ्दो नै छ,’ उनले भने । उनका अनुसार २० देखि २५ हजार रुपैयाँसम्मका साइकल बढी बिक्री हुन्छन् । ‘अहिले ६० प्रतिशतले साइकल स्वास्थ्यको हिसाबले प्रयोग गर्छन् भने बाँकी ४० प्रतिशतले मात्र सवारीको रूपमा प्रयोग गरेको देखिन्छ,’ उनले भने । मानन्धरका अनुसार ९० प्रतिशत साइकल चीनबाट र बाँकी १० प्रतिशत मात्र भारतबाट आयात हुन्छ । कोरोना भाइरसको समयदेखि ब्रान्डेड साइकलको अभाव रहेको पनि मानन्धरले बताए । उनले जाइन्ट ब्रान्डका विभिन्न मोडलका साइकलहरूको खरिद बिक्री गर्दै आएका छन् । माग अनुसार साइकल आपुर्ति गर्न नसकेको पनि उनको भनाइ छ । उनले महिनामा औसत ११ लाख रुपैयाँसम्मको कारोबार हुने बताए । यस्तै, अर्का साइकल व्यापारी सिसन श्रेष्ठ लकडाउनपछि साइकल व्यापार केही खस्किए पनि अहिले पुनः बढ्न थालेको बताउँछन् । उनले पनि अहिले साइकलको मूल्यवृद्धि भएको बताए । ‘अहिले एउटै साइकलमा ३/४ हजार रुपैयाँ मूल्य बढेको छ तर, हामीसँग भएको स्टकलाई पहिलाको रेटमा नै दिन्छौं, आयात गर्दा मूल्यवृद्धि भयो भने साइकलको मूल्यवृद्धि गर्नु पर्ने हुन्छ, हामी पुरानै मूल्यमा बिक्री गरिरहेका छौं,’ उनले भने । उनले ज्यालक्स लगायतका ब्रान्डका साइकलहरू बेच्दै आएका छन् । यस्तै, कालिमाटीमा साइकलको व्यापार गर्दै आएका अमित कुमार पनि अहिले साइकलको मूल्यवृद्धि भएको बताउँछन् । ५ वर्ष देखि साइकलको व्यापार गर्दै आएका उनी भन्छन्, ‘अहिले हामीसँग पहिला नै स्टक गरेका साइकलहरू पर्याप्त छन्, नयाँ थपेका छैनौं ।’ उनले जिटिए, एभरेष्ट, सन्तोसा, जिटानो, डिस्कोवर, क्लाइबीङ लगायतका ब्रान्डका साइकलहरू बिक्री गर्दै आएकाे बताए । पौने ४ लाख साइकल आयात साइकल व्यापारीहरुका अनुसार नेपालमा अधिकांश साइकल आयात चीनबाट हुन्छ । ९० प्रतिशत साइकल चीनबाट आउँदा १० प्रतिशत साइकल भारतबाट आउँछन् । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपालमा ३ लाख ८४ हजार ३९३ वटा साइकल नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार जेठसम्म ११ महिनामा कुल एक अर्ब ८९ करोड ८६ लाख ९१ हजार नेपाली रुपैयाँ साइकल खरिद गर्नका लागि बाहिरिएको छ । साइकल आयातबाट सरकारले ३४ करोड ९६ लाख ७६ हजार राजश्व संकलन गरेको छ । ११ महिनाको अवधिमा १३७१ विद्युतीय साइकल नेपाल भित्रिएका छन् । विभिन्न देशबाट उक्त साइकल नेपाल ल्याउँदा ६ करोड ४४ लाख नेपाली रुपैयाँ बाहिरिएको छ भने सरकारले एक करोड ५५ लाख ९६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।