टुकी बालेर सीए टप, २७ वर्षको उमेरमै सीईओ

काठमाडौं । २७ वर्षकै उमेरमा एउटा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ! यो जिज्ञासा, प्रश्न र चासो तपाइँमा पनि पक्कै पलाउँछ । यही प्रश्न तिनै सीईओ विनय खड्कालाई पनि धेरैले गर्छन् । अझै चाखलाग्दो कुरा त के भने विनयले काम सुरु गरेको ४ वर्षमै खल्ति डिजिटल वालेको सीईओ बन्ने अवसर पाए । ‘२७ वर्षकै उमेरमा कसरी सीईओ बन्नु भयो, काम गरेको ४/५ वर्षमै सीईओ बन्न् सम्भव छ र ? भनेर धेरैले प्रश्न गर्नु हुन्छ, मैले पनि नेपालमा फिनटेक इन्ड्रस्टी आएको पनि ५/६ वर्ष नै त भयो भनेर जवाफ दिन्छु, व्यक्तिसँग अनुभव छैन भने ज्ञानले काम चलाउने हो,’ सीईओ बनिसकेपछि आफ्नो अनुभव सुनाउँदै खड्काले भने । खड्का आफुले उमेरलाई नम्बर मात्रै नभने पनि अनुभव र वर्षलाई भने तुलना गर्न नहुने धारणा राख्छन् । उनी भन्छन्, ‘एक दिनमा २४ घण्टा हुन्छ, कोही मान्छेले बिहान १० देखि साँझ ५ बजेसम्म काम गर्छ र अर्कोले बिहान ७ बजेदेखि राति १० बजेसम्म काम गर्छ भने त्यसमा उमेर र अनुभव तुलना गर्न मिल्दैन, कुनैले एक वर्षमा सिक्ने काम अर्कोले एक महिनामा पनि सिक्न र प्राप्त गर्न सक्छ ।’ ‘जे जस्ता अवसर र चुनौतिहरु आएपनि मेरा लागि एक्साइटमेन्टका रुपमा नै आइरहेका छन्, एउटा कम्पनीको सीईओ त बनेँ तर सिक्नु पर्ने र गर्नु पर्ने काम धेरै छन्, अझै पनि म मेरो पफर्मेन्सप्रति सन्तुष्ट छैन,’ उनले थपे । खल्ति डिजिटल वालेटका सीईओ खड्काको घर नुवाकोटको शिवपुरीमा हो । वि.स. २०५१ सालमा जन्मिएका खड्का गत वर्षको कात्तिकमा खल्तिको सीईओ बने । उनी सीईओ बेनपछि अहिले खल्तिको विजनेस विस्तारमा रणनीतिक किसिमले काम गरिरहेका छन् । शिक्षित परिवारमा जन्म विनयका बुबा सरकारी शिक्षक । आमाले पनि सुरुमा गाउँमै बुवासँगै पढाउँथिन् । गाउँमा पढाइका लागि खासै राम्रो वातावरण नमिलेपछि विनयकी आमाले छोराछोरी (विनय र विनयकी बहिनी) लिएर काठमाडौं आइन् । ‘गाउँमा पढाइको लागि राम्रो वातावरण थिएन, नुवाकोट भएपनि त्यतिखेरै टुकी बालेर पढ्नु पर्ने अवस्था थियो, पछि आमाले बहिनी र मलाई काठमाडौं लिएर आउनु भयो,’ उनले आफ्नो बाल्यवास्था सम्झदै भने । सुरुमा उनीहरु काठमाडौंको बालाजुमा बसे । नुवाकोटको स्याउरेभूमि माद्यामिक विद्यालयमा कक्षा ४ मा पढेका उनी कक्षा ५ मा काठमाडौंको बालाजुमा पढे । काठमाडौंमा बसेर खर्च धान्न नसकेपछि उनकी आमाले नक्सालमा काम गर्न सुरु गरिन् । फेरि उनीहरु बालाजुबाट नक्सालमा बस्ने भए । उनी ६ कक्षामा काठमाडौं इङ्गलिस स्कूलमा भर्ना भए । उनले १० कक्षासम्म त्यही पढे । आमाले पनि कमाउन थालेपछि खर्च चलाउन सहज भयो । ‘कक्षा ८ सम्म म पढाइमा एकदमै कमजोर थिएँ, गाउँमा पनि खासै पढ्थेनँ, ८ कक्षापछि भने पढ्नु पर्छ भन्ने महसुस भयो, पछि पढाइ राम्रो हुँदै गयो,’ उनले आफ्नो विगत स्मरण गर्दै भने । जीवनको त्यो उत्कृष्ट अंक सानोमा विनयलाई धेरैले कमजोर विद्यार्थीका रुपमा चिन्थे । उनी भन्छन् ‘पछाडिबाट गन्दा म एक/दुई नम्बरमा पर्थें होला, कक्षा ‘बंक’ गर्ने हुन्थ्यो, स्कूल नजिकै खोला थियो, पढ्न छाडेर पौडी खेल्न जान्थें, बुबाको कक्षा पनि धेरै दिन बंक गरेर धेरै पटक पौडी खेल्न गएको छु ।’ तर उनी सधैं कमजोर बनेन् । कक्षा १० अर्थात् एसएलसी (एसईई) मा आफ्नो विद्यालयको सबैभन्दा बढी अंक ल्याउने विद्यार्थी भने विनय । उनले एसएलसीमा ८३ प्रतिशत अंक ल्याए । जुन आफ्नो जीवनको सबैभन्दा बढी अंक भएको उनी सुनाउँछन् । ‘जिन्दगीको सबैभन्दा बढी अंक १० कक्षामा आयो, ८ कक्षासम्म पढ्नु पर्छ भन्ने बुद्धि आइसकेको थियो, गाउँमा पढ्दा कमजोर विद्यार्थी थिएँ तर ९/१० कक्षासम्म आइपुग्दा मेहेनती विद्यार्थीका रुपमा परिचित भइसकेको थिएँ, एसएलसीमा म पढ्ने स्कूलबाट दुई जनाले मात्रै डिस्टिङसनमा पास गर्यौं,’ उनले भने । ‘अहिले पनि पुरानो सर्टिफिकेट हेर्यो भने आफैलाई हाँसो लाग्छ, बल्ल-बल्ल पास हुन्थेँ, आफ्नै बुबा शिक्षक भइसकेपछि पढ्नु पर्छ भन्ने महसुस हुन्थेन, पढाइ भन्ने कुरा आत्मबोध नगर्दासम्म नहुने रहेछ, उनले मुस्कुराउँदै भने, ‘त्यतिखेर प्रथम भएको भएपनि के हुन्थ्यो होला र ।’ विनयले ‘प्लस टु’ पढ्नका लागि चाबहिलको सेन्ट लरेन्स कलेजमा भर्ना गरे । व्यवस्थापन विषयमा कम्प्युटर साइन्स विषय लिएर उनले पढ्न सुरु गरे । १२ कक्षा पनि उनले डिस्टिङसनमै पास गरे । सिए बन्ने रहर कक्षा १२ उत्कृष्ट अंकका साथ पास गरेपछि उनलाई चार्टर्ड एकाउन्टेन्ट (सीए) बन्ने रहर पलायो । घरको आर्थिक अवस्था मध्यम खालको थियो । बुबा नुवाकोटमै पढाउँथे । कक्षा १२ को परीक्षा दिएकै वर्ष उनी सीएमा भर्ना भए । सीएसँगै उनले शंकरदेव कलेजमा व्यवस्थापन संकायमा पनि भर्ना गरे । तर, शंकरदेव कलेजमा एक दिन पनि नगएर परीक्षा दिएको उनी सुनाउँछन् । ‘सीए बन्ने मेरो रहर थियो, सीए फेल भयो भने विकल्पका रुपमा शंकरदेवमा भर्ना गरेको थिएँ तर कलेज कहिल्यै गइनँ, नेपालमा इञ्जिनियर पढ्ने वा विज्ञान पढेर डाक्टर पढ्ने इच्छा हुनेले आर्थिक अवस्थामै कारण पढ्न नसक्ने अवस्था थियो, धेरै खर्च हुने तर त्यसको प्रतिफल के कस्तो आउने भन्ने सुनिश्चित पनि हुन्थेन, चार्टर्ड एकाउन्टेन्ट पढ्नका लागि ३/४ लाख रुपैयाँ भयो भने प्रशस्त हुन्थ्यो, बरु मेहेनत धेरै गर्नु पर्थ्यो,’ त्यसैले सीए नै रोजेँ,’ उनले भने । उनले सीएआई कोचिङ इन्स्टिच्यूटमा सीए पढे । पास पनि भए । सीए पढ्दा पढ्दै उनले जोशी एण्ड भण्डारी फर्ममा आर्टिकलसीप गरे । सोही बेला उनले देशका विभिन्न ५०/६० फर्मसँग जोडिएर अडिट गर्ने अवसर पाए । उनी अडिटको सिलसिलामा सुदूरपश्चिमको दार्जुला बझाङदेखि पूर्वी नेपालसम्म पुगे । ब्याजका टपर उनी सन् २०१७ का सिएमा आफ्नो ब्याचका टपर हुन् । तर, टपर बन्नका लागि उनले धेरै अंक भने ल्याउनु परेन । ‘म सेकेण्ड डिभिनवाला नेपाल टपर हो, अन्य क्षेत्रमा टप भनेपछि ९०/९५ प्रतिशत अंक आउँछ तर सीएमा त्यति धेरै आउँदैन, ५० प्रतिशत आएन भने फेल भइन्छ, ५२/५३ प्रतिशत आयो भने टप भइन्छ, त्यतिखेर नियमिततर्फ दुई जनामात्रै पास भएका थियौं, उनले भने, ‘म गोल्ड मेडलिष्ट र अर्को साथी सिल्भर मेडलिष्ट ।’ उनलाई आफ्नो रजिष्ट्रेसन नम्बर (१०२६) अहिलेसम्म स्मरण छ । त्यतिखेर सीएको नतिजा हरेक वर्षको अगष्ट १५ मा आउँथ्यो । तर, त्यो वर्ष अगष्ट १४ मा आएको उनलाई अहिलेसम्म सम्झना छ । ‘रिजल्ट आउँछ भन्ने कुनै मतलब नै थिएन, म आफ्नै तालमा थिएँ, एक जना दाईले फोन गरेर बधाइ दिनुभयो, मलाई जिस्केको जस्तो भयो, पछि आफैले देखेपछि धेरै खुसी भएँ, मेरो लागि त्यो अविस्मरणीय क्षण थियो,’ उनले सन् २०१७ अगष्ट १४ लाई स्मरण गर्दै भने । बैंकमा पनि काम गरेको अनुभव सीए टप भएपछि विनयलाई धेरै ठाउँबाट कामको अफर आयो । त्यो अफर एनआइसी एशिया बैंकबाट पनि आयो । उनले सोही बैंकमा काम गर्ने योजना बनाए । सन् २०१७ मै एनआइसी एशिया बैंकमा काम सुरु गरे । उनले एनआइसी एसिया बैंकमा ४/५ महिना काम गरे । ‘४/५ महिना काम गरेपछि बोर भयो, त्यसपछि काम छोडेँ, हरेक डिपार्टमेन्टको काम गर्ने तरिका विश्लेषण गरेर त्यसलाई परिवर्तन गर्नु पर्ने विभागमा म काम गर्थें, त्यो मेरा लागि ठूलो सिकाइ बन्यो, त्यसपछि डिजिटल सेगमेन्ट पनि हेर्न थालेँ तर पछि काम छोडेँ, उनले भने । उनले सन् २०१८ को सुरुवातमा एनआइसी एशियाबाट काम छाडेर इसेवामा गए । इसेवामा पनि कर्पोरेट डिपार्टमेन्टको नेतृत्वका रुपमा जिम्मेवारी पाए । इसेवामा पनि उनले एक वर्ष काम गरे । जहाँ आफूलाई एक्सपोज हुन धेरै सहयोग पुगेको उनी सुनाउँछन् । ‘एनआइसी एशिया बैंकमा आकर्षक तलब, ऋण सुविधा, बोनस लगायतका धेरै राम्रा सुविधा थिए तर ती सबै सुविधा छोडेर कम तलबमा म इसेवामा काम गर्न गएँ, किनकी मैले सिक्नु थियो, मेरो त्यो निर्णयले नै मलाई आजको दिनमा ‘पेअफ’ गरिरहेको छ, पैसा कमाउने, करिअर बनाउने र सन्तुष्ट हुने भन्ने कुरा फरक हुन्, उनी भन्छन्, ‘एउटा लेभलमा पैसा चाहिन्छ त्यसपछि तपाइँले खुसी र भिजन हेर्ने हो । फेरि उनी इसेवाबाट काम छोडेर एनआइसी एसियाम बैंकमै फर्किए । ‘मैले अहिलेसम्म ग्राउण्ड लेभलमा बसेर काम गरेको छैन, सिनियर पोजिसनमै रहेर काम गरेँ, एनआइसी एसियामा पनि हेड अफ डिजिटल मार्केटिङका रुपमा साढे २ वर्ष काम गरेँ,’ उनले भने । २७ वर्षको उमेरमा सीईओ उनी गत वर्ष डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ को सीईओका रुपमा नियुक्त भए । नेपालको फिनटेक उद्योगमा सबैभन्दा कम उमेरमा सीईओ बन्ने व्यक्ति हुन् विनय । धेरैले उनलाई सानै उमेरमा सीईओ बनेकोमा प्रश्न र जिज्ञासा राख्छन् । तर, उनी भन्छन्,‘ मैले काम गरेको ४/५ वर्ष भयो त्यसअघि पनि तीन वर्ष अडिटरका रुपमा ठूला–ठूला कम्पनीको अडिट गरेको छु, फिनटेक इन्ड्रस्टी आएको पनि त ५/६ वर्ष मात्रै भयो ।’ उनी खल्तीमा काम गर्ने हरेक कर्मचारी आफ्नो उमेरको भएकै कारण पनि आफूलाई काम गर्न सहज भएको सुनाउँछन् । ‘ट्यालेन्ट हुनु र पास हुनु फरक विषय हुन्, सबै ट्यालेन्ट मान्छे पास हुन्छन् भन्ने पनि हुँदैन, रिजल्ट ल्याउनु र दुःख गर्नुमा फरक छ, सबैको आ-आफ्नो फर्मुला हुन्छ तर मलाई काम गर्दै गर्दा फिल्डमा ब्याक हुनु परेको छैन, सबैले विश्वास गर्नु हुन्छ, धेरै कुरा बुझेर नै २७ वर्षको उमेरमा एउटा कम्पनीको सीईओको रुपमा सुम्पिनु पनि विश्वासको कारण नै हो, ‘उनी भन्छन्, ‘सीए टप हुुनु र मेरो काम गराइमा पनि धेरै समानता छ ।’ उनी व्यक्तिको पफर्मेन्सको कारण नै पोजिसन (पद) पाउने धारणा राख्छन् । तर, अहिले पनि आफू आफ्नो पफर्मेन्ससँग सन्तुष्ट नभएको धारणा राख्छन् । विनय भन्छन्, ‘गर्नु पर्ने धेरै छ, सम्भावनाहरु धेरै छन् तर तुलना कोसँग गर्ने भन्ने हो ।’ गत वर्ष हृदयघातको कारण उनका बुबाको कलिलै उमेरमै निधन भयो । बुबाको निधनले एक किसिमको जिम्मेवारी उनीमाथि थपिएको छ । आमा वन मन्त्रालयमा कार्यरत छिन् । परिवारसँगै आफ्नो काममा सन्तुष्ट हुने प्रयत्नमा विनय छन् । उनलाई ‘पोडकाष्ट’ सुन्न खुबै मन पर्छ । त्यस अलवा ट्रेकिङमा जान र युवाहरुसँग ‘इन्टरयाक्ट’ गर्न उनलाई धेरै मन पर्छ । अब उनी खल्ती डिजिटल वालेटको विजनेस विस्तारमा नै फोकस हुने सुनाउँछन् । ‘कर्मचारी, सेयरधनी र ग्राहक लगायतको जिम्मेवारी नेतृत्वमा नै हुनुपर्छ, एप्रोजमा परिवर्तन अवश्य नै हुन्छ, नेतृत्व सम्हालिसकेपछि चुनौति अवश्य नै हुन्छन् तर चुनौतिहरुसँगै रमाएर काम गर्न मलाई मज्जा लाग्छ,’ उनी भन्छन्,‘ जेजस्ता अवसर र चुनौतिहरु आएपनि मेरा लागि एक्साइटमेन्टका रुपमा नै आउँछन् ।

कोरोना बीमाको १ अर्ब रकम कसरी वितरण गर्ने ? अन्योलमा बीमा समिति

काठमाडौं । कोरोना बीमाको पैसा वितरण गर्नमा बीमा समिति नै अन्योलमा परेको छ । अर्थमन्त्रालयले निकासा गरेको कोरोना बीमाको दावी भुक्तानी वापतको एक अर्ब रुपैयाँ कसरी वितरण गर्ने भन्नेमा समिति अन्योलमा देखिएको हो । समितिका अनुसार अर्थमन्त्रालयले दशै लगत्तै अर्थात असोज २३ गते बीमा समितिको खातामा एक अर्ब रुपैयाँ पठाएको थियो । पैसा पाएको करिब दुई साता बित्न लाग्दा पनि समितिले बीमितलाई के कसरी वितरण गर्ने भनेर टुङ्गो लाउन सकेको छैन । ‘अर्थमन्त्रालयबाट एक अर्ब पैसा आयो तर अब कसरी बाड्ने ? छलफल गर्दै छौं, टुङ्गो लागेपछि भन्छौं,’ समितिका कार्यकारी निर्देशक राजुरमण पौडलले बताए । लामो समयपछि सरकारले आफ्नो दायित्वमध्ये एक अर्ब रुपैयाँ मात्रै निकासा गरेको छ । सरकारबाट पूर्ण रुपमा रकम नआईसकेकोले रकम वितरण गर्नलाई बीमा समिति अन्योलमा परेको हो । यसमा सहजीकरणका लागि समितिले निर्जीवन बीमा कम्पनीका सीईओहरुको छाता संस्था बीमक संघसँग राय सुझाव माग गरेको छ । ‘कोरोना बीमाको भुक्तानी कम्पनीहरुले गर्ने हो, यसअघि के कसरी वितरण गरिएको थियो, पहिलाको सिष्टम के थियो, फष्ट कम फष्ट सर्भिस मार्फत जाने हो की कसरी जाने हो ? यस विषयमा गहन छलफल गरी निश्कर्ष निकाल्न बीमक संघलाई भनेका छौं, अब के निर्णय आउँछ, त्यसपछि मात्रै ठोेस निर्णय होला,’ कार्यकारी निर्देशक पौडेलले भने । बीमक संघले पनि हालसम्म यो विषयमा कुनै छलफल गरेको छैन । समितिले आफूहरुलाई मोडालिटी तयार पारेर पेश गर्न आग्रह गरेको तर हालसम्म छलफल नभएको जानकारी गराउँदै संघका चंकी क्षेत्रीले छिट्टै मिटिङ बसेर निश्कर्ष निकाल्ने बताए । ‘भुक्तानी हुन १० अर्ब बढी बाँकी छ, एक अर्ब आयो, कसरी बाड्ने ? कसलाई बाड्ने ? हात्तीको मुखमा जिरा भनेजस्तै भएको छ,’ सगरमाथा इन्स्योरेन्सका सीईओ समेत रहेका क्षेत्रीले विकासन्युजसँग भने, ‘तर आएको पैसा सकेसम्म छिटो बाड्नुपर्छ ।’ सरकारले आफ्नो दायित्व वापतको सबै पैसा निकासा नगरेकोले रकम वितरण पछि विवाद निम्तिन सक्ने अनुमान धेरैको छ । तर, विवाद ननिस्किने तवरबाट आफूहरु अघि बढ्ने समितिको भनाइ छ । ‘आएको पैसा सकेसम्म छिटो वितरण गर्नेछौं, भलै ढिलै भएपनि विवाद नआउने ढंगबाट समिति अघि बढ्ने छ,’ कार्यकारी निर्देशक पौडेलले भने । साथै, अब सरकारले बाँकी पैसा कहिले देला ? भन्ने विकासन्युजको प्रश्नमा पौडेल भन्छन्– ‘यही पैसा त बल्ल बल्ल आएको छ, ढिलै भएनी सरकारले दिन शुरु गरेको छ, अहिले यसमै खुशी हौं ।’ कोरोना बीमा मार्गदर्शन २०७७ अनुसार १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा गरेका थिए । जसमध्ये १ लाख ६५ हजार ५९ बीमितले १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रूपैयाँ बराबरको दावी दिएका थिए । त्यसमध्ये ५१ हजार ६६९ जना बीमितले कूल ४ अर्ब ९८ करोड रुपैयाँ बराबरको दावी भुक्तानी भइसकेको छ । र, बाँकी रहेको एक लाख १३ हजार ३९० जना बीमितलाई १० अर्ब ८४ करोड रुपैयाँभन्दा बढी दावी भुक्तानी गर्न बाँकी रहेको समितिले जनाएको छ । कोरोना बीमा मापदण्ड अनुसार बीमा कम्पनीहरुले एक अर्ब रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब रुपैयाँ, बीमा कम्पनीहरुको महाविपत्ति कोषबाट ५० करोड रुपैयाँ र बीमा समितिको तर्फबाट एक अर्ब रुपैयाँ भुक्तानी गर्ने व्यवस्था छ । त्यसभन्दा बढी दाबी परेमा सम्पूर्ण रकम सरकारले भुक्तानी गर्ने मापदण्डमा उल्लेख छ । यद्यपि, कम्पनीहरुले कोरोना मापदण्डअनुसार कम्पनीहरुले भुक्तानी गर्नु पर्ने सबै रकम भुक्तानी गरिसकेका छन् । तर, यता सरकारबाट रकम निकासा नभएकाले कोरोना बीमाको भुक्तानी पूर्ण रुपमा रोकिरहेको छ । सरकारले रकम निकासा गरेपछि मात्रै बीमितलाई दावी भुक्तानी गर्नेमा कम्पनीहरु छन् ।

आजदेखि चालू पुँजी कर्जा मार्गदर्शन लागू, बैंकहरुलाई ११ अर्बको दबाब

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको चालू पुँजी कर्जा मागनिर्देशन २०७९ आज (मंगलबार) देखि लागू भएको छ । गत भदौ ७ गते सार्वजनिक भएको सो माग निर्देशन आजदेखि लागू भएको हो । नेपाल राष्ट्र बैंकले सो मार्गनिर्देशमार्फत् कुनै पनि संस्थालाई चालू पुँजी प्रकृतिको अल्पकालीन कर्जा दिनुभन्दा अगाडि उक्त संस्थाको वार्षिक कारोबार हेर्नु पर्ने व्यवस्था गरेको गरेको छ । बैंक तथा वित्तीय संस्थाले कुनै संस्थालाई चालु पुँजी कर्जा प्रवाह गर्दा सो संस्थाको कारोबारको आधारमा ऋण प्रवाह गर्नु पर्ने व्यवस्था गरेको छ । कुनै संस्थाको वार्षिक कारोबारको २५ प्रतिशत भन्दा बढी चालू पुँजी प्रवाह गर्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । बैंक तथा वित्तीय संस्थाले ऋणीको क्षमताभन्दा बढी चालू पूँजी कर्जा लगानी गरेको भए त्यस्तो कर्जालाई खराब वर्गमा वर्गीकरण गरी शत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने व्यवस्था मार्गदर्शनमा गरिएको छ । त्यससँगै यो मार्गदर्शन लागू हुनुपूर्व प्रदान गरिएका चालू पुँजी प्रकृतिका कर्जालाई मार्गदर्शनको पूर्ण पालना गरेर मात्र नवीकरण गर्न पाइने व्यवस्था गरेको छ, मार्गदर्शनको पूर्ण पालना नगरी नवीकरण भएको पाइएमा उक्त कर्जामा शत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था छ । यस्तै, राष्ट्र बैंकले १ करोडभन्दा कम रकमको चालू पुँजी प्रकृतिका कर्जा प्रवाह/नवीकरण गर्नु अघि समेत अन्य इजाजतपत्रप्राप्त संस्थाबाट त्यस्तो कर्जा लिए नलिएको यकिन गरी लिएको भएमा कर्जा दिने संस्थाबाट अनिवार्य रुपले नो अब्जेक्सन लेटर लिएर मात्र कर्जा प्रवाह/नवीकरण गर्नुपर्ने व्यवस्थालाई यथावत राखेको छ भने नो अब्जेक्सन लेटर माग गरिएको संस्थाले सोसंग सम्बन्धित पत्र प्राप्त गरेको ५ कार्यदिनभित्र उपलब्ध गराउनु पर्ने व्यवस्था पनि सोही चालू पुँजी कर्जा मार्गनिर्देशनमा छ । नो अब्जेक्सन लेटर उपलब्ध नगराउने भएमा सो सम्बन्धी जानकारी पत्र माग गर्ने संस्थालाई उपरोक्त समयावधिभित्र नै उपलब्ध गराउनु पर्ने उल्लेख छ । यी विभिन्न व्यवस्थाहरुको कारण बैंक तथा वित्तीय संस्था मात्रै होइन उद्योगी व्यवसायीले पनि असन्तुष्टि जनाएका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले भने आज देखि नै चालु पुँजी कर्जा मार्गनिर्देश लागू हुने बताए । अहिलेसम्म कार्यान्वयन नगर्ने विषयमा कुनै निर्णय नभएकोले पहिलेकै परिपत्र अनुसार चालू पुँजी कर्जा मार्गनिर्देश लागू हुने उनको धारणा छ । उद्योगी व्यवसायीहरुले भने यसको कार्यान्वयन हुन नुहुने बताइरहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका व्यवसायिक छाता संस्थाहरुले विज्ञप्ति नै जारी गरेर यो मार्ग निर्देशन अव्यवहारिक भएको बताउँदै आएका छन् । उद्योगी व्यवसायीहरुले उत्पादनमूलक उद्योग र व्यवसायका लागि चालु पुँजी कर्जाको सीमा फरक–फरक निर्धारण गरिनुपर्ने, २५ प्रतिशत कर्जा सीमाले व्यवसाय सञ्चालन मात्र नभई उद्योगको क्षमतामा समेत गम्भीर असर पर्ने भएकोले यो सीमालाई बढाउनु पर्ने लगायतका माग राख्दै व्यवसायिक छाता संस्थाहरुले यो मार्गनिर्देशन कार्यान्वयन गर्न सममस्या हुने बताउँदै आएका छन् । उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीले सोमबार राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई भेट्दै चालू पुँजी कर्जा मार्ग निर्देशन स्थगन गर्न समेत माग गरेको छ । सर्तअनुसार कर्जा रकम व्यावसायिक प्रयोजनमा उपयोग गरे/नगरेको यकिन गर्न अनुगमन गरिनुपर्ने र अन्यत्र प्रयोग गरेको भए कारबाही गर्न पनि महासंघले सुझाव दिएको छ । तर, राष्ट्र बैंकले भने यही मार्ग निर्देशलाई कार्यान्वयनमा लिएको छ । ११ अर्ब तत्काल तिर्नु पर्ने बैंकहरुका अनुसार अहिले १८ अर्ब रुपैयाँ चालू पुँजी कर्जा बजारमा प्रवाह भएको छ । कात्तिक १ गतेदेखि यो व्यवस्था लागू भएपछि ११ अर्ब रुपैयाँ उद्योगी व्यवसायीले तत्काल तिर्नु पर्ने अवस्था छ । बैंकहरुले ऋणीको क्षमता भन्दा बढी अर्थात् कारोबारभन्दा पनि धितोको आधारमा चालु पुँजी कर्जा दिएको भएमा त्यसलाई तत्काल फिर्ता ल्याउनु पर्नेछ । असुल मात्रै होइन त्यस्तो रकमलाई बैंकले खराब कर्जाका रुपमा वर्गीकरण गर्नु पर्नेछ । यो व्यवस्थाले बैंकहरुले तत्काल ११ अर्ब रुपैयाँ तिर्नु पर्ने अवस्था हुन सक्ने बैंकर्स बताउँछन् । ‘अहिले तरलताको समस्या छ, बैंकहरुले यसअघि चालू पुँजी कर्जाको नाममा सम्पत्ति धितो राअ‍ेर ऋणीको क्षमताभन्दा पनि बढी ऋण प्रवाह गरेका छन्, अब त्यो सबै खराब कर्जामा वर्गीकरण गर्नु पर्ने अवस्था पनि आउन सक्छ, यसले ऋणीसँगै बैंकहरुलाई पनि सकस हुने देखिन्छ,’ एक बैंकका नायव प्रमुख कार्यकारी अधिकृतले भने । ती बैंकरका अनुसार यो मार्गनिर्देशन प्रभावकारी भएपनि तत्काल लागू गर्दा धेरै समस्या सिर्जना हुन सक्ने बताए । उनले तत्काल यो मागनिर्देश लागू गर्दा मनिटरमा समस्या आउने, कर्जा प्रवाहका लागि पैसा नपाइने, एलसी खोल्न समस्या हुने, ७ दिनभित्र कर्जा नवीकरण गर्न समस्या आउने लगायतका समस्या देखा पर्ने धारणा राखे । हाल बैंक तथा वित्तीय संस्थाले व्यवसायको आवश्यकता भन्दा पनि घर जग्गा धितो राखेर चालू पूँजी कर्जा लगानी गरेको छन् । यही प्रवृतिको अन्त्य गर्नैका लागि राष्ट्र बैंकले यो नीति अघि सारेको हो । गत वर्ष नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण प्रतिवेदन २०२१ ले बैंकहरुले कर्जा प्रवाह गर्दा अनुमानित कारोबार र धितोमा अत्याधिक भर पर्ने गरेको देखाएको थियो । यसले पनि बैंकहरुले चालु पुँजी कर्जा प्रवाह गर्दा संस्थाको क्षमता र कारोबारभन्दा पनि त्यो संस्थाको धितो हेरेर कर्जा लगानी गर्थे । अब त्यो अभ्यासको अन्त्य हुने राष्ट्र बैंकको विश्वास छ । यस्तै, राष्ट्र बैंकको सो प्रतिवेदनले प्रोपराइटर आफैंले कर्जा प्रयोग गर्ने गरेको, कर्जाको उद्देश्य अनुसार कर्जा प्रयोग नभएको, उद्देश्य अनुसार कर्जाको सदुपयोगिताका लागि बैंकहरुबाट कडाइका साथ अनुगमन नभएको लगायतका निष्कर्श निकालेको थियो । यिनै कमजोरीहरुलाई अध्ययन गरेर राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्ग निर्देश २०७९ जारी गरेको हो ।