राष्ट्र बैंकको कारवाहीमा परे ९ बैंक, ब्याज बढाउनेदेखि अनावश्यक सुविधा लिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियम विपरित काम गर्ने ९ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा तोकिएको नियमहरु उल्लंघन गर्ने ९ वटा वाणिज्य बैंकहरुलाई कारवाही गरेको हो । राष्ट्र बैंकले बैंक अफ काठमाण्डू, कृषि विकास बैंक, प्रभु बैंक, कुमारी बैैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल आइएमई र मेगा बैंक गरी ९ वटा वाणिज्य बैंकलाई कारावाही गरेको हो । राष्ट्र बैंकले निर्धारण गरेको नियम अनुसार विपन्न वर्ग क्षेत्र कर्जा लगानी नगरेको भन्दै बैंक अफ काठमाडौं लिमिटेडलाई २ करोड ११ लाख ८५ हजार रुपैयाँ जरिवाना गरिएको छ । यस्तै, सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशन उल्लघंन गरेको भन्दै कृषि विकास बैंकलाई २० लाख रुपैयाँ जरिवाना गरिएको छ । आधार दर भन्दा कम ब्याजदरमा कर्जा दिएको भन्दै सनराइज र मेगा बैंकका सीईओलाई सचेत गराइएको छ । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अवकाश हुँदा थप सुविधा दिएको भन्दै सनराइज बैंकको सञ्चालक समितिलाई सचेत गराइएको छ । मेगा बैंकले विगतमा लगानी भएका कर्जा असुल नगरी पटक–पटक नवीकरण गरेको भन्दै बैंकका सीईओ र प्रमुख कर्जा अधिकृतलाई सचेत गराइएको छ । राष्ट्र बैंकले रोक्का राख्न निर्देशन दिएका खाताहरुमा कारोबार गरेको भन्दै बैंक अफ काठमाडौं लिमिटेड, प्रभु बैंक, कुमारी बैंक र प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ । एक पटक लगानी भएको कर्जामा प्रिमियम दर वृद्धि गरेको भन्दै हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल बैंक र मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतलाई पनि सचेत गराइएको छ । [pdf id=368345]

एनसीसी बैंकबाट तीन डेपुटी सीईओसहित १ दर्जन कर्मचारी बाहिरिए, उच्च व्यवस्थापनमा तीन जना बाँकी

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स  बैक (एनसीसी)  बाट एक दर्जन कर्मचारी बाहिरिएका छन् । कुमारी बैंकसँग मर्जरको प्रक्रियामा रहेको एनसीसी बैंकबाट तीन जना डेपुटी प्रमुख कार्यकारी अधिकृतसहित एक दर्जन कर्मचारीहरु बैंकबाट बाहिरिएका हुन् । बैंक स्रोतका अनुसार १३ जना वरिष्ठ कर्मचारीहरुले स्वैच्छिक अवकाश लिएका हुन् । बैंकले कुमारीसँग मर्जरको सम्झौता गरेपछि १३ जनाले स्वेच्छिक अवकाश लिएको बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले बताए । उनका अनुसार बैंकका तीन जना डेपुटी प्रमुख कार्यकारी अधिकृतहरु बन्दना पाठक, रेवन्तकुमार दाहाल र सन्दीपप्रसाद पाण्डेले अवकाश लिएका छन् भने नायब महाप्रबन्धक विनोदकुमार शर्मा, वरिष्ठ प्रबन्धक नगेन्द्रप्रसाद बिमली, व्यवस्थापक (म्यानेजर) युरेशमान कायस्थ, विनयप्रसाद अधिकारी, सरिना पाण्डे र अमित श्रेष्ठले अवकाश लिएका छन् । यस्तै, डेपुटी म्यानेजर मीनराजजंग शाह, अनिल पराजुली, प्रीतमकुमार दास श्रेष्ठ र एसिस्टेन्ट म्यानेजर दुर्गाप्रसाद पाण्डेले पनि अवकाश रोजेका लिएका छन् । अवकाश लिनेहरुलाई न्यूनतम २८ महिनादेखि अधितम् ४२ महिनाको तलब सुविधा दिएर अवकाश दिएको बताइएको छ । उनीहरुले करिब ९ करोड रुपैयाँ लिएका छन् । वरिष्ठ पदमा रहेका १३ जनाले स्वेच्छिक अवकाश लिएपछि अहिले एनसीसी बैंकको उच्च व्यवस्थापनको दोस्रो वरियतामा डेपुटी जनरल म्यानेजर मुकुन्द सुवेदी र कार्यवाहक एसिस्टेन्ट जनरल म्यानेजर लक्ष्मी प्रसाद दुवाल तेस्रो वरियतामा छन् । अब एनसीसी बैंकको उच्च व्यवस्थापनमा तीन जना मात्रै बाँकी रहेका छन् । दुवै बैकले मंसिर २५ गते विशेष साधारणसभा बाेलाएका छन् । दुवैले अन्तिम स्वीकृति चाँडै पाएमा पुस १७ गतेदेखि एकीकृत कारोबार गर्ने योजना बनाएका छन् । कुमारी बैंक र एनसीसी बैंकबीच १ः१ को स्वाप रेसियोमा मर्ज हुने सहमति भएको छ । तर, बैंकको डीडीए रिपोर्टमा भने १००ः९६.५९ को स्वाप रेसियो आएको थियो । मर्जरपछि बैंकको सीईओ एनसीसी बैंकका रमेश अर्याल र वरिष्ठ डेपुटी सीईओमा कुमारी बैंकका रामचन्द्र खनाल बन्नेछन् । बैंकको अध्यक्षको विषय भने टुङ्ग्याउन बाँकी छ । यस्तै, बैंकका सीईओ रमेश कुमार अर्यालले गत आर्थिक वर्षमा बैंकबाट १ करोड ३२ लाख रुपैयाँ तलब सुविधा बुझेका छन् । अन्य पदाधिकारी तथा कर्मचारीले ३ करोड २४ हजार रुपैयाँ बुझेका छन् ।

कोरोना बीमाको भुक्तानीमा विवाद चर्किएपछि अध्यक्ष घिमिरेको राजीनामा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) का अध्यक्ष डा. रविन्द्र घिमिरेले राजीनामा दिएका छन् । उनले आइतबार नै अर्थमन्त्रालय पुगेर पदबाट राजीनामा दिएका हुन् । स्रोतका अनुसार उनको राजीनामा स्वीकृत पनि भइसकेको छ । लामो समयदेखि नेपाल पुनर्बीमा कम्पनी, बीमा समिति र अर्थमन्त्रालयबीच काेराेना बीमाको दावी भुक्तानीको विषयमा विवाद भइरहेको थियो । एकले अर्कालाई दोषारोपण गर्दै आएकोमा अन्ततः घिमिरेले पदबाट राजीनामा दिनुपर्ने बाध्यता आएको हो । अर्थमन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री जनार्दन शर्माले नै अध्यक्ष घिमिरेसँग राजीनामा माग गरेपछि उनी पदबाट राजीनामा दिन बाध्य भएका हुन् । बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको दावी भुक्तानीमा घिमिरेले साथ नदिने भन्ने ब्रिफिङ अर्थमन्त्री शर्मासमक्ष गरेपछि शर्माले घिमिरेको राजीनामा मागेको बुझिएको हो । ‘प्राधिकरणका अध्यक्षज्यूले नेपाल रिले बीमा प्राधिकरणको निर्देशन पालना नगरेको र कोरोना बीमाको भुक्तानीमा समस्या सिर्जना गरेको भन्दै अर्थमन्त्री शर्मासँग ब्रिफिङ गर्नु भएको थियो, अर्थमन्त्रीज्यू पनि कोरोना बीमाको पैसा निकासा गर्ने पक्षमा हुनुहन्थ्यो, उहाँले त्यसमा सहयोग गर्न घिमिरेसँग आग्रह गर्नु भएको थियो तर उहाँ त्यसमा सहमत नभएपछि अर्थमन्त्रीले राजीनामा माग्नु भएको हो,’ स्रोतले विकासन्युजसँग भन्यो । उसो त यसअघि नै विकासन्युजसँग कुरा गर्दै अध्यक्ष डा. घिमिरेले बीमा प्राधिकरणको निर्देशन अनुसार कोभिड बीमा दावी भुक्तानीको लागि करोडौं रुपैयाँ भुक्तानी गर्न नसकिने बताएका थिए । उनले पुनर्बीमा कम्पनी व्यवसायिक संस्था भएकोले व्यवसायिक लाभहानी हेरेर जिम्मेवारी पूर्वक निर्णय लिने र कसैको दवावमा परेर गलत निर्णय नलिने उनले उनको भनाइ थियो । कारबाही भोग्न तयार छु, करोडौं रुपैयाँ डोनेशन गर्न सक्दिन – डा. रविन्द्र घिमिरे उनले गलत काम गरेको भए बीमा प्राधिकरणको कारबाही भोग्न पनि आफू तयार भएको सार्वजनिक रुपमै बताउँदै आएका थिए । ‘अध्यक्षको शपथ लिने बेलामा सेयरधनीको सम्पत्तिको सुरक्षा गर्ने प्रतिवद्धता जनाएको छु, म त्यसको पालना गर्छु, सेयरधनीको सम्पत्ति जोगाउने काम गर्दा नियामकले कारवाही गर्छ भने म कारवाही भोग्न पनि तयार छु, तर भविष्यमा मेरो हातमा हतकडी लाग्न सक्ने जोखिम लिएर गलत निर्णयमा सहि गर्दिन,’ उनले विकासन्युजसँग बोल्दै भनेका थिए । सरकारले कोरोना बीमा दावी भुक्तानीको लागि १ अर्ब रुपैयाँ निकासा गरेपछि बीमा प्राधिकरणले त्यसको ४५ प्रतिशत रकम थप गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो । त्यसमा ८ प्रतिशत प्राधिकरणले आफैले थप्ने, १२ प्रतिशत पुनर्बीमा कम्पनीले थप्नुपर्ने र २५ प्रतिशत निर्जीवन बीमा कम्पनीहरुले थप्नु पर्ने मापदण्ड प्राधिकरणले बनाएर सोही अनुसार कम्पनीहरुलाई निर्देशन जारी गरेको थियो । बीमा प्राधिकरणका अध्यक्ष सिलवालले यसअघि पनि सरकारको निर्णय विपरित पुनर्बीमा कम्पनीको सञ्चालक समितिले निर्णय गर्नु गलत भएको बताउँदै आएका थिए । पुनर्बीमा कम्पनीले सरकारको निर्णय मान्दिन भन्न नपाउने र अटेर गरे कारवाही भोग्न पनि तयार हुनु पर्ने उनको धारणा छ । अन्ततः उनकै ब्रिफिङमा अध्यक्ष घिमिरेले पदबाट राजीनामा दिनु पर्ने अवस्था सिर्जना भएको हो ।