अर्बपति चौधरीले प्रचार-प्रसारमा अपनाएका ‘टेक्निक’ र संसद यात्रा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोदकुमार चौधरी पश्चिम नवलपरासी–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । यसअघि दुईपटक समानुपातिकतर्फबाट सांसद भइसकेका चौधरी अब भने प्रत्यक्ष निर्वाचित भएर संसद् छिर्ने भएका हुन् । बर्दघाट सुस्ता पश्चिमको रोचक चुनावी प्रतिस्पर्धामा चौधरीले जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीलाई भारी मतान्तरले पराजित गरे । चौधरीले २९ हजार चार सय ९५ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी त्रिपाठीले २२ हजार तीन सय आठ मत प्राप्त गरे । विसं २०१२ वैशाख १ गते जन्मेका चौधरी काठमाडौँ महानगरपालिका–१४ का बासिन्दा हुन् । करिब पाँच दशकदेखि उद्योग व्यवसायमा समर्पित रहेका उनी विगत डेढ दशकदेखि सक्रिय राजनीतिमा छन् । चौधरी २०६४ सालको संविधानसभा निर्वाचन अघि तत्कालीन नेकपा (एमाले) मा प्रवेश गरेका थिए । दल प्रवेश गरेसँगै उनी संविधानसभा सदस्य बनेका थिए । नेकपा एमालेबाट समानुपातिक सभासद बनेका चौधरी संविधानसभाको दोस्रो निर्वाचनमा प्रत्यक्षतर्फ नै उम्मेदवारका आकांक्षी रहेपनि उनले चुनाव लडेनन् । विसं २०७४ मा भएको सङ्घीय संसद् निर्वाचन अघि उनी नेपाली कांग्रेसमा प्रवेश गरे र समानुपातिकतर्फको सांसद बने । यो अवधिमा उनले संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतका राज्य व्यवस्था तथा सुशासन समिति र अर्थ समितिमा रहेर काम गरे । गतवर्ष मङ्सिरमा सम्पन्न भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट चौधरी कांग्रेसको केन्द्रीय सदस्यमा चुनिए । ‘जनताबाट अनुमोदित भएर राजनीति गर्न चाहेको’ बताउँदै आएका चौधरी अहिले प्रत्यक्षबाटै निर्वाचित भएर संसद्को यात्रामा अघि बढेका छन् । चुनावी प्रचार–प्रसारका क्रममा उनले पटक–पटक ‘राजनीतिबाट मात्रै परिवर्तन सम्भव रहेकाले अब आफू पूर्णकालीन राजनीतिमा लाग्ने’ अभिव्यक्ति दिएका थिए । त्यस्तै, नेपाललाई समुन्नत र विकासशील राष्ट्र बनाउनका लागि आर्थिक रुपान्तरणको खाँचो आवश्यक रहेको र त्यसको खाका आफूले बनाउने पनि उनले बताउँदै आएका छन् । संविधानसभा र संसदीय भूमिकामा मात्र नभई नेपालको निजी क्षेत्रमा पनि चौधरीको अभिभावकीय भूमिका रहँदै आएको छ । उनी सन् १९९३ देखि १९९५ सम्म नेपाल उद्योग वाणिज्य महासंघ र सन् २००२ देखि २०१२ सम्म नेपाल उद्योग परिसङ्घको अध्यक्ष बनेका थिए । त्यस्तै, सन् १९८९ देखि १९९३ सम्म नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र सन् १९९१ देखि १९९३ सम्म नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा उनी रहेका थिए । सन् १९९० देखि १९९३ सम्म अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को ‘गभर्निङ बडी मेम्बर’ का रुपमा चौधरीले काम गरेका थिए । व्यवसायलाई विस्तार गर्दै उनी एक सफल उद्योगी बनेका छन् । विश्वका अर्बपति धनाढ्यको सूची सार्वजनिक गर्ने अन्तर्राष्ट्रिय पत्रिका ‘फोब्र्स’ मा पर्ने चौधरी एक मात्र नेपाली नागरिक हुन् । फोब्र्सको अर्बपति सूचीमा अहिले उनी एक हजार नौ सय २९औँ स्थानमा छन् । विश्वका ३० भन्दा बढी देशमा व्यवसाय फैलाएको चौधरी ग्रुप (सीजी) को नेतृत्व चौधरीले गरिरहेका छन् । सीजीअन्तर्गत करिब चार दर्जन कम्पनी र ६० भन्दा बढी ब्रान्ड रहेका छन् । खाद्य तथा पेय, शिक्षा, घरजग्गा, जलविद्युत्, टेलिकम, सिमेन्ट, पूर्वाधार, होटललगायत क्षेत्रमा लगानी रहेको छ । उद्योग व्यवसाय र राजनीतिको समिश्रणबाट आफूलाई परिचित गराउन चाहने चौधरी समाजसेवा र परोपकारका काममा पनि उत्तिकै सक्रिय छन् । परोपकारी कार्यका लागि चौधरी फाउन्डेशन सञ्चालनमा छ । ‘वी केयर फर हुम्युनिटी’ नामक संस्थाले २०७३ सालमा चौधरीलाई ‘एसियन म्यान अफ द इयर’ बाट सम्मानित गरेको थियो । उनी शास्वत धाम नवलपरासीका संस्थापक पनि हुन् । चौधरीले भारतको श्रीश्री विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिको उपाधि पाएका छन् भने उनका विनोद चौधरी (आत्मकथा), राजनीतिसँग जम्काभेट, उद्योगीको आँखामा अर्थतन्त्रलगायत कृति प्रकाशित छन् । चौधरी गल्फ र स्क्वास खेलका सौखिन छन् । निर्वाचनको प्रचार प्रसारमा मतदातालाई विश्वास दिलाउनका लागि उनले आफु निर्वाचित भएकै क्षेत्रमा उद्योग खोल्ने भनेर उद्योग दर्ता गरे भने नागरिकका सामू एक सामान्य जीवनशैली अपनाएर प्रस्तुत भए । उनले सर्वसाधारणको घरमा खाना खाएर र मोटरसाइकलमा यात्रा गरेर प्रचारप्रसार गरे । जसको परिणाम स्वरुप उनलाई पश्चिम नवलपरासी–१ का जनताले प्रत्यक्षतर्फ संसद भवन छिर्ने अवसर प्रदान गरे । ।

बैंकर्सका लागि पर्खाइमै बित्यो तरलता सहजताको विषय, पुसमा थप सकस हुने चिन्ता

काठमाडौं । गत स्थानीय तहको निर्वाचनको बेला बैंकिङ्ग क्षेत्रमा देखिएको तरलता अभावको समस्या समाधान हुने अपेक्षा धेरैले गरेका थिए । निर्वाचनको समयमा खर्च बढ्ने र त्यो खर्च बैंकिङ प्रणालीमा आउने अपेक्षा अधिकांशको थियो । बैंकरहरु प्रणालीमा पैसा आउने अपेक्षामा थिए । तर, बैशाख अन्तिममा भएको स्थानीय तहको निर्वाचनले तरलता सहजमाा कुनै भूमीका खेल्न सकेन । सो समयमा बैंकिङ्ग प्रणालीमा ३०/४० अर्ब रुपैयाँको हाराहारीमा मात्रै निक्षेप भित्रियो । स्थानीय तहको चुनावले खासै सकारात्मक सुधार नदिएको बैंकिङ प्रणालीमा दशैं तिहारले शुभ संकेत दिन्छ कि भन्ने बुझाइ सबैको थियो । बैंक विज्ञ, अर्थशास्त्री तथा बैंकरहरुले पनि दशैं तिहारमा सर्वसाधारणले खर्च बढाउने हुनाले त्यो पैसा बैंकिङ प्रणालीमा आउन सक्ने विश्लेषण गरिरहेका थिए । तर, सो अवधिमा पनि लगानीयोग्य पुँजी बढ्न सकेन । सो समयमा पनि २०/३० अर्ब रुपैयाँ मात्रै निक्षेप बैंकिङ्ग प्रणालीमा भित्रियो । त्यो समय पनि बैंकरका लागि निराशाजनक नै रह्यो । त्यसपछि सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको समय तोक्यो । त्यतिखेर सबैले पुनः निर्वाचनपछि प्रणालीमा निक्षेप भित्रिने विश्लेषण गरे । बैंकरहरु आशावादी बने । मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएर पनि अहिले मतगणना भइरहेको छ । अधिकांश निर्वाचन क्षेत्रको नतिजा आइसकेको भने कतिपय ठाउँको गणना भइरहेको छ । अहिलेसम्म प्रणालीमा पैसा भित्रिएको छैन । तर, अझै पनि बैंकरहरु बैंकिङ प्रणालीमा पैसा आउने आशा गरिरहेका छन् । बैंकरहरु आशामा रहँदा तथ्यांकले भने चुनावपछि निक्षेप झन घटेको देखाएको छ । निर्वाचन अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ६ अर्ब रुपैयाँले घटेको नेपाल बैंकर्स संघले जनाएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनमा खर्च भएको रकम बैंकिङ्ग प्रणालीमा आउने अपेक्षा गरिएको भएपनि यो अवधिमा निक्षेप घटेको तथ्यांकले देखाएको हो । कात्तिक मसान्तसम्म बैंकहरुले ४५ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । मंसिर ८ गतेसम्म ४५ खर्ब ५८ अर्ब रुपैयाँ मात्रै निक्षेप संकलन गरेका छन् । यो ८ दिनको अवधिमा बैंकहरुको निक्षेप संकलन ५.४७ अर्ब रुपैयाँ घटेको हो । चुनावपछि प्रणालीमा पैसा थपिएला भन्ने अपेक्षामा रहेका बैंकरहरु निक्षेप घटेकोले थप दबाबमा देखिएका छन् । निरन्तरको निक्षेप घट्नु उनीहरुको लागि चिन्ताको विषय बनेको छ । यसमाथि अब बन्ने सरकारले अर्थतन्त्रको भविष्य कोर्ने उनीहरुको धारणा छ । कतिपय बैंकरहरु राजनीतिज्ञको अर्थतन्त्र सुधार गर्ने भन्दा पनि सत्ता प्राप्तिमा ध्यान जाने भएकाले अबको स्थिती झनै अफ्ठ्यारो हुने होकि भन्ने चिन्ता रहेको उनीहरुको धारणा छ । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पोखरेल चुनावको पूर्ण नतिजा आएर सरकार नबन्दासम्म अर्थतन्त्रका बारेमा एउटा धारणा बनाउन सक्ने अवस्था नरहेको बताउँछन् । सबै दल मिलेर सरकार बनाउने हो भने सहज अवस्था आउन सक्ने उनको अनुमान छ । तर, आगामी सरकारले सत्ता प्राप्तिमा ध्यान दिने भएकाले अर्थतन्त्र चिन्ताजनक अवस्थामा आउन सक्ने उनले बताए । ‘चुनावमा भएको खर्च बैंकिङ्ग प्रणालीमा आउनुपर्छ, यो बीचमा ठूलो रकम निकालिएको पनि छ, खर्च भएको रकम प्रणालीमा आउनैपर्छ तर आगामी बन्ने सरकारको ध्यान अर्थतन्त्रमा भन्दा सत्ता प्राप्तिमा हुन्छ,’ उनले भने । यस्तै, एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले चुनावको नतिजा पूर्ण नआएकाले भविष्यमा अर्थतन्त्र के हुने भन्ने विषयमा अन्यौलता रहेको बताए । निर्वाचनको मतपरिणाम अनुसार आगामी सरकार कस्तो बन्ने भन्नेमा एकिन हुन नसकेकाले अर्थतन्त्र के हुन्छ भन्न नसकिने उनको भनाइ छ । ‘अस्थीर सरकार बन्ने सम्भावना छ, अब बन्ने सरकारको ध्यान सत्तामा मात्रै केन्द्रित हुन्छ, सरकारको नेतृत्वले अर्थतन्त्र सुधार गर्न धेरै जोड दिन सक्दैन, जसले ठूलो प्रभाव पार्न सक्छ, सरकार बन्ने वित्तीकै पहिलो प्राथमिकतामा आर्थिक स्थिती सुधार गर्नु पर्ने हुनुपर्छ,’ उनले भने । पछिल्लो तथ्याङ्क अुनसार बैंकिङ्ग क्षेत्रमा निक्षेप संकलनको अवस्था सुधारोन्मुख रहेको उनको भनाइ छ । उनले निर्वाचनको बेलामा खर्च भएको रकम बैंकिङ्ग प्रणालीमा नआएको पनि बताए । पुस महिना बैंकहरुका लागि अझै गाह्रो हुन सक्ने उनको बुझाइ छ । बैंकहरुले राष्ट्र बैंकलाई रिफाइनान्सको ठूलो रकम बुझाउनु पर्ने भएकाले पुस महिनामा सीडी रेसियो टाइट हुन सक्ने उनले बताए । ‘रेमिट्यान्स बढ्दो छ, कर्जा माग घट्दो छ, त्यसैले सहज भएको हो, चुनावमा खर्च भएको रकम प्रणालीमा अहिलेसम्म आएको छैन, चुनावमा खर्च भएको रकम सबै नआएपनि केही रकम आएको जस्तो देखिन्छ,’ उनले भने, ‘कर्जा माग नभएसम्म बैंकले नआत्तिएर प्रवाह गर्ने हो भने सहज हुन सक्छ किनभने पुसमा बैंकहरुले रिफाइनान्सका लागि ५०/६० अर्ब रुपैयाँ राष्ट्र बैंकलाई फिर्ता गर्नुपर्छ, एउटा बैंकको २ अर्बदेखि ४ अर्बसम्म फिर्ता गर्नुपर्ने छ, फिर्ता गरेपछि यसले सीडी रेसियो टाइट हुने सम्भावना छ ।’ साथै पुसमा कर पनि तिर्नुपर्ने भएकोले धेरै सम्हालिनु पर्ने उनले बताए । बजारमा धेरै तरलता नभएकाले पनि गाह्रो स्थिती गाह्रो नै रहेको उनको भनाइ छ । कर्जालाई न्यून राखेर निक्षेपमा जोडबल दियो भने आत्तिनु पर्ने अवस्था नआउने उनले बताए । ‘ठूला परियोजना आएका छैनन्, आएपनि रोक्ने गरेका छौं, यदि गर्नै पर्ने भए धेरै बैंकको सहभागीता गराएर अगाडि बढ्न सकिन्छ, एउटा बैंकले ठूलो आयोजना बनाउन सक्ने अवस्था छैन,’ उनले भने । बैंकर्स संघका अध्यक्ष समेत रहेका कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल उपाध्यायले निर्वाचनमा खर्च भएको कूल रकमको ६० प्रतिशत भन्दा बढी रकम बैंकिङ्ग प्रणालीमा आउने अपेक्षा राखेको बताए । कात्तिक महिनामा भित्रिएको निक्षेप बराबरको रकम मंसिर महिनामा प्रणालीमा आयो भने केही सहज अवस्था हुन सक्ने उनले बताए । ‘बैंकिङ्ग प्रणालीमा आएको निक्षेप सबै आन्तरिक बजारको होइन, यसमा केही रकम रेमिट्यान्सबाट आएको हो, प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा धेरै खर्च भएको अनुमान छ, बजारमा खर्च भएको रकम सिस्टममा आउनु नै पर्छ, बजारमा खर्च भएको कूल रकमको ६० प्रतिशत रकम बैंकिङ च्यानलमा आउन सक्छ,’ उनले भने, ‘एउटा उम्मेदवारले निर्वाचन क्षेत्र हेरेर ३० लाख रुपैयाँसम्म खर्च गर्न सक्ने सीमा तोकेको छ,सबै उम्मेदवारले खर्च गरेको ६० प्रतिशत रकम नै बैंकमा आउने हो भने सहज हुने थियो ।’ रेमिट्यान्स र विदेशी पर्यटकहरुले अर्थतन्त्र धानिरहेकाले आन्तरिक उत्पादनमा जोड दिनु पर्ने उनले बताए । राष्ट्र बैंकले आयातमा कडाइ गरेका कारण सुधारोन्मुख अवस्थामा रहेको उनको भनाइ छ । उनले पनि सरकार बन्न पनि कति समय लाग्छ भन्नेमा चिन्ता ब्यक्त गरे । उनका अनुसार स्थानीय तहको रकमलाई पुससम्म मात्रै गणना गर्न पाइने र रिफाइनान्सको दबाव रहेको बताए ।

एनआईसी एशिया बैंकले ७२ ठाउँका करोडौंका घरजग्गा बेच्दै, नाफामा उछाल आउन सक्ने

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरुमध्ये बिजनेसमा आक्रामक रुपमा विस्तार भइरहेको बैंक हो एनआईसी एशिया बैंक । यस बैंकले आक्रामक बिजनेससँगै नाफा, कर्जा र निक्षेपको वृद्धि पनि अन्य बैंकको तुलनामा उच्च रुपमा गरिरहेको छ । प्रतिस्पर्धी बैंकहरुलाई पछ्याएर आक्रामक रुपमा बिजेनस गरिरहेको एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा देशभरका विभिन्न ठाउँमा रहेको जग्गा बिक्रीका लागि सूचना जारी गरेको छ । बैंकले बिहीबार विभिन्न राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गर्दै आफ्नो नाममा रहेको ७२ स्थानको गैर–बैकिङ्ग सम्पत्ति बिक्रीमा गर्न लागेको जनाएको हो । बैंकले विभिन्न ठाउँमा रहेको जग्गा बिक्री गर्नका लागि १५ दिने शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ । बैंकको नाममा दर्ता रहेको गैर–बैंकिङ्ग सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिमाणमा छन् सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गरिने बैंकले जनाएको छ । उक्त सम्पत्ति खरिद गर्न ईच्छुक व्यक्ति, फर्म, कम्पनी र संघ संस्थाहरुले विभिन्न शर्तहरुको अधिनमा रहीसूचना प्रकाशित भएको मितिले १५ भित्र आवेदन दिनु पर्ने सूचनामा उल्लेख गरेको छ । यस्तै, बर्दियाको बढैयाताल गाउँपालिका ८का विभिन्न स्थानमा रहेको जग्गा, पर्साको धोविनी गाउँपालिका ४ का विभिन्न स्थानमा रहेका घरजग्गा, पोखरिया नगरपालिका ४, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका ४,चितवनको भरतपुर महानगरपालिका १८, मकवानपुरको हेटौंडा उपमहानगरपालिका १७ र काठमाडौंको काठमाडौं महानगरपालिका ६ का विभिन्न स्थानमा रहेका घरजग्गा बिक्री गर्ने जनाएको छ । पाँचथरको फिदिम नगरपालिका ४, ललितपुर महानगरपालिका १३ मा रहेको जग्गा र सो जग्गामा बनेको घर, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका ९, रौतहटको चन्द्रपुर नगरपालिका १०, बृन्दावन नगरपालिका ६, गरुडा नगरपालिका ६, ५ र फतुवा विजयपुर नगरपालिका १० का विभिन्न स्थानमा रहेको जग्गा र उक्त जग्गामा बनेका घर समेत बिक्रीमा राखेको बैंकले बताएको छ । बैंकले पर्साको वीरगञ्ज महानगरपालिका १२ र १३, मोरङको रतुवामाई नगरपालिका, विराटनगर महानगरपालिका १६, कास्कीको पोखरा महानगरपालिका, काठमाडौंको चन्द्रागिरी ५ र रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ मा रहेका विभिन्न स्थानमा रहेका घरजग्गा बिक्री गर्ने जनाएको छ । बैंकले आफ्नो नाममा रहेका धनकुटाको धनकुटा नगरपालिका ३ र ५, साविक निगाले गाउँ विकास समिति (गाविस) ८ मा रहको जग्गा, मुगुको साविक श्रीनगर गा.वि.स.४, ५, ६ र ७ ,साविक कार्कीवाडा गा.वि.स.३ र ४ का विभिन्न स्थानमा रहेका घरजग्गा बिक्रीमा राखेको छ । यस्तै, बैंककै नाममा भएका कालिकोटको खाँडाचक्र नगरपालिका ६मा रहेको घरजग्गा, चितवनको साविक पञ्चकन्या गा.वि.स.८ मा रहेको घरजग्गा, बाराको कलैया नगरपालिका ७ र उत्तर झिटकैया गा.वि.स. १ का विभिन्न स्थानमा रहेका जग्गा बिक्री गर्ने भएको हो । यस्तै, मोरङको साविक कटहरी गा.वि.स. ३ मा रहेको जग्गा, विराटनगर उपमहानगरपालिका२१ मा रहेको घरजग्गा र सुनवर्षी नगरपालिका ५ का विभिन्न स्थानमा रहेको घरजग्गा,सुनसरीको इनरुवा नगरपालिका २र दुहवी नगरपालिका ९ मा रहेको घरजग्गा बिक्री गर्ने बैंकले जनाएको छ । यस्तै, दाङको घोराही उपमहानगरपालिका १२, जुम्लाको साविक महतगाऊँ गाविस ३, विरेन्द्रनगर नगरपालिका २, ३, ६ र १० मा रहेका विभिन्न ठाउँका जग्गा जमिन बिक्रीमा राखेको हो । बैंकले यति ठूलो घरजग्गा बिक्री गरेपछि बैंकको नाफा बढ्ने देखिएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा नम्बर वान बनेको यस बैंकले यस पटक यी सबै घरजग्गा बिक्री गरेपछि झन नाफा उच्च रुपमा वृद्धि हुने देखिएको छ ।