
काठमाडौं । नबिल बैंकले संस्थापक सेयरधनी इन्टरनेशनल फाइनान्स इन्भेष्टमेन्ट एण्ड कमर्स बैंक लिमिटेड (आइएफआईसी बैंक)ले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने निर्णय गरेको हो । सोही अनुसार बैंकले उक्त सेयर खरिद गर्न विद्यमान संस्थापक सेयरधनीलाई आह्वान गरेको छ । आइएफआईसीले १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक सेयर बिक्री गरेर नविलबाट बाहिरिने निर्णय गरेको हो ।
आइएफआईसी बंगलादेशको सरकारी बैंक हो । यसले नेपाल बंगलादेश बैंकमा लगानी गरेको थियो । नेपाल बंगलादेश बैंक गत असारमा नविलमा बिलय भएकाे हाे ।
आइएफआईसीले सेयर बिक्री गर्न प्रस्ताव गरेकोले नबिल बैंकको सञ्चालक समितिले रितपूर्वक बिक्री र खरिद प्रकिया अघि बढाउने निर्णय गरेको छ । उक्त सेयर खरिद गर्नको लागि बैंकका संस्थापक सेयरधनीहरूलाई नै प्राथमिकता दिएको हुँदा इच्छुक तथा योग्य संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र शिलबन्दी निवेदन दिनुपर्ने बैंकले एक सूचना मार्फत जनाएकाे छ ।
यदि उक्त मितिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिद गर्न निवेदन पर्न नआए अन्य व्यक्ति तथा संस्थालाई बिक्री गर्ने प्रकिया अगाडि बढाइने बैंकले जनाएको छ ।
उक्त सेयर किनबेचमा ७ अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको करोबार हुने अनुमान गरिएकाे छ । बुधबार नेप्सेमा नविल बैंकको साधारण सेयर प्रतिकित्ता ८८२ रुपैयाँमा कारोबार भएको छ । संस्थापक सेयर ४७४ रुपैयाँमा किनबेच भएको छ ।
ठूलो कारोबार हुने भएकोले १ करोड ७७ लाख ३६ हजार कित्ता सेयरको लागि यति धेरै मूल्य हाल्दैनन् । साधारण सेयरको भन्दा आधा मूल्य तिर्ने हो भने पनि प्रतिकित्ता ४४० रुपैयाँ पर्छ । त्यसमा १५ रूपैयाँ घटेर ४२५ रुपैयाँको दरले किनबेच भयो भने पनि उक्त सेयर कारोबारमा ७ अर्ब ५३ करोड रुपैयाँको कारोबार हुनेछ ।
उक्त सेयर नबिल बैंकका मुख्य लगानीकर्ता विनोद चौधरीले किन्ने सम्भावना प्रवल छ । ‘विनोद चौधरी, उनको परिवार सदस्य वा उनको कम्पनीले यो सेयर किन्न सम्मावना बढी छ । हामी प्रक्रिया पुरा गर्ने मात्र हो’ नबिल बैंकका एक सञ्चालकले विकासन्युजसँग भने ।
गत वर्ष साविक नेपाल बङ्गलादेश (एनबि) बैंक हुँदा आइएफआईसी बैंकले उक्त सेयर बिक्रीमा राखेको थियो । त्यतिबेला पनि चाैधरीले किन्न प्रयास गरेकाे थिए । तर सफल भएनन् ।
मर्ज पूर्व नबिल बैंकमा चौधरीको ५५ प्रतिशतभन्दा बढी सेयर थियाे । बैंक सम्बद्ध स्राेतका अनुसार मर्जपछि चाैधरी ग्रुपकाे हिस्सा करिव ४५ प्रतिशत थियाे । आइएफआईसीको सेयर किन्न चौधरीलाई सफलता मिल्यो भने पुनः नविलका चौधरी ग्रुपको सेयर हिस्सा ५२ प्रतिशत भन्दा बढी हुनेछ । अहिले नविलमा आइएफआईसीको सेयर हिस्सा ७.७ प्रतिशत रहेको छ ।
यसपटक भने बंगालीको सेयर किन्न चौधरीलाई सजिलो छ । उनी सोही बैंकका संस्थापक मात्र भएन, बैंक सञ्चालक समितिमा पनि उनको पक्षमा स्पष्ट बहुमत रहेको छ ।
आइएफआईसीले सेयर बिक्री गर्न प्रस्ताव गरेपछि यसअघि संस्थापक समूहका लक्ष्मी बहादुर श्रेष्ठ र जीत बहादुर श्रेष्ठले उक्त सेयर खरिद गर्ने प्रयास गरेका थिए । तर, राष्ट्र बैंकले मापदण्ड नपुगेको भन्दै रोकेको थियो ।
पुनः आइएफआईसी बैंकले संस्थापक सेयरधनीहरुबाट रितपूर्वक निवेदन नपरेको भन्दै जोकोही व्यक्ति तथा संस्थालाई बिक्री गर्न राखेको थियो । उक्त सेयर खरिद गर्न उद्योगी व्यवसायीहरुको ठूलै हानाथाप पनि भयो । उद्योगी व्यवसायीहरु विनोद चौधरी, शेखर गोल्छा, पशुपति मुरारका, मोतिलाल दुगड लगायतले उक्त सेयर खरिद गर्न चासो राखेका थिए ।
बोलकबोलमा जसको मूल्य बढी हुन्छ उसैलाई नै सेयर बिक्री गरिन्छ । जसमा सनराइज बैंकका अध्यक्ष मोसतलाल दुगडले गरेको बोलकबोलमा सबैभन्दा बढी मूल्य थियो । उक्त खरिद प्रक्रियाकाे विवाद अदालतमा चलिरहदा नेपाल बङ्गलादेश बैंक नविलमा हुन पुगेकाे थियाे ।