एआईकेन्द्रित प्रोजेक्टमा व्यस्त आईएसएमटीमा अध्ययनरत विद्यार्थी, समाजको हितमा काम गर्ने लक्ष्य

काठमाडौं । जनकपुरका जमाल राइन अहिले काठमाडौंको तीनकुनेमा रहेको आईएसएमटी कलेजमा अध्ययन गरिरहेका छन् । आईटी अन्तिम सेमिस्टरमा अध्ययनरत उनले बिहीबार एउटा प्रोजेक्टको ‘डेमो’ सो गरे । साथीहरूसँग मिलेर बनाएको ‘फायर डिटेक्सन अर्लाराम सिस्टम’ नामक  प्रोजेक्ट थियो । जसको उद्देश्य कुनै ठाउँ अथवा भवनमा आगलागी हुनेबित्तिकै प्रहरी, एम्बुलेन्स, दमकल, अग्निनियन्त्रकलाई एकै पटक ३० सेकेन्डमा जानकारी गराउनु हो ।  कुनै भवनमा आगलागी हुँदा कसरी छिटोभन्दा छिटो आगो निभाउने, आफूलाई जोगाउने, कसरी छिटो जानकारी पाउने भन्नेबारे जानकारी दिन यो प्रोजेक्ट बनाएका हुन्  । जमालले बनाएको प्रोजेक्टमा कुनै ठाउँ आगलागी हुँदा क्यामेराले फोटो खिच्छ । जहाँ क्यामरामा अग्नि नियन्त्रक, दमकल, प्रहरी, एम्बुलेन्स सबैको नम्बर, इमेल सबै सेट गरिएको हुन्छ । आगो लाग्नेबित्तिकै त्यो क्यामेराले फोटो खिचेर सबै निकायलाई एकै पटक सिग्नल दिन्छ । जसकारण सबै निकायले समयमै जानकारी पाउने र धेरै क्षति हुन पाउँदैन । यो प्रोजेक्टमा त्यो क्यामरा कहाँ राख्ने, नम्बर कसरी सेट गर्ने, उसले एकै पटक फोटो कसरी खिच्ने धेरै टेक्निकल पाटा छन् ।   आफूले बनाएको प्रोजेक्टबारे जानकारी दिँदै उनले नेपालमा अहिलेसम्म यस्तो खालको टेक्निकल सिस्टम नभएको बताए । उनी पढाइसँगै अब यही प्रोजेक्टमा थप अध्ययन गरेर काम गर्न सक्ने बताउँछन् । ‘अहिले हामीले बनाएको भनेको डेमो हो, हामीले यसैमा काम गर्न पनि सक्छौं, यसका लागि शिक्षक, साथीभाइहरूको सल्लाह लिँदैछौं,’ उनी भन्छन्, ‘हामी यो विषयमा थप नयाँ कुरा खोजिरहेका छौं ।’  उनी यो प्रोजेक्ट लागू गर्न सक्ने हो भने नेपालमा हुने आगलागीबाट हुने धेरै क्षतिलाई रोक्न सक्ने बताउँछन् ।  यो विषयमा जमाललाई चौथो सेमेस्टरमै पढाइ हुँदा एकजना शिक्षकले आइडिया दिएका थिए ।  त्यही आइडियाले प्रोजेक्ट तयार पारेको उनी बताउँछन् । जमालको प्रविधितर्फ यति रुचि छ कि उनी जनकपुरबाट आइटी कलेज खोज्दै काठमाडौं पुगे । प्लस टुमा कम्प्युटर साइन्स लिएर जनकपुरमै अध्ययन गरेका उनी आईटी पढ्न काठमाडौं आएको बताउँछन् । जमाललाई कम्प्युटर विषय पढ्न र त्यसमै काम गर्न रमाइलो लाग्छ । कम्प्युटरको माध्यमबाट नयाँ आइडिया लिएर आईटी क्षेत्रमै केही गर्ने चाहना उनको थियो । आफ्नो लागि उत्तम कलेजका रूपमा आईएसएमटी छनोट गरेका अब आइटीमै मास्टर्स गर्न विदेश जाने योजनामा छन् ।  ‘म काम गर्न नेपालमै आउँछु, विदेशमा पढ्नमात्र जान्छु,’ उनी भन्छन्, ‘अब पढाइ सकिँदैछ, एक-दुई वर्ष यतै इन्टर्नसिप गर्छु, त्यसपछि थप ज्ञान लिन बाहिर जान्छु ।’ अहिले मार्केटमा एआईको  राज नै चलेको छ । शिक्षा, स्वास्थ्य, प्रविधि हरेक क्षेत्रमा एआईले काम गरिरहेको छ । विदेश गएर एआईकै विषयमा पनि अध्ययन गर्ने उनको योजना छ ।  जनकपुरका विकास साहको योजना पनि जमालकै जस्तो छ । यो प्रोजेक्टको आइडियामा उनको पनि हात छ । उनी पनि प्लस टु जनकपुरमै पढेर आईएसएमटीमा अध्ययन गरिरहेका छन् । सँगै पढेको काम पनि सँगै मिलेर गर्ने योजना रहेको बताउँछन् । गोदावरीकी दिव्या थापा अहिले आईएसएमटी आईटी पहिलो सेमेस्टर अध्ययन गरिरहेकी छिन् । उनलाई एपहरू कसरी मनाइन्छ, यसलाई कसरी निर्माण गरियो जस्ता कुरामा उनलाई जान्न मन लाग्छ । उनी यो विषयमा शिक्षकसँगै सिनियर साथीहरूसँग पनि चासो राख्छिन् । उनलाई पनि अहिलेको सबैभन्दा आवश्यक र नभइ नहुने क्षेत्र आईटी लाग्छ ।  दिव्या यही विषयमा अध्ययन गर्न एक वर्ष ड्रप गरेको बताइन् । ‘प्लसटु पढें, योभन्दा माथि कुन विषय रोज्दा राम्रो हुन्छ भन्ने बुझ्न एक वर्ष लाग्यो,’ उनी भन्छिन्,  ‘बुझ्दै जाँदा आईटी नै महत्त्वपूर्ण लाग्यो, मेरो सीप, ज्ञानअनुसार मैले यो विषय रोजेकी हुँ ।’ उनले पनि साथीहरूसँग मिलेर एउटा अनलाइन प्रोजेक्ट बनाएकी छन् । अहिलेको समय र युवाहरूको रुचिअनुसार ‘डेट विथ कोडर’ जहाँ युवायुवतीहरूले एकअर्कालाई डेट गर्न सक्छन् ।  यसका लागि उनीहरू दुवैजनाको गोपनीयता कायम राखी एकअर्कासँग भेट गराई डेट गर्न यसले भूमिका खेल्छ । यसको लागि छुट्टै वेबसाइट निर्माण गरी प्रोजेक्ट बनाएको उनले सुनाइन् । उनले बनाएको यो प्रोजेक्टको डेमो सो गरेकी छिन् । उनी साथीहरूको सल्लाहअनुसार यसलाई बजारमा ल्याउन पनि सकिने बताउँछन् । दिव्यालाई नेपालमै पढेर प्रोजेक्ट निर्माण गरी काम गर्ने रुचि छ । उनी यसका लागि नेपालकै कम्पनीका इन्टर्नसिप गरेर आफै केही गर्ने योजनामा छिन् । ‘एकैचोटि आफै केही गर्छु भन्न सकिँदैन,’ उनी भन्छिन्, ‘नेपालमा धेरै कम्पनी छन्, पहिले त्यहाँ काम गरेर अनुभव लिन्छु, त्यसपछि आफै केही गर्नुपर्छ ।’ बाराको सिमराका विशाल भट्टराई आईएसएमटी आईटी दोस्रो सेमिस्टरमै अध्ययनरत छन् । उनलाई फाइनान्स पढेर मार्केटमा काम गर्न रुचि थियो । तर उनले बुझ्दै गएपछि फाइनान्सभन्दा आईटी पढ्न मन लाग्यो । ‘अहिलेको जमाना आईटी रिलेटेड छ, हिजोको दिनमा एआई केही थिएन,’ उनी भन्छन्, ‘अहिले मार्केटमा एआई आएको छ, यो आउनुको कारण भनेकै टेक्नोलाेजीको विकास हो, मलाई पनि रुचि लाग्यो र यतातिर लागें ।’ उनले साथीहरूसँग मिलेर लाइन फलोविङ रोबोट बनाएका छन्  ।  उनका अनुसार आइटीमा सबैभन्दा चाहिने भनेको सीप हो । सीप भयो भने कामको लागि कार्यालयमै धाउन नपर्ने उनको अनुभव छ । ‘सीप भयो भने विभिन्न व्यक्ति कम्पनीसँग मिलेर काम गर्न सकिन्छ,’ उनी थप्छन्, ‘घरमै बसेर पनि काम गर्न सकिन्छ, काम गर्न भन्दै कार्यालयमा धाइराख्न पर्दैन ।’ बिहीबारदेखि सुरु भएको एक्सपोमा विद्यार्थीले बनाएको प्रोजेक्टको अन्य कलेजका विद्यार्थी र विभिन्न राजनीतिहरूले अवलोकन गरेका छन् । सबैजसो प्रोजेक्ट निकै आवश्यक रहेको उनीहरूले बताएका छन् ।  आइटीका विद्यार्थीलाई नेपामै अवसर विद्यार्थीले बनाएका प्रोजेक्टका अवलोकन विद्यार्थीमात्र नभई राजनीति क्षेत्रमा लागेकाहरूले समेत गरेका छन् । कांग्रेस नेता सशांक कोइरालाले विद्यार्थीको बौद्धिकता र क्रियाशील देखेर खुसी लागेको बताए । उनले कम्प्युटरको माध्यमबाट बनाएका प्रोजेक्टहरू देख्दा भविष्य उज्जवल रहेछ भन्ने अनुभूति भएको बताए । ‘उहाँहरूको क्षमता देख्दा मलाई खुसी लाग्यो,’ उनले भने, ‘नेपालको भविष्य अब उहाँहरूजस्तै युवाले सुरक्षित राख्छन् भन्ने अनुभव भयो ।’ नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले विद्यार्थीले बनाएको इनोभेसनको प्रशंसा गर्दै नेपालको विद्यार्थी आन्दोलन नयाँ ढंगले परिमार्जन गरी मार्केटसँग जोड्ने नीति बनाउनुपर्ने बताए । उनले जसरी अहिले पर्यटन, कृषिलाई मुख्य आधार मानिएको छ, त्यसैगरी अब  आइटी इन्ड्रस्टिजलाई पनि मान्नु पर्ने बताए ।  उनले भने, ‘जति चाँडो नेपालका युवाले, सरकारले यो क्षेत्रलाई क्याच गर्न सक्छ, यो विषयमा नीति नियम बनाउन सक्छ, त्यति चाँडो नेपालको सम्वृद्धि हुने सम्भावना हुन्छ ।’ एकीकृत समाजवादीका युवा नेतृ रामकुमारी झाँक्रीले आइटीमा नेपालले पनि फड्को मारिरहेको बताइन् । उनले आइटी पढाउने केही कलेजले जसरी काम गरिरहेका छन्, उनीहरू नै समाजको लागि रोल मोडल भएको बताइन् । विद्यार्थी नेपालमै पढ्ने, यही रोजगार उत्पादन गर्ने अवस्था बिस्तारै देखिएको बताउँदै झाँक्रीले आइटी बिजनेस भित्रको रोजगारी सिर्जना आफै  हिँड्न थालेको बताइन् । ‘संसार कता जाँदैछ, कुन क्षेत्रले फड्को मार्दैछ भन्ने सोच्ने मान्छेले आइटी र त्यसमा पनि एआई कन्टेन बनाउन लागेका छन्,’ उनी भन्छिन्, ‘फस्ट, सेकेण्ड सेमिस्टरको भाइबहिनीले यति राम्रो प्रोजेक्ट सिर्जना गरेका छन्, सबै प्रोजेक्टको आ-आफ्नै ठाउँमा महत्त्व छ।’  बर्सेनि गर्छ कलेजले एक्सपो तीनकुनेमा रहेको आईएसएमटी कलेजले हरेक वर्ष यस्ता एक्सपो गर्दै आएको छ । अहिलेको एक्सपो आइटी विषयमा अध्ययनरत विद्यार्थीका लागि केन्द्रित रहेको कलेजले जनाएको छ । विद्यार्थीले कक्षाकोठामा पढेको ज्ञानलाई व्यहारमा लागू गर्न कलेजले हरेक वर्ष यस्तै एक्स्पो बर्सेनि गर्दै आएको छ । आइएसएमटीका बिजनेस डेभलपमेन्ट हेड वासुदेव वस्तीले विद्यार्थीले बनाएका एआईदेखि लिएर हार्डवेर, सफ्टवेरका प्रोजेक्टहरू डेमोसेसन गर्न एक्सपो गरिएको बताए  । नेपालमा आईटी पढिरहेका विद्यार्थीले नेपालमा भविष्य कस्तो छ, आइटीको मार्केट कस्तो छ भन्नेबारे जानकारी लिऊन् भन्ने उद्देश्य पनि यसको रहेको उनले बताए ।  उद्योगका लागि शिक्षा आइएसएमटीका प्रधानाध्यापक धुव्रबाबु जोशी उद्योगका लागि शिक्षा भन्ने फेलोसिफमै कलेज गाइडेड भएको बताए । अब आउने शिक्षा कस्तो हुनुपर्छ भन्ने जान्नका लागि विद्यार्थीले आफूले पढेको ज्ञान र सीपलाई आईटी उद्योगमा कसरी काम गर्ने, यो क्षेत्रमा भएका विषय र समस्या अनि अवसरलाई आफ्नो प्रोजेक्टमार्फत देखाएको उनको भनाइ छ । विद्यार्थीले बनाएका सबै प्रोजेक्ट प्रयोग गर्न लायक रहेको बताउँदै उनले धेरै विद्यार्थीले राम्रो प्रोजेक्ट ल्याएको बताए । ‘ विश्वबजारको मार्केट अहिले प्रविधि क्षेत्रमा गएको छ, तर हामी कहाँ अझै जान सकेको छैन,’ उनी भन्छन्, ‘अब यो क्षत्रलाई छिटोभन्दा छिटो बुझेर जानसक्यो भने अबको नेपाल नेपाली विद्यार्थीहरूले बनाउने छन् ।’  हाम्रो विद्यार्थीको रुचिअनुसार पाठ्यक्रमले उनीहरूको रुचिलाई अप्लाई गर्ने भएको हुँदा कलेजले वर्षमा दुई पटक यस्तो कार्यक्रम गरिरहेको बताए ।  ‘अस्ति गगनजीले आईटीसम्बन्धी बोल्नुभएको थियो, यो सही हो त्यसको अप्लिकेसन कीर्तिपुरको डाँडामात्र होइन, नेपालको कुनैपनि ठाउँबाट गर्न सकिन्छ,’ उनी भन्छन्,  ‘यसका लागि के गर्नुपर्छ भन्ने ठूलो प्रश्न छ ।’ नेपालमा अझै आइटी उद्योग फस्टाउन नसकेको बताउँदै प्रधानाध्यापक जोशी यसको अध्ययन गरेर यो किसिमको नीति बनाइ बाहिरका ठूला कम्पनीलाई नेपालमा ल्याइ नेपालमा रहेका विद्यार्थीलाई नेपालमै काम दिने व्यवस्था गर्नुपर्ने बताउँछन्  ।  यस्तो व्यवस्था गर्न सके नेपालमै उत्पादन भएका आइटी विद्यार्थीले लाखौं कमाउन सक्ने उनको भनाइ छ । 

मर्जर नीति नल्याएको भए अधिकांश बैंक डुबिसक्थे

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति, नियामकीय तथा सुपरीवेक्षकीयको काम गर्छ । विगतको दाँजोमा नियमन वा सुपरीवेक्षण विधिमा धेरै परिवर्तन भएका छन् । जे-जस्ता परिवर्तन भएपनि राष्ट्र बैंकले बैंकिङ प्रणाली तथा वित्तीय प्रणालीलाई सुरक्षित राख्ने काम गर्छ । जसका लागि बैंकरहरूले धेरै ठूलो सहयोग गरिरहेका छन् । विभिन्न कठघरमा पनि राष्ट्र बैंकले वित्तीय प्रणालीलाई अत्यन्तै बलियो र स्थिर कामय राख्न सफल भएको छ । सन् २००७/०८ को ग्लोबल फाइनान्स क्राइसिसका बाछिटा नेपालमा परेका थिए । सन् २०१५ को भयावह भूकम्पसँग जुध्नुपर्‍यो । देशभित्रको लागि त्यो ठूलो घटना थियो । साथै विश्वव्यापी कोरोना महमारीसँग रूपमा हामीले जुध्नुपर्‍यो । महामारीबाट कसरी बाहिर आउने ? कसरी बाँच्न सकिएला ? व्यवसायीहरूलाई कसरी बचाउन सकिएला ? बैंकहरूलाई कसरी टिकाउन सकिएला ? भन्ने चिन्ताको विषय थियो । ठूलो चुनौतिकाबीच सन् २०२० देखि २०२२ सम्म उक्त समस्यासँग जुध्नुपर्‍यो । त्यसबाट जोगिन राष्ट्र बैंकले विभिन्न चरणमा विभिन्न गतिविधि गर्‍यो । राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा ती चरणहरू सुसंगत छन् । लगत्तै पुनःसप्लाइ चेनको समस्या, भौगोलिक राजनीतिक समस्या झेल्नुपरेको छ । त्यसको असर पनि परेको देखिन्छ । ५०औं वर्ष लगाएर ग्लोबलाइजेशनको अन्तर्राष्ट्रिय फाइदा लिने अवस्थामा पुगेका थियौं । तर, एक किसिमको स्लोबलाइजेशन हुन पुग्यो । भौगोलिक आर्थिक असरको सिकार बन्न पुग्यौं । फलस्वरूप विश्वका धेरै मुलुकहरू ग्लोबलाइजेशन फाइदाबाट बिमुक हुनुपर्ने अवस्था आयो । भोलि के कुरा निश्चित छ भनेर खोज्यौं भने अनिश्चिततामात्रै देखिन्छ । त्यसकारण हामी बाँच्ने र बचाउने, योजना बनाउने, काम गर्ने विषयमा प्रशस्त चुनौती छन् । यी चुनौतीको सामना दिनप्रतिदिन गर्नुपरेको छ । बैंकिङ क्षेत्र अत्यन्तै संवेदनशील क्षेत्र हो । र, यसको संवेदनशीलता सबैले बुझ्नुपर्ने आवश्यक छ । राष्ट्र बैंकले कुनै पनि नीति नियम, निर्देशन, सुधारका योजना बैंकिङ क्षेत्रलाई सहयोग पुर्‍याउने र बिस्तार गर्ने उद्देश्यले ल्याएको हुन्छ । वित्तीय स्थायित्व गरी समग्र आर्थिक स्थायित्वलाई दृष्टिगत गरेर राष्ट्र बैंकले नीतिगत व्यवस्था गर्छ । वास्तवमा बैंकिङ क्षेत्रलाई हामीले गर्व गर्नुपर्छ । किनभने कयौं उतारचढावका बीचमा पनि बैंकिङ क्षेत्र स्थिर छ । ग्राहकहरू सुरक्षित छन्, निक्षेपकर्ताहरू सुरक्षित छन् । राष्ट्र बैंकबाट नियमन भइरहेका संस्थामा निक्षेपकर्तामाथि जोखिम देखिँदैन, अहिलेसम्म देखिएका पनि छैनन् । किनकि जोखिमलाई न्यूनीकरण गर्ने गरी नै राष्ट्र बैंकले नीति निर्देशनहरू ल्याएको हुन्छ । फाइदा आफ्नो ठाउँमा भएपनि बैंकिङ क्षेत्र अत्यन्तै पारदर्शी छ । केही ठाउँमा समस्या रहेका हामीले महसुस गरिरहेका छौं, समस्या नदेखिएका होइनन् । पछिल्लो दिनमा बाह्य कारणले बैंकिङ क्षेत्रमा समस्या देखिएका छन् । बैंकहरूका वित्तीय सूचक हेर्दा क्यापिटल पर्याप्त छ, तरलता अत्यन्तै राम्रो छ । एनपीएमा केही दबाब परिरहेको छ । त्यसलाई पुरा गर्न प्रोभिजिनका व्यवस्थालाई कडाइका साथ लागू गरिएको मात्रै हो । लाभांश धेरै खान्छन् भन्ने हिसाबले राष्ट्र बैंकले प्रोभिजन धेरै राख्न लगाएको आरोप पनि सुनियो । यो आरोप बिल्कुलै होइन । यसको गलत छाप नपरोस् । बैंकलाई बचाउनका लागि गरिएको प्रयास हो । पछिल्लो समय हेर्ने हो भने नउठेको ब्याज मात्रै अर्बाैं रुपैयाँ पुगेको छ । हामीले प्रोभिजन नगराएको भए अर्काे वर्षदेखि बैंक खोज्न जानुपर्थ्यो। अहिले पनि कुनै बैंकले २६ प्रतिशतसम्म लाभांश दिइरहेका छन् । राष्ट्र बैंकले लाभांश घटाउनु थियो भने त्यसलाई प्रोभिजन गराएर ५ प्रतिशत वा शून्यमा झार्न लगाउँथयो होला नि ! नेपालको बैंकिङ क्षेत्रमा भेराइटी अफ बैंक छन् । कुनै बैंकले २६ प्रतिशत लाभांश दिइरहेका छन् भने कुनै बैंकको शून्य लाभांश छ । त्यसकारण प्रोफिटालिटी वा लाभांश राष्ट्र बैंकका कारण होइन, बैंकको आफ्नो काम कारवाही, इफिसेन्सीका कारण घटेको हो । इफिसेन्स बैंकलाई अहिले पनि समस्या छैन । कर्जा दिँदा वा कर्जा प्रोसेसिङ गर्दा ख्याल गर्ने बैंकलाई कठिन अवस्थाम पनि केही समस्या परेको छैन । रेमिट्यान्सलाई धन्यवाद छ । अहिले रिकभरीमा समस्या छ, ब्याज उठाउन सकिएको छैन । तर, यही बेलामा पर्याप्त तरलता छ । जबकि यस्तो अवस्थामा रिकभरी नभएर सामान्यतया तरलताको समस्या हुन्थ्यो । नेपाली दाजुभाई बाहिर बसेर मारामार रेमिट्यान्स पठाइदिनु भएका कारण तरलताको समस्या छैन । केही समस्या छन् भने ती पनि सुखद समस्या भन्नुपर्छ । किनभने हामीसँग प्रशस्त तरलता छ । बाह्य क्षेत्र बलियो छ । कन्ट्री रेटिङ सम्पन्न भएको छ । कन्ट्री रेटिङमा यतिकै डबल बी माइनस कन्ट्री रेटिङ दिएको होइन । यी सबै विषयलाई आधार मानेर दिएको हो । त्यसैले धेरै दुख मान्नु पर्ने ठाउँ छैन, भलै चुनौती छन् । बैंकरका लागि रिकभरीको निकै चुनौती छ । बैंकरहरूका लागि साइबर सेक्युरिटी सम्बन्धि चुनौती छ । प्रविधिको विकाससँगै अनुसरण भइरहेको छ । यस शिलशिलामा आउन सक्ने साइबरसम्बन्धि जोखिम र चुनौती दुवै छन् । सामान्यतया बैंकलाई जोखिम वा चुनौती भनेको रेगुलेटरी कम्प्ल्यान्समा हुने गर्छ । बैंकहरू कम्पल्यान्समा निकै सशक्त छन् । राष्ट्र बैंकको नीति निर्देशन पनि कडा नै छन् । जस्तो कम्प्लायन्सअफिसर अनिवार्य राख्नुपर्ने हुन्छ । त्यसैले यसमा पनि धेरै ठूलो समस्या छैन । जे-जति बैंकिङ प्रणालीभित्र भइरहेका छन्, यी सबै नियमित प्रक्रिया हुन् । केही अपडेट र रिफर्म हुन्छन् । बीआइएसजस्ता संस्थाले नियमित अध्ययन अनुसन्धान गरेर संसारभर नयाँ प्रडक्ट सार्वजनिक गर्छन् । हामीले पनि कुनै न कुनै रूपमा ती प्रडक्ट प्रयोग गर्छाैं । त्यसैले नीति अस्थिर भएर समस्या आएको भने होइन । पोलीसी प्रेडिक्ट्याबिलिटी हुनुपर्छ । एउटै नीति सधैं रहन सक्दैन । राष्ट्र बैंकले सधैंभरि पोलिसी रेट ५ प्रतिशत र मुद्रास्फिति १० प्रतिशत राख्यो भने हाम्रो अर्थतन्त्र कता जान्छ ? मुद्रास्फिति २ प्रतिशतमा झर्‍यो भने पोलिसी रेट ५ प्रतिशतमै राख्नुपर्छ भन्ने हुँदैन । त्यसकारण परिस्थितिका आधारमा नीति परिवर्तन हुन्छन् । तर, त्यो परिस्थितिका आधारमा नीति परिर्तन भएका छन् कि छैनन् त्यो महत्त्वपूर्ण विषय हो । अर्थात् अनुमानयोग्य नीति छन् कि छैनन् त्यो पनि महत्त्वपूर्ण हो । बजार कता जाँदा नीति कता जान्छ ? मुद्रास्फिति कति हुँदा नीति कहाँ जान्छ ? रिजर्भको अवस्था के हुँदा नीति के हुन्छ ? यी सबै विषय हेर्नुपर्ने हुन्छ । सधैं एउटै रेट एकै ठाउँमा बस्नुपर्छ भन्ने हुँदैन । त्यसकारण पनि एनालाइसिस गर्ने टिमको आवश्यकता पर्छ । नेपालमा नजान्ने कोही छैनन् । तर, आफ्नो काम गर्न जान्ने मान्छे कमै छन् । बैंकिङ प्रणालीलाई केही वर्षदेखि बाह्य थ्रेट आएकै हो । ऋण नतिरेपनि हुन्छ भन्ने किसिमका अराजक गतिविधिबाट बैंकरहरूलाई अनावश्यक रूपमा दबाब पर्‍यो । तल्लो तह वा शाखाबाट काम गर्ने बैंकरका लागि निकै गाह्रो भयो । त्यसको असर बैंकरको मनोवैज्ञानिक रूपमा परेको देखिन्छ । बैंकले नाफा कमाउन हुँदैन भन्ने विषय पनि उठेका देखिन्छन् । मिनिमम नाफा बैंकलाई आवश्यक हुन्छ भनेर हामीले बारम्बार भनिरहेका छौं । किनभने वित्तीय स्थायित्व, बैंक दीगो, क्यापिटल रिजर्भेसनका लागि नाफा आवश्यक छ । त्यसले बैंकको आधार पनि राम्रो हुन्छ । बैंकको रिटर्न एउटा लेभलमा रहनुपर्छ । अहिले पनि रिटर्नं अफ इक्विटी ९ प्रतिशतको हाराहारीमा छ । भलै यो रिटर्न संकुचित हो । समग्र अर्थतन्त्र सुस्ताएको बेलामा स्वाभाविक पनि हो । केही साथीहरूसँग बुझ्दा आर्थिक क्रियाकलाप बढ्दै गएको सुनिन्छ । बैंकको कर्जा सेटलमेन्ट हुन थालेको छ । फलस्वरूप अबका दिनमा बैंकका लागि सहज अवस्था आउन सक्छ । आफ्नै थालमा प्रोभिजिन गरिएको हो, बाहिर गरिएको होइन । त्यो प्रोभिजन भोलिका दिनमा रिभर्स हुन्छ । कतिपयलाई बीचमा लिएको ऋणको दबाब छ । त्यसको ब्याज तिर्नै पर्‍यो । रिजर्भ पनि राख्नै पर्‍यो । जसले गर्दा प्रोफिटालिटी र रिटर्नमा असर परेको देखिन्छ । त्यो पनि केही समयमा रिभर्स हुन्छ । रिडम्सन भइसकेपछि रिभर्स हुन्छ । त्यो जाने कहीं पनि होइन । संस्थाको ब्यालेन्ससिटभित्रैको आइटम हो । यी सबै विषयले बैंकलाई डुब्नबाट बचाएको हो । यो नै महत्त्वपूर्ण विषय हो । यसकारण पनि हामीले अप्ठ्यारो अवस्थामा सहनु पनि पर्छ । कोभिडमा आफू बाँचेर अरूलाई पनि बचायौं । त्यति ठूलो सदासयिताका साथ बाँचेको क्षेत्र हो । दिन सधैं अप्ठ्यारा हुँदैनन् ।भोलिको दिनप्रति म एकदमै आशावादी छु । देश सधैं यत्तिकै रहँदैन । क्रियाकलापहरू बढ्छन् । काम केही न केही गर्नुपर्छ । सधैं यत्तिकै बसिरहनु हुँदैन । जब काम हुन्छ, त्यतिबेला बैंकको पैसा चल्न थाल्छ, ऋण चल्न थाल्छ । र, अर्थतन्त्रमा सुस्ती हटेर जान्छ । अब निराशा बोक्ने होइन । हिजो भैंसी बाँधेको ठाउँमा आज गाडी राखिएको छ । गाडी राखिएको भोलिपल्टदेखि निराशा छाएको छ । यस्तो किसिमको निराशा बोक्नु हुँदैन । सकारात्मक भएर अघि बढ्नुपर्छ । राष्ट्र बैंकका प्रत्येक कार्यमा बैंकहरूले सहयोगी भूमिका निर्वाह गरेका छन् । जस्तो कन्सोलिडेसेन्स (मर्जर) । यो सानो काम होइन । ३२ वटा वाणिज्य बैंकलाई २० वटामा झार्नु सानोतिनो काम होइन । कतिपय बैंकलाई आज पनि दबाब छ । कर्मचारीको दबाब, डाउनग्रेडेट क्रेडिटको दबाब । यदि मर्ज नभएको भए बैंक डुबिसक्थे होला । मर्जरले प्रणाली बचाइदिएको छ । राष्ट्र बैंकका नीति निर्देशन सहज रूपमा मानिदिनु भएको छ । यसले समग्र वित्तीय स्थायित्व कायम गरेको छ । राष्ट्र बैंकले लिएको डिजिटल नीतिलाई पनि बैंकहरूले धेरै सहयोग पुर्‍याएका छन् । बैंकिङ, फिनटेक सबै नमिलेको भए राष्ट्र बैंकले चाहेर मात्रै यो सम्भव हुँदैनथ्यो । म तरकारी बजार पुगेर मात्रै यो सम्भव हुने थिएन । म तरकारी बजार गएको उत्साह बढाउन मात्रै हो । आजको दिनमा कसैको खल्तीमा पर्स बोक्नुपरेको छैन, सबैसँग मोबाइल वालेट छ । ग्रीन फाइनान्सलाई कयौं ठाउँमा चुनौतीका रूपमा लिएर समस्या आएको छ । तर, नेपालको बैंकिङ क्षेत्रमा स्वतस्फूर्त रूपमा अगाडि बढिरहेका छन् । ग्रीन फाइनान्स ट्याक्सोमोनी जारी गरिएको छ । त्यसको कार्यान्वयनमा उत्साहका साथ वित्तीय साक्षरता भइरहेको छ । राष्ट्र बैंकले प्रुडेन्सियल सुपरभिजनका साथै ग्राहक संरक्षणको पनि काम गरिरहेको छ । यसमा पनि बैंकहरूले सहयोग गर्ने अपेक्षा छ । पीडित भयौं भनेर कयौं ठाउँमा गुनासा आइरहेका छन् । हुन त यहाँ ऋण लिने मान्छे पीडित हुने गर्छन् । (अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर हुन् ।)

केन्द्रीय बैंकको एकै इशारामा शीर्ष धनीहरूले गुमाए ७५ बिलियन डलर, कसलाई धेरै घाटा ?

काठमाडौं । अमेरिकाको केन्द्रीय बैंक (फेड)ले नीतिगत ब्याजदरमा ०.२५ प्रतिशतले कटौती गरेको छ । साथै अर्को वर्ष दुईपटक मात्र कटौती गर्ने संकेत दिएको छ । यसअघि सेप्टेम्बरमा अर्को वर्ष चार पटक ब्याजदर घटाउन सकिने बताएको थियो । फेडले ब्याजदरमा कटाैती गर्ने घोषणा गरेसँगै अमेरिकी सेयर बजारमा भारी गिरावट आएको छ । डाउ जोन्स इन्डस्ट्रियल औसत १ हजार १२३ अंकले घटेको छ । यो परिसूचकमा लगातार दशौं गिरावट आएको छ । सन् १९७४ पछि यति लामो अवधिसम्म सूचकांक घटेको यो पहिलो पटक हो । एस एन्ड पी फाइभ हन्ड्रेड ३ प्रतिशत र नासडक कम्पोजिट सूचकांक ३.६ प्रतिशतले घट्यो । यसले अमेरिकाका शीर्ष धनीहरूको नेटवर्थमा लगभग ७५ बिलियनको गिरावट ल्याएको छ । एलन मस्क बुधबार अमेरिकी सेयर बजारमा आएको गिरावटका कारण एलन मस्कले सबैभन्दा धेरै घाटा बेहोरेका छन् । टेस्ला, स्पेसएक्स र एक्स लगायतका धेरै कम्पनीहरू सञ्चालन गर्ने मस्कको कुल सम्पत्ति एकै झट्कामा २८.४ बिलियन डलरले झरेर ४५८ बिलियन डलर पुगेको छ । टेस्लाको सेयर ८.२८ प्रतिशतले घटेको छ । विश्वकै धनी व्यक्ति मस्कको यस कम्पनीमा करिब २३ प्रतिशत सेयर रहेको छ । जेफ बेजोस अमेजनका सह-संस्थापक जेफ बेजोसको कुल सम्पत्ति बुधबार ९.७२ बिलियन डलरले घटेको छ । अमेजनको सेयर ४.६० प्रतिशतले घटेर बन्द भयो । बेजोसको कुल सम्पत्ति अहिले २४० अर्ब डलर छ र उनी विश्वका धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा छन् । यो वर्ष उनको कुल सम्पत्ति ६३.२ बिलियन डलरले बढेको छ । मार्क जुकरबर्ग विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्मका सीईओ मार्क जुकरबर्गको कुल सम्पत्ति ७ अर्ब ६९ करोड डलरले घटेको छ । उनी २११ अर्ब डलरको सम्पत्तिसहित विश्वका धनी व्यक्तिको सूचीमा तेस्रो स्थानमा छन् । यो वर्ष उनको कुल सम्पत्ति ८३.२ बिलियनले बढेको छ । ल्यारी एलिसन सफ्टवेयर कम्पनी ओरेकल कर्पोरेशनका सह-संस्थापक ल्यारी एलिसनलाई बुधबार ५.५३ अर्ब डलरको झटका लागेको छ । अहिले उनको कुल सम्पत्ति १८८ अर्ब डलर छ र उनी विश्वका धनी व्यक्तिको सूचीमा चौथो स्थानमा छन् । यो वर्ष उनको कुल सम्पत्ति ६४.९ बिलियन डलरले बढेको छ । ल्यारी पेज ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार गुगलका संस्थापक ल्यारी पेजको नेटवर्थ बुधबार ५.५३ बिलियन डलरले घटेको छ । योसँगै उनको कुल सम्पत्ति अहिले १६८ अर्ब डलर पुगेको छ र उनी विश्वका धनी व्यक्तिको सूचीमा छैटौं स्थानमा छन् । यो वर्ष उनको कुल सम्पत्ति ४१.९ बिलियन डलरले बढेको छ । बिल गेट्स माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सको २.६२ बिलियन डलरको गिरावट आएको छ । उनी विश्वका धनी व्यक्तिको सूचीमा सातौं नम्बरमा छन् । अहिले उनको कुल सम्पत्ति १६२ अर्ब डलर छ । यो वर्ष उनको सम्पत्ति २१.५ अर्ब डलरले बढेको छ । बुधबार कम्पनीको सेयर ३.७६ प्रतिशतले घटेको छ । सर्गेई ब्रिन सेयर बजारमा आएको गिरावटका कारण गुगलका सहसंस्थापक सर्गेई ब्रिनको कुल सम्पत्ति ५.१५ अर्ब डलरले घटेको छ । अहिले उनको कुल सम्पत्ति १५८ अर्ब डलर छ र उनी विश्वका धनी व्यक्तिको सूचीमा आठौं नम्बरमा छन् । यो वर्ष उनको सम्पत्ति ३८.३ अर्ब डलरले बढेको छ । बुधबार गुगलको मूल कम्पनी अल्फाबेटको सेयर ३.५४ प्रतिशतले घटेको छ । स्टिभ बाल्मर माइक्रोसफ्टका पूर्व सीईओ र कम्पनीका प्रारम्भिक कर्मचारीहरूमध्ये एक स्टिभ बाल्मरले बुधबार ५.४७ बिलियन डलर गुमाए । उनको कुल सम्पत्ति अहिले १५२ अर्ब डलर छ र उनी विश्वका धनी व्यक्तिको सूचीमा नवौं स्थानमा छन् । यो वर्ष उनको कुल सम्पत्ति २०.९ बिलियन डलरले बढेको छ । वारेन बफेट प्रसिद्ध अमेरिकी लगानीकर्ता वारेन बफेटको कुल सम्पत्ति बिहीबार २.७६ बिलियन डलरले घटेको छ । उनी १४० अर्ब डलरको सम्पत्तिका साथ विश्वका धनी व्यक्तिको सूचीमा १० औं स्थानमा छन् । बफेटको कुल सम्पत्ति यस वर्ष २०.३ बिलियन डलरले बढेको छ। माइकल डेल डेल कर्पोरेशनका संस्थापक माइकल डेलको नेटवर्थ बुधबार ५.८३ अर्ब डलरले घटेको छ । उनी १२२ अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वका धनी व्यक्तिको सूचीमा ११ औं स्थानमा छन् । यो वर्ष उनको कुल सम्पत्ति ४३.१ अर्ब डलरले बढेको छ । बुधवार डेलको सेयर ४.७४ प्रतिशतले घटेको छ ।