नयाँ वर्षको पूर्वसन्ध्यामा पनि सुनसान होटल, ५० प्रतिशत मात्रै अकुपेन्सी
काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२५ आउन ४ दिनमात्र बाँकी छ । अंग्रेजी नयाँ वर्षको समयमा आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुनुपर्ने हो । होटल तथा पर्यटन क्षेत्र चलायमान हुनुपर्ने हो । तर, होटल तथा पर्यटन व्यवसायमा सोचेजस्तो गतिविधि भने हुन सकेको छैन । नयाँ वर्षले होटल तथा पर्यटन व्यवसायलाई खासै प्रभाव पार्न सकेको छैन । काठमाडौंका होटलहरू सुनसान छन् । अहिले अफसिजनको कारणले पनि विदेशी पर्यटको आगमनमा कमी आउँदा होटलहरू सुनसान भएको होटल तथा पर्यटन व्यवसायीहरू बताउँछन् । नेपाल होटल संघ (हान)का महासचिव साजन शाक्य क्रिसमस र नयाँ वर्षजस्ता चाड विदेशी पर्यटकरूले आफ्नै देशमा मनाउने भएकाले त्यसले नेपालमा खासै चहलपहल नबढ्ने बताउँछन् । महासचिव शाक्यका अनुसार उपत्यकाका होटलमा आन्तरिक पर्यटकको खासै चहलपहल हुँदैन । ‘धेरैजसो विदेशी पर्यटकहरु नयाँ वर्षमा आफ्नै देशमा परिवार, आफन्तसँग मनाउँछन् । यस सिजनमा बंगलदेश र भारतबाट पयर्टक आउँछन् । त्यहाँबाट आउने पर्यटकमा पनि अहिले कमी छ । सडकको अवस्था र हवाई भाडा महंगिदा छिमेकी मूलुकबाट पर्यटकको संख्या विगतका तुलनामा घट्न पुगेको छ,’ उनले भने, ‘उपत्यकाका ठूला होटलको व्यवसाय भनेकै आन्तरिकभन्दा बाह्य पर्यटकबाट हुने हो । अहिलेको अवस्थामा पनि होटलहरुको अकुपेसन ३० देखि ४० प्रतिशत मात्रै छ ।’ महासचिव शाक्यले काठमाडौंका होटलहरुमा नयाँ वर्षले चहलपहल नल्याएपनि उपत्यका बाहिर भने राम्रै उत्साह हुने बताए । उनका अनुसार नयाँ वर्षमा काठमाडौं बाहिरका स्थानहरु नगरकोट, धुलिखेल, पोखरा, लुम्बिनीमा आन्तरिक पर्यटको चहलपल हुन्छ । होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष शेरबहादुर थापा अंग्रेजी नयाँ वर्षले होटल व्यवसायी उत्साहित हुनुपर्ने अवस्था नभएको सुनाउँछन् । नयाँ वर्ष नजिकिए पनि होटल बुकिङ बढ्न नसकेको उनको भनाइ छ । विश्वभर छाएको आर्थिक मन्दीको प्रभाव होटल व्यवसायमा पर्दा अकुपेन्सी बढ्न नसकेका उनी बताउँछन् । होटलहरुले राम्रो आम्दानी गर्न अकुपेन्सी ८० प्रतिशतभन्दा माथि हुनुपर्ने भएपनि अकुपेन्सी ५० प्रतिशत मात्रै रहेको उनले बताए । ‘आर्थिक मन्दी छाउँदा संसारभर नै घुम्न र खर्च गर्न निस्किने पर्यटकको संख्यामा कमी छ । आन्तारिक पर्यटकको अवस्था पनि विदेश जाने तर नफर्किने छ । अहिलेको अवस्थामा होटलहरुले व्यवसायबाट जीविकोपार्जन मात्रै भइरहेको छ,’ उनले भने । देशको अर्थतन्त्र, अस्थिर राजनीतिलगायतका कारण पर्यटन घट्दै गएको र त्यसको असर होटल क्षेत्रले भोग्नुपरेको उनले दुखेसो गरे । काठमाडौं उपत्यकामा घुम्ने, मनोरञ्जन गर्ने ठाउँ कम हुँदा नयाँ वर्षमा पर्यटकको चहलपहल कम हुने र त्यसले होटल क्षेत्रलाई खासै प्रभाव नपार्ने वरिष्ठ उपाध्यक्ष थापाको भनाइ छ । ‘नयाँ वर्षमा चहलपहल बढ्ने भनेको चितवनको सौराहा, पोखराको लेकसाइड, लुम्बिनी जस्तो ठाउँमा हो । काठमाडौंमा त्यही वैदेशिक रोजगारीमा जाँदा र आउँदा हामीले सेवा दिन पाउँछौँ,’ उनले भने । कुरिनटारमा होटल गोर्खा सञ्चालन गर्दै आएका होटल व्यवसायी महासंघका उपाध्यक्ष भाइचन्द्र श्रेष्ठले ठूला होटल तथा रेष्टुरेन्टमा केही चहलपहल बढेको भएपनि साना रेष्टुरेन्टमा चहलपहल नरहेको बताए । ‘नयाँ वर्ष सुरु हुन लाग्दैगर्दा कुरिनटार क्षेत्रमा केही चहलपहल बढेपनि अरु ठाउँमा सुनसान नै छ, कुरनिटारमा आन्तारिक पर्यटक बढी आउँछन्,’ उनले भने । विगतमा भारतीय पर्यटकको बढी आउने गरेको भएपनि यसवर्ष सडक पुर्वाधारका कारण घट्न पुगेको उनको भनाइ छ । उनका अनुसार मन्दिर दर्शन गर्न आउने र फर्किहाल्ने भएकाले होटलहरुको अकुपेन्सी बढ्न सकेका छैन । उनले आफ्नै होटलमा विगतका वर्षका तुलनामा ९० प्रतिशत अकुपेन्सी घट्न पुगेको बताए । नयाँ वर्षलाई लक्षित गरेर त्यहाँका केही होटलले प्याकेजहरु ल्याएका भएपनि धेरैजसो होटलहरु सुनसान नै छन् । काठमाडौं उपत्यकामै सञ्चालनमा रहेको चार तारे होटल मनाङको भने राम्रै अकुपेन्सी देखिन्छ । होटल मनाङका अप्रेसन म्यानेजर मेलिना राईका अनुसार होटलको अकुपेन्सी ५० देखि ७० प्रतिशतसम्म पुगेको छ । उनका अनुसार अहिले अफसिजन भएकाले विदेशी पर्यटकको चहलपहल छैन । तर, आन्तारिक पर्यटकको चहलपहल राम्रै छ । मनाङ होटल ठमेल क्षेत्रमा भएकाले पनि अकुपेन्सी राम्रो भएको उनले बताइन् । उनले भनिन् ‘हाम्रो होटल ठमेल एरियामा भएर पनि होला, साथै यो पूरानो होटल पनि हो, हाम्रा पूराना ग्राहकहरु धेरै हुनुहुन्छ, त्यसले गर्दा चहलपहल राम्रै छ ।’ उनका अनुसार ‘न्यू इयर’ का लागि कोठाहरू पनि बुकिङ भइरहेको छ । ‘न्यू इयर’ को लागि केन्द्रीत गरेर होटल मनाङले लाइभ म्युजिक गर्न लागेको उनले जानकारी दिइन् । उनका अनुसार नयाँ वर्षमा ४० प्रतिशसम्म छुटको व्यवस्था रहेको छ । उपत्यका बाहिर बढ्यो चहलपहल नयाँ वर्ष सुरु हुनै लाग्दा उपत्यका बाहिर भने चहलपहल बढेको छ । पर्यटकीय नगरी पोखरामा पर्यटनलक्षित विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् भने केही सुरु हुने क्रममा छन् । अंग्रेजी नयाँ वर्षलाई लक्षित गरेर पोखरामा पुस ९ गतेबाट बेलुन महोत्सव सुरु भएको छ । यसले पर्यटकको चहलपहल बढ्न मद्दत गरेको छ भने होटल तथा रेष्टुरेन्टको अकुपेन्सी बढाएको छ । त्यस्तै रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेबान)ले पुस १३ गतेबाट सडक महोत्सव सुरु गर्दैछ । यसले पनि पर्यटकको चहलपहल बढ्ने रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेबान) का संयोजक विकास भट्टराईले बताए । पोखराको बाह्य तथा आन्तारिक पर्यटनलाई आकर्षण गर्नको यो महोत्सव सञ्चालन गर्न लागेको उनले बताए । उनका अनुसार त्यहाँ यसबाहेक नयाँ वर्षलक्षित विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेको छ । अहिले चलेका होटलहरुको अकुपेन्सी ९० प्रतिशतसम्म पुगिसकेको छ । अरु होटलहरुको अकुपेन्सी पनि उत्साहजनक छ । कतिपय होटलहरुमा जनवरी १ को लागि होटहरु पनि प्रि बुकिङ भइसकेको भट्टराईले बताए । संयोजक भट्टराईका अनुसार पूर्वाञ्चाल होटल संघ, विभिन्न रेष्टुरेन्ट व्यवसायीहरुसँग मिलेर नयाँ वर्ष लक्षित प्याकेजहरु पनि ल्याएको छ । होटलहरुले २० प्रतिशतसम्म छुटमा होटल बुकिङ गरिरहेको उनले बताए । यसबाहेक पोखरा रंगशालामा ओपन टेनिस प्रतियोगिता सुरु भइसकेको छ । जहाँ नेपाली मात्रै नभएर छिमेकी मूलुकका खेलाडीहरु पनि उपस्थित छन् । यसले पनि होटल तथा रेष्टुरेन्टमा थप चहलपहल बढेको छ । नेपालको अर्को पर्यटकीय स्थल चितवनको सौरहामा पनि नयाँ वर्षको राम्रै चहलपहल बढेको छ । बिहीबारदेखि सौरहामा ‘हाती तथा चितवन पर्यटन महोत्सव’ सुरु भएको छ । यसले होटल तथा पर्यटन क्षेत्रमा राम्रो चहलपहल बढ्ने क्षेत्रीय होटल संघ चितवनका पूर्वअध्यक्ष सुमन घिमिरेले बताए । घिमिरेका अनुसार महोत्सव अविधिभर होटल र रेष्टुरेन्टमा १० प्रतिशत छुट दिने भनेर रेबान र हानले आह्वान गरेको छ । यसबाहेक त्यहाँका स्थानीय तहबाट विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । हरेक नयाँ वर्षको दिनमा चितवनमा होटलहरु भरिराउ हुँदै आएकोले यस वर्ष पनि राम्रै चहलपहल बढ्न उनले बताए । उनले भने,‘ अहिले हाती महोत्सव हेर्नेको भीड बढेको छ, होटलहरुमा बस्ने गरी आउने संख्या कम छ । तर नयाँ वर्षको दिन होटलहरु भरिभराउ नै हुन्छन् ।’ घिमिरेका अनुसार अहिले त्यहाँको होटहरुको अकुपेन्सी समग्रमा ६० प्रतिशतसम्म छ । यो वर्ष सन् २०२३ जस्तो भने सुखद हुन नसकेको उनले बताए ।
मार्केटिङमा कर्मचारी बढाउँदा निर्जीवन बीमाको व्यापार १७.१७ अर्ब, आक्रामक बन्दै ओरिएन्टल र नेपाल इन्स्योरेन्स
काठमाडाैं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८१/०८२ को ५ महिनामा १७ अर्ब बढीको व्यापार गरेका छन् । चालु आवको मंसिर मसान्तसम्म १४ निर्जीवन बीमा कम्पनीहरूले १७ अर्ब १७ करोड ७७ लाख रुपैयाँ बढीको व्यापार गरेकाे नियामक निकाय नेपाल बीमा प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार कम्पनीहरूले गत आवको सोही अवधिको तुलनामा ९.२६ प्रतिशतले व्यापार वृद्धि गरेका छन् । गत आवको मंसिर मसान्तसम्म निर्जीवन बीमाको व्यापार १५ अर्ब ७२ करोड १० लाख रुपैयाँ थियो । यो अवधिमा सबैभन्दा धेरै व्यापार सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गरेको छ । सगरमाथा लुम्बिनीले २ अर्ब १९ करोड ९८ लाख रुपैयाँ बढीको व्यापार गर्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ७६ करोड ८५ लाख रुपैयाँको व्यापार गरेको छ । यसैगरी, शिखर इन्स्योरेन्सले १ अर्ब ७४ करोड २५ लाख रुपैयाँको व्यपार गर्दा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ४५ करोड ५२ लाख, नेको इन्स्योरेन्सले १ अर्ब ४० करोड ३८ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ४० करोड ९ लाख र एनएलजी इन्स्योरेन्सले १ अर्ब १३ करोड ६ लाख रुपैयाँ बढीको व्यापार गरेको छ । ओरिएन्टल र नेपाल इन्स्योरेन्सको व्यापार आक्रामक वृद्धि पछिल्लो ५ महिनामा गत वर्षको सोही अवधिको तुलनामा ओरिएन्टल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सको व्यापार आक्रामक वृद्धि देखिएको छ । ओरिएन्टलको व्यापार करिब ५५ प्रतिशतले वृद्धि हुँदा नेपाल इन्स्योरेन्सको व्यापार ५२.५६ प्रतिशतले वृद्धि भएको प्राधिकरणको तथ्यांकले देखाउँछ । ओरिएन्टलले गत आवको मसिंर मसान्तसम्म ७२ करोड ७१ लाख रुपैयाँको व्यापार गर्दा चालु आवको सोही अवधिमा १ अर्ब १२ करोड ६९ लाख रुपैयाँको व्यापार गर्न सफल भएको छ । यसैगरी, नेपालले गत आवको मंसिर मसान्तसम्म ६१ करोड ९१ लाख रुपैयाँको व्यापार गरेको थियो । चालु आवको सोही अवधिमा कम्पनीले ९४ करोड ४६ लाख रुपैयाँको व्यापार गर्न सफल भएको छ । नेपाल इन्स्योरेन्स कम्पनीले मार्केटिङ गतिविधि बढाएका कारण व्यवसाय आक्रामक तरिकाले वृद्धि भएको जनाएको छ । विगतमा कम्पनीको केही शाखाहरूमा मार्केटिङका कर्मचारी थिएनन् । पछिल्लो समय उक्त शाखामा कर्मचारीहरू थप गरेर मार्केट चलायमान गराउँदा व्यवसाय वृद्धि हुन पुगेको कम्पनीले उल्लेख गरेको छ । यस्तै, कम्पनीले गत वर्षहरूकाे तुलनामा मोटर पोर्टफोलियोको व्यापार, कृषि बीमाको व्यापार, विविध पोर्टफोलियोको व्यापार वृद्धि भएको जनाएको छ । यस्तै, कृषि बीमाको लागि कृषि शाखाको पनि विस्तार गरिएको कम्पनीले जनाएको छ । यस्तै, एनएलजी इन्स्योरेन्सले ११.२३ प्रतिशत, शिखर इन्स्योरेन्सले १०.४५ प्रतिशत, सगरमाथा लुम्बिनीले १० प्रतिशत, राष्ट्रिय बीमा कम्पनी र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले क्रमशः ७.१९ र ७.०६ प्रतिशतले व्यपार वृद्धि गरेका छन् ।
चार बैंकले पुसभित्र साधारण सभा गर्न नसक्ने, १६ बैंकले पाए राष्ट्र बैंकबाट क्लियरेन्स
काठमाडौं । विभिन्न क्षेत्रमध्ये बैंकिङ क्षेत्रलाई कर्पाेरेट सुशासनमा सञ्चालन र व्यवस्थापनमा चुस्तदुरुस्त रहेको क्षेत्रका रूपमा हेर्ने गरिन्छ । हरेक विषय चुस्तदुरुस्त राख्ने भएकाले बाहिरिया नजरमा बैंकिङ क्षेत्र पारदर्शी र सुशासनमा चलेको मानिन्छ । समयमा वार्षिक साधारण सभा (एजीएम) गर्नुलाई पनि सुशासनको एउटा अंशका रूपमा लिइन्छ । बैंकहरूले पनि आ-आफ्नो वार्षिक साधारण सभा समयमै गरिरहेका हुन्छन् । सकेसम्म आर्थिक वर्ष सम्पन्न भएको ६ महिनाभित्र साधारण सभा सम्पन्न गर्न बैंकहरू प्रयासरत हुन्छन् । धेरै बैंकहरूले पुस मसान्तभित्र साधारण सभा सम्पन्न गरिसकेका हुन्छन् । तर, यसपटक भने विभिन्न ४ बैंकले पुस मसान्तभित्र आफ्नो साधारण सभा सम्पन्न गर्न नसक्ने अवस्थामा पुगेका छन् । नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंक, कुमारी बैंकको साधारण सभा पुस मसान्तसम्म सम्पन्न नहुने देखिएको हो । यी बैंकले हालसम्म राष्ट्र बैंकबाट एजीएम क्लियरेन्स पाएका छैनन् । पुस मसान्त नजिकएसँगै यी ४ बैंकको साधारण सभा केही समय पर धकेलिने निश्चित भएको हो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) र कुमारी बैंकले गत वर्ष पनि समयमै साधारण सभा सम्पन्न गरेका थिएनन् । एनआईएमबीका नायव महाप्रबन्धक (डीजीएम) राजेश शर्मा एजीएम स्वीकृतिको प्रक्रियाका लागि राष्ट्र बैंकमा पत्र पठाएको बताउँछन् । अन्तिम चरणमा रहेकाले स्वीकृति पाउने बित्तिकै छिट्टै वार्षिक साधारण सभा आह्वान गर्ने उनको भनाइ छ । ‘गत वर्षको साधारण सभामा चुनाव रोक्न अदालतमा मुद्दा पर्यो, अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले चुनाव हुन सकेन, त्यसैले यसपटक राष्ट्र बैंक र अदालती प्रक्रियाका कारण केही ढिला हुन पुगेको हो,’ डीजीएम शर्माले भने, ‘विगतमा समयमै साधारण सभा गर्दै आएका हौं, यसपटक परिस्थितिवस ढिला हुन पुग्यो ।’ उनका अनुसार अदालतले चुनाव गर्ने बाटो खुला गरेकाले राष्ट्र बैंकको स्वीकृति आउने बित्तिकै साधारण सभा बोलाइनेछ । कुमारी बैंकका कम्पनी सचिव तथा चिफ फाइनान्स अफिसर अश्वीनबाबु श्रेष्ठ स्वीकृतिको प्रक्रियामा रहेकाले राष्ट्र बैंकबाट स्वीकृति आउनेबित्तिकै साधारण सभा आह्वान गर्ने बताउँछन् । ‘हामीले समयमै आफ्नो काम गरेर अगाडि बढाएका छौं । राष्ट्र बैंकमा रिभ्यूको काम भइरहेको छ । अहिलेको परिस्थितिमा थोरै समय लागेको हो । कामकारवाही विगतको जस्तै हो,’ उनले भने, ‘यसपटक पनि छिट्टै गर्ने प्रयास गरेका हौं । तर, समयमा हुन गाह्रो भयो ।’ गत वर्ष भने मर्जरका कारणले ढिला हुन पुगेको उनको भनाइ छ । यस्तै, नेपाल बैंकको पनि लेखापरीक्षणको कार्य जारी रहेकाले ढिला हुन पुगेको जनाएको छ । अडिटको काम अन्तिम चरणमा रहेकाले केही दिनमा स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाउने तयारी रहेको बैंकको भनाइ छ । लाभांश क्षमता कम रहेकाले पनि हतार नगरी बिस्तारै साधारण सभा गर्ने योजनामा यी बैंकहरू रहेका छन् । समयमा साधारण सभा गर्न नसक्ने बैंकमाथि विभिन्न आशंकाले हेर्ने गरिएको एक बैंकर बताउँछन् । ‘संस्थागत निक्षेप लिन जाँदा सम्बन्धित संस्थाले क्यापिटल एडुकेसी, एनपीएको सीमा यति हुनुपर्ने भनेको हुन्छ । साथै ६ महिनाभित्र एजीएम सम्पन्न गरेको हुनुपर्ने शर्त राखेको हुन्छ । यदि ६ महिनाभित्र एजीएम गरेको छ भने निक्षेप दिन नमान्न सक्छन् ।’ हालसम्म १६ वटा वाणिज्य बैंकले वार्षिक साधारण सभा आह्वान गरिसकेका छन् । जसमध्ये एभरेष्ट बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, नबिल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंकको वार्षिक साधारण सभा सम्पन्न भइसकेको छ । यस्तै, नेपाल एसबिआई बैंकले पुस २१ गते, लक्ष्मी सनराइज बैंकले पुस २४ गते, एनएमबि बैंकले पुस २५ गते, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकले पुस २८ गते वार्षिक साधारण सभा बोलाएका छन् । यस्तै, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंकले पुस २९ गते वार्षिक साधारण सभा बोलाएका छन् ।