बीवाईडीको इन्डोनेसिया प्लान्ट यस वर्षको अन्त्यमा सम्पन्न हुने, बर्सेनि डेढ लाख ईभी उत्पादन हुने
काठमाडौं । चीनको प्रमुख विद्युतीय गाडी निर्माता बीवाईडीले सन् २०२५ को अन्त्यसम्ममा इन्डोनेसियामा आफ्नो १ अर्ब डलरको प्लान्ट निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । इन्डोनेसियाको स्थानीय युनिटका प्रमुख ईगल झाओले सोमबार यसबारे जानकारी दिएका हुन् । जापानी अटोमेकरहरूको वर्चस्व रहेको बजारमा आफ्नो प्रभुत्व जमाउने उद्देश्यलाई बीवाईडीले अझ बलियो बनाउँदैछ । इन्डोनेसियाका लागि प्लान्टको दीर्घकालीन योजना निर्यात बजारलाई लक्षित गरेको झाओले बताए । ‘हाम्रो स्थानीय उत्पादन प्रक्रियाको प्रत्येक चरण सुचारु र योजनाअनुसार अघि बढिरहेको छ । हामी हाम्रो प्रतिबद्धतामा कायम छौं र २०२५ को अन्त्यसम्ममा निर्माण कार्य पूरा गर्नेछौं,’ झाओले रोयटर्स र सीएनबीसी इन्डोनेसियासँगको संयुक्त अन्तर्वार्तामा भने । पश्चिम जाभाको सुबाङस्थित औद्योगिक क्षेत्रमा निर्माणाधीन उक्त प्लान्टले वार्षिक रूपमा १ लाख ५० हजार विद्युतीय गाडी उत्पादन क्षमता राख्नेछ । स्थानीय युनिटका प्रमुख ईगल झाओ । यस लगानीसँगै बीवाईडीलाई अस्थायी रूपमा आयात शुल्कबिना इन्डोनेसियामा गाडी पठाउन अनुमति दिइएको छ । यो नीतिले विद्युतीय गाडीहरूको माग बढाउन र अटोमेकरहरूलाई आकर्षित गर्न लक्ष्य राखेको छ । सरकारले २०३० सम्ममा ६ लाख विद्युतीय गाडी घरेलु रूपमा उत्पादन गर्ने लक्ष्य राखेको छ । २०२४ मा इन्डोनेसियामा पहिलो वर्षको बिक्रीमा बीवाईडीले १५ हजार ४२९ गाडी बेचेको थियो । जनवरीदेखि नोभेम्बरसम्मको तथ्यांकअनुसार बीवाईडी विद्युतीय गाडी बजारमा करिब ३६ प्रतिशत बजार हिस्सा लिएर अग्रणी रहेको छ । झाओले प्लान्ट निर्माण सम्पन्न भएपछि चाँडै नै पहिलो गाडी उत्पादन सुरु हुने अपेक्षा गरे । हालसम्म बीवाईडीले इन्डोनेसियामा चार मोडेलहरू प्रस्तुत गरेको छ, जसमध्ये सील सेडान, एटो थ्री एसयूभी, डल्फिन ह्याचब्याक र एम सिक्स रहेका छन् । तीमध्ये एम सिक्स सबैभन्दा धेरै बिक्री भएको मोडेल थियो । झाओले यस वर्ष थप मोडेलहरू प्रस्तुत गर्ने योजना रहेको तर कति मोडेल हुने स्पष्ट नगरेको बताए । २०२५ मा बिक्रीमा ‘तीव्र वृद्धि’ गर्न थप मोडेल ल्याइने उनले बताए । बीवाईडीले यसै साता आफ्नो प्रिमियम ब्रान्ड डेन्जा पनि इन्डोनेसियामा सुरु गर्दैछ । बीवाईडीले गत वर्ष विश्वभर ४० लाखभन्दा धेरै गाडी बिक्री गर्दै आफ्नो लक्ष्य पार गरेको थियो । कम्पनीले दक्षिणपूर्व एशियामा आफ्नो उपस्थिति बलियो बनाउँदै जापानी र कोरियाली अटोमेकरहरूको वर्चस्वलाई चुनौती दिइरहेको छ । गत वर्ष बीवाईडीले थाइल्याण्डमा आफ्नो पहिलो विद्युतीय गाडी प्लान्ट खोलेको थियो । ४९० मिलियनको लागतमा निर्माण गरिएको यो प्लान्टले वार्षिक रूपमा १ लाख ५० हजार गाडी उत्पादन गर्न सक्छ, जसमा प्लग-इन हाइब्रिड पनि समावेश छन् । सिंगापुरमा २०२४ को पहिलो छ महिनामा बीवाईडीले टेस्लालाई बिक्रीमा पछि पारेको थियो । सान्दर्भिक सामग्री : भारतीय कार निर्माताले २०२५ मा ईभी बजार बिस्तार गर्ने, मागको भने कमी अटो उद्योगको निद्रा बिथोल्ने बीवाईडी, जसको रोकिने नामोनिशान छैन चीनमा इभीको वर्चश्व बढ्दै, अरू विदेशी कम्पनी टिक्न सकस गरिब किसानको छोराले बनाएको ‘हुन्डाई’, विश्वको तेस्रो ठूलो कार कम्पनी
६ महिनामा १३ अर्ब बढीको ईभी आयात, ७६ प्रतिशत गाडी चीनबाट भित्रियो
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा १३ अर्ब बढीको विद्युतीय चार पांग्रे सवारी (ईभी) आयात भएको छ । चालु आवको पौष मसान्तसम्म १३ अर्ब १० करोड ८० लाख रुपैयाँ बढीको ५ हजार ४८० वटा ईभी जिप, भ्यान र कार आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार उक्त ईभी आयात हुँदा सरकारलाई ८ अर्ब १६ करोड ३३ लाख राजस्व प्राप्ति भएको छ । ५१ देखि १०० किलोवाट गाडी धेरै आयात विभागका अनुसार ५१ किलोवाटदेखि १०० किलोवाट क्षमता भएका ईभी गाडीहरू नेपाल आयात भएका छन् । ५१ देखि १०० किलोवाट क्षमता भएका ३ हजार १९१ वटा ईभी नेपाल भित्रिएका हुन् । जुन कुल ईभी आयातको ५८.२२ प्रतिशत हो । यसैगरी, ५० किलोवाटभन्दा कम क्षमता भएका गाडीहरुको आयात पनि उल्लेख्य रहेको छ । पछिल्लो ६ महिनामा ५० किलोवाटभन्दा कम क्षमता भएका ईभी १ हजार ७२५ वटा ईभी आयात भएको छ । जुन कुल आयातको ३१.४७ प्रतिशत हो । यसैगरी, १०१ देखि २०० किलोवाटसम्मका ५५३ वटा, २०१ देखि ३०० किलोवाट क्षमता भएका ९ वटा र ३०० किलोवाट भन्दा धेरै क्षमता भएको २ वटा गाडी आयात भएको छ । कुन देशबाट कति आयात ? नेपालमा ५ वटा देशबाट ईभी गाडी आयात भएको देखिन्छ । चीन, भारत, दक्षिण कोरिया, जर्मनी र अमेरिकाबाट ईभीको आयात भएको छ । जसमध्ये सबैभन्दो धेरै चीनबाट आयात भएको छ । पछिल्लो ६ महिनामा मात्रै चीनबाट १० अर्ब ६४ करोड ७८ लाख रुपैयाँ बढीको ४ हजार २०५ वटा ईभी आयात भएको छ । यो कूल ईभी आयातको ७६.७३ प्रतिशत हो । यसैगरी भारतबाट २ अर्ब २९ करोड ८१ लाख रुपैयाँ बढीको १ हजार २५० वटा ईभी आयात भएको छ । जुन कुल आयातको २२.८१ प्रतिशत हो । अमेरिकाबाट १ करोड ६६ लाख रुपैयाँको ४ वटा, कोरियाबाट १ करोड २५ लाख रुपैयाँको २ वटा र जर्मनीबाट १३ करोड २८ लाख रुपैयाँको १९ वाटा ईभी आयात भएको छ ।
अन्तत: मस्कको सपना साकार, ट्रम्पले मंगल ग्रहमा अन्तरिक्ष यात्री पठाउने
काठमाडौं । अन्तत: अर्बपति एलन मस्कको सपना साकार भएको छ । अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्नो शपथ ग्रहण समारोहमा मंगल ग्रहमा अन्तरिक्ष यात्री पठाउने घोषणा गरेका छन् । ट्रम्पले अमेरिकालाई अन्तरिक्ष विज्ञानमा अग्रणी बनाउने र मंगल ग्रहमा अमेरिकी झण्डा फहराउने कुरा गरे । ट्रम्पको यो घोषणामा विश्वका सबैभन्दा धनी व्यक्तिहरूमध्ये एक अर्बपति मस्कले बुढीऔंला दिएर आफ्नो समर्थन व्यक्त गरे । अन्तरिक्ष कम्पनी स्पेसएक्सका मालिक एलोन मस्क डोनाल्ड ट्रम्पका नजिकका सहयोगी हुन् र उनले चुनावको समयमा ट्रम्पको लागि ठूलो अभियान चलाएका थिए। डोनाल्ड ट्रम्पले आफ्नो भाषणमा अमेरिकी अन्तरिक्ष यात्रीहरू पक्कै पनि मंगल ग्रहमा जाने र अमेरिकाले अन्तरिक्षमा आफ्नो सम्पत्ति बढाउने बताए । गत महिना मस्कले चन्द्रमामा जानेभन्दा सिधै मंगल ग्रहमा मिसन पठाउनुपर्ने बताएका थिए । अन्तत: उनको सपनाले साकार रूप पाउने जनाइएको छ । ट्रम्पको घोषणासँगै अब नासाको अन्तरिक्ष अन्वेषण कार्यक्रममा ठूलो परिवर्तन हुनेछ । मस्कको विशेष अन्तरिक्ष योजना ट्रम्पको घोषणामा मस्कको खुसीको कारण अन्तरिक्ष क्षेत्रमा उनको रुचि हो । मस्कले दुई दशकअघि निजी अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्स सुरु गरेका थिए । यो कम्पनी अन्तरिक्ष अनुसन्धान र अन्तरिक्ष प्रविधिमा काम गर्छ । उनीसँग पनि विशेष अन्तरिक्ष योजना छ । यो योजना मंगल ग्रहमा बस्ती स्थापनासँग सम्बन्धित छ । मस्कको विश्वास छ कि मंगल ग्रहमा मानिसहरूलाई बसोबास गर्नसक्यो भने मानवतालाई पृथ्वीभन्दा बाहिर विस्तार गर्न सक्षम बनाउनेछ । ट्रम्प र मस्कको जोडीले अमेरिकाको अन्तरिक्ष नीतिमा ठूलो परिवर्तन ल्याउन सक्छ । नासाको आर्टेमिस कार्यक्रममा पनि परिवर्तनहरू अपेक्षित छन्, जसले मस्कको कम्पनी स्पेसएक्सलाई फाइदा पुर्याउन सक्छ । आर्टेमिस कार्यक्रमको लक्ष्य भनेको मानिसहरूलाई चन्द्रमामा फर्काउनु हो । यो मंगल ग्रह जाने तयारीको एक हिस्सा हो । ट्रम्पको नेतृत्वमा कार्यक्रम सिधै मंगल ग्रहमा केन्द्रित हुने अपेक्षा गरिएको छ । नयाँ प्रशासनको अन्तरिक्ष योजनाबारे बेजोस आशावादी अमेजनका फाउन्डर तथा अर्बपति जेफ बेजोसले स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्क र अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको निकट सम्बन्धले आफ्नो अन्तरिक्ष कम्पनी ‘ब्लू ओरिजिन’लाई कमजोर नबनाउने उल्लेख गरेका थिए । समाचार एजेन्सी रोयटर्ससँगको अन्तर्वार्ताका क्रममा उनले नयाँ प्रशासनको अन्तरिक्ष योजनाबारे आफू ‘धेरै आशावादी’ रहेको बताएका थिए । उनी चन्द्रमा र मंगल ग्रह दुबैमा जानुपर्ने विचार राख्छन् । बेजोसको ब्लू ओरिजिनले नासासँग चन्द्रमामा अवतरण गर्ने ठूला सम्झौताहरू पाएको छ । बेजोस, ब्लू ओरिजिन र ट्रम्प-मस्क सम्बन्ध स्पेसएक्सको वृद्धि अधिक विस्फोटक, टेस्लालाई पछि पार्ने स्टारलिंकलाई चुनौती दिँदै चिनियाँ स्याटेलाइट प्रोजेक्ट, अरू पनि प्रतिस्पर्धामा