बजारमा ग्यासको अभाव, निगम भन्छ- माग बढी भएकाले समयमै ढुवानी गर्न सकिएन

<p>काठमाडौं । राजधानीमा खाना पकाउने एलपी ग्यासको अभाव सुरु भएको छ । नेपाल, हिमाल, सगरलगायत विभिन्न ब्राण्डका ग्यासको अभाव देखिएपछि बजारमा ग्यासको समस्या देखिएको हो । ग्यासको अभाव भएपछि उपभोक्ताहरू मर्कामा परेका छन् । पछिल्लो समय बजारमा ग्यास पाउनै मुस्किल भएको सर्वसाधारण नागरिकले गुनासो गरिरहेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका नयाँ ठिमी बस्दै आएका रबिन [&hellip;]</p>

काठमाडौं । राजधानीमा खाना पकाउने एलपी ग्यासको अभाव सुरु भएको छ । नेपाल, हिमाल, सगरलगायत विभिन्न ब्राण्डका ग्यासको अभाव देखिएपछि बजारमा ग्यासको समस्या देखिएको हो ।

ग्यासको अभाव भएपछि उपभोक्ताहरू मर्कामा परेका छन् । पछिल्लो समय बजारमा ग्यास पाउनै मुस्किल भएको सर्वसाधारण नागरिकले गुनासो गरिरहेका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका नयाँ ठिमी बस्दै आएका रबिन रुचालले बजारमा खाना पकाउने ग्यासको चरम अभाव भएको बताए ।

उनले भने, ‘कुनैपनि ग्यास पसलमा पाइरहेका छैनौं । दुई हप्ता भइसक्यो । जुनसुकै पसलमा गएपनि हामीले प्रयोग गर्दै आएको सगर र हिमाल ग्यास कतै छैन । एक सिलिन्डरका लागि कति कुर्नुपर्ने हो थाहा छैन ।’

बजारमा सहजै ग्यास नपाइँदा सर्वसाधारण मारमा परेका छन् ।

यता सूर्यविनायक ठिमीमा रहेको त्रिरपुरा एण्ड एसएस सप्लार्यसका सञ्चालक सुजन श्रेष्ठले डिपोबाट ग्यासहरू नआएको बताए ।

उनले भने, ‘डिपोबाटै ग्यास कम आइरहेको छ । धेरै दिन भयो ग्यास आएको छैन । डिपोबाटै बढीमा २० वटा ग्यासमात्रै दिने गरेको छ । आज दुई सातापछि जम्मा २० वटा सिलिन्डर आएको छ ।’

यसअघि निरन्तर खाना पकाउने ग्यासहरू आइरहेको तर पछिल्ला दिनहरूमा खासै नआएको उनको भनाइ छ । समयमै ग्यास आपूर्ति नहुँदा एउटा मात्रै ग्यास सिलिन्डर भएका उपभोक्तालाई धेरै समस्या हुने गरेको श्रेष्ठले बताए ।

यतिबेला कुनै पनि खुद्रा विक्रेताले सर्वसाधारणलाई ग्याँस जति उपलब्ध गराउनुपर्ने हो त्यति उपलब्ध गराउन नसकेको बताइन्छ ।

भारतबाट ढुवानीमा समस्या

यता नेपाल एलपी ग्यास संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोकुल भण्डारीका अनुसार गाडीहरू कम भएकाले ढुवानी समस्याका कारण ग्यास आयात हुन नसकेको हो ।

उनले भने, ‘हामीसँग गाडी कम छन् । ढुवानी गर्न समस्या भइरहेको छ । त्यति धेरै समस्या त छैन । अलि अलि समस्या चाहिं छ । पहिलेको तुलनामा भारतले हाल नियम पनि परिवर्तन गरेको छ । जुन २० वर्ष राख्ने ठाउँमा १० वर्ष नै राखेको छ । त्यसकारण भारतबाट सप्लाइ हुन सकिरहेको छैन ।’

यस्तै, उनले हिउँदको सिजनमा ग्यासको माग प्रत्येक दिन बढ्ने गरेको बताउँदै आयल निगमले सिलिण्डरको कोटा निर्धारण नगरिदिँदा समस्या उत्पन्न भएको बताए ।

भण्डारीका अनुसार अर्को कारण भारतीय ट्रान्सपोर्टरले पुराना बुलेट हटाएर नयाँ राख्न थालेका छन् । ढुवानीमा ग्यास बुलेटको कम उपलब्धता हुँदा पनि समस्या देखिएको उनको दाबी छ ।

चिसोमा ग्यासको माग गर्मीको तुलनामा बढ्ने तर हाल लोडिङमै समस्या हुँदा बजारमा मागबमोजिम पर्याप्त ग्यास उपलब्ध हुन नसकेको उनको भनाइ छ ।

निगमलाई सिलिण्डरको कोटा थप गरिदिन पटकपटक भन्दै आएको तर निगमले यसमा चासो नदिएको जनाइएको छ ।

के भन्छ निगम ?

नेपाल आयम निगमले बजारमा जुन माग छ त्यहीअनुसार ग्यास पुगिरहेको दाबी गरेको छ । जाडोको सिजनमा ग्यास समयमै ढुवानी गर्न नसक्दा उपलब्ध हुन नसकेको निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।

उनले भने, ‘हाल भारतमा रिफाइनको काम भइरहेको छ । त्यसकारण लोडिङमा समस्या भएको हो । उसो त जहिले पनि जाडोको सिजनमा ग्यास समयमै उपलब्ध हुँदैन । तर पछिल्लो समयमा धेरै समस्या भएको त होइन । समयमै लोड गर्न सकिएन । नेपालमा जाडोको बेला करिब ३० प्रतिशतले ग्यासको माग बढी हुने गरेको छ ।’

निगमका प्रवक्ता ठाकुरले तैपनि बजारमा मागअनुसार आपूर्ति भइरहेको बताए । उनले केही दिन अलि समस्या आएको बताउँदै यो समस्या विस्तारै समाधान हुँदै गइरहेको जानकारी दिए ।

हाल यो समस्या काठमाडौं उपत्यकाभित्र मात्रै देखिएको हो ।

कति भयो ग्यास खपत ?

आयल निगमले २०७८ सालमा गरेको ग्यास सिलिण्डर प्रमाणीकरणअनुसार दशभर एक करोड ४४ लाख सिलिण्डर छन् । पछिल्लो समय सिलिण्डर थपिँदै गएका छन् । तर, ती सिलिण्डरको अवस्थाबारे नियामक निकायले त्यति चासो दिएको देखिँदैन ।

उसो त गर्मी सिजनमाभन्दा जाडो सिजन ग्यासको खपत बढी हुने गरेको छ । जाडो सिजनमा ग्यासको खपत ३० प्रतिशतसम्म बढ्ने गरेको बताइन्छ ।

हाल देशभर ५९ वटा ग्यास उद्योग छन् । ती उद्योगका लागि निगमले मासिक ४५ हजार मेट्रिक टन ग्यासको पीडीओ जारी गर्दै आएको छ ।

आयल निगमको तथ्याङ्क हेर्ने हो भने नेपालमा वार्षिक साढे ४ लाखदेखि ५ लाख मेट्रिक टनसम्म ग्याँस खपत भएको पाइन्छ ।

पछिल्लो समय एलपीजी ग्यासको खपत बढेसँगै आयात पनि बढेको निगमको तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्कअनुसार देशभर विगत १० वर्षको अवधिमा ग्यासको खपत र आयात साढे २ लाखले बढेको देखिन्छ।

आर्थिक वर्ष २०७१-०७१ मा वार्षिक दुई लाख ५८ हजार २९९ मेट्रिक टन ग्यास आयात भएकोमा गत वर्ष देशभर ५ लाख २४ हजार २७४ मेट्रिक टन ग्यास खपत भएको निगमको तथ्याङ्क छ।

त्यस्तै, पछिल्लो ४ वर्षको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७६-०७७ मा ४ लाख ४९ हजार ६३, ०७७-०७८ मा ४ लाख ७७ हजार ७५२, ०७८-०७९ मा ५ लाख ३६ हजार २८, ०७९-०८० मा ५ लाख १४ हजार ७१७ र ०८०-०८१ मा ५ लाख २४ हजार २ सय २४ मेट्रिक टन ग्यास आयात भएको छ ।

पछिल्लो समय व्यापारीहरूले बजारमा ग्यासको मूल्यवृद्धि गर्ने सक्ने हल्लासमेत चलिरहेको छ ।

Share News